रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सामा मुद्दा दर्ता


वीरगंज । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको हो । प्रहरीले करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
लामिछानेले सहकारी संस्थाबाट १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको अभियोजन पत्रमा उल्लेख छ । लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन् । सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।
सानो पाइला सहकारीले ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।