ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उदघाटन गरेका छन् । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।
‘यस क्षेत्रका माननीयज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदीहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर रहेको’, उर्जामन्त्री खड्काले बताए ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रो पटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए ।
उनले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताएका छन् ।
कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने जानकारी दिए ।
‘यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ । ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,’ उनले भने ।
सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह समेत गरेका थिए ।