मस्कसँगको सम्बन्ध अब समाप्त भएको ट्रम्पको घोषणा


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कसँगको सम्बन्ध अब समाप्त भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू र मस्कबीचको घनिष्ठ सम्बन्ध अब टुंगिएको पुष्टि गरे ।
जब पत्रकारले सोधे कि के अब त्यो सम्बन्ध सकिएको हो, ट्रम्पले भने, ‘मेरो अनुमानमा त हो।’ उनले सम्बन्ध सुधार्ने चाहना छ कि भनेर सोधिएको प्रश्नमा छोटो जवाफ दिए —’होइन।’
ट्रम्प र मस्कबीचको यो विवाद पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रुपमा देखिएको छ। यो विवादको सुरुवात मस्कले ट्रम्पको मुख्य घरेलु नीति— कर तथा खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि भएको हो ।
उक्त विधेयकलाई ट्रम्पले ‘बिग ब्यूटिफुल बिल’ भनेर उल्लेख गरेका थिए। मस्कले भने उक्त विधेयकले अर्बौं डलर बराबरको घाटा थप्ने दाबी गरेका थिए। मस्क डजको प्रमुखका रूपमा सरकारको खर्च कटौती गर्ने अभियानमा संलग्न थिए।
उनले उक्त पद छोडेको केही समयपछि सामाजिक सञ्जालमा विधेयकलाई ‘घिनलाग्दो विकृति’ भनेका थिए, यद्यपि उनले ट्रम्पको नाम स्पष्ट रूपमा उल्लेख गरेका थिएनन् ।
तर पछिल्लो दिनहरूमा मस्कले ट्रम्पप्रति आक्रोशपूर्ण टिप्पणी गर्दै ट्रम्प चुनाव हार्ने थिए भन्ने दाबी गरेका छन्। साथै, उनले ट्रम्पको नाम बदनाम वित्तीय कारोबारी जेफ्री एपस्टीनका फाइलहरूमा संलग्न रहेको आरोपसमेत लगाएका थिए, जुन पछि हटाइएको थियो । एपस्टीनका वकिलले ती आरोपहरू अस्वीकार गरिसकेका छन्।