`

चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा

चन्द्रपुर (रौतहट), ११ मङ्सिर : रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ ।

सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१), (२) (३), (४), (५) र (७) तथा दफा ६७ उपदफा (१), (२) बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।

पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिनुभएको छ ।

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने शाखा प्रमुख आलमले बताउनुभयो । चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, छहारी समाज कृषि सहकारी संस्था लि चन्द्रपुर ४, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ५, देवी कृषि सहकारी संस्था लि चन्द्रपुर ४, सक्षम कृषि सहकारी संस्था लि चन्द्रपुर ४, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, चाँदी स्वास्थ्य सहकारी संस्था लि चन्द्रपुर ४ खारेजीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, सिद्धार्थ कृषि सहकारी संस्था लि चन्द्रपुर १०, पारिजात साथी कृषि सहकारी संस्था लि चन्द्रपुर १, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि चन्द्रपुर २, सगुन कृषि सहकारी संस्था लि चन्द्रपुर २, नुनथर कृषि सहकारी संस्था लि चन्द्रपुर २, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, डुमरिया महिला कृषि सहकारी संस्था लि चन्द्रपुर ९, शिवशक्ति कृषि सहकारी संस्था लि चन्द्रपुर १०, गढीमाई कृषि सहकारी संस्था लि चन्द्रपुर ९, रामायण कृषि सहकारी संस्था लि चन्द्रपुर ९ समेत खारेजीको प्रक्रियामा छन् ।

त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ९, शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०, श्रमजीवी कृषि सहकारी संस्था लि चन्द्रपुर ९, गोधुली कृषि सहकारी संस्था लि चन्द्रपुर ८, आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ८, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ८ र नुनथर सुचना तथा संचार सहकारी संस्था लि चन्द्रपुर चार गरेर २५ वटा सहकारी संस्थाको खारेजीको प्रक्रियाको लागि नगरपालिकाले नाम प्रकाशन गरेको छ ।

केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस

चितवन, ११ मङ्सिरः नेपाली कांग्रेस चितवनले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेस केन्द्रको एक सय दिने विशेष अभियानअन्तर्गत सोमबारबाट जिल्लाले खटाएका प्रतिनिधिले वडा वडामा पुगेर गतिविधि सुरु गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै अभियानका गतिविधि सुरु भएका छन् ।

प्रतिनिधिहरू यही १५ गतेसम्म जिल्लाका ९८ मध्ये बाँकी वडामा पुगेर काम अघि बढाउने छन् । यसअघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेताहरूसँग अन्तरक्रिया गरेर कामका बारेमा प्रशिक्षण दिनुभएको थियो । खनालले भन्नुभयो, “यो अभियानले टोललाई केन्द्रसँग जोड्ने छ । अभियानका क्रममा ५० प्रतिशत पार्टीका साङ्गठनिक कार्यक्रम र ५० प्रतिशत जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम गरिने छ । अबका दिनमा कसरी पार्टीलाई आमनागरिकसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गराएर तल्लो तहसम्म सङ्गठन मजबुत बनाउन अभियान सार्थक हुने अपेक्षा छ ।”

अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछन् । यसले जनताका गुनासासँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ ।

कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आमजनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास गरिएको छ । असोज ६ गते सुरु गर्ने भनिएको अभियान बाढीपहिरोका कारण रोकिएको थियो ।

कालीगण्डकी नदी किनारमा शव भेटियो

मध्यविन्दु (नवलपरासी), ११ मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ ।

गैँडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो ।

मृतक कुमाल गत कात्तिक २७ गते एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।

नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलबार कालीगण्डकी नदी किनारमा शव भेटिएको प्रहरी निरीक्षक नरालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी हो – प्रधानमन्त्री

काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुुभएको छ ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्ववृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरू त्यसको अनुुभूूति दिने बताउनुुभयो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताउनुुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मजदुर र योगदानकर्ताजस्ता सरोकारवालको प्रतिनिधित्व नभई मजदुरका विषयमा निर्णय गर्ने प्रवृत्ति गलत भएको भन्दै सामाजिक सुरक्षा कोषमा त्यस्तो भएको पाइए सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले कोष मजदुरमैत्री नभएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा पालिकास्तरबाट अगुवाइ गर्ने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंललाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गर्नुभएको थियो ।

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ, ११ मङ्सिरः दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ ।

पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अङ्क पर्याप्त बनेन । उनले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिए । त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाए । लेसेडी लेसुफी ११ रनमा अविजित रहे ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए । उनले ५७ बल खेल्दै चार चौका प्रहार गरे । सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए ।

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।

पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ ।

सेनाले रूसले मानव रहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ ।

सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ ।

युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ ।

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उहाँको परिवारलाई उद्धृत गर्दै बताएको छ ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उहाँको निधन भयो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उहाँ विश्वका सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो ।

“उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मनुभएका र दुवै विश्वयुद्धबीच जीवित रहनुभएका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उहाँको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताउनुभएको थियो ।

“तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उहाँले भन्नुभएको थियो ।

उहाँले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिनुभएको थियो । “यदि तपाईँ धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उहाँले भन्नुभयो ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गर्नुभयो र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गर्नुभयो । उहाँ लिभरपुल फुटबल क्लबका आजीवन समर्थक हुनुहुन्थ्यो र हरेक शुक्रबार माछा र चिप्स खानुहुन्थ्यो ।

विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुनुहुन्छ ।

सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बरहथवा (सर्लाही), ११ मङ्सिरः सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए । घटनालगत्तै उहाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, १० मङ्सिर : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताउनुभयो ।

“सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “एमाले नेतृत्वको सरकारले गरेको हो ।” उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पार्नुभयो । उहाँले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाउनुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, ११ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गर्नुभएको हो ।

मन्त्री डा राणाले भन्नुभयो, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला ।”

उहाँले नियोग मार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताउनुभयो ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरुले आफ्ना उत्पादनहरुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उहाँको सुझाव थियो । मन्त्री डा राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिनुभयो ।

मन्त्री डा राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरुका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

आज सातौँ सामाजिक सुरक्षा दिवस

काठमाडौँ, ११ मङ्सिरः योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।

कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएका कार्यकारी निर्देशक कविराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न सुविधा योजनाअन्तर्गत रु ११ अर्ब ६२ करोड दाबी भुक्तानी गरिसकेको छ । कोषमा रु ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक, ११ मङ्सिरः जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो ।

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुनःनिर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । उहाँका अनुसार एडिबीले यस खानेपानी आयोजना पुनःनिर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो । बाढीपहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्याउँदा रु २१ करोड ८० लाख बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताउनुभयो ।

धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको छ ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक रु ९९ करोड आठ लाख सात हजार रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।

यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनःनिर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ । नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने सहमति भएको हो ।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगरप्रमख अशोक ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नुहुनेछ । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताउनुभयो ।

जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिने जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन् ।

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन”, प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ, “त्यसका निम्ति राज्य छ र सरकार छ ।”

वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दैै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पार्नुभएको छ । उहाँले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गर्नुभएको छ ।

नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पार्नुभयो । “ती अवधारणाअनुसारका कार्ययोजनाहरू तयार गर्नु, तिनलाई नीति कार्यक्रम र बजेटमा सामेल गर्नु आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौँ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

विसं २०५१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको स्मरण गर्दै उहाँले त्यसपछि मात्रै लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थालेको बताउनुभयो ।

“यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अङ्गका रुपमा बुझिरहेका छौँ र ती अनुसारको व्यवहार गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्दछ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

दमौली (तनहुँ), ११ मङ्सिर : मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ ।

यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिनुभयो । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताउनुभयो । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यहीँ ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।” अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भन्नुभयो, “पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।”

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताउनुभयो । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड (जामुने–पोखरा)को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ ।

शेष घलेले एनआरएनए उच्च स्तरीय समितिको दोस्रो बैठक बोलाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले दोस्रो बैठक बोलाउने तयारी गरेका छन ।

उनले सम्बन्धित मन्त्रालयबाट प्रतिनिधि प्राप्त भएसँगै दोस्रो बैठक बोलाउने सदस्य रविना थापाले जानकारी दिइन । मंसिर ४ गते बसेको पहिलो बैठकबाट मे महिनामा एकताको महाधिवेशन गराउने निर्णय गरेका घलेले त्यसका लागि आवश्यक निर्णय गराएका थिए ।

त्यसका लागि मंसिर २० अघि नै उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर)तयार पनि गरिने भएको छ । सर्वोच्च अदालतको आदेश बमोजिम समितिको कार्यक्षेत्र र सञ्चालनको रुपरेखा निर्धारण गर्न परराष्ट्र मन्त्रालयको सहयोगमा दुई साताभित्र टीओआर तयार गर्न लागिएको थापाको भनाइ छ ।

मंसिर ४ को बैठकले प्रत्येक १५ दिनमा नियमित रुपमा बैठक आयोजना गरी आफ्नो लक्ष्यमा प्रगति सुनिश्चित गर्ने निर्णय गरेको थियो । सोहीअनुसार छिट्टै बैठक बोलाउनेबारे निर्णय भएपनि मिति भने तोकिसकिएको छैन ।
यस्तै बैठकले मे महिनाभित्र एकताको महाधिवेशन गर्ने, सचिवालय स्थापना गर्ने निर्णय पनि गरेको थियो भने सोहीअनुसार थापा र जानकी गुरुङले जिम्मेवारी दिइएको थियो ।

सदस्य बिनोद कुँवरका अनुसार समितिले एनआरएनएसँग सम्बन्धित नेपाली डायस्पोरा र अन्य सरोकारवालाहरूसंग नियमित संवाद र परामर्शमार्फत आफ्नो काम अगाडि बढाउने छ । नेपालको न्यायालयको निर्देशन अनुसार एनआरएनए सचिवालयले समितिका गतिविधिहरूलाई सहज बनाउने प्रमुख भूमिका निभाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
तीन समूहमा रहेको एनआरएनएलाई मिलाउने जिम्मेवारी पाएको समिति बैठकमा बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको बद्री केसी पक्षले भने सहभागिता जनाएको थिएन । केसी पक्षले दोस्रो फैसलाले आफूहरुलाई आधिकारिकता दिएको दाबीसहित घलेले आफूहरूसँग समन्वय गर्नुपर्ने बताउँदै आएको छ ।

यहीबीच घलेले एकताको प्रक्रियाअघि बढाइसक्दा कतिपय अभियन्ताहरूले केसीमाथि आक्रोश पोखेका छन । एकताको वातावरण तयार भएपनि केसीले भाँजो हाल्न खोजेको उनीहरूको भनाइ छ ।

२०७८ चैत मा एनआरएनएको १० औँ महाधिवेशन छुट्टाछुट्टैरुपमा दुई समूहमा भएको थियो । घलेकै संरक्षकत्वमा भएको एउटा पक्षको महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष भएका थिए भने अर्को पक्षले आफूलाई संस्थापन दाबी गर्दै छुट्टै महाधिवेशन गरेर सहमतिको नाममा कुल आचार्य, बद्री केसी र रविना थापालाई अध्यक्ष चयन गरेको थियो ।

तीन जना अध्यक्ष रहेको कमिटीले त्यतिबेला आफूलाई संस्थापन दाबी गर्दै कार्यालयबाटै काम गर्दै आएको अवस्थामा विनोद कुँवर पक्षले आफूचाहिँ आधिकारिक भएको जिकिर गर्दै अदालतको ढोका ढकढक्याएको थियो ।

सोही मुद्दामा दुई वर्षपछि न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते कसैलाई पनि आधिकारिकता नदिई २०७८ माघ १ को अवस्थामा फर्किएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।
सो आदेशअनुसार तत्कालीन अवस्थामा गठन भएको उच्चस्तरीय समितिका संयोजक घले थिए भने उनकै नेतृत्वमा ६ जना सदस्य थप गरेर अदालतले १३ जनाको कमिटीलाई सबै विवाद समाधान गरेर ६ महिनाभित्र एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।
आदेशको पूर्णपाठ र परराष्ट्र मन्त्रालयको पत्राचारको आधारमा परराष्ट्र मन्त्रालयले पत्राचार गरेअनुसार मंसिर ४ गते बसेको उच्चस्तरीय समितिको बैठकले आगामी मे महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय हो ।
यसैगरी १० औँ महाधिवेशनको आधिकारिकताबारे चैत २१ को फैसलापछि ११ औँ महाधिवेशनबाट निर्वाचित केसीलाई काम नगर्न भन्दै परराष्ट्र मन्त्रालयले पत्राचारसमेत गरेको थियो । केसी समूहले भने उच्च स्तरीय समितिलाई असहयोग गरेको घले निकटका अभियन्ताहरुले बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन, ११ मङ्सिरः बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।”

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उहाँ भन्नुभयो, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।” पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउनुहुन्छ । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उहाँको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।” बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

राँझा (बाँके), ११ मङ्सिरः जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै रु चार लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौँदेखि सिँगडाखेती गर्दै आउनुभएको छ ।

“अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।”

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताउनुभयो ।

कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आउनुभएको छ । बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ । “यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दैै आएको छ”, उहाँले भन्नुभयो, “१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु ।”

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मङ्सिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताउनुभयो ।

“सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “रोपेपछि दुई–तीन पटकसम्म आवश्यकतानुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उहाँले बताउनुभयो । अन्य समयमा भन्दा चाडबाडका बेलामा बढी माग हुन्छ, चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्दछन्, मेलामा धेरैजसो बिक्री हुने गर्दछ, चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उहाँको भनाइ छ ।

भारतबाट आउने सिँगडाले गर्दा स्थानीय उत्पादन बिक्री गर्न समस्या उत्पन्न हुने गरेको छ । भारतबाट भन्सार छली गरेर, अन्य बाटोबाट आएको सिँगडा नेपालगञ्जमा सस्तो दरमा बिक्री हुन थालेपछि सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता आउने गरेको किसान कश्यपले बताउनुभयो ।

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौँ, ११ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छभने यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

गुणस्तरीय बीउको उत्पादन गरी प्रभावकारी वितरण गरिनुपर्छः कृषिमन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि यहाँ सुरु भएको पन्ध्रौँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले सबै कृषिजन्य बालीको उत्पादनको आधारभूत स्रोत बीउ भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायका साथै निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकाले आपसी सहकार्य र समन्वयबाट उत्पादन वृद्धिमा सबै केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेको बताउँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालै बीउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढिरहेको उल्लेख गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बीउ उत्पादकहरू र कृषकको सहभागिता छ ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

अवरुद्ध राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा

काठमाडौँ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो ।

सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मङ्गलबारदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ ।

“सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मङ्सिरः पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५ लाखको अदुवा, रु छ करोड ४८ लाखको बन्दाकोभी, रु एक करोड ५५ लाखको मसुरो दाल, रु ५१ लाख १९ हजारको जडीबुटी र रु ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा रु २२ करोड ३१ लाखको गेडागुडी, रु १५ करोड ३० लाखको आलु, रु १४ करोड १३ लाखको ताजा फलफूल, रु ११ करोड सात लाखको लसुन, रु छ करोड ४४ लाखको कोदो, रु पाँच करोड ३४ लाखको सागसाब्जी र रु पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ ।

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँ बताउनुहुन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।

पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।

चीनले खाद्यान्नलाई खेर जान नदिने

चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्य योजनाको घोषणा गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को सामान्य कार्यालयहरूले अगाडि सारेको योजनाअनुसार खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई नियन्त्रण गर्न लागिएको हो ।

सन् २०२७ को अन्त्यसम्ममा चीनको खाद्यान्नको उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका क्रममा हुने नोक्सानी दर औसत अन्तर्राष्ट्रिय स्तरभन्दा कम हुनेछ ।

सरकारले क्याटरिङ उद्योग, सरकारी कार्यालय र विद्यालयका क्यान्टिन र अन्य स्थानमा हरेक व्यक्तिले खेर फाल्ने खाद्यवस्तुलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न निर्देशन दिइसकेको छ ।

यस योजनाले खानाको बचतको राष्ट्रिय जागरूकता बढाउने, खानपान उद्योग र सरकारी क्यान्टिनहरूमा खेर जाने खाद्यान्नलाई नियन्त्रण खाद्यान्नको अनावश्यक नोक्सानी र खेर फाल्ने दरलाई नियन्त्रण गर्नेछ ।

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी गर्दै डाँगी

दाङ, ११ मङ्सिरः तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताउनुभयो ।

डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत र्गाुभएको थियो । उहाँले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ ।

सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले साना र ठूलागरी दुई दर्जनबढी बाख्रा छन् ।

दसँैको समयमा १० वटा खसी आठ वटा बोका बिक्री गरेको डाँगीले जानकारी दिनुभयो । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी रु आठ सय र बोका जिउँदो रु सात सय ६५ का दरले बिक्री गरेको उहाँले बताउनुभयो ।

डाँगीले फार्ममा अहिलेसम्म रु १५ लाखबढी लगानी भइसकेको बताउनुभयो । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक रु १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

घाँसको पर्याप्त उत्पादन नहुँदा, दाना तथा चरणलगायत अन्य सामग्री खरिद गर्नुपरेकाले लागत खर्च बढेको पनि डाँगीले बताउनुभयो । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाए पनि आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका डाँगीले बताउनुभयो । किसानद्वारा उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न कृषिमा अनुदान, आर्थिक सहयोग तथा सीप विकासमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि, कहाँ के कति क्षति भयो ?

काठमाडौँ, ११ मङ्सिरः हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।

प्राधिकरणका अनुसार मङ्सिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो । मङ्सिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए ।

झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए । मङ्सिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ । मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । यसैगरी मङ्सिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।

मङ्सिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ । त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् । मङ्सिर ६ गते १० वटा घटना घटेकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएका उल्लेख छ ।

मङ्सिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मङ्सिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए । मङ्सिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गँैडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए ।

मङ्सिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजङ्गलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ ।

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

वीरगञ्ज (पर्सा), ११ मङ्सिरः पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

“गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएका हुन्”, उहाँले भन्नुभयो, “अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।”

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगञ्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु, ११ मङ्सिरः विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।

पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ ।

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उहाँको भनाइ छ ।

दर्नालले भन्नुभयो, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ ।

लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो

“सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ”, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले रासससँग भन्नुभयो । उहाँका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् ।

लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार÷पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताउनुभयो । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई रू २९ हजार चार सय ८० र नेपालीलाई रू ११ हजार भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौँ फर्किने गरेका छन् ।

लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ ।

फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

“सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् ।

निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।

बङ्गलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।

लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ ।

हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ ।

ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो तर उहाँमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहनुभएन ।

गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल ¥यालीको नेतृत्व गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो । उहाँमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो।

बङ्गलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिए ।

उहाँले एएफपीसँग भन्नुभयो, “समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भन्नुभयो, “उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार ¥याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।”

धार्मिक अल्पसङ्ख्यकलाई समर्थन गर्ने बङ्गलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ ।

ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) का सदस्य हुनुहुन्थ्यो ।

बङ्गलादेशमा अल्पसङ्ख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् ।

बिडिसिए कप क्रिकेटकाे तयारी पूरा, आजदेखि दशरथचन्द क्रिकेट मैदानमा सञ्चालन हुने

बैतडी, ११ मङ्सिरः एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ ।

उद्घाटनपश्चात् पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब र महारूद्र क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताका रूपमा लिइएको छ ।

यही मङ्सिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा सञ्चालन हुने सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा मङ्सिर ११ देखि प्लेट र मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् ।

प्लेट च्याम्पियनसिपमा सहभागी हुने ११ टोली रहेका सचिव बोगटीले जानकारी दिनुभयो । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता समूह इलाइट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । निङ्लाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाइसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।

मङ्सिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ । प्रतियोगिताका शीर्ष दुई टोली मङ्सिर ३० गते उपाधिका लागि भिड्नेछन् । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । जिल्ला क्रिकेट सङ्घले गत वर्षदेखि ‘ओडिआइ फरम्याट’मा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई रु २५ हजार, म्यान अफ द सिरिजलाई रु १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्यास) रहेको छ । यस्तै प्रायोजकमा पेप्सी, सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी, पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन् ।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लबले जितेको थियो । खेलाडीहरू उत्पादन र क्षमता अभिवृद्धिका जिल्लास्तरबाट प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

श्रीलङ्काको विद्युत् पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले श्रीलङ्काको ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि २० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

एडीबीले भनेको छ, “पूर्वाधारको विस्तार, आधुनिकीकरण र डिजिटलाइजेशन समाधानसहित विद्युतीय प्रणाली सुदृढीकरण र नवीकरणीय ऊर्जा एकीकरण परियोजनाले श्रीलङ्काको विद्युत मिश्रणमा नवीकरणीय ऊर्जालाई एकिकृत गर्ने, बिजुली अवरोध कम गर्ने र प्रसारण तथा वितरण घाटा कम गर्ने लक्ष्यलाई समर्थन गर्नेछ।”

एडीबीका अनुसार श्रीलङ्काले सन् २०१६ मा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गरेको छ । सन् २०२३ मा यहाँको अधिकतम माग करिब दुई हजार ८०० मेगावाट (मेगावाट) पुगेको थियो । यसमा वितरित नवीकरणीय ऊर्जाको योगदान पनि समावेश गरिएको थियो । सन् २०३० सम्ममा मागमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। सन् २०२३ मा श्रीलङ्काको कूल स्थापित विद्युत् उत्पादन क्षमता पाँच हजार १९१ मेगावाट पुगेको थियो भने सन् २०२३ मा देशको विद्युत् उत्पादनको लगभग ५० प्रतिशत थर्मल पावर प्लान्टहरूबाट आएको थियो ।

यस परियोजनाले विद्युतको प्रसारण र वितरण सञ्जालको क्षमता विस्तार गर्दै नवीकरणीय ऊर्जाको बृहत्तर एकीकरणलाई सक्षम बनाउनेछ ।

परियोजना अन्तर्गत नयाँ प्रसारण लाइन र सबस्टेसनसहित २२० किलोभोल्ट र १३२ किलोभोल्ट प्रसारण पूर्वाधार विस्तार, मध्यम भोल्टेज वितरण सञ्जालको आधुनिकीकरण र ग्रिड संरषण प्रणालीको स्तरोन्नति गर्ने बैङ्कले जनाएको छ ।

सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेली टोलीको वर्चश्व

काठमाडौँ, ११ मङ्सिरः नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ ।

नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् । सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन् । सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन् ।

मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यस्तै बलर अविनाश बोहरा भने कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौँका खेलाडी छन् ।

ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन् । सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एकजना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स (युएई)का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् ।

त्यसैगरी इङ्ग्लयाण्डको सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आइपिएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरु नेपाली यु–१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएई जाँदैछन् ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका जगत् टमाटा हुनुहुन्छ । सुदूरपश्चिममा जन्मनुभएका ६० वर्षीया टमाटाले आफ्नो टोलीले जीतका लागि खेल्ने बताउनुभयो । नेपाली टोलीका सफल प्रशिक्षकका रुपमा परिचित उहाँले एनपिएलमा आफूले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो टोलीले सय प्रतिशत दिएर खेल्ने उल्लेख गर्नुभयो ।

प्रशिक्षक टमाटाले आफ्नो टोलीको तयारी उल्लेख्य रहेको भन्दै सुदूरपश्चिम र नेपाली क्रिकेटलाई माया गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । यही नोभेम्बर २७ देखि ३० तारिखसम्म सबै विदेशी खेलाडी नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

टमाटासँग राष्टिय क्रिकेट टिम पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहको टोलीमा प्रशिक्षको भूमिका निर्वाह गरिसक्नुभएको अनुभव छ । सुदूरपश्चिम रोयल्सको ओनर भने एम्पायर स्पोर्टस् रहेको छ । त्यस्तै मेन्टरमा अष्टेलियका ब्राड हज हुनुहुन्छ । उहाँ सोमबार नेपाल आइपुग्नुभएको छ । टोलीको ब्राण्ड एम्बासडरमा भने ओलम्पियन खेलाडी दीपक विष्ट हुनुहुन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँगै काठमाडौँ गोरर्खाज लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्सल र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुदूरपश्चिमले यही मङ्सिर १८ गते विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) एनपिएलको उद्घाटन खेलमा साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट दर तोकेको छ । त्यसबाहेक अन्य एनपिएलको खेलका लागि साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय दर निर्धारण गरिएको छ ।

क्यानले प्लेअफका दिन साधारणतर्फ रु पाँच सय तथा भिआइपीतर्फ रु सात टिकट दर तोकिएको जनाएको छ । क्यानले एनपिएलको फाइनलमा भने साधारणतर्फ पाँच सय र भिआइपीतर्फ रु एक हजार मुल्य तोकेको छ । सिजनल टिकटसमेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ । त्यसका लागि साधारणतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० निर्धारण गरिएको छ । एनपिएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ ।