‘स्पष्टीकरणकाबारेमा मलाई थाहा छैन’


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको दाबी गरेकी छन् ।
बिहीबार पार्टी सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेकी नेतृ झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै स्पष्टीकरणकाबारेमा आफूलाई थाहा नभएको दाबी गरेकी हुन् । उनले स्पष्टीकरण संचारमाध्यमतिर सोधिएको जिकिर गरिन् ।
झाँक्रीले टेलिभिजनबाट स्पष्टीकरण सोधिने र पार्टीबाट निकाल्ने भनेर नेताहरूको अभिव्यक्ति सुनेको बताइन् । उनले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै आफू निवेदन लिएर पार्टी कार्यालय पुगेको पनि बताइन् ।
उनले भनिन्, ‘टेलिभिजनबाट स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ, या ऊ भनेको सुनेको थिएँ । पार्टीले १५ गते क्रिया–प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरू प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ । व्यक्तिगत तहमा पनि, गाली गलौजमा, बडी सेमिङमासम्म बोलिरहनुभएको छ ।’
उनले आफू हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्ने बताइन् । तर पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले भने झाँक्रीलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको बताए ।
झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘मरेको सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र चर्को विवाद छ । झाँक्रीको अभिव्यक्तिपछि पार्टीले अध्यक्ष नेपालको मुद्दालाई लिएर कुनै अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।