बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीहरूकाे काठमाडौँमा विरोध प्रदर्शन

NepalOne २८ फागुन २०७९ १३:५७
अर्थ समाचार

काठमाडौँ – बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरेका छन् ।

मुलुकभरका व्यवसायी सङ्घ संस्थाहरू एकीकृत भएर आइतबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले बैंक तथा वित्तीय समस्या समाधानको माग गरेका थिए ।

व्यवसायीहरूले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने लगायत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरी व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रिमियम दर वृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, व्याज वृद्धिले हामीलाई गाह्रो भो, बैंकिङ आतङ्क बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायी आन्दोलन सङ्घर्ष समितिका संयोजक नरेश कटुवालले व्यवसायीहरूका समस्याका बारेमा पटक पटक राज्यलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएका कारण आन्दोलन गर्नुपरेको बताए । उद्योगी व्यवसायीहरूलाई बचाउनका लागि एकीकृत भएर प्रदर्शन गरेको उनको भनाइ छ ।

कटुवालले आफूहरूको माग सम्बोधन नभए राष्ट्र बैंक र संसद् भवनमा घेराउ गर्ने चेतावनी दिए । व्यवसायीहरूले मौद्रिक नीति परिमार्जनमा समेत जोड दिएका छन् ।


प्रतिक्रिया