`

गत आर्थिक वर्षमा नेपालगन्ज नाकाबाट नौ अर्ब बढीको खाद्यान्न आयात

Nepal One HD ४ साउन २०८० १६:३५
अर्थ समाचार

बाँके / नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्ब ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा  चार अर्ब ७३ करोड रुपियाँ मूल्यको चामल आयात भएको हो ।

भन्सारको तथ्याङ्कअनुसार ६१ हजार ८७९ टन चामल भारतबाट भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा गत आवमा दोब्बरभन्दा कम चामल आयात भएको छ ।

सो वर्ष नौ अर्ब ६२ करोड रुपियाँ मूल्यको एक लाख ७१ हजार १०५ टन चामल आयात भएको थियो । गत आवमा नेपालगञ्ज नाका भएर चार दुई अर्ब ९ करोड रुपियाँ मूल्यको खाद्यान्न मकै भित्रिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार ५५ हजार ७१ टन मकै भारतबाट भित्रिएको छ । यसैगरी १३ हजार ५१ टन दलेको वा नदलेको दाल पनि भित्रिएको छ । भन्सारको मूल्याङ्कन अनुसार सो दालको मूल्य एक अर्ब ३१ करोड रुपियाँ रहेको छ ।

भन्सार कार्यालयका अनुसार गत आवमा ६ हजार ९८० टन हरियो प्याज, सलौट र साग पनि भित्रिएको छ । त्यसको भन्सार मूल्याङ्कनअनुसार २६ करोड ६४ लाख रुपियाँ मूल्य छ ।

यसैगरी ९३ करोड ६० लाख मूल्यको ३७ हजार ५८५ टन आलु पनि भित्रिएको छ । भारतबाट चामल, आलु र प्याजसहित गत आवमा धान पनि बढी नै परिमाणमा भित्रिएको छ । १५ करोड ६१ लाख मूल्यको एक हजार ४५८ टन भारतीय धान नेपालगञ्ज नाका भएर भित्रिएको छ ।


प्रतिक्रिया