प्रविधिको विकाससँगै डिजिटल मिडिया अपरिहार्य: राजेन्द्र बानियाँ


हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बानियाँले प्रविधिको विकाससँगै डिजिटल मिडिया अपरिहार्य भएको बताएका छन् । उनले सञ्चार प्रविधिको छिटो छिटो रुपान्तरण भएको अवस्थामा डिजिटल मिडियालाई सबैले आत्मसाथ गरिरहेको समेत बताए ।
नेपाल वान एचडी नेटवर्कको आयोजनामा बसेरा बुटिक होटल, बबरमहलमा शुक्रबार सम्पन्न भएको राउण्ड टेबल कार्यक्रममाउनले डिजिटल मिडियामा रुपान्तरण हुँदै गर्दा समाचार पर्ख र हेरको अवस्थामा सन्तुलन कायम गर्नुपर्ने बताए ।
‘टिभीले पर्खन सक्ने र डिजिटल मिडियाले पर्खन नसक्ने भन्ने हुँदैन,’ उनले भने ‘दुवैले जानकारीका लागि पर्खन पाइँदैन तर कम्फर्मेसनका लागि सबैले पर्खन सक्नुपर्छ ।’ इरानमा इजरायलले आक्रमण गरेको ८ घण्टापछि समाचार प्रसारण गर्छु भन्ने समय अहिले नभएको उनले बताए ।
यस्तो अवस्थामा सञ्चारमाध्यमले आचारसंहितालाई समेत ध्यान दिँदै सत्यतथ्य समाचार दिनुपर्ने बताए । उनले टेलिभिजन आफैंमा डिजिटल मिडिया भएको बताए । उनले भने,टिभीमा प्रसारण भएकै समयमा सामाजिक सञ्जाल लगायतका डिजिटल मिडियामा प्रसारण गर्नका उत्तिकै चिन्तित हुन्छु ।’
उनले विगतमा घटना घट्नु अगावै घटना घटेको भनेर समाचार सम्प्रेषण भएकाले त्यसबाट पाठ सिक्नु जरुरी रहेको बताए । उनले भने,’हामी धेरैले अनुभव गरेको, गिरिजा प्रसाद कोइरालाको निधन हुनु अगावै धेरै मिडियाले निधनको समाचार प्रकाशित गरेका थिए ।’
अहिले कुनै पनि कार्यक्रम कति चलेको छ भनेर नाप्नका लागि युट्युब, फेसबुक लगायतमा देखिने भ्युज हेरेर भन्न सकिने उनले बताए । उनले अहिले डिजिटल मिडियाले अथाह सम्भावना दिएको समेत बताए ।
उनले अहिले धेरै सञ्चार माध्यमले डिजिटल मिडियालाई प्रयोगमा ल्याइररहेको बताए । ‘हामीले डिजिटल मिडियालाई पहिले नै एक्सेप्ट गरेर प्रयोगमा ल्याइरहेका छौं,’ उनले भने,’अब हाम्रो न्युज रिपोर्टलाई टिकटकमा कसरी राख्ने भन्ने सोच्ने बेला आइसकेको छ । दुवै चिजलाई सन्तुलनमा राख्नका लागि हामीले ध्यान दिनुपर्छ ।’