चितवनमा प्याजले पाएन उचित मूल्य


चितवन । चितवन जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।
तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमला १६ कट्ठामा लगाएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य भएका छन् ।
उनले भने, “मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन ।” बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उनी बताउँछन् । व्यवसायीले प्रतिकिलो २५ रुपैयाँभन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताए । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए ।
भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो २० देखि ३० रुपैयाँमा बेच्न बाध्य भएको बताउँछन् । उनले भने, “भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।”
जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, “चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।”
आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उनको भनाइ छ । नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्नसके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताए ।
उनले भने, “अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।” प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उनले जानकारी दिए । अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउने गरी काम भइरहेको अधिकारीले बताए ।
यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ ।