बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

NepalOne ३१ जेठ २०८२ ७:२८
खेलकुद

काठमाडौं । बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पा¥यो । ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसाथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।


प्रतिक्रिया