चितवनमा बस र इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते


चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।
चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।
तीमध्ये दुई जनाको सनाखत भएको छ। सनाखत भएका मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै ५३ वर्षीया मैंयाकुमारी न्यौपाने छन्।
अरू चार महिला र एक पुरूषको सनाखत हुन बाँकी छ। घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।
ठोक्किएका दुवै गाडी सडकमै रहेकाले अहिले पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड ठप्प भएको थियो।
अहिले डाइभर्सन बनाएर सवारी साधन आवत जावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।