निर्धारित समयमा आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

NepalOne १८ जेठ २०८२ २१:५६
राजनीति

मन्थली (रामेछाप), १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निर्माणाधीन सुनकोशी मरिन ड्राइभर्सन आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री खड्काले सुनकोशी मरिन ड्राइभर्सनअन्तर्गतको रामेछापको सेलेघाट र सिन्धुलीको खुर्कोटमा निमाणाधीन ड्याम र सिन्धुलीको कुसुमटारमा भएको आयोजनाको कामको प्रगतिका बारेमा आज जानकारी लिँदै सो आयोजना कार्यालयका कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो । अवलोकनपछि मन्थलीस्थित सेलेघाटमा रहेको आयोजनाको कार्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके सबैलाई फाइदा हुने भन्दै यसमा आयोजना, मन्त्रालय र निर्माण व्यवसायीमार्फत भएका केही कमी कमजोरीलाई सच्याएर कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा निर्माण व्यवसायीहरुले गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन धेरै संरचनामा क्षति पुर्याएको र खुर्कोट पुलबाट एक पटकमा १५ टनभन्दा बढी सामान ढुवानी गर्न नमिल्ने भएकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसकिने र त्यसका लागि करिब २ वर्षको अवधि थप गर्नुपर्ने माग राखेका थिए ।

सुनकोशी मरिन ड्राइभर्सन आयोजना निर्माण सम्पन्न भएपछि तराईका आठभन्दा बढी जिल्ला सिँचाइ सुविधाबाट लाभान्वित हुनेछन् ।


प्रतिक्रिया