झापामा चिनियाँ राजदूत कृषि तथा साना उद्योग अवलोकनलगायतका कार्यक्रममा व्यस्त

NepalOne २८ जेठ २०८२ ११:२६
समाज

झापा । नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी भएका छन् ।

राजदूत छनले मङ्गलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन गरे भने आज अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहेका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुङ्गेलले राससलाई जानकारी दिए ।

‘उहाँहरूले लगानीको सम्भावित क्षेत्रबारे जानकारी लिँदै स्थलगत अवलोकन गरिरहनुभएको छ’, उनले भने ।
एक हजार ९०० विद्यार्थीलाई सहयोग

बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार ९०० विद्यार्थीलाई चिनियाँ राजदूत छनले शैक्षिक सामग्री प्रदान गरेका छन् । मङ्गलबार अर्जुनधारास्थित शनिश्चरे माविका एक हजार ५०० र बिर्तामोडस्थित दुर्गा माविको चार सय विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्री प्रदान गरे ।

चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा ५० लाखको लागतमा निर्माण भएको चारकोठे दुईतले भवन निर्माण भएको भवनको राजदूत छन र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा प्रसाईँले उद्घाटन गरेकी छन् ।

राजदूत छनले शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुहुँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गरे । राजदूत छनले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउनुहँदै २०७२ सालको भूकम्पपछि नेपालमा विभिन्न स्थानमा १० वटा विद्यालय निर्माण गरेको बताए ।

नगरप्रमुख प्रसाईँले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायत क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।


प्रतिक्रिया