आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला

राजविराज (सप्तरी), १७ मङ्सिरः नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आज राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गर्नुभयो । पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो ।

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम, १७ मङ्सिर : सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ ।

कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो ।

तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले पाँच सय ५३ मत पाउनुभयो । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित हुनुभएको थियो । उहाँको निधनपछि उपनिर्वाचन भएको हो । विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो ।

दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ । सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाउनुभयो । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु–५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धि एमालेका मानसिंह बडालले तीन सय ५८ मत पाउनुभयो ।

कांग्रेसले डोटीको पूर्वीचौकी गापा–६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६ को वडाध्यक्षमा पुनः विजय प्राप्तगरी बिरासत जोगाएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाउनुभयो ।

भीमदत्त नगरनगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित हुनुभयो ।

उपनिर्वाचनअन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ ।

आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो ।

‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक : प्रदेश प्रमुख

गण्डकी, १७ मङ्सिर : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१५ स्थित ढुङ्गेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ को आज उद्घाटन गर्नुहुँदै उहाँले ‘स्वच्छ एवं नैतिक समाज निर्माण गर्न अनुशासन आवश्यक हुने र अनुशासन धर्मले सिकाउने बताउनुभयो ।

“धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन्”, उहाँले भन्नुभयो, “जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँदछन् । असल संस्कार र संस्कृति मुलुक समृद्धिका आधार हुन् ।”

असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिँदै उहाँले जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने आवश्यकता आङ्ल्याउनुभयो ।

धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनबाट यस्ता सत्कर्मका प्रयास आवश्यक रहनेमा जोड दिँदै उहाँले विश्वका कयौँ देशले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको उल्लेख गर्नुभयो ।

पर्यटन प्रवर्द्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागिएको मन्दिरका अध्यक्ष मदन गिरीले जानकारी दिनुभयो ।

विगतमा पनि साधुसन्त महन्त सिद्ध पुरुषले यसै स्थानमा कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस स्थलमा विभिन्न उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिङ्ग स्थापनालगायतका विभिन्न उद्देश्य राखिएको महायज्ञमा प्रमुख वाचक, संरक्षक तथा यज्ञ सङ्कल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) जीलगायतको कथा वाचन हुने गिरीले जानकारी दिनुभयो ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेकामा आलोचना गरेको केही हप्तापछि जर्मन चान्सलर ओलाफ स्कोल्ज सोमबार साढे दुई वर्षपछि पहिलो पटक युक्रेन आउनुभएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको नयाँ प्रशासनले युक्रेनका लागि के अर्थ राख्छ भन्ने बारेमा व्यापक अनुमानको समयमा त्यो फोन वार्ता भएको थियो किनभने आगामी राष्ट्रपति ट्रम्पले द्वन्द्व अन्त्य गर्ने वाचा गर्नुभएको छ । एउटा ठूलो परिवर्तनमा जेलेन्स्कीले शुक्रबार किएभको नियन्त्रणमा रहेको क्षेत्रमा नेटो सदस्यताको प्रस्तावले युक्रेनमा ‘युद्धको गरम चरण’ अन्त्य गर्न सक्ने सङ्केत गर्नुभएको छ ।

स्कोल्जको भ्रमण फेब्रुअरीमा हुने अपेक्षा गरिएको प्रारम्भिक जर्मन चुनावको अगाडि भएको हो । अभियान चलिरहेको बेला स्कोल्जले युक्रेनको दोस्रो सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ताका रूपमा जर्मनीको स्थितिलाई औँल्याउनुभयो र युद्ध बढ्न रोक्न र टाउरस लामो–दूरीको क्रुज क्षेप्यास्त्र आपूर्ति अस्वीकार गर्दै आफ्नो ‘सावधानी’ लाई जोड दिनुभयो ।

स्कोल्जले युक्रेनका लागि नाटो सदस्यता द्रुत प्रक्रियाको कुराबारे सावधानी अपनाउनुभएको छ । हालैका महिनाहरूमा उहाँले शान्तिको मार्ग भेट्टाउने महत्त्वलाई जोड दिनुभएको छ । यद्यपि उहाँले यो युक्रेनको सिफारिशमा चयन गरिनुहुँदैन भन्नुभएको छ ।

उहाँले जेलेन्स्कीसँगको आफ्नो भेटमा यस महिना थप ६५ करोड युरोको थप सैन्य वितरणको घोषणा गर्ने बताउनुभयो । “म यहाँ स्थलगत रूपमा स्पष्ट पार्न चाहन्छु कि जर्मनी युरोपमा युक्रेनको सबैभन्दा बलियो समर्थक रहनेछ”, उहाँले भन्नुभयो ।

यसका बाबजुद स्कोल्जलाई नोभेम्बरमा जेलेन्स्कीले पुटिनसँग कुरा गरेकोमा आलोचना गर्नुभएको थियो । यो करिब दुई वर्षमा प्रमुख पश्चिमी शक्तिका वर्तमान नेतासँग भएको पहिलो कुराकानी जस्तो देखिन्छ । त्यो फोन वार्तामा स्कोल्जले पुटिनलाई युक्रेनसँग वार्ताका लागि खुला हुन आग्रह गर्नुभयो तर रुसी नेताले कुनै पनि शान्ति सम्झौताले रुसको क्षेत्रीय लाभ र सुरक्षा मागहरू स्वीकार गर्नुपर्ने र त्यसमा किएभले नाटोमा सामेल हुन त्याग्नु पर्ने बताउनुभयो ।

जेलेन्स्कीले पुटिनसँग कुरा गर्नाले ‘प्यान्डोराको बाकस’ खोल्ने जोखिम रहेको र रूसलाई अझ कम पृथक बनाउने काम मात्र गर्ने सुझाव दिनुभयो । उहाँ अक्टोबरमा युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन जुटाउन युरोपका राजधानीहरूमा स्कोल्जसँग भेट्न बर्लिन जानुभएको थियो ।

उक्त योजनामा युक्रेनले नाटोमा सामेल हुन औपचारिक निमन्त्रणा प्राप्त गर्ने सुझाव र किएभलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा प्रहार गर्न लामो दूरीका पश्चिमी मिसाइलहरू प्रयोग गर्ने अनुमति दिने अनुरोध समावेश थियो ।

केही पश्चिमी राष्ट्रहरूले नोभेम्बरमा आफ्ना हतियारहरू प्रयोग गरी लामो–दूरी आक्रमण गर्न किएभलाई अनुमति दिए । त्यो निर्णयपछि पुटिनले रूसले ‘ओरेसनिक’ नामक रोक्न नसकिने मध्यम दूरीको क्षेप्यास्त्र प्रयोग गरी युक्रेनमा आक्रमण गरेको बताउनुभयो । यो पहिलो पटक थियो जब त्यस्तो क्षेप्यास्त्र युद्धमा वा अन्य कुनै द्वन्द्वमा प्रयोग गरिएको थियो ।

कञ्चनजङ्गा गोल्डकप: भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश

फुङ्लिङ (ताप्लेजुङ) १७ मङ्सिर : ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरको हो ।

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्गा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । भानुजन मावि अम्बिटारको मैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गरे । मध्यान्तर अघि तामाङको गोलबाट अग्रता बनाएको गोधुलीका लागि मध्यान्तरपछि मिलन राईले दोस्रो गोल थप्दै टिमको जित सुनिश्चित गरे ।

दोर्जे तामाङ यसअघि दोस्रो ताप्लेजुङ गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेको आयोजकले जनाएको छ । प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमीफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका क्वाटरफाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन ्। मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच पहिलो चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् ।

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, १७ मङ्सिर : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताउनुभएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज आयोजना गरेको समीक्षामा उहाँले काम छिटो गर्न र गुणस्तरमा ध्यान दिन कार्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो । “सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।” चालु वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार विकासअन्र्तगत विनीयोजन भएको छ ।

प्रदेश स्थापनाको यस अवधिसम्म ७५ अर्ब रूपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट छ सय ९६ किलोमिटर सडक ग्राबेल, नौ सय एक किलोमिटर ब्ल्याक टप कालोपत्रे, एक सय तीनवटा पूल निर्माण भएको छ । “प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश स्थापनापछि विकासको गति बढेको छ ।” सङ्घ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उहाँले बताउनुभयो ।

गत वर्ष सङ्घ सरकारले करिब दुई अर्ब अनुदान नपठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गत वर्ष अनुदान नआउँदा अहिले पनि प्रदेश सरकारलाई करिब तीन अर्बको दायित्व छ ।” योजना छनोट भएर कार्यान्वयनमा गएपछि बजेट काटिँदा प्रदेश सरकारको दायित्व बढेको उहाँले बताउनुभयो ।

‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ – मन्त्री यादव

सुर्खेत (वीरेन्द्रनगर), १७ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ ।

कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा उहाँले बजेट अभाव देखाई काम हुन नसकेका सङ्घीय खानेपानी योजनामा अब समस्या नहुने बताउनुभएको हो । “म यहाँका जनप्रतिनिधि, स्थानीयवासीलाई विश्वास दिलाउन चाहन्छु, सङ्घीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका कुनै पनि योजना पैसा अभावमा रोकिने छैन । बजेट रकमान्तर गरेर भए पनि यहाँका समस्या समाधान गर्छु”, मन्त्री यादवले भन्नुभयो ।

यसैगरी उहाँले कर्णाली प्रदेशसहित विकट क्षेत्रका आमनेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा हालसम्म जम्मा चार प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेका र ९६ प्रतिशतले अहिलेसम्म पनि शुद्ध पानी नपाएको अवस्था छ । यसको अन्त्य गर्न लागिपरेको छु ।”

मन्त्री यादवले स्वच्छ खानेपानीसहित एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाइ काम गरिरहेको जानकारी दिनुभयो । आज उद्घाटन गरिएको यस सेवा केन्द्रले स्थानीय तहमा रहेका ग्रामीण खानेपानी आयोजनाका उपभोक्ता समिति र सम्बन्धित गाउँ र नगरपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता इकाइबीच मुख्य समन्वयकारी भूमिका खेल्ने लक्ष्य राखिएको मन्त्री यादवको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका करिब २० हजार घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउने गरी विश्व बैंकको सहयोगमा भेरी लिफ्टिङ आयोजना निर्माण गर्न खानेपानी मन्त्रालयले समन्वयकारी भूमिका खेलेकोसमेत उहाँले बताउनुभयो । ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना गर्न मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, फिनल्याण्ड सरकार युरोपियन युनियन, स्थानीय तह तथा उपभोक्ता समिति, सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) ले सहयोग गरेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी मन्त्रालयले भविष्यमा सहायता केन्द्र अन्य प्रदेशमा समेत विस्तारका लागि पहल हुने बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले दीगो विकासको लक्ष्य, ऐन नीतिअनुसार प्रगति हासिल गर्ने जिम्मेवारी तिनै तहको भएकाले केन्द्रले खानेपानी आयोजनाको दीगो सञ्चालनमा सहयोग पुर्‍याउने बताउनुभयो ।

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।

विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबीच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठूलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।

नोभेम्बर २१ देखि भएकोे झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने तथा हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ ।

बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग–अलग सवारी साधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडकहरू बन्द भएका छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन् ।

प्रान्तीय राजधानी पेशावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीहरूले युद्धविराम प्रयास गरिरहेको बताउनुभएको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ ।

फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ ।

“एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पु¥याउने घटनाको निन्दा गरेका छन् । उहाँले भन्नुभयो, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ ।

घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।” सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रुपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौँ, १७ मङ्सिर : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि वस्तु उत्पादनका आधारमा विशेष क्षेत्र घोषणा गर्ने भएको छ ।

सरकारले चालु आर्थिक वर्षदेखि १० वर्षलाई घोषणा गरेको कृषिमा लगानी दशकमा सम्बन्धित प्रदेशको भूगोल, बजार सम्भाव्यता, कृषि उत्पादन तथा उपजका आधारमा मन्त्रालयले विशेष क्षेत्र तोक्न लागेको हो । यस कार्यका लागि सातै प्रदेशमार्फत सुझाव सङ्कलन सुरू गरिएको मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

प्रदेशले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पालिकासम्मको सूचना सङ्कलन गरी मन्त्रालयलाई सुझाव दिने जनाइएको छ । उहाँका अनुसार तीनवटै तहका सरकारले कृषि उत्पादनको प्रशोधन, भण्डारण, बजारीकरण र औद्योगिकीकरण प्रवर्द्धन गर्ने एकीकृत नीति बनाएर सरकारले गैरसरकारी क्षेत्र, निजी क्षेत्र, विकास साझेदार, किसान र व्यवसायीको समन्वय र सहकार्यमा दश वर्षे कार्यक्रमलाई सफल बनाउने रणनीति तयार गरेको छ ।

मन्त्रालयले कृषि लगानी दशक घोषणालाई सार्थक बनाउन अन्तर मन्त्रालयअन्तर्गत सरकार र अन्तरनिकाय सबैलाई आह्वान गरेको छ । फरकफरक प्रदेशका अलग कृषि उत्पादन तथा उपज प्रशोधन, निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बिउ प्रदान गरिनेछ ।

कृषि मन्त्रालयको बजेट चालु आव २०८१/८२ मा रू ५७ अर्ब २९ करोड छ । यो अघिल्लो वर्षको तुलनामा एक अर्ब ६९ करोड कम हो । आव २०८०/८१ मा ५८ अर्ब ९८ करोड थियो ।

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा

बागमती, १७ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

हेटाँैडा उपमहानगरपलिका–१२ को चुनावी विजयीसभालाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

वडा र पालिकाका योजनाको कार्यान्वयन गर्न आपसी छलफलका माध्यमबाट अघि बढ्ने बताउँदै उहाँले संविधानमा भएको प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारलाई कार्यान्यवन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।

योजना कार्यान्वयका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानुन स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउनुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानुन बनाउन प्रदेश सरकार जोड दिएको बताउनुभयो ।

विजयीसभामा हेटाँैडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नवनिर्वाचित अर्जुनप्रसाद तिवारीले उपनिर्वाचनका क्रममा जनतासँग आफूले गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर विजय गराउने मतदाताप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

उपनिर्वाचनमा दुई हजार ६३ मत ल्याएर नेपाली कांग्रेसका उम्मेवार तिवारी वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभयो ।

गत २०७९ को स्थानीय तह निर्वाचनमा सो वडाको वडाअध्यक्षमा निर्वाचित माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि रिक्त वडाअध्यक्ष पदका लागि हिजो उपनिर्वाचन भएको थियो ।

स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने, कहाँ को निर्वाचित ?

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ को कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल तीन हजार आठ सय ३४ मतका साथ अग्रस्थानमा छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले दुई हजार नौ सय १३, माओवादी केन्द्रका शिवशरण महर्जनले दुई हजार तीन सय १७ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले एक हजार दुई सय सात, दिनेशकुमार अधिकारीले नौ सय ७५, कविकुमार महर्जनले नौ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्र महर्जनले पाँच सय ५४ मत प्राप्त गरेका छन् ।

दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले एक हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनका प्रतिस्पर्धी एमालेका उमा लुङ्गेली मगर शेर्पाले एक हजार १३, कांग्रेसका सात सय ९६, स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीका रविना खड्काले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले २९ मत प्राप्त गरेका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले सात सय छ मतसहित अग्रता कायम गरिरहेकी छन् । उनको प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले चार सय ९३ मत पाउनुभएको छ । एमालेका जाना शाहीले चार सय ७१ मत पाइन् ।

उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ । सो वडामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद फुयाँल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरे तामाङ र जनता समाजवादी पार्टीका राजकुमार राई उम्मेदवार छन् ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत मात्रै पाए । दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याए ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भइन् । उनकाप्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत पाइन् ।

रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाइन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन् ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरिन् ।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी भए । उनसँग एमालेका बुद्धबहादुर लिम्बु तीन सय ६० मत प्राप्त गरी पराजित भए ।

सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित भए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित भए । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए । उनले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित भइन् । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाए ।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित भए । उनको प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरिन् ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गरी पराजित भए । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाए ।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित भए ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित भइन् ।

काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाए । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभयो । उहाँले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले चार सय ९५ मत पाइन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनकाप्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित भए ।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाए ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित भइन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाए ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाए ।

रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाए ।

बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित भए ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाए ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित भए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याए ।

नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौँ, १७ मङ्सिर : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले देश र नागरिकको सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उच्च अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको स्मरण गराउनुभयो ।

महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र सङ्गठनले तपार्इँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरोरूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”

सङ्गठनलाई समायानुकूल सुदृढ र गतिशील बनाउन नेतृत्व तहका प्रहरी अधिकृत सदैव चिन्तनशील रहनुपर्नेमा जोड दिँदै महानिरीक्षक कुँवरले विभिन्न श्रृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्न निर्देशन दिनुभयो । “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुन्छ, त्यसका लागि नीतिगत तहमा रहेका प्रहरी अधिकृत कटिबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतका तर्फबाट प्रहरी नायब महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका आठ जना प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको थियो । दज्र्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ ।

गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ – संयुक्त राष्ट्रसङ्घीय प्रमुख

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार युद्धग्रस्त गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ भएको बताउनुभएको छ । उहाँले प्यालेस्टिनीहरूले भोग्नुपरेको अवस्था सबैभन्दा ‘गम्भीर अन्तर्राष्ट्रिय अपराध’ हुनसक्ने चेतावनी दिनुभयो ।

मानवीय सहायता बढाउने उद्देश्यले कायरोमा आयोजित सम्मेलनमा उहाँको तर्फबाट पढिएको टिप्पणीमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई ‘गाजा र मध्यपूर्वमा दिगो शान्तिको आधार निर्माण गर्न’ आग्रह गर्नुभयो ।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भयो । हमासको आक्रमणमा एएफपीको तथ्याङ्कअनुसार अधिकांश सर्वसाधारणसहित एक हजार २०८ को मृत्यु भएको थियो ।

इजरायली प्रतिशोधात्मक अभियानले गाजामा गाजाका स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ४२९ व्यक्तिको मृत्यु भएको छ । यो आँकडालाई संयुक्त राष्ट्रले विश्वसनीय मान्छ ।

गुटेरेसले द्वन्द्वको विनाशकारी क्षति र अन्तर्राष्ट्रिय कारबाहीको तत्काल आवश्यकतामाथि जोड दिनुभयो । “कुपोषण व्याप्त छ… अनिकाल सन्निकट छ । यसैबीच स्वास्थ्य प्रणाली ध्वस्त भएको छ”, उहाँले भन्नुभयो, “गाजामा अहिले संसारको कुनै पनि ठाउँमा प्रतिव्यक्ति अपाङ्गता भएका बच्चाहरूको सङ्ख्या सबैभन्दा बढी छ, “धेरै जसो बिना एनेस्थेसिया शल्यक्रिया गरिएका छन् ।”

महासचिव गुटेरेसले सहायता वितरणमा लगाइएको कडा प्रतिबन्धको पनि आलोचना गर्दै हालको स्तरलाई ‘अत्यन्त अपर्याप्त’ भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (युएनआरडब्लुए) का अनुसार युद्धपूर्वको औसत ५०० को तुलनामा गत महिना प्रतिदिन ६५ वटा सहायता ट्रक मात्र गाजामा प्रवेश गर्न सक्षम भएका थिए ।

अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गाजाको बिग्रँदै गएको अवस्थाबारे बारम्बार चेतावनी दिँदै नागरिकहरू अनिकालको सँघारमा रहेको चेतावनी दिएका छन् । उनीहरूले गाजामा प्रवेश गर्ने सहायता ढुवानी युद्धको सुरुआतदेखि सबैभन्दा कम भएको बताएका छन् ।

द्वन्द्वको सुरुमा हमास शासित इलाकामा एक अवधिका लागि पूर्ण घेराबन्दी लगाएको इजरायलले सहायता समस्याको दोष राहत सङ्गठनहरूले ठूलो मात्रामा सहायता सम्हाल्न र वितरण गर्न असमर्थ भएकोमा लगाएको छ ।

राष्ट्रसङ्घीय महासचिव गुटेरेसले सोमबार गाजामा सहायता अवरोध ‘रसदको सङ्कट होइन’ बरु ‘राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तहरूको सम्मानको सङ्कट’ भएको बताउनुभयो ।

युएनआरडब्लुएले उत्तरी गाजामा सहायता पुर्याउने सबै प्रयास सन् २०२४ अक्टोबर ६ देखि नोभेम्बर २५ सम्म ‘अस्वीकार’ वा ‘बाधा’ गरिएको बताएको छ । उक्त क्षेत्रमा तीव्र युद्ध जारी छ ।

गुटेरेसले भन्नुभयो, “यदि युएनआरडब्लुए बन्द गर्न बाध्य भयो भने यसको महत्त्वपूर्ण सेवाहरू प्रतिस्थापन गर्ने जिम्मेवारी… इजरायलको हुनेछ ।”

सम्मेलनमा युएनआरडब्लुए प्रमुख फिलिप्प लाजारिनीले संस्था ‘गाजामा मानवीय प्रतिक्रियाको मेरुदण्ड बनेको’ बताउनुभयो ।

उहाँले गाजामा मानवीय सहायताको निरन्तरता सुनिश्चित गर्न ‘एउटा बलियो अन्तर्राष्ट्रिय कानूनी र राजनीतिक ढाँचा’ को प्रयोग गर्न पनि आह्वान गर्नुभयो । “यो बिना मानवतावादीहरू जति नै निस्वार्थ र साहसी भए पनि बस्न र वितरण गर्न सक्नेछैनन्”, उहाँले भन्नुभयो ।

‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ – नारायणकाजी श्रेष्ठ

सिरहा, १७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताउनुभएको छ ।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उहाँले भन्नुभयो, “वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनांै । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं ।” पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको उहाँको भनाइ थियो ।

नेता श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताउनुभयो । “राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो”, उहाँले भन्नुभयो, “सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनुु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मूल अभिष्ट र मुख्य कार्यभार हो ।”

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरीलगायत नेताहरु प्रशिक्षकका रुपमा सहभागी हुनुहुन्छ ।

माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षिण दिइने जनाइएको छ ।

जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने

काठमाडौँ, १७ मङ्सिर : जलविद्युत्मा आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई बिना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गर्नेभएको छ ।

मन्त्रालयले मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो ।

ऊर्जा मन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत् कार्यक्रम’ को दोस्रो संशोधन गरी गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर रू दुई लाखदेखि अधिकतम पाँच लाखसम्म बिना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको हो ।

प्राकृतिक स्रोत माथिको अधिकार सबै नागरिकमा समान हुने भएकाले आर्थिक हिसाबले विपन्न रहेका नागरिकलाई समेट्ने गरी जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजना गर्ने उद्देश्यले शेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले सुनिश्चित गर्ने व्यवस्था गरिएको हो ।

मन्त्री खड्काले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्रोत माथिको अधिकार सबै नागरिकमा सुनिश्चित गर्न गरिब तथा विपन्न घरधुरीलाई बिना धितो सहुलियत कर्जाको व्यवस्था गरिएको बताउनुभयो । “स्रोत माथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्धि हासिल हुन सक्दैन”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

मन्त्रालयले नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिएर काम गर्नेछ । नहुनेका लागि उक्त कार्यविधि ल्याइएको उहाँको भनाइ थियो । मन्त्री खड्काले घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो ।

“यो एउटा आर्थिक क्रान्ति हो, यसले विपन्न वर्गलाई अगाडि बढाउँदै समृद्ध मुलुक निर्माणमा सहयोग पुर्‍याउँछ, सरकार तल्लो वर्गका नागरिक र न्यून आय भएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी यो कार्यविधि संशोधन गरेको हो”, उहाँले भन्नुभयो ।

सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको मन्त्री खड्काको भनाइ थियो । सुरूमा आयोजना प्रभावित जिल्ला र प्रसारण लाइन रहेका जिल्लाका विपन्न बासिन्दामा लागू गरिए पनि विस्तारै उक्त व्यवस्थालाई देशभर लागू गरिने मन्त्रालयले जनाएको छ ।

शेयर खरिदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनका लागि कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख छ ।

स्थानीय सरकारले दिएको घरधुरीको सङ्ख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरूको शेयरको सुनिश्चितता सरकारले लिनेछ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ । जसमा माथिल्लो त्रिशूली, माथिल्लो अरूण, अरूण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत रहेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव सुरेश आचार्यले विपन्न वर्गको जीवनस्तर उकास्नका लागि उक्त कार्यविधि संशोधन गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव रामप्रसाद घिमिरे, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने र समग्रमा राष्ट्रिय मानव विकास सूचाङ्कमा यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, १७ मङ्सिरः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा शिष्टाचार भेट भएको छ ।

उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदबीच क्वालालम्पुरस्थित संसद् भवनमा भेटवार्ता भएको हो ।

शिष्टाचार भेटका क्रममा उपाध्यक्ष घिमिरेले दुई देशबीच आगामी दिनमा संसदीय सहकार्य र अनुभव आदनप्रदान बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको समस्या समाधान गर्न मलेसियाली अधिकारीले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि मलेसियाली अधिकारीले नेपाली कामदारको सुरक्षा र हितका लागि आफ्नो बहुमूल्य सहयोग जारी राख्नेछन भन्ने विश्वास ब्यक्त गर्नुभयो ।

“नेपाली कामदारले दुवै देशको आर्थिक वृद्धि र विकासमा योगदान पु¥याइरहेका छन्”, उहाँले भन्नुभयो, “दुई सरकारबीच कामदार भर्ना, रोजगारी र स्वदेश फिर्तासम्बन्धी समझदारी पत्र नवीकरणका लागि परिमार्जित मस्यौदा मलेसियालाई जानकारी गराइएको छ । नवीकरणको प्रक्रिया छिट्टै सम्पन्न हुनेमा हामी आशावादी छौँ ।”

मलेसियामा गौतमबुद्धका अनुयायी ठूलो सङ्ख्यामा रहेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले लुम्बिनी तिलौराकोटजस्ता बौद्ध धर्मसँग सम्बन्धित धार्मिक स्थलमा मलेसियाबाट ठूलो सङ्ख्यामा पर्यटक लैजाने सम्भावना भएको बताउनुभयो ।

उहाँले क्वालालम्पुर–भैरहवा सिधा हवाई उडान हुन सकेमा मलेसियाका मात्रै नभई छिमेकी बर्मा, कम्बोडिया, थाइल्याण्ड, लाओसका बौद्धमार्गीसमेत लाभान्वित हुन सक्ने भएकाले सिधा हवाई उडानका लागि पहल गर्न आग्रह पनि गर्नुभयो ।

शिष्टाचार भेटका क्रममा मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदले नेपाली कामदारले मलेसियाको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै कामदारको सुरक्षा र हितका लागि मलेसिया सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले दुवै देशका संसद्को सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभएको थियो ।

उपाध्यक्ष घिमिरे मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि १३ संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर मलेसिया जानुभएको हो ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सोमबार मलेसियाको संसद्को स्थलगत अवलोकन गरेको छ भने आइतबार क्लालालम्पुरस्थित नेपाली दूतावासमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल तथा जानकारी लिएको थियो । मलेसियामा हाल पाँच लाखभन्दा बढी नेपाली कामदार रहेका छन् ।

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

गण्डकी, १७ मङ्सिर : अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि ४५ सय मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो ।

वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरूवाको नेतृत्वको टोलीले झण्डै एक वर्ष लगातर अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान गरेको थियो । भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण कतिपय ठाउँमा पुग्न नसकिएको जनाउँदै संरक्षण अधिकृत तिरूवाले अन्नपूर्ण पेरिफेरिमा सुनाखरीका अझै थप प्रजाति भेटिन सक्ने बताउनुभयो । फूल फुल्ने एकदलीय बिरूवा प्रजातिमा पर्ने सुनाखरी जमिन (भुइँ), सडेगलेका वस्तु, रूख र पाखापहराको चेपमा उम्रने गरेको उहाँको भनाइ छ । गुणकारी वनस्पतिमा पर्ने सुनाखरी प्रजातिअनुसार विभिन्न याममा फुल्ने गरेको संरक्षण अधिकृत तिरूवाले बताउनुभयो ।

“सुनाखरी खाना र औषधिका रूपमा प्रयोग गरिन्छ, फूल फुल्दा आकर्षक देखिने हुँदा यसले प्रकृतिमा सौन्दर्य थपेको हुन्छ”, उहाँले भन्नुभयो, “संसारमा अन्त कतै नपाइने सुनाखरी पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।” सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पती हो । औषधिय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखारीको अवैध तस्करीसमेत हुँदै आएको छ ।

हिमालदेखि तराईसम्मको भूभागमा पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले विशेष ध्यान दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो । देशविदेशका वनस्पतिविद् र वैज्ञानिकहरूले अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अध्ययन तथा अनुसन्धान गरेको उहाँको भनाइ छ । पाँचऔँलेलगायत नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधिजन्य प्रयोगमा रहेका छन् ।

‘एक्याप’ ले अनुसन्धानका क्रममा भेटिएका सुनाखरीका प्रजाति, बासस्थान, प्रयोग जस्ता विधालाई समेटेर सचित्र पुस्तक पुस्तक ‘अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू’ प्रकाशनको तयारी गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’ मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

रूकुम (पूर्व), १७ मङ्सिर : रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी हुनुभएको छ ।

यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बन्नुभएकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी हुनुभएको हो ।

बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नुभएकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गर्नुभयो । बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गर्नुभएको हो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

एनपिएल : चितवनले टस जित्यो

काठमाडौँ, १७ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ ।

चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौँको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल”कोआंशिकप्रभावरहेकोछ।जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

ग्रामथानको अध्यक्षमा एमाले, नलगाडको उपप्रमुख माओवादी केन्द्र र ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

मोरङ, १७ मङ्सिरः मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्र्धी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।

हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन गर्दै

बागमती, १७ मङ्सिर : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।

‘‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ” उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भन्नुभयो,‘‘ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।” तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उहाँको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उहाँले बताउनुभयो । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । 

  उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउनुहुँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो ।  ‘‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्”, अध्यक्ष भण्डारीले भन्नुभयो,‘‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।” थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उहाँको भनाई छ । 
 आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।  २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले  २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । 

सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छली भित्र्याएका १५ करोड १८ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज (पर्सा), १७ मङ्सिरः सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

“सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।”

सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ ।

त्यस्तै सोही अवधिमा दुई सय ३६ किलोग्राम गाँजा, १४ दशमलव ९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आव २०८०÷८१ मा भने ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।

स्थानीयतह निर्वाचन : काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ र कीर्तिपुर–१मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको उम्मेदवार विजयी

काठमाडौँ, १७ मङ्सिरः आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएकी छिन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित हुनुभएको थियो ।

महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

भारतका जय शाहद्वारा विश्व क्रिकेट प्रमुखको रूपमा कार्यकाल सुरु

भारतीय क्रिकेट प्रमुख जय शाहले आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षका रूपमा आफ्नो कार्यकाल सुरु गर्दै खेललाई ‘नयाँ उचाइमा’ लैजान चाहेको बताउनुभएको छ ।

भारतका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा अगस्टमा खेलकुदको विश्व निकायद्वारा निर्विरोध निर्वाचित हुनुभएको थियो र ग्रेग बार्कलेको उत्तराधिकारी बन्नुभएको थियो । बार्कलेले तेस्रो कार्यकाल नचाहेको निर्णय गर्नुभएको थियो ।

छत्तिस वर्षको उमेरमा उहाँ यो पद सम्हाल्ने सबैभन्दा कान्छो व्यक्ति हुनुहुन्छ ।“क्रिकेटमा विश्वव्यापी रूपमा अपार सम्भावनाहरू छन् र म यी अवसरहरू लिन र खेललाई नयाँ उचाइमा लैजान आइसिसी टोली र सदस्य देशहरूसँग नजिकबाट काम गर्न इच्छुक छु”, शाहले एक विज्ञप्तिमा भन्नुभयो ।

सन् २०२८ को ओलम्पिकका लागि तयारी भइरहेको र ‘क्रिकेटलाई विश्वव्यापी प्रशंसकहरूका लागि थप समावेशी र आकर्षक बनाउन’ काम गरिरहेको खेलका लागि यो ‘रोमाञ्चक’ समय भएको उहाँले बताउनुभयो ।

“हामी बहु ढाँचाको सहअस्तित्व र महिला खेलको विकासलाई गति दिने आवश्यकताका साथ एक महत्वपूर्ण मोडमा छौँ”, उहाँले भन्नुभयो ।

विश्वको सबैभन्दा धनी क्रिकेट बोर्डको प्रमुखदेखि आइसिसीको नेतृत्व गर्न शाहको जबर्दस्त उदयले खेलको विश्वव्यापी प्रशासनमा भारतको प्रभुत्वलाई चित्रण गर्दछ ।खेलकुद र राजनीति सँगै चल्ने देशमा शाह प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात अमित शाहका छोरा भनेर चिनिनुहुन्छ ।

आइसिसी क्रिकेटका लागि विश्वव्यापी प्रशासकीय निकाय हो । यसमा १०० भन्दा बढी सदस्य छन् र विश्वकप जस्ता विश्वव्यापी कार्यक्रमहरू आयोजना गर्न जिम्मेवार छ ।

भारतले आयोजक राष्ट्र पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि अर्को वर्षको च्याम्पियन्स ट्रफीको भाग्य अधरमै परेपछि आफ्नो नयाँ काममा शाहको सुरुआत एउटा महत्त्वपूर्ण समयमा आएको छ । आइसिसीका स्रोतहरूले यस हप्ताको सुरुमा एएफपीलाई विवाद सुल्झाउने वार्ता अझै जारी रहेको बताएका थिए ।

चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई–संचालित स्तरवृद्धिहरूको व्यापक रूपमा अपनाइने कुरालाई प्रकाश पारेको थियो ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआईसी) द्वारा जारी जेनेरेटिभ एआई को विकास सम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा चार हजार ५०० भन्दा बढी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।

हाल चीनमा छ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ । यहाँ जुलाई सन् २०२४ सम्ममा १९० भन्दा बढि जेनेरेटिभ एआई मोडेलहरू दर्ता भएका थिए ।

यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू र अनुकूल अनुभवहरू प्रदान गर्दछ । जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ ।

अफगानिस्तानमा अफिम उत्पादन गर्ने १०० जना पक्राउ

उत्तरपूर्वी अफगानिस्तानमा अफिम खेती गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

बदख्सान प्रान्तमा प्रहरीको लागुऔषध विरोधी विभागका निर्देशक शफिकउल्लाह हफिजीले भन्नुभयो,“आजको अपरेसनमा विभिन्न गाउँका बासिन्दासहित एक सयभन्दा बढीलाई अफिम खेती गर्दै पक्राउ गरिएको छ । यी मानिसहरूलाई बदख्सान प्रान्तको प्राथमिक अदालतमा पेश गरिएको छ ।”

सन् २०२२ मा तालिबान सरकारले सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको आदेशमा अफगानिस्तानमा अफिम उत्पादनमा प्रतिबन्ध लगाएका थिए ।

प्रतिबन्धले अफगानिस्तानमा अफिम खेती गर्ने केन्द्रलाई तालिवान अधिकारीहरूको दक्षिणी गढबाट बदख्सान लगायत उत्तरपूर्वी प्रान्तहरूमा सारेको छ ।

फ्रान्सले एआई शिखर सम्मेलनको आयोजना गर्ने

फ्रान्सले फेब्रुअरी १०–११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । उक्त सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुनेछ ।

एलिसी प्यालेसको एक विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ, जसले सार्वजनिक हितको लागि काम गर्ने साथै थप समावेशी विश्वव्यापी शासनलाई बढावा दिन्छ ।

उक्त सम्मेलनको उद्देश्य विश्वव्यापी एआई प्लेटफर्ममा फ्रान्स र युरोपको भूमिकालाई सुदृढ पार्नु र प्रविधिका प्रमुख चुनौतीहरूको बुझाई बढाउनु हो ।

सम्मेलन अनुसन्धानकर्ता, अर्थशास्त्री र वैज्ञानिक फोरमहरूको नेतृत्वमा फेब्रुअरी ८–९ मा आयोजित हुनेछन् । त्यसपछि ८–९ फेब्रुअरीमा सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।

दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने प्रयासमा छुः मन्त्री यादव

सुर्खेत (वीरेन्द्रनगर – खानेपानीमन्त्री प्रदीप यादवले देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न लागि आफू निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले देशभरका नागरिकका लागि अत्यावश्यक पर्ने दिगो विकास एवं सुरक्षित खानेपानीको पहुँच पु¥याउनका लागि ठोस योजना बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न निरन्तर म प्रयासरत छु, यस विषयमा सबैको सहयोग र साथ आवश्यक छ ।”

त्यसै अवसरमा मन्त्री यादवले बाढीपहिरोका कारण देशभरमा खानेपानीका आयोजनाको निर्माणमा केही ढिलाइ भइरहेको तथा अधिकांश ठाउँमा बाढीले पानीका मुहान बगाएका कारण खानेपानीको समस्या उत्पन्न भएकाले बाढीले क्षति गरेका ठाउँमा सुरक्षित खानेपानी सञ्चालन गरी नागरिकलाई पानी वितरणका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घीय सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाको समीक्षा गर्दै आयोजनाअन्तर्गत योजनाको वर्तमान अवस्था, प्रगतिका मुख्य चरण तथा कार्यान्वयनका क्रममा देखापरेका चुनौतीको विश्लेषण गर्नुका साथै समस्या समाधान गर्न ठोस योजना बनाउने विषयमा गहन छलफल गरिएको थियो ।

मन्त्री यादवसहित खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठसहितको टोली आजसुर्खेत आइपुग्नुभएको हो ।