कार्तिक शुक्ल पूर्णिमाः भण्डारा एवं ‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती


काठमाडौँ, ३० कात्तिक : गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।
त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेव’का बारेमा विशेष प्रकाश पारिएको थियो । कार्यक्रममा चार सय ५० जनालाई भण्डारा गराइएको स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । गुरु ग्रन्थ साहिबको अखण्ड पाठ एवं भोगप्रसाद पनि सम्पन्न भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाआराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवं पूजाआराधना गरी मनाइएको छ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’को रचना गर्नुभभएको थियो भने जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराउनुभएको बताइन्छ ।