काठमाडौँ \ नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधार्नु सरकारको मुख्य ध्यान रहेको बताउनु भएको छ । मंगलबार नेपाल उद्योग परिसंघले नवनियुक्त प्रधानमन्त्री प्रचण्ड’ सँग भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटार पुगेर भेटवार्ता गरेको हो ।
भेटका अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिनुहुँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिनुभयो ।
परिसंघले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र ९तरलता संकट तथा उच्च ब्याजदर०, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गर्नुभयो ।
परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताउनुभयो । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताउनुभयो । ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ’ उहाँले भन्नुभयो ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभयो ।