अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

लुम्बिनी, १४ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षमतामा आधारित सिकाइ सिद्धान्तका आधारमा पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्न एवं शैक्षिक सुशासन र व्यवस्थापकीय जवाफदेहितामा सुधार गर्न जरूरी रहेको बताउनुभयो ।

विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने, गुम्बा शिक्षा, बज्रयान, महायानअन्तर्गत अध्ययन गरेको ज्ञान सीपलाई विश्वविद्यालयको उपाधिसँग समकक्षता प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्न निर्देशन दिँदै मन्त्री भट्टराईले बौद्ध धर्म, दर्शन, पाली र संस्कृत भाषामा विशिष्टता हासिल गरेका विज्ञ जनशक्तिसँग मिलेर काम गर्ने वातावरण विकास सिर्जना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालको मौलिक राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवं विकास गर्दै सुखी, शान्त, सफल आदर्श र कल्याणकारी समाज निर्माण तथा बौद्ध दर्शनभित्र अन्तरनिहित विचारका माध्यमबाट छिमेकी राष्ट्रसँग सांस्कृतिक सम्बन्ध कायम गर्ने जिम्मेवारीलाई मूलमन्त्र ठानेर अघि बढ्न आग्रह गर्नुभयो ।

गाजामा अराजकता छ– राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताउनुभयो ।

“यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भन्नुभयो, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र सङ्घर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।”

“हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ”, परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उहाँले भन्नुभयो ।

धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताउनुभयो ।

“अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्”, उहाँले भन्नुभयो ।

सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गर्नुभयो । उहाँका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

उहाँले पहिलोपटक दर्जनौँ महिला र बालबालिकालाई घेराबन्दी गरिएको क्षेत्रमा विशाल ल्याण्डफिलमा खाना खोज्दै देखेको बताउनुभयो ।

गाजामा विनाशको स्तर ‘अझ खराब हुँदै गइरहेको’ उहाँले बताउनुभयो । “मैले भेटेका सबैको साझा अनुरोध थियो कि यसलाई रोक्नुहोस् । यसलाई अन्त्य गर्नुहोस् । पुग्यो ।”

संयुक्त राष्ट्रसङ्घलाई अझै पनि उत्तरी गाजामा बस्ने ७० हजार मानिसलाई कुनै सहायता पु¥याउन इजरायली अधिकारीहरूद्वारा ‘पटक–पटक बाधा वा मानवीय कन्भोयहरूलाई अस्वीकार’ गरिएकाले रोकिएको उहाँको भनाइ थियो । “यो धेरै स्पष्ट छ कि ठूलो मात्रामा मानवीय सहायता आउनुपर्छ र त्यो आइरहेको छैन”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयो ।

“ह त्या अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्छ । मनमानी ढङ्गले हिरासतमा लिइएका व्यक्तिहरूलाई रिहा गर्नुपर्छ र गाजामा अत्यन्त आवश्यक पर्ने खाद्यान्न, औषधि र अन्य महत्त्वपूर्ण सहयोगको पूर्ण मात्रा तत्काल उपलब्ध गराउन हरेक प्रयास गर्नुपर्छ ।”

मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला

मोरङ, १४ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताउनुभएको हो । नेता डा कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गर्नुभयो । एक अर्को प्रसङ्गमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

अब सहजरूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानी : मन्त्री यादव

लेखनाथ (कास्की), १४ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गर्नुभएको छ । पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा–१९ पुरनचौरमा उद्घाटन गर्दै मन्त्री यादवले सहज तवरले खानेपानी प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको बताउनुभयो । नेपाल–जापान सहयोगअन्तर्गत मित्रराष्ट्र जापान सरकारको रू चार अर्ब अनुदान सहयोगमा सो आयोजनाको संरचना निर्माण सम्पन्न भएको हो ।

“मेलम्चीपछिको उक्त ठूलो खानेपानी आयोजना सम्पन्नसँगै अब पोखराली उपभोक्ताको धाराबाट धमिलो पानी आउने छैन”, मन्त्री यादवले भन्नुभयो, “गुणस्तरीय मापदण्डअनुसार पोखरेली जनताले खानेपानी प्राप्त गर्ने छन् ।” आफू खानेपानीमन्त्री भएसँगै अधुरा योजनालाई छिटो सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा खानेपानी संस्थानमा देखिएका समस्या र कर्मचारी व्यवस्थापनामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘माछापुच्छ्रे गाउँपालिकामा मुहान रहेको मर्दी खोलाको पानीलाई पोखरा–१९को पुरन्चौर र हेम्जाका पोखरीमा फिल्ट्रेसन गरी पोखरा–२ विन्ध्यवासिनीस्थित ट्याङ्कीमा जम्मा गरी पोखरामा पानी वितरण हुनेछ । बीस इञ्चको पाइपबाट दैनिक चार करोड १० लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरी पोखराका १९ वटा वडाका ५० हजार धारमा पानी वितरण गरिने छ ।

उक्त खानेपानी आयोजनाबाट पोखराका साढे तीन लाख जनता लाभान्वित हुनेछन् । सङ्घीय सांसद दामोदर पौडेलले संरचना निर्माणसँगै संरक्षण र व्यवस्थापनामा सरकार र खानेपानी संस्थानले ध्यान दिन जरूरी भएको बताउनुभयो । साथै उहाँले आयोजना निर्माण भए पनि पोखरामा खानेपानीको अभाव अझै रहने बताउनुभयो । पानीको मुहान भएको क्षेत्र माछापुच्छ्रे गाउँपालिका र पुरन्चौर क्षेत्रमा बसोबास गर्ने जनताका लागि विकास निर्माणका काम अगाडि बढाउन उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरूङले खानेपानीको मुहान नजिकै बस्ती र मृत्यु भएका मानिस जलाउने ठाउँ भएकाले त्यसलाई व्यवस्थित गर्दै खोलाको संरक्षण गर्न जरूरी भएको बताउनुभयो ।

पोखरालाई पानी दिएर सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकावासीको हितमा विकास निर्माणका कार्य अगाडि बढाउन खानेपानी मन्त्रालय र पोखरा महानगरपालिकाको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका विभिन्न वडामा नयाँ पाइपलाइन विस्तारसँगै अब केही दिनमा शुद्ध पानी वितरण गरिने बताउँदै पोखराको पस्र्याङ, फूलबारी र टुँडिखेल र रामबजारको कोलपाटनमा पानीका ट्याङ्कीबाट शुद्ध पानी वितरण हुने जानकारी दिनुभयो । धाराबाट सीधै पिउनयोग्य पानी पोखराका अधिकांश भागमा पुग्ने विश्वास उहाँको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्यले जापान सरकारको अनुदान सहयोगमा खानेपानी आयोजना सम्पन्न भएसँगै अब पानीको मुहान क्षेत्रमा रहेको बस्तीमा मानिसको आवश्यकता पूरा गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनपीएलको तयारी पूरा : क्यान

काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताउनुभयो । अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गर्नुभयो । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।

उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गर्नुभयो ।

त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।”

एनपीएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ । बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ । जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए । उनले भने, “मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो ।” सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् ।

भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्‍यो

भारतको आर्थिक वृद्धि सेप्टेम्बर त्रैमासिकमा ५.४ प्रतिशतमा झरेको छ । अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतको तुलनामा यो उल्लेखनीय गिरावट भएको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । शुक्रबारको तथ्याङ्कले अझै पनि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्रहरू मध्ये राखेको छ तर गत वर्ष देखिएको तीव्र विस्तारमा यसले मध्यमस्तरको परिवर्तनको सङ्केत गरेको छ ।

यो तथ्याङ्कले १८ महिनाभन्दा बढी समयदेखि ६.५ प्रतिशतमा स्थिर राखेको भारतीय रिजर्भ बैंकमाथि ब्याजदर घटाउन दबाब दिने सम्भावना छ । पछिल्लो वृद्धिको तथ्याङ्कले अब बैंकलाई यस वर्ष ब्याजदर घटाउन प्रेरित गर्न सक्छ । वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अधिकांश विश्लेषकको अनुमानभन्दा धेरै तल आयो । भारतीय अर्थतन्त्र अघिल्लो अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशतले वृद्धि भएको थियो। सरकारी विज्ञप्तिले कमजोर उत्पादन र खानी गतिविधिमा अपेक्षितभन्दा कम वृद्धिको आँकडालाई जिम्मेबार मानेको छ ।

आर्थिक वृद्धिको मध्यमस्तरको परिवर्तन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) का लागि अप्रिय समाचार हो । भाजपाले यस वर्षको आम निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्न सकेन र सरकार चलाउन गठबन्धन दलहरूमाथि निर्भर छ । भाजपाका दुई सबैभन्दा ठूला सहयोगीले आफ्ना राज्यहरूमा पूर्वाधार परियोजनाका लागि अर्बौं डलरको आर्थिक सहायता माग गरेका छन् ।

मोदीको सरकारले चुनावपछिको बजेटमा असमान आर्थिक वृद्धि सम्बोधन गर्न र असन्तुष्ट मतदाताहरूलाई शान्त पार्न रोजगारी र तालिमका लागि २४ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो । भारतमा बढ्दो खाद्यान्न लागतले मोदीका राजनीतिक समस्याहरू थपिएको छ र केन्द्रीय बैंकलाई मुद्रास्फीतिमा नरम दृष्टिकोणमा सर्नबाट पनि रोकेको छ । भारतले मार्चमा ८.२ प्रतिशतको विश्व–कीर्तिमान वृद्धिदर हासिल गरेको थियो भने अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी २०२४÷२५ को आर्थिक वर्षमा यो ७ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ

जलेश्वर, १४ मङ्सिर : महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घर भई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, निजकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रंधिर साह र सुधीर भण्डारी माली रहेका छन् ।

त्यस्तै गौशाला नगरपालिका–६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर–९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पक्राउ परेका छ जना र अन्य चार जना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृङ्खलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

सार्वजिक गरिएका छ जनाकै समूहमा संलग्न अन्य चार जना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलको हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल छ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ ।

लुटेराले यी सामान जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए ।

त्यसैगरी पक्राउ गरेका छ जनामाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरी/डाँका (लुटपाट) र सङ्गठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।

एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री

काठमाडौँ, १४ मङ्सिरः शनिबारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ । खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुुभएको छ, “क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।”

सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गर्नुभएको छ । साथै, उहाँले शनिबार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल गर्नुुभएको छ ।

उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ । शनिबार हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

पाकिस्तान च्याम्पियन्स ट्रफीको भविष्यबारे आइसिसीको वार्ता जारी

भारतले आयोजक राष्ट्र पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्षको च्याम्पियन्स ट्रफीको अनिश्चितता समाधान गर्न वार्ता जारी रहेको बताएको छ ।

भारतले आठ टोली समावेश रहने प्रतियोगिताका लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको आइसिसीले बताएपछि यस महिनाको सुरुदेखि प्रतियोगिता अनिश्चित अर्थात ‘सस्पेन्स’को अवस्थामा पुगेको छ ।

आणविक शक्ति सम्पन्न छिमेकी देशहरूले सन् १९४७ मा उपमहाद्वीपको विभाजनपछि तीनवटा युद्ध लडेका छन् र त्यो प्रतिद्वन्द्विता प्रायः क्रिकेट मैदानमा प्रतिबिम्बित हुन्छ ।

दुबईमा मुख्यालय रहेको आइसिसीको बैठक शुक्रबार छोटो समयका लागि भएको तर कुनै निर्णय बिना नै स्थगित गरिएको वार्ताको जानकारी राख्ने र मिडियासँग बोल्न अधिकृत नभएका स्रोतहरूले बताए ।

“सबै पक्षले सकारात्मक समाधानतर्फ काम गर्दै छन्”, एक स्रोतले भन्यो, “आगामी केही दिनमा पुनः बोर्ड बैठक बस्ने अपेक्षा गरिएको छ ।”

पाकिस्तान क्रिकेट बोर्डले यसअघि भारतलाई तटस्थ तेस्रो देशमा खेल्न अनुमति दिने प्रस्तावलाई अस्वीकार गरेको छ र फेब्रुअरी १९ देखि मार्च ९ सम्मको पूर्ण तालिका उनीहरूको मैदानमा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

शुक्रबारको छोटो बैठकपछि ‘पाकिस्तानी अडान उस्तै रहेको’ अर्को स्रोतले बतायो ।

सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे

अछाम, १४ मङ्सिर : अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

चन्दले बिहीबार ९ः३० बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर भइरहेको छ । इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताएउनुभयो

जलविद्युत् गृहमा विपन्न वर्गको शेयर सुनिश्चित गर्छौँः ऊर्जामन्त्री खड्का

काठमाडौँ, १४ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गरिने बताउनुभएको छ ।

जनताको जलविद्युत् कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधिमाथि आज मन्त्रालयमा भएको छलफलमा उहाँले आयोजनामा गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गरिनुपर्ने बताउनुभएको हो । “स्रोतमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुन सक्दैन”, ऊजामन्त्री खड्काले भन्नुभयो,“त्यसैले जलविद्युत् गृहको शेयर निष्कासन गर्दा गरिब तथा विपन्न वर्गको शेयरको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको छ । सोको कार्यान्वयन हुने गरी आवश्यक व्यवस्था गरौँ ।”

उहाँले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो । स्थानीय सरकारले दिएको तथ्याङ्कअनुसार गरिब तथा अतिविपन्न वर्गको पहिचान गरी सरकारले शेयरको ग्यारेन्टी गर्नुपर्नेमा मन्त्री खड्काको जोड थियो । “उक्त शेयरका लागि सरकारले वाणिज्य बैंकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ”, उहाँले भन्नुभयो ।

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ आयोजनालाई अगाडि सारिसकेको छ । जसमा माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत रहेका छन् ।

उक्त कार्यक्रम सञ्चालनमा आए गरिबीको रेखामुनि रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने र समग्रमा राष्ट्रिय मानव विकास सूचकाङ्कमा समेत सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति

काठमाडौँ, १४ मङ्सिर : शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् ।

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताउनुभो । उहाँका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन् ।

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् । हिमाल आरोहणवापत रु आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ ।

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत

जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारको लोकप्रियतालाई बढावा दिने उद्देश्यले पनि रूग्ण उद्योग, व्यवसाय तथा समग्र अर्थव्यवस्थालाई उकास्ने उद्देश्यसहित यो अतिरिक्त बजेटको व्यवस्था गर्नुभएको हो ।

मन्त्री परिषद्ले स्वीकृत गरेको अतिरिक्त बजेट १३.९ ट्रिलियन येन (९२ अर्ब अमेरिकी डलर) बराबरको छ र यो वर्षको अन्त्यसम्ममा संसदबाट पारित हुने अपेक्षा गरिएको छ ।

यसलाई आंशिक रूपमा ६.६ ट्रिलियन येनभन्दा बढीको ऋणपत्र जारी गरेर वित्तपोषित गरिनेछ ।

गत हप्ता इशिबाको मन्त्री परिषद्ले २१.९ ट्रिलियन येनको अतिरिक्त कार्यक्रमलाई अनुमोदन गरेको थियो, जसको समग्र प्रभाव ३९ ट्रिलियन येन बराबर हुने अनुमान गरिएको थियो ।

यसमा कम आय भएका परिवारका लागि करिब ३०,००० येन, इन्धन तथा ऊर्जा अनुदान र साना व्यवसायका लागि सहयोग समावेश गरिएको छ ।

पूर्ववर्ती फुमियो किशिदाको राजीनामापछि ६७ वर्षीय प्रधानमन्त्री इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गर्नुभएको थियो ।

तर दशकौंदेखि लगातार शासन गर्दै आएको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्रको भ्रष्टाचारलाई लिएर मतदाताहरू आक्रोशित भएका छन् ।

सन् २००९ पछि पहिलो पटक एलडीपी र यसको सानो सहयोगी कोमेइतो पार्टीको सत्तारुढ गठबन्धनको संसदको तल्लो सदनमा बहुमत गुमेको हो ।

इशिबाले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त आपतकालीन अवस्था’ लाई सम्बोधन गर्ने वाचा गर्नुभएको छ ।

माइनिची शिम्बुन दैनिकमा आइतबार प्रकाशित एक सर्वेक्षणले मन्त्रिपरिषद्को अनुमोदन दर अक्टोबरको सुरुको तुलनामा १५ अङ्कले घटेर ३१ प्रतिशतमा झरेको जनाएको छ । मन्त्रिपरिषद्प्रतिको अस्वीकृति दर ५० प्रतिशत थियो ।

रुसले ५०० भन्दा बढी सैनिकको शव फिर्ता गरेको युक्रेनको भनाइ

किएभले शुक्रबार रुसी अधिकारीहरूले लडाइँमा मारिएका युक्रेनी सैनिकहरूको ५०० भन्दा बढी शव फिर्ता गरेको र तीमध्ये अधिकांश पूर्वी डोनेट्स्क क्षेत्रमा मारिएको बताएको छ । रुस र युक्रेनले द्वन्द्वको पहिलो महिनादेखि नै शव र युद्धबन्दीहरू साटासाट गर्दै आएका छन् । दुवै पक्षका क्षतिहरू उच्च मानिएका छन् । “स्वदेश फिर्ता गर्ने गतिविधिको परिणामस्वरूप युक्रेनको सरकार नियन्त्रित क्षेत्रमा ५०२ वीर योद्धाका शवहरू फर्काइएका छन्”, किएभको युद्धबन्दी व्यवस्थापनको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ ।

लडाइँ सबैभन्दा तीव्र भएको युद्धग्रस्त डोनेट्स्क क्षेत्रबाट ३९७ शव फर्काइएको छ केन्द्रले बताएको छ । चौबिस जना पूर्वी लुगान्स्क क्षेत्रबाट र ६४ जना दक्षिणी जापोरिजिया क्षेत्रबाट फर्केका छन् भने १७ जनालाई रुसी भूभागमा रहेको मुर्दाघरबाट फिर्ता पठाइएको छ । “अन्तर्राष्ट्रिय रेड क्रस समितिको सहयोगका लागि हामी कृतज्ञ छौँ”, किएभको केन्द्रले भनेको छ ।

शवलाई फरेन्सिक मेडिकल जाँचका लागि लगिने र ‘विशेषज्ञ संस्थाहरूसँग मिलेर मृतकलाई सकेसम्म चाँडो पहिचान गरिने’ बताइएको छ । रुसले आफ्ना शवहरू फर्काएको घोषणा गर्दैन ।

रौतहटमा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

चन्द्रपुर (रौतहट), १४ मङ्सिर : रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिनुभयो ।

आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो । डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले जानकारी दिनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु

सुदूरपश्चिम, १४ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो । यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गर्नुभयो । सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो ।

निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताउनुभयो । गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए । यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए ।

आर्थिक वर्ष २०७८/७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन् । करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन् ।

तीन सय पाँच वर्गकिमीमा फैलिएको यो निकुञ्जमा बाह्रसिङ्गाको ठूलो झुण्ड र दुर्लभ पाटेबाघ देख्न सकिन्छ । यो क्षेत्रमा करिब ५४ वर्गकिमी क्षेत्रफलमा घाँसै मैदान छ । निकुञ्जको दीर्घकालीन संरक्षण गरी पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवीकोपार्जनमा टेवा पुग्ने सक्ने अवसर रहेको भए पनि पर्यटकीय पूर्वाधारको कमी र प्रचारप्रसारको अभावको कारण निकुञ्जमा क्षमताअनुसार पर्यटकहरु भित्रिन नसकेको जनाइएको छ ।

मन्त्री शाहीले निकुञ्जको मझगाउँमा नवनिर्मित दुई तल्ले भवनको पनि उद्घाटन गर्नुभयो ।

मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने

काठमाडौँ, १४ मङ्सिर : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ ।

मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

यही मङ्सिर १६ गते आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ । मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट

काठमाडौँ, १४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उहाँहरू बीच द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन र व्यापार क्षेत्रमा लगानीलगायत समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

त्यसक्रममा उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताउनुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । “बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ”, उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुई देशबीच घनिष्ठ सहयोग र समान विचारहरु रहेकाप्रति खुसी व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालय, व्यवसायी समुदायबीचको सहकार्यसम्बन्धी विभिन्न द्विपक्षीय सम्झौतामा मार्च २०२५ मा हुने ‘बिमस्टेक’ शिखर सम्मेलनका क्रममा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको बताउनुभयो । “यसले हामीलाई नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने थप अवसर प्राप्त हुनेछ”, उहाँले भन्नुभयो, “नेपालमा ऊर्जा, पूर्वाधार, उत्पादन, स्वास्थ्य, आइसिटी र कृषिलगायत क्षेत्रमा सहकार्य आवश्यक छ ।”

उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचिबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अतः नेपालको यस विकास र समृद्धिका यात्रामा थाइल्याण्डको सहयोग निरन्तर प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।” उहाँले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र सहयोगका नयाँ आयाममा सहकार्य गर्ने नेपाल सरकारको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राजदूत सवापोङ्ग सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताउनुभयो । “नेपालमा व्यापारिक सम्भावना धेरै छ । हाम्रो तर्फबाट नेपाल बिजनेस फोरम र थाइ बिजनेस फोरमसँगै बसेर व्यापारको क्षेत्रमा थप के गर्न सकिन्छ भन्ने प्रयास भइरहेको छ ।”

‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ – गृह मन्त्रालय

काठमाडौँ, १४ मङ्सिर : गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

कोसी प्रदेशः भौतिक संरचना पुनःनिर्माण कार्यविधि स्वीकृत

विराटनगर, १४ मङ्सिरः कोसी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माण एवं मर्मतसम्भार सञ्चालन कार्यविधि, २०८१ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको रकम रकमान्तर प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिनुभयो ।

बैठकले खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत आएका सुक्खा राहत स्यालो ट्युबेल सिँचाइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ लाई स्वीकृत गर्नुका साथै उक्त योजनाको सम्झौतामा हस्ताक्षर गर्न सोही मन्त्रालयका सचिवलाई कार्यजिम्मेवारी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता राईले बताउनुभयो ।

यसैगरी, बैठकले प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति गठन, २०८१ सम्बन्धी आएको प्रस्तावलाई स्वीकृत गरेको प्रवक्ता राईले बताउनुभयो ।

विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल

काठमाडौँ, १४ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थाल्नुभएको छ । उहाँले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गर्नुभएको हो ।

“स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुनसक्दैन,” मन्त्री खड्काले भन्नुभयो । उहाँले जलविद्युत् आयोजनाको शेयर निस्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो । स्थानीय सरकारले दिएको तथ्याङ्क अनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको शेयरको ग्यारेन्टी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो । “उक्त शेयरका लागि सरकारले वाणिज्य बैँकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो ।

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ । माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत यसमा रहेका छन् । उक्त कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने तथा समग्रमा राष्ट्रिय मानव विकास सुचकाङ्कमा समेत यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

बालबालिकाको आधारभूत अधिकार सरकारको प्राथमिकतामा छ : मन्त्री सुडी

काठमाडौँ, १४ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिता भएको बताउनुभएको छ ।

‘सेफ द चिल्ड्रेन नेपाल’ले आज यहाँ आयोजना गरेको ‘बाल अधिकारको शताब्दी समारोह’मा मन्त्री सुडीले बालबालिका देशको भविष्य मात्र नभएर वर्तमानका पनि महत्वपूर्ण अङ्ग भएको बताउनुभयो । बालबालिकाको आवाजले नीति तथा योजना निर्माणमा प्रभाव पार्ने उल्लेख गर्दै उहाँले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकता भएको बताउनुभयो ।

“नेपालमा बालअधिकारको संरक्षण र प्रवद्र्धनमा सरकारले नागरिक सङ्घ÷संस्था र बालबालिकासँग सहकार्य गर्दै आएको छ, यस अवसरमा म सबै सरोकावाला खासगरी सरकारी निकाय, नागरिक संस्था, विकासका साझेदार एवं बालबालिकालाई बालअधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा सङ्लग्न हुन आह्वान गर्छु”, मन्त्री सुडीले भन्नुभयो ।

बालअधिकारको सय वर्षको ऐतिहासिक यात्राले सबैलाई प्रेरित गरेको र अगामी दिनमा एक समावेशी र बालमैत्री समाज निर्माण गर्न सबै प्रतिवद्ध हुन मन्त्री सुडीले आग्रह गर्नुभयो । उहाँले बालअधिकारको जेनेभा घोषणापत्रको सय वर्ष पूरा भएको अवसरमा बालअधिकारका क्षेत्रमा क्रियाशील नागरिक संस्था र सञ्जालको नागरिक संस्था एवं बालअधिकारकर्मी र बालबालिकालाई धन्यवाद दिनुभयो ।

सन् १९२४ मा बाल अधिकारको पहिलो जेनेभा घोषणापत्र जारी भएपछि बालअधिकारले अन्तर्राष्ट्रिय मान्यता र प्राथमिकता प्राप्त गरेको देखिन्छ । “बालअधिकारको यो लामो यात्रामा थुप्रै चुनौतीको सामना गर्दै आएको छ, जेनेभा घोषणापत्रले बालअधिकार महासन्धी १९८९ को आधार तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, मन्त्री सुडीले भन्नुभयो । विसं २०४७ भदौ २९ गते बालअधिकार महासन्धीको अनुमोदनपछि बालबालिकासम्बन्धी ऐन २०४७ र बालबालिकासम्बन्धी नियमावली २०५१ जारी गरेर नेपालले बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि सङ्घदेखि स्थानीयस्तरमा संस्थागत संरचना स्थापना गरेको थियो ।

सशस्त्रद्वन्द्वको समयमा बालबालिकाको संरक्षण चुनौतीपूर्ण रहे पनि नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३९ र बालबालिकासम्बन्धी ऐन २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई स्पष्ट कानुनी व्यवस्थामा राखेको उहाँको भनाइ थियो । “हामीले बालविवाह अन्त्य, बालश्रम उन्मूलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ, यी उपलव्धिलाई प्राप्त गर्नमा विभिन्न सरकारी निकाय, नागरिक संस्था, विकासका साझेदार, संयुक्त राष्ट्र सङ्घीय निकाय एवं बालबालिकाको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा सेभ द चिल्डे«न नेपालका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बालअधिकार केबल बालबालिका वा उनीहरुको पक्षमा पैरवी गर्ने संस्थाको मात्रै नभएर सबैको साझा मुद्दा भएको बताउनुभयो । “बालबालिका, उनीहरूको आवश्यकता, आवाज र अधिकार सधैँ केन्द्रमा रहेका छन, तर पनि चुनौती कायम नै छन्, जसले बालबालिकाको आवाज र नेतृत्वलाई अग्रपङ्क्तिमा राख्न अझ बलियो सञ्जालको आवश्यकतालाई औँल्याउँछ”, निर्देशक क्षेत्रीले भन्नुभयो ।

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले नेपालको सन्दर्भमा बालबालिकाको अधिकारका लागि सरोकारवाला मात्रैभन्दा पनि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग

काठमाडौँ, १४ मङ्सिर : दक्षिण कोरियाको बुसानमा जारी अन्तर्राष्ट्रिय प्लाष्टिक महासन्धिको पाँचौँ तथा अन्तिम बैठकमा नेपालको हितमा हुनेगरी प्लाष्टिकसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन सरोकारवालाले माग गरेका छन् ।

बुसानमा यही नोभेम्बर २५ देखि आगामी डिसेम्बर १ तारिखसम्म सो सम्मेलन भइरहेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, नेपाल वातावरण पत्रकार समूह र ग्लोबल ग्रिनग्रान्ट फण्डको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा सो माग गरिएको हो । कार्यक्रममा समूहका अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ पत्रकार पूर्णहरि अमात्य, केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँहरूले प्रदूषणको निर्मूलीकरण गर्ने महासन्धिको उद्देश्य र सिद्धान्तअनुसार घातक रसायनमा बन्देज लगाउनुपर्ने, प्लाष्टिकका प्रकार, उत्पादनको ‘डिजाइन’ र कार्यक्षमतामा मापदण्ड निर्धारण गरी लागू गर्नुपर्ने, गैरप्लाष्टिक विकल्पको खोजी गर्नुपर्ने, फोहरको उचित व्यवस्थापन, प्लाष्टिकसम्बन्धी व्यापार, रसायनबारेको पारदर्शिता, आवश्यक दिगो आर्थिक तथा प्राविधिक सहयोग आदि विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले विश्वव्यापी रूपमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्रमा कच्चा पदार्थको उत्खननदेखि विभिन्न सामग्रीको उत्पादन, बिक्रीवितरण, प्रयोग, पुनःप्रयोग, पुनःचक्रीय र विसर्जन आदि गतिविधिबाट प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सो सम्मेलन भइरहेको छ ।

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण जादै

काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग द्विपक्षीय भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुर्ने कार्यक्रम छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ ।

त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरु, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौँ फर्कने छ ।
–––

ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : मन्त्री गुरूङ

वालिङ (स्याङ्जा), १४ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गर्नुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उहाँले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उहाँको दाबी थियो ।

“यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।” अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उहाँले बताउनुभयो ।

मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो । “लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।”

देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि यिनै दुई ठूला पार्टीहरू एकठाउँमा उभिने गरेको स्मरण गर्दै अहिले पनि देशलाई समृद्धिको दिशामा लैजान एकै ठाउँमा उभिएको उहाँले बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो ।

चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो । पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल÷डबल), टेवल टेनिस (एकल÷डबल) दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो ।

पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताउनुभयो ।

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

तनहुँ, १४ मङ्सिरः बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।

मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिकाले भने रु चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् ।

हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । विसं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो ।

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाह सुविधामा प्रहार

हिजुबल्लाह समूह र इजरायलबीच युद्धविराम सुरु भएको एक दिनपछि इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँग सम्बन्धित एक सुविधामा आक्रमण गरेको बताएको छ ।

“केही समयअघि दक्षिणी लेबनानमा मध्यम दूरीका रकेटहरू भण्डारण गर्न हिजबुल्लाहले प्रयोग गरेको सुविधामा आतङ्कवादी गतिविधि पहिचान गरिएको थियो । इजरायली वायु सेनाको विमानले खतरालाई विफल बनायो”, सेनाले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिणी लेबनानको बायसरियाह सहरका मेयर नाजिह इदले भन्नुभयो, “एउटा लडाकू विमानले करिब एक घन्टाअघि बायसरियाह सहरको पूर्वी किनारमा आक्रमण गरेको छ । उनीहरूले सर्वसाधारणका लागि पहुँचयोग्य नभएको वन क्षेत्रलाई लक्षित गरेका छन् ।”

यसअघि बिहीबार सेनाले ‘युद्धविरामको शर्त उल्लङ्घन गर्दै दक्षिणी लेबनानका धेरै क्षेत्रमा सवारी साधन लिएर आइपुगेका’ धेरै संदिग्धमाथि गोली चलाएको बताएको थियो ।

यो शान्ति समझौताले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणको एक दिनपछि सुरु भएको द्वन्द्वको अन्त्य भयो । द्वन्द्वका क्रममा लेबनानमा हजारौँको मृत्यु भयो र लेबनान र इजरायल दुवैमा ठूलो विस्थापन भयो ।

इजरायली सेनाले बिहीबार साँझ ५ बजे (१५ः०० जिएमटी) र भोलिपल्ट बिहान ७ बजे (०५ः०० जिमएटी) बीच ‘लिटानी नदीको दक्षिणतर्फ जान कडा रूपमा निषेध गरिएको’ बासिन्दाहरूलाई चेतावनी दिँदै दक्षिण लेबनानमा रातको कर्फ्यू पनि घोषणा गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबरदेखि द्वन्द्वका क्रममा देशमा कम्तीमा तीन हजार ९६१ व्यक्तिको मृत्यु भएको र तीमध्ये अधिकांश हालैका हप्ताहरूमा मारिएका बताएको छ । त्यस्तै १६ हजार ५२० जना घाइते भएका छन् ।

इजरायली पक्षमा हिजबुल्लाहसँगको द्वन्द्वमा कम्तीमा ८२ जना सैनिक र ४७ जना सर्वसाधारण मारिएको अधिकारीहरूले बताएका छन् ।

टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला

टीकापुर (कैलाली), १४ मङ्सिरः स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ ।

उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गर्नुभएको हो ।

झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको बताउनुभयो । झोलामा सुत्केरीका लागि गाउन, बच्चाका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ । अस्पतालले सुत्केरीहुनेलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ । अस्पतालले उपलब्ध गराउने झोला प्रयोग गरेका सुत्केरीले त्यसमा भएका सामग्रीले आफू र बच्चालाई दुई महिनासम्म सहज भएको बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन (फोटोफिचर)

गौशालास्थित पशुपतिनाथ मन्दिरमा शुक्रबार पूजाअर्चना गर्न आएका भक्तजन

पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार बिक्रीका लागि राखिएका सतबीज र फूल । आज बेलुकी पितृको सम्झनामा बत्ती बालेर भोलि बिहान सतबीज छर्ने गरिन्छ । तस्बिर : हरिराम भेटुवाल

जाडो मौसम भएकाले गौशालास्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार भक्तजन साँझ बस्नका लागि व्यवस्थापन गरिएको त्रिपाल । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भुइँचो लाग्ने गर्छ । त्रियोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । तस्बिरः हरिटुराम भेटुवाल

‘रोयल्टी बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्छ’ : मुख्यमन्त्री कँडेल

कर्णाली, १४ मङ्सिर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सन्तुलित रोयल्टी बाँडफाँटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नै ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

आयोगद्वारा बिहीबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘रोयल्टी बाँडफाँटको वर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकनसम्बन्धी अध्ययन, अन्तक्र्रिया तथा छलफल कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा बाँडफाँट हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “रोयल्टी बाँडफाँटका लागि अहिलेका सूचकहरूमा पुनरावलोकन हुनुपर्छ ।”

सङ्घीयता कार्यान्वयनसँगै रोयल्टीसम्बन्धी सूचकहरू बनाइए पनि अभ्यासका आधारमा पुनरावलोकन गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कँडेलले यसको बाँडफाँटमा सन्तुलन नभएको गुनासा आएकाले पर्याप्त अध्ययनका आधारमा आयोगले नै सन्तुतिल बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश नयाँ संरचना भएकाले यसलाई केन्द्र भागमा राखेर वित्तीय तथा प्रशासनिक रूपमा बलियो बनाउन सकेमात्र सङ्घीयता बलियो हुने उहाँको भनाइ थियो ।

प्रदेशको रोयल्टी कम भएकाले पनि कमजोर हुँदै गएको तर्क गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “वितरणको अवस्थालाई हेर्दा सिङ्गो कर्णालीले पाउने रोयल्टी एउटा गाउँपालिका जतिको पनि छैन । जलविद्युत् उत्पादनको अधिकतम क्षमता भएको कर्णाली उत्पादनको अभावमा त्यस्तो रोयल्टीबाट वञ्चित छ । रोयल्टी प्राप्तिका क्षेत्रमा लगानीको वातावरण बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दछु ।”

रोयल्टी बाँडफाँटको प्रतिशतलाई ४०/३०/३० अनुपातमा बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक स्रोत साधनको रोयल्टी प्राप्तिको दायरालाई फराकिलो बनाउनुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राप्त सल्लाह सुझाव आयोगले समेट्ने बताउनुभयो ।