`

सबै पक्षको सहयोगबाटै ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सकिन्छ : गृहमन्त्री

Nepal One HD १४ असोज २०८० १२:२८
प्रमुख खबर

काठमाडौ–उपप्रप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समधान गर्न एउटा निकायले मात्रै नसक्ने भएकोले चालक र अन्य पक्ष समेत जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

ट्राफिक प्रहरी, महानगरपालिका, यातायात व्यवस्था कार्यालय मिलेर एकीकृत योजना नै बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले सार्वजनिक यातायातलाई सहज र सुलभ बनाएर निजि यातायातको प्रयोगलाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताए ।

सडक सुरक्षाका साथै ट्राफिक व्यवस्थापन गर्न नसके जनताको शान्ति सुरक्षामा समेत प्रश्न उठ्ने भएकाले ट्राफिक व्यवस्थापनको ठूलो महत्व रहेको उनको बुझाइ छ । सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागि सचेतना पनि उतिकै महत्वपूर्ण रहेको र ट्राफिक प्रहरीलाई बैज्ञानिक रुपमा ट्राफिक व्यवस्थापनबारे जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उपत्यकाको चुनौतिको रुपमा रहेको ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासंग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले सडक सुरक्षा न्यूनिकरण गर्न कुनै कसर बाँकी नराखि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बढ्दो शहरीकरणका साथै सवारी साधनको बृद्धि भएपनि पूर्वाधारमा बिकास नभएका कारण सडक दुर्घटना बढ्दै गएको उनको ठहर छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० आयोजना गरिएको हो ।


प्रतिक्रिया