ईरान–इजरायल युद्धविरामपछि स्थिति शान्त हुँदै, दुबै पक्षबाट गम्भीर प्रतिक्रिया


ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गर्नुभएको छ । उहाँको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पु¥याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ ।
तर अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट ईरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो ।
यता इजरायली सेनाले ईरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पु¥याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन् ।
ईरानका राष्ट्रपति मसउद पेसेश्कियानले शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताउनुभयो । साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरिएको साइबर शाखाले जनाएको छ ।
ईरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ । पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ ।
ईरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार ईरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ ।यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतङ्कको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ ।
यसैबीच, ईरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए) सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनी रूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ ।