समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठले ल्याइन् एल्बम कोपिलाको पुकार

NepalOne १५ माघ २०८१ १८:०९
भिडियो

काठमाडौँ । गायिका दीपानारायण झाको स्वरमा रहेको गिती एल्बम कोपिलाको पुकारको लोकार्पण गरिएको छ । समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको शब्द सृजनामा समावेश गीती एल्बम हो कोपिलाको पुकार । मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको कोपिलाको पुकार एल्बमको शीर्ष गीतको भिडियो पनि निर्माण गरिएको छ ।

कोपिलाको पुकारको भिडियोमा वरिष्ठ गायिका दिपानारायण झा नै फिचर्ड छिन् । एल्बम कोपिलाको पुकारमा ६ वटा गीतहरु समावेश छन् । एल्बममा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भटटराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन् । समाज सेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा संग्रहित गीति कविता कोपिलाको पुकारलाई संगीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन । गीतकार संघको आयोजनमा एल्बम लोकार्पण गरिएको हो । कोपिलाको पुकारमा लक्ष्मण पोखरेलको संगीत, मनोज चौलागाईको एरेन्ज, प्रकाश मिश्रको ध्वनि सम्पादन,अमिर शेखको रेकर्डिङ तथा आनन्द दल सिंह गहतराजको निर्देशन रहेको छ ।

वरिष्ठ गीतकार डा कृष्णहरि बरालले गीतकार सरला श्रेष्ठको गीति लेखन र कोपिलाको पुकारकाबारेमा आफ्ना धारणहरु राखेका थिए । कार्यक्रमा वरिष्ठ गीतकार चुडामणी देवकोटा ,वरिष्ठ गीतकार बिवि थापा, गीतकार संघका अध्यक्ष बसन्त बित्याशी थापा, गीतकार संघका उपाध्क्ष रमेश कोईराला, विशिष्ट संगीतकार राजु सिंह विशिष्ट गायिका संगीता प्रधान राना, लगायतका वक्ताहरुले गीति एल्मबकाबारेमा चर्चा परिचर्चा गरेका थिए ।

लामो समयको अन्तराल पछि लोकप्रिय गायिका दिपा नारायण झाको आवाजलाई नेपाली श्रोताहरु माझ ल्याउन पहल गरेकोमा संगीतकार राजु सिंहले उक्त गीतका गीतकार तथा संगीतकारलाई धन्यवाद व्यक्त गरेका थिए । गीतकार सरला श्रेष्ठले पनि कोपिलाको पुकारलाई दर्शक तथा श्रोता माझ ल्याउन पाएकोमा खुसी ब्यक्त गरेकी थिईन् । कार्यक्रमा वरिष्ठ गीतकार नारायण कुमार आचार्य, वरिष्ठ संगीतज्ञ अमुल कार्कीढली, वरिष्ठ संगीतकार किर्ति न्यौपाने, वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेती लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजसेबी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठ भावविह्वल मुद्रामा देखिएकी थिइन् । उनले नेपाली गीत संगीतको चर्चा गर्दै जन्मदाता बाबु आमाप्रतिको प्रेम उजागर गरेकी थिइन् । कार्यक्रममा गायिका तथा संगीतकार बबिना भट्राईले गुनासो , दिल त दामी, भेट्नु र छुट्टीनु बोलका ३ गीत गाएकी थिइन् । त्यस्तै केलालीबाट आएकी बालगायिका प्रतिज्ञा कुँवरले कोपिलाको पुकारको दुई लाइन गाएकी थिइन् ।

यसअघि समाजसेबी साहित्यकार तथा गीतकार सरला श्रेष्ठले गत वर्ष गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको किर्ती न्यौपानेको संगीतमा रहेको ए मेरो मनको राजा बोलको गीतले पनि चर्चा कमाएको थियो । जसमा मोडलद्धय गरिमा शर्मा र पुष्प खड्काको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोको निर्देशन अनुभवी निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । भिडियोको छायांकनका क्रममा गीतकार श्रेष्ठ स्वयम छायांकनस्थलमा पुगेकी थिइन् । सुन्दर पर्यटकीय स्थल चित्लाङ र कुलेखानीको रोमाञ्चक दृश्य देखेर अमेरिकामा बस्दै आएकी गीतकार श्रेष्ठ निकै प्रफुल्ति भएकी थिइन् ।


प्रतिक्रिया