इन्डोनेसियाबाट १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीको उद्धार

NepalOne १५ मंसिर २०८१ २०:५९
विश्व

इन्डोनेसियाको तटीय क्षेत्रमा रोहिङ्ग्या शरणार्थी यात्रा गरिरहेको डुङ्गा डुबेपछि डुङ्गामा सवार १०० भन्दा बढी शरणार्थी महिला र बालबालिकाको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शनिबार जनाएको छ ।

म्यान्मारमा मुस्लिम समुदायका रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र उक्त उत्पीडन र गरिबीबाट निकाश खौज्दै हरेक वर्ष हजारौँले मलेसिया वा इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

यूएनएचसीआरका फैजल रहमानले शनिबार एएफपीसँग भन्नुभयो, “हामीलाई पूर्वी आचेह सरकारले डुङ्गामा कूल ११६ शरणार्थी रहेको रिपोर्ट प्राप्त भएको छ ।”

उहाँले भन्नुभयो, “शरणार्थीहरू अहिले पनि समुद्रको तटमा छन्, उनीहरूलाई कहाँ लैजाने भन्ने निर्णय भएको छैन।”

उत्तरपूर्वी सुमात्रा टापुको समुद्री किनारबाट केही पर रोहिङ्ग्यालाई लिएर जाँदै गरेको काठको डुङ्गा आधा डुबेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

स्थानीय माझी सैफुद्दीन ताहिरका अनुसार शनिबार बिहान पहिलो पटक डुङ्गा पूर्वी आचेहको पानीमा प्रवेश गरेको देखिएको र त्यसको केही घण्टापछि डुङ्गा डुब्न लागेको थियो ।

“सबै यात्रुहरू बाँच्न सफल भएका छन् तर तिनीहरूमध्ये एक जना बिरामी थिए र तुरुन्तै उपचार भएको छ”, सैफुद्दिनले एएफपीसँग भन्नुभयो, “डुङ्गा समुद्र तटबाट १०० मिटरको दूरीमा डुबेपछि कतिपय शरणार्थीहरू तटीय क्षेत्रको सुरक्षित स्थानसम्म आँफै गएका थिए भने कतिपयलाई स्थानीय माझीहरूले उद्धार गरेका थिए ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी चल्ने महिनाहरूमा सुस्तता देखिन्छ भने समुद्रको अवस्था शान्त हुँदा उच्च हुन्छ ।

गत महिना १५२ रोहिंग्या शरणार्थीलाई दक्षिण आचेह जिल्लाको तटमा केही दिनसम्म रोकेपछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेका थिए।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आउने रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।

दशकँैंदेखिको रक्तपातपूर्ण द्वन्द्वको सम्झना बोकेका थुप्रै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन्।

तर कतिपयले भने रोहिंग्या समुदायले दुर्लभ स्रोत साधन उपभोग गर्ने र कहिलेकाहीं स्थानीयसँग द्वन्द्वमा पर्ने गरेको बताएका छन् ।

रोहिङ्ग्या समुदायसँगको विवादका कारण सन् २०२३ को डिसेम्बरमा सयौँ इन्डोनेसियाली विद्यार्थीले १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई अन्यत्र स्थानान्तरण गर्न आन्दोलन गर्दै आचेहको एक सामुदायिक भवनमा आक्रमण गरेका थिए।


प्रतिक्रिया