देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग


काठमाडौँ, ५ असारः सांसदहरुले नेपालमा भएका काठको सदुपयोग नगरी विदेशबाट काठ आयात गर्न नहुनेमा विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकका विषयमा छलफल गर्नुहुँदै सांसद देवप्रसाद तिमल्सिनाले नेपालका राम्रा काठ सदुपयोग नभई मलेसियादेखि काठ ल्याउनु उपयुक्त नभएको बताउनुभयो । उहाँले पहाडी जिल्लामा रहेका अदालतका जीर्ण भवन निर्माणका लागि बजेट विनियोजन नभएकामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नारायणप्रसाद आचार्यले तीन वटै तहका सरकारको समन्वयमा बजेट खर्च गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यमान तामाङ (दोङ)ले रासायनिक मलमा चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि रु १८ करोड कम गरेको उल्लेख गर्नुभयो ।
सांसदहरु भानुभक्त जोशी, प्रतीक्षा तिवारी, सुरेन्द्रराज आचार्य, बिजुला रायमाझीले कृषि प्रधान देशमा कृषिमा कम बजेट राखिएको, नेपालको वन तस्करको धन हुन पुगेको, वन मन्त्रालयको बजेट कार्यान्वयन हुन नसक्ने देखिएका बताउनुभएको थियो ।
यसैगरी उहाँहरुले आवश्यक नभएको स्थानमा बजेट राखिएको र बजेट चाहिने ठाउँमा नराखिएको, चुरेको दोहन नरोकिएको, प्लाष्टिकले खेतीयोग्य जमिनमा असर गरेको, पाउनुपर्नेले कृषि अनुदान नपाएकाले यसतर्फ सरकारेको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।