मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्क अनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन् ।तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरूलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो ।

यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरूबाट हिंडिरहेको देख्न सकिन्थ्यो ।

म्यानमामा माछा मार्ने डुंगाका ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु

थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व्यक्तिको मृत्यु भएको नौसेना कमाण्डरले जानकारी दिनुभयो ।

दक्षिणी प्रान्त रानोङका नौसेना कमाण्डर सुवात डोन्साकुलले भन्नुभयो,“एक थाई माछा मार्ने व्यक्ति डुबेको र ३१ जनालाई म्यानमा लगिएको छ । उनीहरूलाई कसले हिरासतमा राखेको छ भनी बताएको छैन ।”

शनिबार घटना भएको बेला म्यानमाको जलक्षेत्रमा धेरै थाई माछा मार्ने डुङ्गा चलिरहेको सुवतले बताउनुभयो ।
“मृतकले आक्रमणको क्रममा पानीमा हाम फाले,” उहाँले थप्नुभयो ।

सुवतले स्थानीय अधिकारीहरूलाई म्यानमाका समकक्षहरूसँग वार्ता गर्न निर्देशन दिएको बताउनुभयो ।थाइल्यान्डको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो,“उनीहरुको रिहाई सुरक्षित गर्न म्यानमा पक्षसँग पनि वार्ता हुनेछ ।”
थाइल्याण्डको माछापालन विभागको वेबसाइटमा रहेको सूचना अनुसार थाई माछा मार्ने डुङ्गाहरू अवैध रूपमा म्यान्माको पानीमा चलिरहेका छन् । यसले दुई देशबीच तनाव बढाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते

काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् ।

आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, धादिङ खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेश बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत घाइते भएका छन् ।

यस्तै गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल काठमाडौँको सितापाइला ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँको अहिले बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउनुपर्छ’

बारा, १५ मङ्सिरः मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले भारतको अयोध्यामा दिनहँु अढाई लाखसम्म दर्शनार्थीहरू रामलालको दर्शन गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै गढीमाईमा पनि तिनै तहको सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेशका धार्मिकस्थलको अनिवार्य दर्शन गर्ने गरी माहोल मिलाउन लाग्नुपर्ने धारणा राख्नुभयो । “मधेश प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ । जनकपुरधामस्थित माता सीताको पुण्य भूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुप¥यो”, मन्त्री लेखीले भन्नुभयो ।

मेलामा शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाउन, जोखिम क्षेत्रको पहिचान गरेर त्यसैअनुसार सतर्कता अपनाउन, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका लागि कटिबद्ध भएर लाग्न उहाँले सुरक्षा प्रमुखहरूलाई आग्रह गर्नुभयो । गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेलाको तयारीका बारेमा जानकारी दिँदै भरपुर सुरक्षाको माग गर्नुभएको थियो ।

बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिल्सिना र मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि अर्चायलगायत बारा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

डोल्पा, १५ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँका एखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले डोल्पावासी आमनागरिकका हरेक आवश्यकता पूरा गर्नका लागि नेपाल सरकार सधैँ तत्पर र कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले डोल्पाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध छ, खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ ।”

आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले डोल्पावासी आम नागरिकहरूको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका काममा राम्रो उपलब्धि सम्भव भएको बताउनुभयो ।

यसैगरी, मन्त्री यादवले आजै डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ ।”

मन्त्री यादवले खानेपानी तथा सरसफाइ योजना तथा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानीका लागि थप सुदृढ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस आयोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाइको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु ।” डोल्पा जिल्लामा निर्माण गरिएका खानेपानीका आयोजना निर्माण सम्पन्न कार्यलाई सफल पार्न एवं सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरू, स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियनप्रति मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो । 

उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको थियो ।

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौँ, १५ मङ्सिरः भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।

आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।

मानव बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार

राँझा . बाँके – मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष ०८०÷८१ मा जोखिममा रहेका दुई सय ९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

उक्त संस्थाले नेपालगञ्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।

त्यसमध्ये पाँच जनालाई भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दुई सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइएको र ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयाजक निर्मल सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका नौ हजार आठ सय ९६ महिला तथा बालबालिकालाई परामर्श दिएको छ । यो अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखन अभियोगमा तीनवटा मुद्दा दर्ता गरेको छ ।

“बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखन विरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले दलालले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने गरेको छ”, सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ, सबैभन्दा बढी जोखिममा १८ देखि २५ वर्ष उमेर समूह रहेको तथ्यले देखाएको छ ।”

शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्दार संयोजक भूमि भट्टराईले मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निरुत्साहित पार्न ग्रामीण नाकामासमेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा शतबीज छर्दै भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्न आएका भक्तजनको घुइँचो । तस्बिर ः हरिराम भेटुवाल

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्दै भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृको सम्झनामा आज बत्ती बाल्न आएका भक्तजन।

साम्प्रदायिक झडपपछि शान्तिका लागि बङ्गलादेशी राजनीतिज्ञहरूको आह्वान

बङ्गलादेशका प्रमुख राजनीतिक दलहरूले हिन्दू प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा एक वकिल मारिएपछि व्यापक अशान्तिका बीच शान्तिको आह्वान गरेका छन् ।

एउटा र्‍यालीका क्रममा बङ्गलादेशी झण्डाको अनादर गरेको आरोपमा पक्राउ परेका हिन्दू आध्यात्मिक गुरु चिन्मय कृष्ण दास ब्रह्मचारीका आक्रोशित समर्थकहरूले उहाँलाई जमानत नदिइएपछि प्रहरीसँग भएको झडपमा सार्वजनिक अभियोजक सैफुल इस्लाम अलिफको मङ्गलबार मृत्यु भएको थियो ।

धार्मिक सम्बन्धहरू १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा अस्थिर भएका छन् । यहाँ विद्यार्थी नेतृत्वको क्रान्तिले अगस्टमा स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी छिमेकी भारतमा पलायन गर्न बाध्य बनाएको थियो ।

हसिनाको १५ वर्षको कार्यकालका दुई मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र जमात–ए–इस्लामीले संयम अपनाउन आग्रह गरेका छन् ।

प्रथम आलो दैनिकले शुक्रबार बिएनपी महासचिव मिर्जा फखरूल इस्लाम आलमगिरलाई उद्धृत गर्दै हसिनाको अवामी लिगको सन्दर्भमा पछिल्लो भड्काउको पछाडि ‘पराजित फासीवादी समूह’ रहेको बताएको थियो ।

“यो घटना पूर्णतः अनुचित छ”, उहाँले अखबारलाई भन्नुभयो, “हामी यसको कडा निन्दा गर्दछौँ र सबैलाई परिस्थितिलाई शान्तपूर्वक हेर्न आग्रह गर्दछौँ ।”

जमातका शफिकुर रहमानले निरन्तर अशान्तिको दोष ‘देशलाई अस्थिर पार्ने षड्यन्त्रकारी निहित समूह’ माथि लगाउनुभयो ।

यद्यपि इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सेसनेस (इस्कोन) माथि प्रतिबन्ध लगाउने मागका लागि सडकमा विरोध प्रदर्शनको आह्वान गरिएको छ । हरे कृष्ण आन्दोलनका रूपमा पनि चिनिने इस्कोन अन्तर्राष्ट्रिय हिन्दू धार्मिक समूह हो र यसमा दास कथित रूपमा संलग्न हुनुहुन्थ्यो ।

इस्लामिक शिक्षालयहरूको सामूहिक हेफाजत–ए–इस्लामले शुक्रबार इस्कोनमाथि प्रतिबन्धको माग गर्दै र्‍याली आयोजना गरेको थियो । उसले इस्कोनलाई भारतका तर्फबाट हसिनालाई सत्तामा फिर्ता गर्ने मोर्चा हो भनेर आरोप लगाएको थियो ।

“बङ्गलादेशमा साम्प्रदायिक दङ्गा भड्काउन सावधानीपूर्वक योजना बनाइएको छ तथा भारत र शेख हसिनाको तर्फबाट यसलाई कार्यान्वयन गर्न इस्कोन यहाँ छ”, हेफाजत–ए–इस्लामका मामुनुल हकले र्‍यालीमा समर्थकहरूलाई भन्नुभयो ।

– राष्ट्रिय झण्डा अपवित्र गर्ने –

बिहीबार पूर्वी भारतीय सहर कोलकातामा प्रदर्शनकारीहरूले बङ्गलादेशमा हिन्दूहरू विरुद्धको कथित अत्याचार र दासको गिरफ्तारीको विरोधमा बङ्गलादेशी वाणिज्य दूतावास बाहिरका अवरोधहरू तोड्ने प्रयास गरेका थिए ।

हिन्दू नेताको बिना शर्त रिहाइको माग पेस गर्न प्रदर्शनकारीका प्रतिनिधिहरूलाई भवनभित्र प्रवेश गर्न अनुमति दिइएको थियो ।

बङ्गलादेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोलकातामा प्रदर्शनकारीहरूले देशको राष्ट्रिय झण्डा जलाएको र अन्तरिम नेताको पुतला जलाएको बताएको छ ।

“हिन्दू समूह बोङ्गियो हिन्दू जागरणले राष्ट्रिय झण्डा अपवित्र गरेको र मुख्य सल्लाहकार मुहम्मद युनुसको पुतला जलाएको निन्दनीय कार्यको सरकार कडा निन्दा गर्दछ”, सरकारले विज्ञप्तिमा भनेको छ ।

हसिनाले यस हप्ताको सुरुमा दासलाई हिरासतबाट ‘तत्काल रिहाइ’ गर्न माग गर्नुभएको थियो र उहाँको गिरफ्तारीलाई ‘अवैध’ बताउनुभएको थियो ।उहाँले पनि वकिलको हत्याको निन्दा गर्दै यसलाई ‘मानव अधिकारको स्पष्ट उल्लङ्घन’ भन्नुभयो ।

भारतले दासको पक्राउ र जमानत अस्वीकारलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ । तर इस्कोनले दाससँग कुनै पनि सम्बन्ध अस्वीकार गर्दछ ।

“इस्कोनको अनुशासन उल्लङ्घन गरेको आरोपमा चिन्मयविरुद्ध मुद्दा दर्ता हुनुभन्दा धेरैअघि नै हामीले उहाँलाई निष्कासन गर्यौं”, समूहका बङ्गलादेशका अध्यक्ष सत्य रञ्जन बराईले शुक्रबार भन्नुभयो, “उहाँलाई आफ्नो कर्तव्यबाट मुक्त गरियो तर उहाँले आदेशको अवहेलना गर्नुभयो र आफ्ना गतिविधिहरू जारी राख्नुभयो ।”

बङ्गलादेशको सर्वोच्च अदालतले बिहीबार इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरेको निवेदनलाई खारेज गरेको छ । “मुसलमान, हिन्दू, बौद्ध, ईसाई… सह–अस्तित्वमा विश्वास गर्छन्, र यो सामञ्जस्य भाँच्न दिइने छैन”, अदालतले फैसला सुनायो ।

सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन

जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले शुक्रबार बताएको छ ।

अन्तरसरकारी सङ्गठनका अनुसार विश्वव्यापी उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने २९ देशमा उत्पादन २२ करोड ७० लाखदेखि २३ करोड ५० लाख हेक्टरसम्म पुग्ने अनुमान गरिएको छ ।

मध्यम स्तरको २३ करोड १० लाख हेक्टोलिटर उत्पादनले सन् २०२३ को तुलनामा दुई प्रतिशत र पछिल्लो १० वर्षको औसतभन्दा १३ प्रतिशत कमी देखाएको छ ।

“दुवै गोलार्धमा जलवायुजन्य चुनौतीहरू पुनः विश्व उत्पादन मात्रा घटाउने प्रमुख योगदानकर्ता हुन्”, ओआइभीले एक प्रतिवेदनमा भनेको छ, “प्रारम्भिक अनुमानहरूले जलवायु परिवर्तनका कारण युरोपेली सङ्घ (इयु) वाइन क्षेत्रहरूमा जलवायु अवरोधहरूको जटिल परिदृश्य प्रकट गर्दछ ।”

ओआइभीका अनुसार सन् २०२३ जस्तै चरम वा असामान्य मौसमी घटनाहरूले विश्व उत्पादनमा मुख्य प्रभाव पार्छन् तथा प्रारम्भिक चिसो, भारी वर्षा र लामो सुक्खा अवधिले अङ्गुरको उत्पादकत्वलाई नाटकीय रूपमा प्रभावित पार्छ ।

गत वर्षको सबैभन्दा ठुलो उत्पादक फ्रान्सको उत्पादन २३ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । यो यस क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो ।

इटालीले गएको वर्षको कम उत्पादनबाट थोरै सुधार गरी फ्रान्सलाई पछाडि पार्दै पुनः शीर्ष स्थान फेरि प्राप्त गरेको छ ।

“क्षेत्रहरूको एउटा सानो समूह–विशेष गरी संयुक्त राज्य अमेरिका र हङ्गेरी, जर्जिया र मोल्दोभासहित धेरै पूर्वी युरोपेली देशहरूले–अधिक अनुकूल जलवायु परिस्थितिहरू भोगे र औसत वा औसतभन्दा बढी उत्पादन मात्रा हासिल गरे”, ओआइभीले भनेको छ ।

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

त्रिशूली (नुवाकोट), १५ मङ्सिरः यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर (प्रसूति गृह)मा सुत्केरी गराउने र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गराइ घटना दर्ता अभियानसँग आबद्ध गरिएको छ ।

उक्त मापदण्डभित्रका सुत्केरीलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी घरदैलोमा वा नजिकैको स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

गर्भवती र सुत्केरी समयमा पोषणसहितको सरसफाइको सावधानी एवम् सचेतना जगाउनसमेत पोषण प्याकेज लिएर घरघरमा जान थालेको स्वास्थ्य शाखा प्रमुख रामराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी हुने अवस्थामा हुनसक्ने जोखिम न्यूनिकरण, नियमति गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पु¥याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको हो ।

“गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराइ बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा उनीहरुको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिने छ ।”

उक्त प्याकेजमा घ्यू, नरिवल, छोगडा, बदाम, दाल, गुद, ठूलो औषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री समावेश गरेर सुत्केरी भेट्न जनप्रतिनिधि र कर्मचारी घरमै वा नजिक पर्ने स्वास्थ्य संस्थामा जान सुरु गरिएको नगरपालिकाले नजाएको छ । यस अभियान वार्षिक दुई पटक मङ्सिर र जेठमा राखिएको हुँदा गर्भवती र सुत्केरीले जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमसमेत मिलाइएको छ ।

पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीसहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल एवम् सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरुको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रुपमा पनि नगरले लिएको छ ।

‘दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउँछौँ’ – मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउने बताउनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना २०८१÷०८२–०८५÷०८६ सम्बन्धी विज्ञहरूसँगको अन्तरक्रियामा उहाँले नीति प्रधान हुने गरी काम गर्दा सबैका लागि मान्य हुने बताउनुभयो । “यो प्रदेश सरकारको दस्ताबेज हो, यसले परियोजना होइन, नीति बोकेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “त्यसैले आज विज्ञबाट प्राप्त सुझाव समावेश गरी प्रदेश सरकारले कार्यान्वयनमा लैजानेछ ।”

मुख्यमन्त्री कँडेलले सरकार बदलिए पनि कर्णाली प्रदेशको चालु नीति, कार्यक्रम र बजेट निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतदेखि कर्णालीका योजना किनबेचको व्यापार गर्ने प्रवृत्तिलाई पूर्णरुपले अन्त्य गरी पारदर्शी र विधिसङ्गत हुने गरी आगामी वर्षको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण हुनेसमेत प्रष्ट पार्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामाजिक न्याय, समृद्धि र सुशासन कायम गर्न उहाँले खर्च गर्ने क्षमता बढाउनुका साथै प्रदेशको आन्तरिक आम्दानी बढाउन जरूरी रहेको धारणा राख्नुभयो । मन्त्री शाहले हाल प्रदेशको आम्दानी रु ५४ करोड मात्रै रहेकाले राजस्व वृद्धिका लागि स्रोतको पहिचान गर्ने काम भइहेको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारुप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषय, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक मामिला सचिव रविलाल पन्थले दोस्रो पञ्चवर्षीय योजनामा कर्णाली विकासका लागि परियोजना बैंकको अवधारणासहित सरकार अगाडि बढेको जनाउनुभयो ।

उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका प्रा डा चन्द्रप्रसाद रिजालले लैङ्गिक समानता, सामाजिक समावेशिता, अपाङ्गतामैत्री र सङ्घीयताको अभ्यासलाई सघाउने योजना निर्माण गर्न सुझाउनुभयो । विश्वविद्यालयका पूर्वउपकुलपति सहप्राध्यापक कालीप्रसाद पाण्डेले कर्णालीको विकास र समृद्धि हामी आफँैले गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयकै प्राडा नारायणप्रसाद पौडेल, दीपबहादुर रावल, उपप्राध्यापक डा विष्णुकुमार खड्का, कल्पना पौडेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चन्द्रा भारती, नागरिक अगुवा पीताम्बर ढकाललगायतले सुझाव दिएका थिए ।

बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति

म्याग्दी (बेनी), १५ मङ्सिरः म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो ।

ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छे« हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतिको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो ।

यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि रु एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । “निर्माण व्यवसायी कार्य क्षेत्रमा परिचालन भइसकेको छ, धमाधम सडक स्तरोन्नति गरे अहिले आएको बजेटले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ”, उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ ।

करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आवश्यक मात्रामा निर्माण सामग्री र मेसिन उपकरण परिचालन गरेको र निर्माण कार्यलाई द्रुत गतिमा निर्धारित समयअगावै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नति हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीयस्तरमा सहजीकरण गर्न स्थानीयवासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् ।

सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गासम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा निगरानी बढाइएको बताउनुभयो । “जिल्ला सदरमुकामसँग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतिको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ । गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी

काठमाडौँ, १५ मङसिर : नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना एनपिएल मार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरु नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले नया ढङ्गले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको उद्गार महत्त्वपूर्ण छन् ।

प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्ने धारणा राख्नुभएको थियो । एनपिएलबाट लुकेर बसेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एनपिएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुङ्गा बन्ने उहाँको बुझाइ छ । यसले नेपाली खेलाडीका लागी व्यावसायिक ढोका समेत खोलेको छ ।

सरकारले एनपिएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरुसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपिएलमा साझेदार रहेका सरकारी तथा नीजि क्षेत्र उत्साहित छन् । एनपिएलमा नीजि क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । अगामी दिनमा पनि उनीहरु क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् ।

क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपिएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपिएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरुलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरु गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ । एनपिएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपिएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरुले रु ६० लाख पाउने निश्चित भएको छ । एनपिएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्ने छ । एनपिएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

एनपिएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्ने छ । एनपिएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्ने छ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपिएलको सफल आयोजनाले नेपाली भूमि अरु देशका झैँ ठुल्ठुला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्ने छ । अरु देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।

एनपिएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनुभएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चितरुपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जाने छ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपिएलको ट्रफीमा राखिनुले अझ खास महत्त्व राख्ने छ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्ने छ ।

एनपिएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरुसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउने छन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्ने छ । यसपटक एनपिएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपिएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ ।

एनपिएलले विश्वका अरु देशका ठूला ठूला लिग प्रतियोगिता खेल्ने अवसर सृजना गर्ने छ । एनपिएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तिका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आइपिएलपछिको दोस्रो ठूलो लिगका रुपमा एनपिएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ ।

सरकारी तथा नीजि क्षेत्रले पहिलोपटक नेपाली खेलकुदमा यतिधेरै लगानी गरेको छ । राज्यले नेपालको खेलकुदमा पर्याप्त लगानी गर्न सकेको छैन । एनपिएलका माध्यमबाट सरकारी तथा नीजि क्षेत्रको यतिधेरै ध्यान पहिलो पटक गएको छ । खासमा क्रिकेट खेलाडी मात्र होइन, सारा नेपाली खेलाडी घरको लगानीको भरमा खेलमा समर्पित भएको अवस्था छ । घरपरिवारको साथले मात्र उनीहरु विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसका लागि उनीहरुलाई सरकारी तथा नीजि क्षेत्रको पर्याप्त साथको आवश्यकता छ । खेलकुद स्वयम् खेलाडी र उनीहरुका अभिभावकका भरमा छाड्ने हो भने केवल सहभागितामा मात्र सीमित बन्ने छ ।

केही वर्षअघिसम्म नेपालका खेलकुद प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न असम्भव जस्तै थियो । यसका लागि प्रतियोगिता स्थल सम्मै पुग्नुबाहेक अन्य विकल्प थिएन । नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपिएल प्रत्यक्षरुपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्टस्’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा पहिलोपटक आजदेखि सुरु हुनगइरहेको नेपाल प्रिमियर लिग भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कै ढाँचामा सुरु हुन लागेको छ । एनपिएल नेपाली क्रिकेटका लागि चुनौती र अवसर दुवै हो । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपिएलभने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपिएलले विशेष महत्त्व राखेको छ । खेलाडी आर्थिक रुपमा पनि बलिया भएका छन् । उनीहरु कम्तीमा रु दुई लाखदेखि बढीमा रु २० लाखसम्ममा अनुबन्धित भएका छन् ।

फ्रेन्चाइज टोलीले रु सात करोडदेखि रु नौ करोडसम्म खर्च गरेका छन् । टोलीका मालिकहरूले यसलाई नेपाली क्रिकेट विकासको सुरुआती लगानीका रूपमा लिएका छन् । उनीहरुले आगामी दिनमा समेत लगानीलाई निरन्तरता दिने सोच बनाएका छन् । क्यानले यसपटकको एनपिएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपिएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।

विदेशी खेलाडी अनुबन्धले एनपिएललाई अझ खास बनाएको छ । उनीहरुको सहभागिताले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै एनपिएलले ठूलो उचाइ लिने विश्वास गरिएको छ । एसोसिएट देशमा गरिएको यो लिगलाई विश्वभर विशेष रुपमा हेरिएको छ । केही एसोसिएट देशले यस्ता लिगहरु आयोजना गर्दै आए पनि सफल हुन सकिरहेका छैनन् । यस्तोमा नेपालको एनपिएल पनि चुनौतीपूर्ण बनेको छ । एनपिएलले आगामी दिनमा गति लिनेमा क्यान अध्यक्ष चन्द विश्वस्त हुनुहुन्छ । एनपिएलमा सबै प्रदेशको प्रतिनिधित्वले अझ धेरै महत्व राखेको छ ।

एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आवद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने

काठमाडौँ, १५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।

ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १५ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तीन महिनामा व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

काठमाडौँ, १५ मङ्सिरः चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ ।

गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो ।

चालु आवको पहिलो त्रयमासमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति रु एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो ।

औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो ।

तरकारी तथा दलहन उप– समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो ।

गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो । त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क तीन दशमलव ३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो ।

चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ ।

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आवको पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ, १५ मङ्सिरः राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो ।

त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ ।

यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो । त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो । विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन ।

फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् ।

उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ ।

जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताउनुभयो । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताउनुभयो ।

विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ । त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।

मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

काठमाडौँ, १५ मङ्सिरः मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ ।पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु-याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,” उहाँले भन्नुभयो ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कुल परम्परा अनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

‘कांग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ – उपप्रधानमन्त्री सिंह

दमौली (तनहुँ), १४ मङ्सिर : नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उहाँले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताउनुभयो ।

सहरी विकासमन्त्री समेत रहनुभएका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रका हरेक समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाउनुको विकल्प छैन । पार्टीभित्र समस्या छन्, त्यस्ता समस्यालाई समाधान गर्दै अगाडि बढ्ने हो ।”

आफू जहिल्यै पनि पार्टीको सुधार अभियानमा लागिपरेको बताउँदै सिंहले पार्टीमा समस्या छ मात्रै भन्ने तर सुधारको बाटो नदेखाउने परिपाटी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र यो भएन, त्यो भएन मात्रै भन्ने जमात पनि छन् । त्यस्तो भनेर मात्र हुँदैन । के गर्न सकिन्छ त्यसका लागि मार्गनिर्देश समेत गर्न सक्नुपर्छ ।”

नेपालका हरेक कठिन अवस्थामा कांग्रेसले नेतृत्व लिँदै आएको बताउँदै सिंहले भन्नुभयो, “कांग्रेसकै नेतृत्वमा जनआन्दोलन सफल भयो । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो ।” सिंहले अहिले देशमा देखिएको समस्याको समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला उपसभापति रघुनाथ पौडेल, महासमिति सदस्य पवित्रा पौडेल, क्षेत्रीय सभापति श्याम मौराती, व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलगायतले जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

लुम्बिनी, १४ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षमतामा आधारित सिकाइ सिद्धान्तका आधारमा पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्न एवं शैक्षिक सुशासन र व्यवस्थापकीय जवाफदेहितामा सुधार गर्न जरूरी रहेको बताउनुभयो ।

विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने, गुम्बा शिक्षा, बज्रयान, महायानअन्तर्गत अध्ययन गरेको ज्ञान सीपलाई विश्वविद्यालयको उपाधिसँग समकक्षता प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्न निर्देशन दिँदै मन्त्री भट्टराईले बौद्ध धर्म, दर्शन, पाली र संस्कृत भाषामा विशिष्टता हासिल गरेका विज्ञ जनशक्तिसँग मिलेर काम गर्ने वातावरण विकास सिर्जना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालको मौलिक राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवं विकास गर्दै सुखी, शान्त, सफल आदर्श र कल्याणकारी समाज निर्माण तथा बौद्ध दर्शनभित्र अन्तरनिहित विचारका माध्यमबाट छिमेकी राष्ट्रसँग सांस्कृतिक सम्बन्ध कायम गर्ने जिम्मेवारीलाई मूलमन्त्र ठानेर अघि बढ्न आग्रह गर्नुभयो ।

गाजामा अराजकता छ– राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताउनुभयो ।

“यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भन्नुभयो, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र सङ्घर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।”

“हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ”, परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उहाँले भन्नुभयो ।

धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताउनुभयो ।

“अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्”, उहाँले भन्नुभयो ।

सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गर्नुभयो । उहाँका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

उहाँले पहिलोपटक दर्जनौँ महिला र बालबालिकालाई घेराबन्दी गरिएको क्षेत्रमा विशाल ल्याण्डफिलमा खाना खोज्दै देखेको बताउनुभयो ।

गाजामा विनाशको स्तर ‘अझ खराब हुँदै गइरहेको’ उहाँले बताउनुभयो । “मैले भेटेका सबैको साझा अनुरोध थियो कि यसलाई रोक्नुहोस् । यसलाई अन्त्य गर्नुहोस् । पुग्यो ।”

संयुक्त राष्ट्रसङ्घलाई अझै पनि उत्तरी गाजामा बस्ने ७० हजार मानिसलाई कुनै सहायता पु¥याउन इजरायली अधिकारीहरूद्वारा ‘पटक–पटक बाधा वा मानवीय कन्भोयहरूलाई अस्वीकार’ गरिएकाले रोकिएको उहाँको भनाइ थियो । “यो धेरै स्पष्ट छ कि ठूलो मात्रामा मानवीय सहायता आउनुपर्छ र त्यो आइरहेको छैन”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयो ।

“ह त्या अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्छ । मनमानी ढङ्गले हिरासतमा लिइएका व्यक्तिहरूलाई रिहा गर्नुपर्छ र गाजामा अत्यन्त आवश्यक पर्ने खाद्यान्न, औषधि र अन्य महत्त्वपूर्ण सहयोगको पूर्ण मात्रा तत्काल उपलब्ध गराउन हरेक प्रयास गर्नुपर्छ ।”

मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला

मोरङ, १४ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताउनुभएको हो । नेता डा कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गर्नुभयो । एक अर्को प्रसङ्गमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

अब सहजरूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानी : मन्त्री यादव

लेखनाथ (कास्की), १४ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गर्नुभएको छ । पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा–१९ पुरनचौरमा उद्घाटन गर्दै मन्त्री यादवले सहज तवरले खानेपानी प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको बताउनुभयो । नेपाल–जापान सहयोगअन्तर्गत मित्रराष्ट्र जापान सरकारको रू चार अर्ब अनुदान सहयोगमा सो आयोजनाको संरचना निर्माण सम्पन्न भएको हो ।

“मेलम्चीपछिको उक्त ठूलो खानेपानी आयोजना सम्पन्नसँगै अब पोखराली उपभोक्ताको धाराबाट धमिलो पानी आउने छैन”, मन्त्री यादवले भन्नुभयो, “गुणस्तरीय मापदण्डअनुसार पोखरेली जनताले खानेपानी प्राप्त गर्ने छन् ।” आफू खानेपानीमन्त्री भएसँगै अधुरा योजनालाई छिटो सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा खानेपानी संस्थानमा देखिएका समस्या र कर्मचारी व्यवस्थापनामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘माछापुच्छ्रे गाउँपालिकामा मुहान रहेको मर्दी खोलाको पानीलाई पोखरा–१९को पुरन्चौर र हेम्जाका पोखरीमा फिल्ट्रेसन गरी पोखरा–२ विन्ध्यवासिनीस्थित ट्याङ्कीमा जम्मा गरी पोखरामा पानी वितरण हुनेछ । बीस इञ्चको पाइपबाट दैनिक चार करोड १० लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरी पोखराका १९ वटा वडाका ५० हजार धारमा पानी वितरण गरिने छ ।

उक्त खानेपानी आयोजनाबाट पोखराका साढे तीन लाख जनता लाभान्वित हुनेछन् । सङ्घीय सांसद दामोदर पौडेलले संरचना निर्माणसँगै संरक्षण र व्यवस्थापनामा सरकार र खानेपानी संस्थानले ध्यान दिन जरूरी भएको बताउनुभयो । साथै उहाँले आयोजना निर्माण भए पनि पोखरामा खानेपानीको अभाव अझै रहने बताउनुभयो । पानीको मुहान भएको क्षेत्र माछापुच्छ्रे गाउँपालिका र पुरन्चौर क्षेत्रमा बसोबास गर्ने जनताका लागि विकास निर्माणका काम अगाडि बढाउन उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरूङले खानेपानीको मुहान नजिकै बस्ती र मृत्यु भएका मानिस जलाउने ठाउँ भएकाले त्यसलाई व्यवस्थित गर्दै खोलाको संरक्षण गर्न जरूरी भएको बताउनुभयो ।

पोखरालाई पानी दिएर सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकावासीको हितमा विकास निर्माणका कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय र पोखरा महानगरपालिकाको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका विभिन्न वडामा नयाँ पाइपलाइन विस्तारसँगै अब केही दिनमा शुद्ध पानी वितरण गरिने बताउँदै पोखराको पस्र्याङ, फूलबारी र टुँडिखेल र रामबजारको कोलपाटनमा पानीका ट्याङ्कीबाट शुद्ध पानी वितरण हुने जानकारी दिनुभयो । धाराबाट सीधै पिउनयोग्य पानी पोखराका अधिकांश भागमा पुग्ने विश्वास उहाँको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्यले जापान सरकारको अनुदान सहयोगमा खानेपानी आयोजना सम्पन्न भएसँगै अब पानीको मुहान क्षेत्रमा रहेको बस्तीमा मानिसको आवश्यकता पूरा गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनपीएलको तयारी पूरा : क्यान

काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताउनुभयो । अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गर्नुभयो । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।

उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गर्नुभयो ।

त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।”

एनपीएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ । बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ । जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए । उनले भने, “मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो ।” सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् ।

भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्‍यो

भारतको आर्थिक वृद्धि सेप्टेम्बर त्रैमासिकमा ५.४ प्रतिशतमा झरेको छ । अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतको तुलनामा यो उल्लेखनीय गिरावट भएको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । शुक्रबारको तथ्याङ्कले अझै पनि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्रहरू मध्ये राखेको छ तर गत वर्ष देखिएको तीव्र विस्तारमा यसले मध्यमस्तरको परिवर्तनको सङ्केत गरेको छ ।

यो तथ्याङ्कले १८ महिनाभन्दा बढी समयदेखि ६.५ प्रतिशतमा स्थिर राखेको भारतीय रिजर्भ बैंकमाथि ब्याजदर घटाउन दबाब दिने सम्भावना छ । पछिल्लो वृद्धिको तथ्याङ्कले अब बैंकलाई यस वर्ष ब्याजदर घटाउन प्रेरित गर्न सक्छ । वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अधिकांश विश्लेषकको अनुमानभन्दा धेरै तल आयो । भारतीय अर्थतन्त्र अघिल्लो अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशतले वृद्धि भएको थियो। सरकारी विज्ञप्तिले कमजोर उत्पादन र खानी गतिविधिमा अपेक्षितभन्दा कम वृद्धिको आँकडालाई जिम्मेबार मानेको छ ।

आर्थिक वृद्धिको मध्यमस्तरको परिवर्तन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) का लागि अप्रिय समाचार हो । भाजपाले यस वर्षको आम निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्न सकेन र सरकार चलाउन गठबन्धन दलहरूमाथि निर्भर छ । भाजपाका दुई सबैभन्दा ठूला सहयोगीले आफ्ना राज्यहरूमा पूर्वाधार परियोजनाका लागि अर्बौं डलरको आर्थिक सहायता माग गरेका छन् ।

मोदीको सरकारले चुनावपछिको बजेटमा असमान आर्थिक वृद्धि सम्बोधन गर्न र असन्तुष्ट मतदाताहरूलाई शान्त पार्न रोजगारी र तालिमका लागि २४ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो । भारतमा बढ्दो खाद्यान्न लागतले मोदीका राजनीतिक समस्याहरू थपिएको छ र केन्द्रीय बैंकलाई मुद्रास्फीतिमा नरम दृष्टिकोणमा सर्नबाट पनि रोकेको छ । भारतले मार्चमा ८.२ प्रतिशतको विश्व–कीर्तिमान वृद्धिदर हासिल गरेको थियो भने अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी २०२४÷२५ को आर्थिक वर्षमा यो ७ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ

जलेश्वर, १४ मङ्सिर : महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घर भई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, निजकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रंधिर साह र सुधीर भण्डारी माली रहेका छन् ।

त्यस्तै गौशाला नगरपालिका–६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर–९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पक्राउ परेका छ जना र अन्य चार जना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृङ्खलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

सार्वजिक गरिएका छ जनाकै समूहमा संलग्न अन्य चार जना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलको हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल छ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ ।

लुटेराले यी सामान जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए ।

त्यसैगरी पक्राउ गरेका छ जनामाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरी/डाँका (लुटपाट) र सङ्गठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।

एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री

काठमाडौँ, १४ मङ्सिरः शनिबारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ । खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुुभएको छ, “क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।”

सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गर्नुभएको छ । साथै, उहाँले शनिबार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल गर्नुुभएको छ ।

उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ । शनिबार हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

पाकिस्तान च्याम्पियन्स ट्रफीको भविष्यबारे आइसिसीको वार्ता जारी

भारतले आयोजक राष्ट्र पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्षको च्याम्पियन्स ट्रफीको अनिश्चितता समाधान गर्न वार्ता जारी रहेको बताएको छ ।

भारतले आठ टोली समावेश रहने प्रतियोगिताका लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको आइसिसीले बताएपछि यस महिनाको सुरुदेखि प्रतियोगिता अनिश्चित अर्थात ‘सस्पेन्स’को अवस्थामा पुगेको छ ।

आणविक शक्ति सम्पन्न छिमेकी देशहरूले सन् १९४७ मा उपमहाद्वीपको विभाजनपछि तीनवटा युद्ध लडेका छन् र त्यो प्रतिद्वन्द्विता प्रायः क्रिकेट मैदानमा प्रतिबिम्बित हुन्छ ।

दुबईमा मुख्यालय रहेको आइसिसीको बैठक शुक्रबार छोटो समयका लागि भएको तर कुनै निर्णय बिना नै स्थगित गरिएको वार्ताको जानकारी राख्ने र मिडियासँग बोल्न अधिकृत नभएका स्रोतहरूले बताए ।

“सबै पक्षले सकारात्मक समाधानतर्फ काम गर्दै छन्”, एक स्रोतले भन्यो, “आगामी केही दिनमा पुनः बोर्ड बैठक बस्ने अपेक्षा गरिएको छ ।”

पाकिस्तान क्रिकेट बोर्डले यसअघि भारतलाई तटस्थ तेस्रो देशमा खेल्न अनुमति दिने प्रस्तावलाई अस्वीकार गरेको छ र फेब्रुअरी १९ देखि मार्च ९ सम्मको पूर्ण तालिका उनीहरूको मैदानमा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

शुक्रबारको छोटो बैठकपछि ‘पाकिस्तानी अडान उस्तै रहेको’ अर्को स्रोतले बतायो ।

सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे

अछाम, १४ मङ्सिर : अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

चन्दले बिहीबार ९ः३० बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर भइरहेको छ । इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताएउनुभयो