निजीकरणको विरोधमा टर्कीको खानीमा करिब ५०० श्रमिकद्वारा विरोध


टर्कीको राजधानी नजिकै कोइला खानीमा निजीकरण परियोजनाको विरोधमा करिब ५०० जना कामदारले खानी नियन्त्रण गरी हडतालमा उत्रिएको युनियनका एक प्रतिनिधिले शुक्रबार एएफपीलाई बताएका छन् ।
अङ्काराको बाहिरी इलाकामा रहेको कायरहान खानी र थर्मल पावर प्लान्टलाई निजीकरण गर्ने योजनाको विरोधमा बुधबारदेखि प्रदर्शन सुरु भएको हो ।
टर्कीको मादेन इस युनियनका तालिह कोकाबियिकले एएफपीलाई भन्नुभयो, “करिब ५०० जना खानीमा थुनिएका छन् । उनीहरूका सहकर्मी र परिवारका सदस्यहरू पनि उनीहरूलाई सहयोग गर्न त्यहाँ उपस्थित छन् ।”
कोकाबियिकले भन्नुभयो, “खानीमा काम गर्ने श्रमिकहरू भविष्य, उनीहरूको रोजगारीको सुरक्षा र उनीहरूको काम गर्ने अवस्थाको बारेमा चिन्तित छन् ।”
पश्चिमी टर्कीको सोमामा सन् २०१४ मा भएको विस्फोट र आगलागीमा परी ३०१ जना कामदारको मृत्यु भएको घटना अझै सम्झनामा छ ।
प्रमुख विपक्षी सीएचपी पार्टीका नेता ओज्गुर ओजेल र अङ्काराका मेयर मन्सुर यावासले पनि समर्थन जनाउन बिहीबार खानीको भ्रमण गर्नुभएको थियो ।
“निजीकरणपछि कामदारको कटौती गर्ने, उत्पादनमा दबाब र कार्यस्थलमा सुरक्षाको बारेमा चिन्ता हुनेछ,” ओजेलले भ्रमणका क्रममा भन्नुभयो ।
“त्यसैले हामी निजीकरणको विरोध गरेका छौँ,” उहाँले भन्नुभयो ।
कोकाबियिकका अनुसार खानीमा काम गर्ने श्रमिकहरू निजीकरण परियोजना परित्याग नगरेसम्म आफ्नो विरोध जारी राख्न कटिबद्ध छन् र यदि सरकारले खानीको निजीकरणको कार्यक्रम फिर्ता लिँदैन भने उनीहरूले भोक हडताल सुरु गर्ने योजना बनाइरहेका छन्।