निजामती विधेयकमा गरिएको बेइमानी संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीः माओवादी केन्द्र


काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा गम्भीर प्रकृतिको संसदीय अपराध भएको भन्दै यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।
बुधबार माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरी यसको छिटो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।’
यसले संसद, संसदीय समिति र सांसदहरुको योग्यतामाथि प्रश्न उठेको माओवादीले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधि प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरु उठेका छन् । यस जालसाँजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’