`

एमालेविरुद्ध ध्रुब खडा गर्न अवसरवादी तत्व सलबलाएः महासचिव पोखरेल

Nepal One HD १४ असार २०८२ २१:५८
प्रमुख खबर

गण्डकी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेले लिएको समृद्धि र विकासको आकांक्षाबाहिर जान नसक्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार पार्टीको पोखरा महानगर कमिटीले आयोजना गरेको मदन भण्डारीको ७४ औं जन्म जयन्ती कार्यक्रममा महासचिव पोखरेलले एमालेविरुद्ध ध्रुब खडा गर्न अवसरवादी तत्व सलबलाएको बताए । उनले भने, ‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ ।’

उनले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताए । उनले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताए । मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति नै मुलुकको परिवर्तनको आधार भएको उनको भनाई थियो ।

जबजले समाज विकासका विभिन्न चरणमा शोषित, उत्पीडित वर्ग र समुदायका साथै सम्पूर्ण मानव जातिको मुक्तिलाई अङ्गीकार गरेको उनले बताए ।

एमालेलाई चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा पार्टीका कार्यकर्ता सङ्गठित भएर अघि बढ्नुपर्ने बताए । पूर्वराष्ट्रपति भण्डारीले शनिबार काठमाडौंमा भएको कार्यक्रममा अब आफू पार्टी राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *