`

गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

Nepal One HD १३ असार २०८२ ७:५१
विश्व

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् ।

यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इच्छुक बसाइँ सर्न चाहने गाजाका स्थानीलाई केही देशहरूले स्वीकार गर्ने पनि उल्लेख छ ।

अरब राष्ट्रहरूले इजरायलले प्यालेस्टाइन अथोरिटीलाई गाजामा शासन अधिकार दिने र भविष्यमा दुई राज्य समाधानको बाटोको रूपमा स्वीकार नगरेसम्म उनीहरू गाजाको युद्धपछिको पुनर्वासमा भाग नलिने बारम्बार जोड दिएका छन् । यो मागलाई नेतन्याहूले हालसम्म पूर्णरूपमा अस्वीकार गरेका छन् ।

योजनाको एक हिस्साको रूपमा, ट्रम्प र नेतान्यहूले प्यालेस्टाइन अथोरिटीले आफूलाई सुधार गरेमा भविष्यमा दुई राज्य समाधानलाई समर्थन गर्नेमा सहमति जनाएको बताइएको छ । तर, यसको बदलामा अमेरिकाले प्यालेस्टाइनको वेस्ट बैंकका केही भागमा इजरायली सार्वभौमसत्ताको मान्यता दिनुपर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *