आर्मीका तिलक सुनुवारलाई शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई


रामेछाप । शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो ।
सुनापाति ३ साँदीडाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडाकटेरी, घले डाँडा हुँदै सैलुङमा पुगेर खेल सम्पन्न भएको थियो ।
एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा प्रतियोगिताको ५५ किमी दौड रामेछापको उमाकुण्ड गाउँपालिका घर भएका त्रिभुवन आर्मी क्लबका तिलक सुनुवारले जितेका छन् ।
उनले ५५ किलोमिटरको दुरी ५ घण्टा ७ मिनेटमा पार गरेका हुन् । सुनुवारले विजेताले नगद १ लाख रुपैँया पुरस्कार जितेका छन् ।
प्रतियोगितामा ताप्लेजुङ घर भएका नेपाल आर्मीका चन्द्रबहादुर लिम्बु उपविजेता बनेका छन् । उनले सो दुरी ५ घण्टा ८ मिनेटमा पार गरे । उपविजेताले ५० हजार रुपैँया नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै तेस्रो हुने नेपाल आर्मीकै सोलुका अर्जुन कुलङले २५ हजार रुपैँया नगद प्राप्त गरेका छन् । उनले पाँच घण्टा ११ मिनेटमा सो दुरी पार गरेका हुन् ।
प्रतियोगितामा चौथो हुनेले १० हजार र पाँचौँ स्थानमा रहनेले ५ हजार रुपैँया जितेका छन् । छैटौँदेखि १० औँ स्थानमा आउनेले जनही एक हजार रुपैँया पाएका छन् ।
यस्तै ५ किलोमिटर दुरीको विजेता नेपाल आर्मीका अर्जुन बुढाले १२ हजार नगद पुरस्कार पाएका छन् । बुढाले सो दौड १८ मिनेट ४० सेकेन्डमा पुरा गरेका थिए ।
उपविजेता आर्मीकै सूर्यराज राईले १९ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी ८ हजार रुपैँया नगद प्राप्त गरेका छन् । तेस्रो हुने नेपाल आर्मीका बुद्धराम तामाङले २० मिनेट ८ सेकेन्डमा दुरी पुरा गरी ५ हजार नगद प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा चौथो हुनेले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैँया पुरस्कार पाएका छन् । छैटौँदेखि १० औँ स्थानमा रहनेले जनही १ हजार रुपैँया प्राप्त गरेको छन् ।