‘कर्णालीको अवस्था बदल्ने जिम्मेवारी अब युवाको काँधमा’ – मुख्यमन्त्री कँडेल


काँक्रेविहार (सुर्खेत), ६ असार : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अब युवाको काँधमा रहेको बताउनुभएको द्ध ।
राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल छ ।” कर्णाली प्राकृतिक हिसाबले भरिपूर्ण छ यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुने उहाँले बताउनुभयो । श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउने नीति प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो । सरकारले कृषि, पर्यटन र लघुउद्योगलाई प्राथामिकतामा राखेर अगाडि बढ्ने जानकारी दिनुभयो । विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।