समाचार

क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार हुँदै, भन्छन् -सय फिटमाथि पुगेपछि नियन्त्रण गुमायौं

NepalOne
१० साउन २०८१ १६:०१

काठमाडौं । सौर्य एयर जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् । उनले भने, ‘शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।’

उनको टाउकोलगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाँचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उनले जानकारी दिए । बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

यसैबीच क्याप्टेन शाक्यले जहाज धावनमार्ग छाडेर सय फिटमाथि पुगेपछि नियन्त्रण गुमाएको बताएका छन् । सय फिटमाथि पुगेपछि उड्नुको सट्टा जहाज तल खस्न थालेको उनको भनाई थियो ।


प्रतिक्रिया