मन्त्री फेर्न प्रधानमन्त्रीलाई सूर्य थापाको सुझाव


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेट आफ्नो मन्त्रालयमा मात्र खन्याएको भन्दै आक्रोश पोखेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले संयुक्त सरकारको नीति विपरीत मन्त्रीले काम गरेको भन्दै प्रधानमन्त्रीलाई मन्त्री फेर्न आग्रह गरेका हुन् उनले भने, ‘मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो । यदि त्यो हुन्न भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ ।’
उनले मन्त्री सिंहले आफ्ना बुवा गणेशमानको निष्ठालाई समेत ख्याल नगरेर बजेटमा बेइमानी गरेको आरोप लगाए ।
उनले भने, ‘सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग मन्त्रालय बनेको छ । जनताको पक्षमा ध्यान छैन । प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनुभयो । हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन ।’
सांसद थापाले ’जय नेपाल’ भनेकै आधारमा कांग्रेसका कार्यकर्ताले बजेट पाएको बताए । थापाले कर्णाली प्रदेशको दैलेख जिल्लाको जलजले क्षेत्रमा मिथेन ग्यासको पहिचान भएको र नेपालको आगामी ५० वर्षको खपत धान्ने भण्डारण रहेको विषय सिङ्गो देशका लागि खुशीको विषय भएको बताए ।
दैलेखमा एक खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन हालै सार्वजनिक भएको थियो ।
सांसद थापाले विगतमा धेरै रकम खर्च गरेर विभिन्न कम्पनीले ग्यास नपाइएको प्रतिवेदनको निष्कर्ष दिएको स्मरण गर्दै पछिल्लो दैलेखमा ग्यास पहिचानको प्रतिवेदनले देशको अर्थतन्त्रलाई बलियो र जनताप्रति आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे । बजेट सन्तुलित नभएको र जनप्रतिनिधिहरूको सुझाव नसमेटिएको गुनासो उनको थियो ।
उनले भने, ‘राष्ट्रिय योजना आयोगले तीन करोड माथिका योजनाको सिलिङ दिए पनि स–साना टुक्रे योजना समेटिएको छ । तीनकरोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गरियोस् ।’