`

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

Nepal One HD १३ असार २०८२ २०:३४
राजनीति

काठमाडौँ, १३ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

वर्षात्को समयमा सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनस्र्थापना तथा व्यवस्थापन गर्न माग गर्दै बैठकले मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न सुझाव दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, ¥यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेको प्रस्ताव बैठकले पारित गरेको छ ।

सरकारले ३० वर्षदेखि उखु किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराउँदै आएकामा आगामी आर्थिक वर्षदेखि सो रकम बजेटमा कटौती गरेकामा बैठकले सो निर्णय सच्याएर अनुदान उपलब्ध गराउन माग गरेको छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गरेको थियो । बैठकमा पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष नेपाललाई अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले रु ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल गरिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अख्तियारको क्षेत्राधिकार बाहिर रहेको भए पनि राजनीतिक दबाबका कारण भ्रष्टाचारको मुद्दा दर्ता गरेको बैठकले निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा मुद्दा दर्ता भएपछि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्नुपर्ने केही नेताले सुझाव दिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *