गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल सुरु


गण्डकी, ४ असारः गण्डकी प्रदेश सरकारले गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बजेटमाथि छलफल गरियोस् भनी प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा प्रदेशसभा सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ ।
विशेष समय लिएर विपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले बजेट खुला र पारदर्शी हुन नसकेको बताउनुभयो । केही मन्त्रालयमा चालु आवको बाँकी दायित्व र नयाँ योजनाका लागि स्रोत उल्लेख नगरी बजेट ल्याइएको बताउनुभयो । प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन भनिए पनि पर्यटनमै कम बजेट विनियोजन गरिनु सरकारको कमजोरी भएको नेता चुमानको भनाइ छ ।
लक्ष्यअनुसार राजस्व उठन् नसकेकाले राजस्वको दायरा बढाउन सरकारले ठोस नीति र योजना ल्याउनुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य महेश भट्टराईले बजेटले आत्मनिर्भर प्रादेशिक अर्थतन्त्रका लागि बजेटले आधार तयार पार्ने उल्लेख गर्नुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिसहित लगानीका क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट आएको बताउनुभयो । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर पनि समग्र देशको तुलनामा सन्तोषजनक देखिएको उहाँको भनाइ छ ।
प्रदेशसभा सदस्य लीलबहादुर थापाले बजेट तथा कार्यक्रमले उत्पीडित वर्ग, क्षेत्र र समुदायका मागलाई सम्बोधन गनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य बिन्दु पौडेलले प्रदेश सरकार आफैँ सबल र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
बजेटको आकार घट्दै जानुले आर्थिक रुपमा प्रदेश सरकार सक्षम नरहेको सन्देश जाने उहाँको भनाइ छ । उहाँले बजेटमा प्रदेश गौरवका योजनाका रुपमा घोषणा भएका कतिपय योजना अलपत्र परेको बताउँदै कार्यान्वयन योग्य बजेट निर्माणमा जोड दिनुभयो ।
बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, सुधीर पौडेल, सरस्वती गुरुङ, भीमबहादुर कार्कीलगायतले भाग लिनुभएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जीतबहादुर शेरचन, बेदबहादुर गुरुङ, लीलबहादुर थापा, हरिबहादुर भण्डारीलगायत समसामायिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रदेशसभामा विनियोजन विधेयक र बजेटमाथिको छलफल यही असार १२ गतेसम्म सञ्चालन हुने र १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । प्रदेश सरकारले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको थियो ।