राउण्ड टेबल : डिजिटल मिडियामा अवसर धेरै छ सदुपयोग गरौं


डिजिटल मिडिया : अवसर र चुनौति विषयक राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ । नेपाल वान एचडी नेटवर्कको आयोजनामा बसेरा बुटिक होटल, बबरमहलमा शुक्रबार राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरूले डिजिटल मिडियाले आचारसंहिता पालना गर्दै थप शसक्त ढंगले पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय डिजिटल मिडिया अगाडि बढ्दै गर्दा संक्रमणकालीन अवस्थामा गुज्रनुपरेको समेत उल्लेख गरे ।
कार्यक्रममा वक्ताहरूले पत्रकारहरूको सुरक्षा, सञ्चारकर्मीमाथि साइबर अपराधको नाममा हुने हस्तक्षेप लगायतमा गहन छलफल गरेका छन् । कार्यक्रममा डिजिटल मिडियाको वर्तमान अभ्यास र अभाव भएका नीतिहरू, नियामक, प्रशासन र प्रेसबीचको समन्वय, कन्टेन्ट क्रिएटरहरूलाई अवसर र पहिचानबारे बृहत छलफल समेत गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेत, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बानियाँ, नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल, नेपाल प्रहरीका एसपी दीपकराज अवस्थी र डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’का महासचिव युवराज कँडेलले विभिन्न विषयसँग सम्बन्धित रहेर छलफल गरेका थिए । पत्रकारहरूले डिजिटल मिडियामा कन्टेन्ट बनाउँदा र प्रसारण गर्दा पनि आचारसंहितालाई ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले अहिले डिजिटल मिडियामा अवसर र चुनौति दुवै महत्वपूर्ण विषयभएको बताए । उनले डिजिटल माध्यममार्फत पत्रकारिता संवेदनशील भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,’पत्रकारिता र आचारसंहिता सँगसँगै हुन्छ । यसलाई छुट्याउन सकिँदैन ।’
अहिले सबै सञ्चारमाध्यमले डिजिटल मिडियामा समेत सँगै प्रसारण र समाचार सम्प्रेषण गर्ने काम गरिरहेको सन्दर्भमा सोही अनुसारको आचारसंहिता आवश्यक पर्ने उनले बताए । उनले भने, ‘सबै डिजिटल मिडियामा गएको अवस्था छ । त्यसकारण डिजिटल मिडियाका लागि आचारसंहिता आवश्यक छ ।’ प्रेस काउन्सिलले पत्रकार आचारसंहिता प्रभावकारी रुपमा लागू गर्नका लागि घच्घचाउने काम गर्दै आइरहेको उनले बताए । अहिले विश्वसनीयता र जवाफ सहितको पत्रकारिताको खाँचो रहेको उनले बताए । डिजिटल मिडियाले सूचना वा समाचार के दिइरहेको छ भन्ने छुट्याउनुपर्नेमा उनको जोड छ ।
छलफलमा नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेलले अहिले समाचार सम्प्रेशणका क्रममा आचारसंहिता अति नै आवश्यक रहेको बताए । अहिले डिजिटल मिडियामा एकदमै धेरै अवसर रहेको भन्दै यसको सदूपयोग गर्नेतर्फ ध्यान पुर्याउनका लागि आग्रह गरे । उनले जिम्मेवार र मर्यादित पत्रकारिता गर्नुपर्ने र डिजिटल मिडियामा कन्टेन्ट क्रियटिङको काम गर्नेले पनि कानूनलाई पालना गरेर अगाडि बढेमा यसमाथिको विश्वसनीयता बढी हुने बताए ।
हिमालय टिभीका समाचार प्रमुख राजेन्द्र बानियाँले अहिले प्रविधिको रुपान्तरण छिटो छिटो भइरहेको र सबैले त्यसलाई आत्मसाथ गर्नुपर्ने बताए । उनले पत्रकारिता डिजिटल मिडियामा रुपान्तरण हुँदै गर्दा सूचनामा छिटो गर्नुका साथै पुष्टीका लागि भने पर्खने धैर्यता राख्नुपर्नेमा जोड दिए । अहिले कुनै पनि कार्यक्रम कति चलेको छ भनेर नाप्नका लागि युट्युब,फेसबूक लगायतमा देखिने भ्युज हेरिने उनले सुनाए । अहिले डिजिटल माध्यमले अथाह सम्भावना दिएको उनको भनाइ छ ।
‘हामीले डिजिटल मिडियालाई पहिले नै एक्सेप्ट गरेर प्रयोगमा ल्याइरहेका छौं । अब हाम्रो न्युज रिपोर्टलाई टिकटकमा कसरी राख्ने भन्ने सोच्ने बेला आइसकेको छ । दुवै चिजलाई सन्तुलनमा राख्नका लागि हामीले ध्यान दिनुपर्छ, डिजिटल मिडियाको अवसरहरूको सन्दर्भमा उनले भने ।
नेपाल प्रहरीका एसपी दीपकराज अवस्थीले पत्रकारले लेखेका समाचारका विषयमा प्रेस काउन्सिलसँग छलफल गरेर मात्रै आएका मुद्धाहरूलाई प्रकृति हेरेर अगाडि बढाइने गरिएको बताए । उनले यस्ता विषयमा सरकारले समन्वयका लागि पहल गर्नुपर्नेमा त्यस्तो नभएको समेत सुनाए । ‘जनशक्ति, प्रविधि लगायतको अभावका कारण हामीले नियमन गर्न सकिरहेका छैनौं । हाम्रा सबै संयन्त्रलाई बलियो बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई समेत रक्षा गर्दै काम गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
कार्यक्रममा डिजिटल मिडिया अलायन्स नेपाल ९डिम्यान०का महासचिव युवराज कँडेलले सबै माध्यमको नतिजा अहिले डिजिटल मिडियामा लिंक हुने गरेको बताउँदै त्यसले डिजिटल मिडियाको महत्व झनै बढाएको बताए । उनले भने,’छापा माध्यमले समाचार प्रकाशित गरिसकेपछि सेयर गर्ने डिजिटल मिडियामा नै हुन्छ । अहिले कुनै पनि टिभी कार्यक्रम कत्तिको चलेको छ हेर्नका लागि डिजिटल माध्यमकै प्रयोग गर्ने गरिएको छ ।’
उनले पत्रकार र कन्टेन्ट क्रियटरलाई एउटै डालोमा हेरिँदा समस्या भएको सुनाए । डिजिटल माध्यममा आएका कन्टेन्ट क्रियटरलाई पत्रकार र सामाग्रीलाई समाचार मान्दा समस्या सिर्जना भएको उनले बताए । ‘कन्टेन्ट क्रियटरले समाचार नदिन पनि सक्छन् तर पत्रकारले कन्टेन्ट दिन्छन्। त्यसकारण डिजीटलर माध्यमलाई समाचार स्रोतका रूपमा एसेप्ट गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।
उनले डिजिटल मिडियामा पत्रकारिता गर्नेले आचारसंहिता मान्नै पर्ने र मान्दै आएको समेत दाबी गरे । ‘पत्रिकामा समाचार आयो गल्ती भयो अत्ति भयो भने मानहानीको मुद्दा हुन्छ । तर युट्युब वा अन्य डिजिटल मिडियामा हाल्ने बितिक्कै साइबर क्राइमतिर मुद्दा चलाउने काम भयो । यहाँ चाहीँ किन विभेद ? उनको प्रश्न थियो ।
‘डिजिटल मिडियास् अवसर र चुनौतिु विषयक राउण्ड टेबल छलफलले विभिन्न दृष्टिकोणका अनुभव, चिन्ता र समाधान एकै थलोमा प्रस्तुत गर्दै समन्वय,सहकार्य र नीतिगत बहसलाई संस्थागत स्वरुपमा लैजाने पहिलो प्रयास भएको आयोजक एवम् कार्यक्रम प्रस्तोता मोनिका सिंहले बताइन् ।