प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर


काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि रास्वपाका सांसद पुनःबैठकमा आएका छन् । कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए ।
‘सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ’, उनले भने ।