`

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न आग्रह : नेता शर्मा

Nepal One HD ७ मंसिर २०८१ २१:२३
राजनीति

जलेश्वर (महोत्तरी), ७ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँडेका नेपाली कांग्रेसका महामन्त्री शर्माले कांग्रेस नै नेपालको युवा, वयस्क र वृद्ध सबैलाई साथसाथै लिएर हिँड्ने पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई सो वडाको उपनिर्वाचनमा कांग्रेसलाई नै जिताउन आग्रह गर्नुभयो ।

तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई एक साथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी कांग्रेस रहेको भन्दै उहाँले आफ्नो स्थान र अधिकार सूरक्षित गर्न कांग्रेसका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

नेता शर्माले यस पार्टीले कुनै जात, धर्म, समुदाय, वर्ग, लिङ्ग नहेरि सबैलाई समान व्यवहार गर्ने भएकाले उपचुनावमा कुनै जात, धर्म, समुदाय, वर्ग, लिङ्ग नहेरी केवल कांग्रेसकै उम्मेदवारलाई भोट दिन मतदाता सबैलाई आग्रह गर्नुभयो । उहाँले उपचुनावले आउँदो २०८४ को निर्वाचनको आधार तयार गर्ने भएकाले यस निर्वाचनको अधिकांश ठाउँमा कांग्रेसको उम्मेदवारलाई जिताएर एकल बहुमतको सरकार बनाउने झझल्को देखाइदिन मतदातालाई आग्रह गर्नुभयो ।

रामगोपालपुर २ को वडाध्यक्ष पदमा राजनीतिक दलका ७ र ११ जना स्वतन्त्रसहित १८ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् भने दुई हजार एक सय ४१ जना मतदाताले मतदान गर्नेभएका छन् ।


प्रतिक्रिया