दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै

काठमाडौँ, १६ मङ्सिरः स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् ।

उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

गण्डकी, १६ मङ्सिरः
“मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।”

पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ । बागलुुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरि आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन् । नेपालका बाइसे चैबीसे राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गमस्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो । उक्त महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गर्नुुभएको थियो । त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ ।

एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसैसिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरुप नै परिवर्तन भएको छ ।

धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुुर क्षेत्रीले बताउनुुभयो । एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको बताउँदै उहाँले यसले मुक्तिनाथ दामोदरकुुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको बताउनुुभयो । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुुङको बागलुुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुुटाउने गन्तव्यका रुपमा पञ्चकोट पर्ने गरेको उहाँले जानकारी दिनुुभयो ।

यहाँ निर्मित पञ्चमहालक्ष्मी मन्दिर, विशाल हनुुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण(गरुड शिला), सिंह गुफा, ध्यान कुुटी आदि महत्वपूर्ण आकर्षणका रुपमा स्थापित बनेको उहाँको भनाइ छ । यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटर धार्मिक धामको रुपमा विकास गर्न खोजिएको छ ।

दर्शनार्नीको बढ्दो आगमनसँगै यस तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ । अघिल्लो वर्ष दानपेटिकामा मात्रै रु १५ लाख ५० हजार दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट रु २१ लाख ५० हजार सङकलन भएको थियो । त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुुमान झुुलामा रमाउने पर्यटक वापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुुने गरेको उहाँको भनाइ छ । मन्दिरमा हाल तीन पुुजारी एवं आठ कर्मचारी छन् । पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिनुुभयो ।

एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै

पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुुभयो । रु ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलशलगायतको निर्माणका उद्देश्य राखी पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भएपनि पछि उक्त रकम अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताउनुुभयो ।

यस वर्ष कलश निर्माणका लागि रु दुुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दैै उहाँले यस योजनालाई बहुवर्षीयअन्तर्गत राख्नका लागि पहल भैरहेको बताउनुुभयो । विभिन्न १३ तल्ला संरचनामा निर्माण हुुने उक्त कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुुसार विभिन्न देवीदेवताका मूर्ति, चारधामलगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ । त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्तिहरू राखिनेछ ।

सङ्घअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । कार्यालय प्रमुुख क्षेत्रीका अनुसार यहाँस्थित अतिथि आवासमा सुविधासम्पन्न स्नानकक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ । यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ । उक्त गुरुकुलमा हाल १७÷१८ जना कन्या अध्ययन गरिरहेका छन् । त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाईपालन समेत भैरहेको उहाँले जानकारी दिनुुभयो ।

पञ्चकोटमा सामान्यतः सबै दिनजसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुुजारी कुुमार आचार्यले बताउनुुभयो । विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक विदाका दिनमा ठूलै संख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उहाँको भनाइ छ । धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुुङको पर्यटनमा समेत टेवा पुुगेको स्थानीयवासी बताउँछन् । टाढाटाढाबाट आउने गरेका पर्यटकहरू यहाँ निर्मित संरचनाका साथै यहाँबाट देखिने दृश्यावलोकनले मोहित हुने गरेका छन् ।

पञ्चकोटका बारेमा यस अघि विभिन्न सामाजिक सञ्जालबाट देखेसुनेको बताउनुुहुने तनहुँ ढोरफिर्दीका युवा प्रकाश भट्टराई आफू मङ्सिरको पहिलो साता पारिवारिक भ्रमणका क्रममा पञ्चकोट पुुगेको अनुुभव सुनाउनुुभयो । यसअघि सामाजिक सञ्जालमा देखे सुनेको पञ्चकोटमा त्यहाँ पुुगेपछि छुुट्टै किसिमको रमाइलो अनुुभूति गरेको उहाँले बताउनुुभयो । “पञ्चकोटको भूबनोटलाई उपयोग गरी बनाइएका संरचना र यहाँ भैरहेको पर्यटकीय विकास हाम्रा देशका धेरै स्थानका लागि प्रेरणाका स्रोत पनि हुन्”, उहाँले भन्नुुभयो, “पोखरा पर्यटनको राजधानी भैसकेको अवस्थामा बृहत पोखराको अवधारणाका साथ समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि पञ्चकोटजस्ता गन्तव्यहरूको प्रवद्र्धनमा राज्यले पनि चासो दिनुु आवश्यक छ ।”

कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व बुुझाउन गण्डकी सभा

कालीगण्डकी सभ्यता र शालिग्रामको महत्वबारे बुुझाउन पञ्चकोटमा प्रत्येक महिनाको पहिलो शनिबार गण्डकी सभा सञ्चालन भैरहेको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुुसार गण्डकी सभाका प्रत्येक संस्करणमा विभिन्न विशिष्ट व्यक्तित्वलाई बोलाएर कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व सम्बन्धमा विशेष छलफल एवम् अन्तरक्रिया गरिएको छ । “हालसम्म ३२औँ संस्कणको गण्डकी सभा सम्पन्न भइसकेको छ”, उहाँले भन्नुुभयो, “आगामी दिनमा कालीगण्डकी सभ्यतासँग जोडिएका नदी किनारस्थित म्याग्दी, पर्वत, स्याङ्जालगायतका स्थानका विभिन्न गन्तव्यमा पुुगी सभाका कार्यक्रम सञ्चालन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।”

विश्वमा नै यहाँ मात्रै पाइने शालिग्रामको महत्वसँगै कालीगण्डकीको महिमा र गरिमालाई प्रचार गर्न सकेमा यसैका माध्यमबाट समग्र गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उहाँले बताउनुुभयो । त्रिवेणीदेखि मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म दर्शनका लागि आउने भारतीय पर्यटकका लागि यसको महिमा र गरिमालाई बुुझाउन सकेमा देशको समृद्धिमा महत्वपूर्ण टेवा पुुग्न सक्ने उहाँको भनाइ छ ।

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ, १६ मङ्सिरः ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…

काठमाडौँ – सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् ।

शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए ।

कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो ।

“नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।”

कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो ।

पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।”

कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’

बढ्दो क्रिकेट क्रेज
पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ ।

एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए ।

यस्तो छ अन्य खेलहरूको टिकट मूल्य

सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ ।

एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् ।

फ्लोरिडामा ट्रुडो र ट्रम्पबीच भेटवार्ता

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडा राज्यमा ‘सोहाद्र्र कुराकानी’ गरेको शनिबार बताउनुभएको छ ।

ट्रम्पले यसै साताको सुरुमा क्यानडा, मेक्सिको र चीनविरुद्ध आयातमा कर लगाउने घोषणा गरेपछि ट्रुडो शुक्रबार मार–ए–लागोमा रात्रिभोजका लागि उड्नुभएको थियो ।

“हो, हामीबीच निकै राम्रो कुराकानी भएको छ,” ट्रुडोले शनिबार बिहान वेस्ट पामबीचस्थित एक होटलबाट क्यानडा फर्कने क्रममा पत्रकारहरूसँग भन्नुभयो ।

ट्रुडो अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको पछिल्लो उच्च पदस्थ विदेशी अतिथि हुनुहुन्थ्यो । उहाँले आगामी जनवरी मा दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दै हुनुहुन्छ ।

पेन्सिलभेनियाका नवनिर्वाचित सिनेटर डेभिड म्याककोर्मिकले सार्वजनिक गरेको तस्वीरमा ट्रम्प र ट्रुडोसँगै टेबुलमा उभिनुभएको देख्न सकिन्छ भने उहाँहरूलाई ट्रम्पका वाणिज्य मन्त्रीका लागि छानिएका हावर्ड लुटनिक र राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छानिएका माइक वाल्ट्जलगायत एक दर्जन पाहुनाले घेरिनुभएको छ ।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउनेछु, यी दुई अमेरिकी छिमेकीले अवैध लागूपदार्थ फेन्टानिल र कागजातविहीन आप्रवासीबाट अमेरिकामाथि ‘आक्रमण’ गर्न अनुमति दिएका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले पनि बुधबार ट्रम्पसँग फोनमा कुरा गर्नुभएको थियो । कुराकानीमा दुबैले आ–आफ्ना अडान राखेको बताइएको छ ।

ट्रम्पले मेक्सिकोका बामपन्थी राष्ट्रपति शेनबामले अमेरिकाको दक्षिणी सीमालाई गैर–कानुनी प्रवेशलाई प्रभावकारी रूपमा बन्द गर्न मेक्सिको हुँदै र संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्न सहमत भएको बताउनुभएको छ तर, शेनबामले मेक्सिकोमा लामो समयदेखि लागू रहेको अमेरिकी समर्थित आप्रवासन विरोधी नीतिबारे छलफल भएको बताउनुभएको छ ।

शेवनामले व्यापार युद्धको जोखिमलाई कम आँक्दै शुल्क वृद्धिको चेतावनीबारे वार्ता केन्द्रित नभएको उहाँले बताउनुभएको थियो ।

–प्रत्युत्पादक काम –

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले सोही दिन ट्रम्पको कर सम्बन्धी चेतावनीले ओटावा र मेक्सिको सिटीसँग वासिङ्टनको सम्बन्धलाई ‘बिगार्न’ सक्ने चेतावनी दिनुभएको थियो । बाइडेनले भन्नुभयो, “मलाई लाग्छ यो प्रत्युत्पादक काम हो ।”

क्यानाडाको लागि, कुनै पनि नयाँ करको वृद्धिको सम्भावना उच्च छ ।

क्यानाडाको तीन चौथाइभन्दा बढी निर्यात अर्थात् ४२३ अर्ब अमेरिकी डलर गत वर्ष संयुक्त राज्य अमेरिकामा गएको थियो र करिब २० लाख क्यानेडियाली रोजगारी व्यापारमा निर्भर छन् ।

क्यानडाको एक सरकारी स्रोतले एएफपीलाई बताएअनुसार क्यानडाले संयुक्त राज्य अमेरिकाविरुद्ध सम्भावित प्रतिशोधात्मक करहरू बारे विचार गरिरहेको छ।

केही विश्लेषकहरूले ट्रम्पको करको खतरा वृद्धि हुन सक्ने वा भविष्यमा व्यापार वार्तामा चरम विवादको बिषय बन्न सक्ने बताएका छन् ।

ट्रुडोले प्रिन्स एडवर्ड आइल्याण्ड प्रान्तमा पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “डोनाल्ड ट्रम्पले केही कुरा कार्यान्वयनको तयारी गर्नुहुन्छ त्यसलाई सार्वजनिक गर्नुहुन्छ । यसमा कुनै दुबिधा छैन।”

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

काठमाडौँ, १६ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

धनुषा, १६ मङ्सिरःजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

सर्वपक्षीय बैठक सम्पन्न

निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ ।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।

‘क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक छ’ – उपप्रमुख डङ्गोल

काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा) की उपप्रमुख सुनिता डङ्गोलले क्यान्सरका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभएको छ ।

ऐन्ट फाउन्डेसनद्वारा आयोजित ‘क्यान्सर सचेतना र प्रारम्भिक पहिचान’ सम्बन्धी छलफलमा उहाँले रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम हुने भएकाले जनचेतना फैलाउन र नियमित रुपमा स्वास्थ्य परीक्षण गराइराख्नु पर्नेमा जोड दिनुभयो । कामपाले स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउन स्वस्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा जानकारी दिँदै उपप्रमुख डङ्गोलले वडावडामा खोलिएका सहरी क्लिनिकले नियमित परीक्षण गराउनुपर्छ भनेर सचेतना फैलाइरहेको बताउनुभयो ।

स्तन क्यान्सर सर्जन डा सुजिता हिराचनले नेपालमा हरेक वर्ष क्यान्सर रोगपीडितको सङ्ख्या बढ्दै गएको र अधिकांश ढिलो गरी अस्पताल आउँदा समस्या हुने गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“क्यान्सरका बारेमा जनचेतना फैलिन सकेको छैन । धेरै जना अवस्था जटिल बनिसकेपछि मात्रै उपचारका लागि आउँछन् । सहरी क्षेत्रमा सचेतना छ तर गाउँ–गाउँमा जनचेतना पुग्न सकेको छैन । क्यान्सरबारे छलफल, पैरवी र परामर्श आवश्यक छ ।”

क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले धेरै महिला क्यान्सरको स्क्रिनिङबाट वञ्चित रहेको बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको परीक्षण सुविधा तथा विज्ञहरू भए पनि धेरैको पहुँच नहुँदा धेरैजना स्क्रिनिङको सुविधाबाट वञ्चित भइरहेको उल्लेख गर्नुभयो ।

क्यान्सर सर्भाइभर (विजेता) तथा नर्स इनु बस्नेतले आत्मबलले नै क्यान्सर जित्न सकेको बताउनुभयो । “क्यान्सर लागेको पहिलोपटक थाहा पाउँदा शून्य अवस्थामा थिएँ । प्रारम्भिक चरणमै पत्ता लागेका कारण क्यान्सरबाट मुक्त भएँ । स्वस्थ्य जीवनशैली र समय–समयमा परीक्षण गर्दा पछि जटिल अवस्था आउँँदैन”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार

बागमती – बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरु उपत्यका भित्रका तीन जिल्लाका छन् । “बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्‍यौँ”, रजिष्ट्रार पोखरेलले भन्नुभयो, “तीमध्ये धेरै सहकारीका सञ्चालक सम्पर्कमा आउँनै चाहेनन्, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् । त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ ।”

बागमती प्रदेश सरकारले दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अनुसार काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी सस्ंथालाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो । दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताउनुभयो ।

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते

काठमाडौँ – हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ ।

उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छभने मानवीय क्षति पनि हुने गरेको छ । अहिले दैनिकजसो नै आगलागीका घटना दोहोरिँदै आएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौँ, भक्तपुर र पर्वतमा आगलागीका घटना भएको छ । आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको छ । आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

एनपिएल : सोमबार दुई खेल हुँदै, कुन कुन टिम भिड्दैछन् ?

काठमाडौँ – सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

त्रिवि क्रिकेटमा मैदानमा मङ्सिर १६ गते अर्थात् आइतबार कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो ।

आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।

विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै

झापा, १६ मङ्सिर : विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छभने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा रु. १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये रु. छ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा छ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ ।

उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ । नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन्भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युत्का खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी– कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ । हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना

घोडाघोडी (कैलाली), १६ मङ्सिर : खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।”

पक्की घरमा बस्न नपाउँदै थारुका सासू, ससुरा बित्नुभयो । “हामीले पनि पक्की घरमा बस्न पाउँदैनौँ कि जस्तो लागेको थियो । तर सपना पूरा भयो”, खुसी हुँदै उहाँले भन्नुभयो । बर्खाको समयमा सर्पको डरसँगै खाने अन्न पानीले भिज्ने हैरानी खेप्नुपरेको उल्लेख गर्र्दै थारु भन्नुहुन्छ, “अब ती समस्या हटेर जानेछन् ।”

सीताजस्तै सोही ठाउँकी राजकुमारी डगौरा पनि खुसी हुनुहुन्छ । “पक्की घर पाउँदा सपनाजस्तै लागेको छ, यस्तो घर बनाउने त सपना पनि देखेको थिइनँ, तर आज सरकारले पूरा गरिदिएको छ”, उहाँले भन्नुभयो ।

घरको दैनिकी गुजार्दागुजार्दै चार वर्ष पहिले राजकुमारीका श्रीमान् बित्नुभयो । “मजदुरी गरेर घर चलाउने गर्थेँ, छोराहरू पनि सानै उमेरमा पढ्न छाडेर कमाउन थाले, यस्तो पक्की घर बनाउन त खै कहिले पो सकिन्थ्यो । घर खर्च चलाउन पनि सकस भइरहेका बेला नयाँ घरमा बस्ने सपना परै थियो”, डगौरा भन्नुहुन्छ ।

सरकारले नयाँ घर दिएपछि डगौरालाई नयाँ जीवन पाएझैँ महसुस भएको छ । पक्की घर पाउँदा सुरज डगौरा पनि मक्ख हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो घरमा पानी जम्थ्यो, सर्पको पनि त्यस्तै डर थियो । पक्की घरमा बस्ने सपना पूरा भयो, धन्यवाद छ सरकारलाई ।”

कैलालीको बर्दगोरिया–४ दनुवाफाटाका १२ मुक्तकमैया परिवार नयाँ पक्की घर पाएपछि खुसी छन् । गाउँपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्कलगायतको साझेदारीमा १२ नयाँ घर निर्माण गरिएका हुन् । उक्त बस्तीमा ३२ घर मुक्तकमैया छन् । तर पहिलो चरणमा १२ मात्र सुरक्षित आवास निर्माण गरिएका हुन् । बाँकी रहेकाको पनि घर निर्माणका लागि समन्वय भइरहेको बर्दगोरियाका अध्यक्ष कर्ण कुँवरले बताउनुभयो ।

“तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकामा एक सय घर बनाइदिन आग्रह गरेका थियाँै, तर १२ वटामात्र घर बने, बाँकी रहेकाको पनि घर बन्ने आशा गरेका छाँै”, उहाँले भन्नुभयो ।

दानुवाफाटा शिविरका १२ घर निर्माणका लागि रु ८० लाख ९४ हजार खर्च भएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ३७ लाख ३३ हजार, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले रु २७ लाख ७७ हजार खर्च गरेका छन् भने स्थानीय लाभग्राहीले रु १५ लाख ८४ हजारबराबरको श्रमदान गरेका छन् । प्रतिघर रु छ लाख ७४ हजार लागत रहेको बताइएको छ ।

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

बेनी (म्याग्दी), १६ मङ्सिर : अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्वविद्यार्थी रहनुभएकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आउनुभएको हो ।

तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र कक्षा १० सम्मको पठनपाठन हुन थालेको छ । विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ । कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन् । आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।

उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्तोषजनक नतिजा ल्याउने गरेको छ । तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गर्नुभएकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियोभने तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गर्नुभएको थियो । स्नातक तहमा अध्ययन गर्दा गर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिनुभएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिनुभएको छ ।

“आफँैले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ”, प्रअ बानियाँले भन्नुभयो । विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उहाँ बताउनुहुन्छ । विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उहाँले बताउनुभयो ।

बानियाँ २०७० सालमा प्रावि द्वितिय तहमा बढुवा हुनुभएको छ । आफैँले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापना हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हाल्नु बानियाँको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन् । बानियाँ प्रअको जिम्मेवारीमा आएपछि २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो ।

“प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौँ, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपथ्र्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौँ”, प्रअ बानियाँले भन्नुभयो ।

समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उहाँको अनुभूति छ । आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुआती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको बानियाँले बताउनुभयो ।

“महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुपर्यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुपर्यो, जेजति विद्यालयका लागि समय लगानी गरेँ, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ”, प्रअ बानियाँ सुनाउनुहुन्छ ।

विद्यालयलमा तत्कालीन समयमा निजी स्रोतका शिक्षकलाई मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो । अहिले तल्लो तहमा कार्यरत भए पनि माथिल्लो तहमा पनि पठनपाठन गर्ने शिक्षकको सुविधा र निजी स्रोतका शिक्षकलाई गरी रु ९० हजारसम्म विद्यालयलाई व्ययभार परेको प्रअ बानियाँ बताउनुहुन्छ । विद्यालयले देउसीभैलो, चन्दा सङ्कलन र सामुदायिक वनको सहयोगबाट विद्यालयको व्ययभार पूर्ति गर्दै आएको छ । केही वर्ष शिक्षक तलबस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले रु १० लाखको अक्षयकोष स्थापना गरिदिएको छ ।

विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ । विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्वविद्यार्थी र शिक्षकले समेत रकम जम्मा गर्दै आएका छन् । कच्ची भवनलाई विस्थापित गरेर पक्की भवन बनेसँगै विद्यालयको स्वरुप फेरिएको छ । गाजा युवा क्लब, तत्कालीन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरेर विद्यालयमा नयाँ पक्की भवन बनेसँगै अधिकांश विद्यालयका विद्यार्थीले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालयमा अझै दुई कक्षा कच्ची र जीर्ण भवनबाट काम गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ बानियाँ बताउनुहुन्छ । विद्यालयले शिक्षण सिकाइमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ ।

लामो समय हुने बिदाको समयमा शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठनमा पुनर्ताजगी गर्ने गर्छन् । आधारभूत तहको पढाइलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उत्तीर्ण हुने विद्यार्थीलाई एक वर्ष पढेरमात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ । विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने शिक्षण सिकाइलाई जोड दिने गरिएको छ । नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेतलगायत बस्तीका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा अहिले एक सय ८५ विद्यार्थी अध्ययनरत छन् । बानियाँका श्रीमान् निजामती सेवामा हुनुहुन्छ भने छोराले इञ्जिनियरिङ र छोरीले स्टाफ नर्स उत्तीर्ण गर्नुभएको छ ।

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

गलकोट (बागलुङ), १६ मङ्सिर : सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।

गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको हो । गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्याङ्कनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिनुभयो ।

सङ्कलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गर्नुभएको थियो । महायज्ञमा सङ्कलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ ।

उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट हुनुहुन्छ । त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ ।

नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछ ।

आठ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

कुनौली (सप्तरी), १६ मङ्सिर : मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इञ्जिनियर सञ्जीवनारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ गतेदेखिको तयारी रहेको उहाँले जानकारी गराउनुभयो । सन् २०१५ मा सुरू भएको एमपीएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन नपाएको बताउनुभयो । “दुई संस्करणमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्यो, पछि कोरोना महामारीलगायत कारणले निरन्तरता दिन सकिएन”, उहाँले भन्नुभयो ।

तेस्रो संस्करणका लागि आजदेखि एक महिनासम्म खेलाडीको नाम रजिष्ट्रेशन सुरु गरिएको प्रालिका सचिव इञ्जिनियर तीर्थ दासले बताउनुभयो । तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ ।

प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ । वीरगञ्ज र जनपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको रु ५० लाख बजेटका लागि पहल गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने

मान्म (कालीकोट), १५ मङ्सिर : उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुयो ।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उहाँले बताउनुभयो । “मङ्सिर १६ गते आइतबार बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।”

तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो ।

“निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।”

आज स्थानीय तहको उपनिर्वाचन

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।

कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

राजविराज (सप्तरी), १५ मङ्सिर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा पर्यटकीय विकास तथा जैविक विविधता संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको पथरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको निरीक्षणपछि मुख्यमन्त्री सिंहले आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ जानकारी दिनुभयो । उहाँले आरक्षको पश्चिमी भेग (मधेश प्रदेश) मा रहेका अर्ना, दुई गैँडा, दुई हात्ती, हाँसका विभिन्न जात, लालसर, बकुल्ला, गरूड, सारसलगायत पानी चराहाँसको संरक्षणबाट आरक्ष तथा मध्यवर्ती क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने र त्यसबाट स्थानीय समुदायको जीविकोपार्जनमा मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

आरक्ष तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा विकासमा जुट्न आरक्ष कर्मचारीहरूलाई निर्देशन दिँदै कोशीटप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र निर्माण, पर्यापर्यटन विकास एवम् जीविकोपार्जन सुधार व्यवस्थापनका विषयमा प्रदेश सरकारले विभिन्न निकायसँग सहकार्य गर्ने बताउनुभयो ।

आरक्षको वन्यजन्तु उद्धार केन्द्रमा चितवन राष्ट्रिय निकुञ्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जली नामका दुईवटा एकसिङ्गे गैँडा ल्याइएको छ । गत वर्ष असोजमा ल्याइएका दुवै गैँडाका लागि उद्धार केन्द्र वरपरको तीन हेक्टर क्षेत्रफलमा चरन क्षेत्र बनाइएको बताउँदै त्रियुगा नदीको नजिकको यो ठाउँमा गैँडालाई पानी खुवाउने र आहाल खेल्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

गैँडा चरणका लागि क्षेत्रफल थप गरी घाँसेमैदान विस्तार तथा विभिन्न प्रजातिअनुसार संरचना निर्माण आवश्यक रहेको बताउँदै आरक्षमा खोरलगायत संरचात्मक कार्य भएपछि बाघ व्यवस्थापन हुनसक्ने र त्यसबाट गैँडासँगै बाघका लागि पनि टप्पु क्षेत्रमा जङ्गल सफारी आरम्भ भई त्यस क्षेत्रको पर्यापर्यटनले गति लिने मध्यवर्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको नेपालको एकमात्र वन्यजन्तु आरक्ष रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको एक सय ७५ किलोमिटर वर्गकिलोमिटरमा एक सय ७३ वर्ग किलोमिटर थप गरी मध्यवर्ती क्षेत्र घोषणा भएको थियो । मध्यवर्ती क्षेत्रमा सुनसरी र उदयपुरसँगै मधेश प्रदेशको सप्तरी जिल्लामा पनि  पर्छ । 

‘घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने छ’ : मुख्यमन्त्री सिंह

कुनौली (सप्तरी), १५ मङ्सिरः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताउनुभएको छ ।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–१ को ॐसृजन कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा आज उहाँले महिलालाई व्यावसायिक रूपमा घरेलु उत्पादनमा लाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री सिंहले स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापडलगायत समानहरू तयार पार्न सुझाव दिँदै त्यसलाई बजारीकरणका लागि सरकारले व्यवस्था मिलाउने आश्वासन दिनुभयो । “यहाँ प्रयोग भएको फूलको माला पनि बाहिरबाट किनेर ल्याइएको होला । अब आफैँ किन उत्पादन नगर्ने ? तपाईंहरू यहाँ पाँच, दश बिघामा फूलको खेती गर्न चाहनुहुन्छ भने सरकारले आवश्यक सहयोग गर्छ”, उहाँले भन्नुभयो । 

युवाहरू विदेशमा गएर यस्तै काम गर्ने तर देशमै नगर्नाले देशपछाडि परेको मुख्यमन्त्री सिंहको भनाइ थियो । “पढेर कोही खेती गर्छ भने यहाँ समाजले पनि फलानोको छोरा पढेर पनि केही गर्न सकेन भनेर कुरा काट्छ । यस्तो प्रवृत्ति बन्द हुनुपर्छ, कामलाई प्रोत्साहन गर्नुपर्छ अनि मात्र देश र मधेश समृद्ध हुन्छ”, उहाँले थप हौसला भर्नुभयो । 

इन्डोनेसियाबाट १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीको उद्धार

इन्डोनेसियाको तटीय क्षेत्रमा रोहिङ्ग्या शरणार्थी यात्रा गरिरहेको डुङ्गा डुबेपछि डुङ्गामा सवार १०० भन्दा बढी शरणार्थी महिला र बालबालिकाको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शनिबार जनाएको छ ।

म्यान्मारमा मुस्लिम समुदायका रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र उक्त उत्पीडन र गरिबीबाट निकाश खौज्दै हरेक वर्ष हजारौँले मलेसिया वा इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

यूएनएचसीआरका फैजल रहमानले शनिबार एएफपीसँग भन्नुभयो, “हामीलाई पूर्वी आचेह सरकारले डुङ्गामा कूल ११६ शरणार्थी रहेको रिपोर्ट प्राप्त भएको छ ।”

उहाँले भन्नुभयो, “शरणार्थीहरू अहिले पनि समुद्रको तटमा छन्, उनीहरूलाई कहाँ लैजाने भन्ने निर्णय भएको छैन।”

उत्तरपूर्वी सुमात्रा टापुको समुद्री किनारबाट केही पर रोहिङ्ग्यालाई लिएर जाँदै गरेको काठको डुङ्गा आधा डुबेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

स्थानीय माझी सैफुद्दीन ताहिरका अनुसार शनिबार बिहान पहिलो पटक डुङ्गा पूर्वी आचेहको पानीमा प्रवेश गरेको देखिएको र त्यसको केही घण्टापछि डुङ्गा डुब्न लागेको थियो ।

“सबै यात्रुहरू बाँच्न सफल भएका छन् तर तिनीहरूमध्ये एक जना बिरामी थिए र तुरुन्तै उपचार भएको छ”, सैफुद्दिनले एएफपीसँग भन्नुभयो, “डुङ्गा समुद्र तटबाट १०० मिटरको दूरीमा डुबेपछि कतिपय शरणार्थीहरू तटीय क्षेत्रको सुरक्षित स्थानसम्म आँफै गएका थिए भने कतिपयलाई स्थानीय माझीहरूले उद्धार गरेका थिए ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी चल्ने महिनाहरूमा सुस्तता देखिन्छ भने समुद्रको अवस्था शान्त हुँदा उच्च हुन्छ ।

गत महिना १५२ रोहिंग्या शरणार्थीलाई दक्षिण आचेह जिल्लाको तटमा केही दिनसम्म रोकेपछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेका थिए।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आउने रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।

दशकँैंदेखिको रक्तपातपूर्ण द्वन्द्वको सम्झना बोकेका थुप्रै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन्।

तर कतिपयले भने रोहिंग्या समुदायले दुर्लभ स्रोत साधन उपभोग गर्ने र कहिलेकाहीं स्थानीयसँग द्वन्द्वमा पर्ने गरेको बताएका छन् ।

रोहिङ्ग्या समुदायसँगको विवादका कारण सन् २०२३ को डिसेम्बरमा सयौँ इन्डोनेसियाली विद्यार्थीले १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई अन्यत्र स्थानान्तरण गर्न आन्दोलन गर्दै आचेहको एक सामुदायिक भवनमा आक्रमण गरेका थिए।

कालीगण्डकी कोरिडोर : मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

म्याग्दी, १५ मङ्सिर : भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इञ्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दूरीमा प्राइम कोट (बिटुमिन) बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिनुभयो । तेह्र किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले बताउनुभयो । विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ । 

विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका–४ का वडाअध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । 

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो । 

राज्यको आवश्यकताअनुरूप वर्तमान सरकार : उपप्रम सिंह

गण्डकी, १५ मङ्सिर : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकताअनुसार वर्तमान सरकार गठन भएको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आज आयोजना गरेको छलफल एवं अन्तरक्रियामा नेता सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताउनुभयो ।

प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि मिलाएर राजनीतिक स्थायित्व दिन सक्छ कि भन्ने कुराले नै यो समीकरण बनेको नेता सिंहले स्पष्ट पार्नुुभयो । छोटो समयमा सरकार परिवर्तन हुँदा त्यसप्रति जनताले पनि प्रश्न उठाउन थालेको उल्लेख गर्दै उहाँले नटिक्ने सरकारले हाम्रा लागि के काम गर्छ ? टिक्ने सरकार त हुनुपर्‍यो नि भन्ने जस्ता आवाज जनस्तरबाट आउन थालेको बताउनुभयो ।

शान्ति सम्झौतालाई कांग्रेसले आँट गरेर नै अघि बढाएको प्रसङ्ग स्मरण गर्दै मन्त्री सिंहले राजनीतिक स्थायित्वका लागि नै प्रमुख ठूला दल एकताबद्ध बन्दै अघि बढेको जिकिर गर्नुभयो । साना दललाई मौका दिँदा कहिले कांग्रेसलाई त कहिले एमालेलाई खेलाएको बताउँदै उहाँले त्यसले परिणाम दिन नसकेकै कारण राजनीतिक स्थिरता र विद्यमान समस्याको समाधानका लागि अघि बढिएको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार देशका तमाम समस्याको पहिचान गरी एक एक केलाउँदै त्यसको समाधानका लागि अघि बढेको उहाँको भनाइ छ । सरकार दलहरूबीचकै समझदारीअनुसार अघि बढ्ने र सातबुँदे समझदारीअनुसार सरकार गठन भएको कुरा बहालवाला प्रधानमन्त्रीले स्वयंले भन्दै आउनुभएको भन्दै उहाँले सरकार त्यसअनुरूप नै अघि बढ्ने धारणा राख्नुभयो ।

कांग्रेसको कुनै नेता तथा कार्यकर्तामाथि प्रश्न उठ्यो भने पार्टीकै कार्यकर्ता वास्तविक कुरा नबुझी हल्लाको पछि लाग्ने गरेको बताउँदै उपप्रधानमन्त्री सिंहले कोही माथि प्रश्न उठ्छ भने विधिको शासनअनुसार कानुनबमोजिम छानबिन भई दोषी भए कारबाही हुने उहाँले बताउनुभयो । कांग्रेसकै पार्टीका नेता भ्रष्टाचारको मुद्दामा जेल गएर अहिले राजनीतिमा नै नरहेका उदाहरण रहेको उहाँले बताउनुभयो ।

पार्टीभित्र पार्टीको नियमअनुसार बस्नुपर्ने उल्लेख गर्दै मन्त्री सिंहले हामीले कांग्रेसको चरित्रअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीले गाउँ, पालिका, क्षेत्र र केन्द्रमा बस्नेले तत्तत् ठाउँका विवाद मिलाएर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीमा राम्रो व्यवस्थापन गरेर लैजान नसकेको अवस्थामा झन् बिग्रेर जाने बताउनुभयो ।

नेपालको अहिलेको आर्थिक अवस्था कमजोर भएको भन्दै नेता सिंहले ऋण दियो भन्दैमा जति दियो भने पनि लिने पछि देखाजायगा भनेर बस्नु नहुुने बताउनुभयो । कांग्रेस एमाले मिलेर बनेको सरकार भएका कारण प्रधानमन्त्री चीन जाँदा बिआरआईको कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्नु अगाडि केकेमा संशोधन गर्नुपर्छ भन्नेमा साझा अवधारणा बनाइएको उहाँले बताउनुभयो । विकास निर्माणका आयोजनाहरू, जनताका तहमा आदानप्रदानका कुराहरूलगायत साझा कुराहरू तयार गरेका चीनमा पठाइएको बताउँदै उहाँले त्यहाँको पनि के प्रतिक्रिया आउँछ त्यसअनुरूप हुने उल्लेख गर्नुभयो । 

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी आफ्नो स्थापनाकालीन आदर्शलाई आत्मसात् गर्दै अघि बढेमा कसैसँग झुक्नु नपर्ने धारणा राख्नुभयो । 

शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १५ मङ्सिरः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ । शुक्रबार राति हृदयघातका कारण निधन हुनुभएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्घको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

स्व ज्ञवालीलाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।

दुई कार्यकाल सङ्घको नेतृत्व गर्नुभएका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति निधन भएको हो । गुल्मी स्थायी घर हुनुभएका ज्ञवालीले कास्कीमा शिक्षक रहँदा नै शिक्षक सङ्घमा आबद्ध भई विसं २०५३ देखि २०५७ सम्म जिल्ला अध्यक्ष हुनुभएको थियो । यस्तै, विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेस गुल्मीको महाधिवेशन प्रतिनिधिसमेत हुनुभएको थियो । पूर्वअध्यक्ष ज्ञवालीको निधनमा नेपाल शिक्षक सङ्घले गहिरो दुःख व्यक्त गरेको छ । सङ्घको आज बसेको आकस्मिक बैठकले ज्ञवालीको निधनले नेपालको शिक्षक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।

बैठकले सङ्घका सम्पूर्ण निकाय सङ्घ, प्रदेश र स्थानीय तहमा १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र तीन दिनसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट, चीन भ्रमणबारे छलफल

काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।

यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

एनपिएल : पहिलो खेल जित्दा खुसी लाग्यो – कप्तान साह

काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताउनुभयो । उहाँले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताउनुभयो । 

त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । 

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट

कीर्तिपुर (काठमाडौँ), १५ मङ्सिर : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ ।

दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पु¥याएको थियो । 

क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । 

मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्‍यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । 

यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताउनुभयो । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको भनाइ उहाँको थियो । 

“भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उहाँको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौँ, १५ मङ्सिरः त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताउनुभयो ।

शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

स्व रेग्मीको योगदानलाई पार्टीले सम्मान गर्छ : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), १५ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वर्गीय मतिकुमारी रेग्मीले मुलुकमा लोकतन्त्रको स्थापनाका लागि पु¥याएको योगदानको पार्टीले सम्मान गर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ निवासी रेग्मीको निधन भएको आज १०औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिमा उहाँले स्वर्गीय रेग्मी र उहाँका परिवारले मुलुकका लागि पु¥याएको योगदानलाई भुल्न नमिल्ने बताउनुभयो ।

मन्त्री पौडेलले आगामी दिनमा पनि रेग्मी परिवार कुनै पनि सङ्कटका बेलामा लोकतन्त्रका पक्षमा सतिसालझै दृढ उभिने विश्वास व्यक्त गर्नुभयो । मुलुक तथा पार्टीका लागि उहाँको परिवारले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै स्वर्गीय रेग्मीले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो ।

शोकसभामा नेपाली काग्रेस जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, शुक्लागण्डकी नगरसमिति सभापति गोपी गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।