एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न ४१ जनाले इजाजत लिए


काँक्रेविहार (सुर्खेत), ३० जेठ : डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताउनुभयो ।
साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उहाँले बताउनुभयो । जेठमा मात्र नौ जनाले इजाजत लिएको उहाँको भनाइ छ । अहिलेमात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । प्रतिकेजी रु ३१ हजार लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको रु एक करोड दुई लाख २४ हजार उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् ।
उता से–फोक्सुण्डो राष्ट्रिय निकुन्जले समेत प्रवेश शुल्क उठाउने गर्दछ । यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको थियो । हाल अन्तिम चरणमा पुगेको छ । बर्सेनि डोल्पामा यार्सागुम्बा सङ्कलन हुने गर्छ । यहाँका स्थानीयवासीको आयआर्जनको भरपर्दो माध्यमसमेत यही रहेको छ । निकुन्जभित्र उठेको रोयल्टी शुल्क सङ्कलनको कार्य जारी रहेको कार्यालयले जनाएको छ । असार ५ गतेसम्म यार्सागुम्बा सङ्कलनको काम जारी रहनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष कम मात्रामा यार्सागुम्बा पाइने गरेको सङ्कलक बताउँछन् ।