अमेरिकी आक्रमणबाट इरानको यूरेनियम भण्डारण नष्ट नभएको खुलासा


सीएनएन । अमेरिकी सैन्य आक्रमणले इरानका मुख्य आणविक कार्यक्रमहरूलाई पूर्ण रूपमा नष्ट नगरेको प्रारम्भिक गुप्तचर मूल्याङ्कन सार्वजनिक भएको छ। पेन्टागन अन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सीद्वारा गरिएको मूल्याङ्कन अनुसार, ती आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केवल केही महिनाका लागि मात्र पछाडि धकेलेको छ ।
गत हप्ता अमेरिकी वायुसेनाले तीन प्रमुख आणविक साइटहरूमा बंकर बस्टर बमले हमला गरेको थियो । तर सात जना उच्च स्रोतहरूद्वारा वर्णन गरिएको मूल्याङ्कनले जनाएअनुसार ती हमलाले इरानका सेन्ट्रिफ्युज तथा समृद्ध यूरेनियमको भण्डारण नष्ट गर्न सकेनन् ।
मूल्याङ्कनमा संलग्न दुई स्रोतका अनुसार इरानको समृद्ध यूरेनियम नष्ट गरिएको थिएन। तीमध्ये एक स्रोतका अनुसार सेन्ट्रिफ्युजहरू ‘धेरै हदसम्म सुरक्षित’ छन् भने अर्का स्रोतले यूरेनियम आक्रमण हुनु अघि नै अन्यत्र सारिएको दाबी गरेका छन् । ‘यो हमला इरानको कार्यक्रमलाई अधिकतम केही महिनाका लागि मात्र अवरुद्ध गर्ने खालको हो,’ एक स्रोतले भने ।
ह्वाइट हाउसले भने उक्त मूल्याङ्कनलाई अस्वीकार गर्दै प्रेस सचिव क्यारोलिन लेविटले सीएनएनलाई दिएको वक्तव्यमा भनिन्, ‘यो मूल्याङ्कन झूटो छ। यो ‘टप सिक्रेट’ दस्तावेज हो जसलाई गुप्तचर समुदायका एक असन्तुष्ट व्यक्तिले लिक गरेका हुन्। यो राष्ट्रपति ट्रम्पलाई बदनाम गर्न गरिएको प्रयास हो।’
राष्ट्रपति ट्रम्पले हमलालाई ‘पूर्ण विनाश’ भनेका छन् र पाइलटहरूलाई ‘क्रेडिट दिनुपर्छ’ भनी जोड दिएका छन् । स्रोतहरूका अनुसार ती तीनवटा साइटहरूमा प्रमुख क्षति सतहमा रहेका भवनहरूमा भएको हो। विद्युत आपूर्ति प्रणाली र यूरेनियम धातुमा रूपान्तरण गर्ने संरचनाहरू नष्ट भए पनि भूमिगत संरचना जस्ताको तस्तै छन् ।
इजरायली आँकलन अनुसार, अमेरिकी आक्रमणले अपेक्षाभन्दा कम क्षति पुर्याएको भए पनि संयुक्त इजरायली–अमेरिकी हमलाले इरानको आणविक कार्यक्रमलाई कम्तीमा दुई वर्ष पछाडि धकेलेको विश्वास गरिएको छ । प्रारम्भिक मूल्याङ्कनप्रति अमेरिकी राजनीतिक वृत्तमा पनि मतभेद देखिएको छ।
रिपब्लिकन नेता माइकल म्याककालले भने यो आक्रमण पूर्ण विनाशको लागि नभई ‘महत्त्वपूर्ण क्षति’ पुर्याउने उद्देश्यले गरिएको बताएका छन् । प्रारम्भिक गुप्तचर मूल्याङ्कनले अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणबाट अपेक्षित नतिजा हासिल नभएको संकेत दिएको छ। यद्यपि अन्तिम मूल्याङ्कन आउन बाँकी नै रहेको र थप गुप्तचर जानकारीको प्रतीक्षा गर्नुपर्ने सुरक्षा अधिकारीहरूले जनाएका छन् ।