कांग्रेस चितवनको ‘सात पालिका, सात वाटिका’ कार्यक्रम


चितवन, २९ जेठः नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ ।
आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको सभापति खनालले जानकारी दिनुभयो ।
जग्गा प्राप्तिसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व आचार्यको नाममा उद्यान निर्माण गर्ने छन् । यसअघि पार्टीले गत असोज २ गते माडी नगरपालिका–५ मा गणेशमान सिंह स्मृति उद्यान निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले विसं २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरेअनुसार वाटिका निर्माण थालिएको हो ।
भरतपुरमा यसअघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति उद्यान बनाउने, खैरहनीमा शुवर्ण शम्शेर, रत्ननगरमा सुशील कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति उद्यान निर्माण गर्न लागिएको सभापति खनालले जानकारी दिनुभयो ।
यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको सभापति खनालले बताउनुभयो । निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्नेछ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत गर्न उपयुक्त हुने भएकाले सोहीअनुसार काम गर्न लागिएको हो ।