इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

NepalOne १ असार २०८२ १८:२६
प्रमुख खबर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न इजरायल र कतारका लागि नेपाली राजदूतलाई निर्देशन दिएकी छन् ।

इजरायल र कतारका लागि नेपाली राजदूतलाई आइतबार टेलिफोन गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न उनले निर्देशन दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ ।’

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेको तथा उनीहरू सबैजना सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया