`

हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त,मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

बागमती, १२ मङ्सिरः हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुने छ । माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छभने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।

गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार तीन सय ७१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार तीन सय ४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार तीन सय २५ मत ल्याउनुभएको थियो ।

माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यहाँ चुनावलाई रोचक बनाएको छ ।

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

ढोरपाटन (बागलुङ), १२ मङ्सिरः बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।

शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने अवस्था आउको उहाँको भनाइ छ । बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उहाँले सुनाउनुभयो । 

पुनले भन्नुभयो, “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरु विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।”

गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आउनु बताउनुहुन्छ । दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उहाँको भनाइ छ । 

“पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ”, उहाँले भन्नुभयो, “गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।” 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो । गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ रहेको र स्वास्थ्य क्षेत्र सुधार गरी रहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा काठमाडौँमा हुने

काठमाडौँ, १२ मङ्सिरः कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुनेभएको छ । मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।

“नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भन्नुभयो । 

उहाँले माघ पहिलोसाताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताउनुभयो । यस अगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।

आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । 

पाठेघर खस्ने समस्या भएका केपिलासगढी गाउँपालिकाका १९ जनाको निःशुल्क शल्यक्रिया

खोटाङ, १२ मङ्सिरः केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसितको निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाका तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्क रुपमा गरेको छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरिएकाहरुका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको व्यवस्था गरिएको छ ।”

यही मङ्सिर ७ गते बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये सात जनामा पाठेघरसम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे थियो । दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको उपचारमा सङ््लग्न स्वास्थ्यकर्मीहरुको सुझाव रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका विभिन्न वडाबाट उपचारका पठाइएका अन्य महिलामा मुटु, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न प्रकारका समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्न नमिल्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ । 

“शल्यक्रियाका लागि पठाइएका ३२ जना महिलामध्ये मङ्सिर ११ गते मङ्गलबारसम्ममा १९ जनाको शल्यक्रिया सफल भएको छ । सात जनामा दोस्रो चरणको मात्र समस्या देखिएकाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा समस्या सुधार हुने स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “बाँकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनःपठाउने गरी फर्काइएको छ । स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराएर फर्काइएका उनीहरुलाई दोस्रो चरणमा पठाइने महिलासँगै शल्यक्रियाका लागि पुनःपठाउने तयारी गरेका छौँ ।”

नागरिकको स्वास्थ्यवस्थाबारे गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्दा गाउँपालिकाभित्र बसोबास गर्ने ५६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोग भएका नागरिकका लागि निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ । 

पाठेघर खस्ने समस्या भएका महिलालाई यसअघि जिल्लाका अन्य स्थानीय तहले पनि बनेपास्थित सोही अस्पताल लगेर निःशुल्क शल्यक्रिया गराएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पाठेघर खस्ने समस्याका महिलालाई सुविधा सम्पन्न अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलालाई राहत मिलेको छ । 

उपनिर्वाचनको पर्यवेक्षणका लागि आयोगले दियो नौ संस्थालाई अनुमति

काठमाडौँ-निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।

आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो ।

उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ÷संस्था र व्यक्तिहरुसँग आज अन्तरक्रिया सम्पन्न गरेको थियो । अन्तरक्रियामा कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्थाले निर्वाचन सम्पन्न भएको मितिले बढीमा ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्न आग्रह गर्नुभयो । प्रतिवेदन प्राप्त भएपछि निर्वाचन व्यवस्थापन सुधारका लागि दिइएका सुझाव क्रमशः कार्यान्वयन गर्दै लगिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा निर्वाचन आयुक्त सगुनशमशेर जबराले उपनिर्वाचनमा खटिइ जान लाग्नुभएका पर्यवेक्षकलाई विगतका निर्वाचनमा अनुभव गरिएका विषयलाई सुझावको रुपमा प्रस्तुत गर्दै पर्यवेक्षण प्रतिवेदनका सुझावलाई आयोगले सदैव गम्भीर रुपमा लिइ कार्यान्वयन गरिरहेको बताउनुभयो । 

आयोगका सचिव रविलाल पन्थले पर्यवेक्षकले निष्पक्षतापूर्वक तोकिएको मतदानस्थलमा गई आयोगले गरेका व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा  प्रतिवेदनमा उल्लेख गर्न पर्यवेक्षकलाई आग्रह गर्नुभएको आयोगका प्रवक्ता  नीता अर्याल पोखरेलले जानकारी दिनुभयो । 

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

केन्द्रीय बैंकले   एक सूचनामार्फत सो बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको हो ।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा उक्त कारवाही गरिएको हो । सो कारवाही आजैका मितिदेखि लागू हुनेछ । 

सो बैंकले थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

निर्वाह भत्तामा एकरुपता नल्याए आन्दोलनमा उत्रने आवासीय चिकित्सकको चेतावनी

काठमाडौँ- स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिलगायत आवासीय चिकित्सकका छ वटा सङ्घ संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरुपता नल्याए सडकमा उत्रिन बाध्य हुने बताएका छन् ।

  सामूहिक विज्ञप्ति जारी गर्दै उनीहरुले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायम गर्ने प्रक्रियाअघि नबढाएमा सडकमा उत्रन बाध्य हुने बताएका हुन् । 

आठौँ तहको निर्वाह भत्ताको सुनिश्चितता गरेर मात्र निजी मेडिकल कलेजको निरीक्षण र सिट बाँडफाँटको प्रक्रिया अगाडि बढाउन उनीहरुले चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “विश्वभर लाखौँ निर्वाह भत्तासहित निःशुल्क हुने रेजिडेन्सी नेपालमा भने रु २३ लाख शुल्क तिरेपछि न्यायोचित निर्वाह भत्ताको सुनिश्चितता छैन । एउटा पूर्णकालीन दक्ष चिकित्सक भइसकेपछि आवासीय चिकित्सकका रुपमा काम गर्न पनि पैसा तिर्नुपर्ने र न्यायोचित पारिश्रमिक नपाउाँदा नेपालबाट बर्सेनि हजारौँ चिकित्सक विदेशिने गरेका छन् ।”

आवासीय चिकित्सकहरुको सङ्घर्ष समिति र सरकारबीच २०८० साल असोज १३ गते आवासीय र इन्टर्न चिकित्सकको निर्वाह भत्तामा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने निर्णय भएको थियो । उक्त निर्णय सहजीकरण गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको थियो ।

अहिलेको अवस्थामा एउटा पूर्णकालीन चिकित्सकलाई निजी कलेजले मासिक रु १८ हजार दिएर हप्ताको एक सय २६ घण्टासम्म काम लगाइ राखेको आवासीय चिकित्सकहरुको दाबी छ । 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा शेषराज घिमिरे, राष्ट्रिय आवासीय चिकित्सक एशोसिएशन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा उत्तम चौलागाईं, रेजिडेन्ट एशोसिएशन अफ न्याम्स वीर अस्पतालका अध्यक्ष डा सुनिल अर्याल, जुनियर रेजिडेन्ट व्यलफेयर सोसाइटी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा मनोज आचार्य, रेजिडेन्ट डाक्टर एशोसिएशन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा दीक्षान्त आचार्य र रेजिडेन्ट डा व्यलफेयर्स सोसाइटी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा भानुभक्त ढकालको समूहले आयोगको निर्णयप्रति आपत्ति जनाएको हो ।

आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन निर्देशन दिनुभएको थियो । बैठकमा निर्वाह भत्ताको सुनिश्चितता विनै सिट बाँडफाँटको प्रक्रियाअघि बढेको भन्दै चिकित्सकहरुले विरोध जनाएका हुन् ।

मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा

म्याग्दी, १२ मङ्सिर : घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।

“दुुई÷तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।”

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् । 

चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिनुभएको हो । “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भन्नुभयो, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।”

पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको रु दुुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको रु एक सय ५० र सँगै तस्बिर खिचाउँदा रु ५० शुल्क तिर्नुपर्छ । 

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताउनुभयो । “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”

मार्फाका गल्लीहरुको नामकारण

मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । 

पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उहाँले बताउनुभयो । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ । 

“विद्युत्को तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।”

संस्कृति र प्रकृतिमा धनी

मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ । 

मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ । “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।”

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीआँै अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ । 

वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा आएका रामशरण अधिकारीले बताउनुभयो । 

लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ । 

मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । 

मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ ।

जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिनुहुन्छ । 

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् । 

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानी विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो । 

मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् । 

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान (सुनसरी), १२ मङ्सिरः सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।”

तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।

मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।”

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।

साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो । उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

गलकोट (बागलुङ) १२ मङ्सिरः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।

“दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भन्नुभयो । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।

यसैगरी, बिहँुदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौँ, १२ मङ्सिरः देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

ऊर्जा मन्त्रालय मातहत आठ राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौँ, १२ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ ।

पुनःनिर्माणको काम भइरहेको सो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भौतिक प्रगतिको दृष्टिमा भने सो आयोजना बाहेक अन्य आयोजनाको अवस्था भने अपेक्षित राम्रो छैन ।

सो मन्त्रालय मातहत रहेका सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन । सो आयोजनाको भौतिक प्रगति ३४ दशमलव ९० प्रतिशत र वित्तीय प्रगति ३१ दशमलव ४९ प्रतिशत बराबर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही दिन पहिले पेस गरिएको विवरण अनुसार, सो आयोजनाको बाँधस्थल तथा विद्युत् गृहको ठेक्का व्यवस्थापनमा जटिलता देखिएको छ ।

बिपी राजमार्गबाट हेभी मालसामानको ढुवानी, बाँधस्थल तथा विद्युत्गृह निर्माण व्यवसायीले स्रोतसाधन तथा जनशक्तिको न्यून परिचालन गरेका कारण प्रगति हुन नसकेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

कूल एक लाख २२ हजार हेक्टरमा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने र ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो आयोजना आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आव २०६१/६२ देखि सुरु भएको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्रै भएको छ । आयोजना सुरु भएको २० वर्ष पूरा भए पनि अदालतमा विचाराधीन विषयहरुको फैसला समयमा नहुँदा कार्यान्वयनमा द्विविधा उत्पन्न भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया झन्झटिलो र विवादित हुन पुगेको छ । जग्गा प्राप्तिमा नै लामो समय लाग्दा आयोजनाको कार्यान्वयनमा समस्या पैदा भएको छ । सिञ्चित क्षेत्रमा बस्ती विकास र कृषि भूमिको खण्डीकरण भएको छ ।

यस्तै, डुडुंवा नहरमा अतिक्रमण भएको छ । कूल ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको सो आयोजनाको कूल लागत रु ५२ अर्ब ८९ करोड छ । सो आयोजनालाई अगाडि बढाउने उपायका रुपमा मुद्दाको फैसला, सरलीकृत जग्गा प्राप्ति र कृषि भूमिको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको छ ।

नदी पथान्तरण आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजनामा पनि निर्माण व्यवसायीको व्यवस्थापन तथा स्रोतसाधनको कमी रहेको छ । यस्तै, जनशक्ति परिचालनमा रहेको कमजोरीले आयोजनाको काम प्रभावित भएको छ । कार्यानुभव कमीले डिजाइन समीक्षामा समस्या, हरेक वर्षको बाढीको गेग्रान सफा गरी काम गर्नुपर्ने, परामर्श सेवाको अवधि सकिने अवस्थामा रहेको छ ।

उच्च कार्य समूह बनाइ प्राविधिक काममा सहजीकरण गर्ने र ठेक्का व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्था छ । आव २०७१/७२ मा सुरु भएको सो आयोजना आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल लागत रु ३६ अर्ब ८० करोड बराबर रहेको उक्त आयोजनाले ४६ दशमलव आठ मेगावाट बिजुली र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बबई सिँचाइ आयोजनामा पनि खरिद गुरुयोजनाअनुसार बजेट व्यवस्थापन हुन सकेको छैन । आव २०४५/४६ देखि सुरु भएको सो आयोजना आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विद्यमान समस्याका कारण पूरा हुनेमा आशंका रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । कूल ३६ हजार हेक्टर कृषियोग्य भूमिामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको संशोधत लागत रु १८ अर्ब ९६ करोड छ ।

आव २०६७/६८ मा सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना आव २०८०/८१ मै सम्पन्न हुनुपर्ने कार्यतालिका थियो । पहिलो चरणमा १४ हजार तीन सय कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने र दोस्रो चरणमा थप २४ हजार हेक्टर कृषियोग्य भूमिलाई सिञ्चित गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति ७४ दशमलव ३६ प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३९ प्रतिशत पुगेको छ । सिञ्चित क्षेत्रको बचावट तथा कर्णाली नदी नियन्त्रणअन्तर्गत निर्माण भएका संरचना भत्काएर कर्णाली नदीले बगाएका कारण तत्काल पुनःनिर्माण गर्नुपर्ने अवस्था छ ।

आव २०६३/६४ मा सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २३ दशमलव ५० प्रतिशत र वित्तीय प्रगति २३ दशमलव ४९ प्रतिशत छ । कूल ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेर सुरु भएको आयोजनाको कूल लागत रु ३५ अर्बृ दुई करोड बराबर छ ।

मुआब्जा वितरणमा ढिलाइ भएको, स्वचालित ढङ्गले महाकाली सन्धिअनुसार पानी प्राप्त हुन नसकेको, दोधारा चाँदनी क्षेत्रमा प्राप्त गर्ने १० क्यूमेक्स पानी प्राप्त हुन भारतीय भूमिमा संरचना निर्माण हालसम्म सुरु नभएका विषयलाई आयोजनाले समस्याका रुपमा चित्रण गरेको छ ।

मुआब्जा वितरणमा मात्रै रु ४२ अर्ब ८७ करोड खर्च भएको बुढीगण्डकी आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको यकिन हुन सकेको छैन । कूल एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति १० प्रतिशत मात्रै छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति नभएपछि केही समाधानका उपायसमेत अगाडि सारेको छ । त्यसमा राष्ट्रिय गौरवका आयोजना छनौटको निश्चित मापदण्ड लागू गर्ने, आयोजना कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी गरेको छ । आयोजना तयारी चरणको सबै कार्य सम्पन्न गरेर मात्रै कार्यान्वयनमा जाने, जिम्मेवार पदाधिकारीलाई आयोजनाको प्रगतिप्रति उत्तरदायी र जवाफदेही बनाउन गृहकार्य भइरहेको छ ।

सङ्घीय तथा प्रादेशिक निकाय र स्थानीय तहसँग नतिजामूलक समन्वय गर्ने,े दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन र कुशल विनियोजन आयोजनाको समग्र तथा आयोजना अन्तर्गतका ठेक्काहरुको चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने सरकारको बुझाइ छ ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ मङ्सिरः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ २६ पैसा तय भएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ: स्वास्थ्यमन्त्री पौडेल

बरहथवा (सर्लाही), ११ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आज ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो ।   ‘‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु”, मन्त्री पौडेलले भन्नुभयो । 

उहाँले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताउनुयो । “यसका साथै राज्यले एक जनालाई डाइलासिस गरेको २५ सय रुपैयाँ दिने व्यवस्था छ । कुन कुन केन्द्रमा उपचार हुन्छ भनेर सूचिभित्र पार्नुपर्छ । त्यसका लागि पनि पहल गर्छु । यहाँहरूले पालिकाबाट गर्ने काम गर्नुस्”, उहाँले भन्नुभयो ।

यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो ।

उहाँले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको रु एक लाखको स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई रु पाँच लाख पुर्‍याउने तयारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यले नगरको स्वास्थ्य अवस्था सुदृढ गर्न आफूहरू क्रियाशील रहेको बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा यस क्षेत्रमा आँखा अस्पताल सञ्चालनमा आएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामचन्द्र चौधरी, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

रास्वपा नेताहरूविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमा थप विवरण मगाउने आदेश

काठमाडौँ, ११ मङ्सिर : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले आज उक्त विवादमा अन्य विवरण मगाउने आदेश दिएको हो । 

न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गर्नुभएको थियोे ।

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ, ११ मङ्सिर : काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौँ, ११ मङ्सिर : नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो । भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । 

महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्नुहुँदै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताउनुभयो । उहाँले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिनुभयो । साथै भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो ।  

भेटमा लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्नुभयो । उहाँले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताउनुभयो ।

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहान्छौँ’ – महानगर प्रमुख महर्जन

पाटन (ललितपुर), ११ मङ्सिर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताउनुभएको छ ।

स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार सङ्घको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै आज महानगरप्रमुख महर्जनले आफूहरू शासक नभई जनताको सेवक भएको बताउनुभयो । उहाँले स्थानीय नागरिक र व्यापारीको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्दै ललितपुरलाई सफा, सुन्दर र ‘स्मार्ट सिटी’ बनाउन लागिपर्ने बताउनुभयो ।

“स्थानीयवासी र व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्छौँ, तपाईंहरूको मागलाई हामी सम्बोधन गर्छौं, यो ज्ञापनपत्र बोर्ड बैठकमा पेस गर्छाैं र कार्यान्वयनमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्छौँ,” नगरप्रमुख महर्जनले भन्नुभयो ।

ललितपुर तयारी पोसाक व्यापार सङ्घका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समयमा व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताउनुभयो । उहाँले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गर्नुभयो ।

भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन् : सञ्चारमन्त्री गुरुङ

गण्डकी, ११ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताउनुभएको छ ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारमा संलग्न ठहरिएका जो सुकैलाई कानुनअनुरुप करबाही गरिने बताउनुभयो । मुलुकमा अस्थिरता निम्त्याउन छुट नभएको बताउँदै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले अस्थिरताको अन्त्य र सुशासन अभिवृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै उहाँले प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि रु पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो । पुँजीगत खर्च बढाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने, वन ऐन, र विद्युत् ऐन तथा नियम विकासका बाधक भएको बताउनुभयो ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीप्रति युवाको आकर्षण बढेको बताउँदै नवप्रवेशीलाई योग्यता क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताउनुभयो । प्रदेश कमिटी उपसचिव दामबहादुर विश्वकर्मा, सचिवालय सदस्य टीकाराम पङ्गेनी, पार्टी नेता कृष्ण थापा, सुधीर थापालगायतले पार्टीको विचार सिद्धान्तका बारेमा प्रकाश पार्नुभएको थियो ।

‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’

काठमाडौँ, ११ मङ्सिरः काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताउनुभएको छ ।सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उहाँले अब हाम्रो विचार बदलिनुपर्नेमा जोड दिनुभयो । उहाँले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताउनुभयो ।

प्रा डा मल्लिकले गणतन्त्र एवं लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गर्नुभयो । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरीलगायतका नेताहरूले देशमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन – युरोपियन युनियन

फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गगलबार बताउनु भएको छ ।

सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि चलिरहेको शत्रुता पूर्ण युद्धमा परिणत भएपछि इजरायलले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविराम स्वीकार गर्ने कि नगर्ने निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ ।

जी–७ का विदेश मन्त्रीहरूको बैठकमा बोल्दै बोरेलले अमेरिका र फ्रान्सले मध्यस्थतामा टेबल गरिएको प्रस्तावमो इजरायलले मागेको सबै सुरक्षा प्रतिबद्धता समावेस रहेको जनाउदै प्रस्ताव अस्वीकार गर्ने कुनै बहाना नभएको बताउनु भएको हो ।

उहाँले इजरायली सरकारका मन्त्रीहरूबाट लडाइँ जारी राख्नका लागि विस्फोट जारी राख्ने इच्छुक आवाजहरू सुनेकासमेते पत्रकारहरूलाई बताउनु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने आशा व्यक्त गर्दै उहाँले लडाइँ बन्द गरि मानिसहरुको नरसंहार अन्त्ये गर्न आह्वान गर्नु भएको छ ।

पछिल्लो समयमा जी –७ राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको इटालीले विदेश मन्त्रीहरूको बैठकको आयोजना गरी युद्धविरामको आशा जगाइ रहेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ, ११ मङ्सिर : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशङ्कालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह

जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले मङ्गलबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले युरोपको निर्यातमा ठूलो शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमहरूको सामना गर्न एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आफ्नो कार्यकालको पहिलो दिन नै मेक्सिको, क्यानाडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उहाँको यस्तो टिप्पणी आएको हो ।

“युरोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ”, जर्मनीका भाइस चान्सलरसमेत रहनुभएका हाबेकले बर्लिनमा व्यापार सम्मेलनमा भन्नुभयो ।

चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुहरूमा उच्च शुल्क लगाउने धम्की दिनुभएको थियो । संयुक्त राज्य अमेरिका युरोपीय महाद्वीपको निर्यातका लागि प्रमुख गन्तव्य भएकाले यसले युरोपमा चिन्ता निम्त्याएको थियो ।

सोमबारको ट्रम्पको घोषणाले उहाँका धम्कीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने सङ्केत गरेको हाबेकले बताउनुभयो ।

“युरोपेली सङ्घ (इयु) ले यसको प्रतिक्रिया एकजुट रूपमा दिनुपर्छ र युरोपको रूपमा एकसाथ बोल्नुपर्छ”, महाद्वीपका नेताहरूले प्रतिशोधात्मक उपायहरूका बारेमा सोच्नुअघि संवाद खोज्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अन्त्यमा शुल्कबाट अमेरिकासहित सबैले हार्छन् भन्ने स्पष्ट पार्नुपर्छ ।”

क्यानाडा र मेक्सिकोमा कर लगाउने वाचा गरेर ट्रम्पले वासिङ्टनसँग स्वतन्त्र व्यापार सम्झौता भएका दुई देशलाई लक्षित गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

“जसका आधारमा हामीले आफ्नो आर्थिक, औद्योगिक र विदेश नीतिहरू समायोजित गरेका छौँ, ती नियमहरू बढी कमजोर हुँदैछन् वा तिनीहरूको पालना गरिँदैन”, हाबेकले भन्नुभयो ।

ट्रम्पले विगतमा इयुलाई संयुक्त राज्य अमेरिकासँग ठूलो व्यापार अधिशेषका लागि आलोचना गर्नुभएको थियो ।

उहाँको पहिलो कार्यकालमा वासिङ्टनले युरोपेली इस्पात र आलुमिनियम निर्यातमा कर लगाउँदा इयुलाई अमेरिकी सामानहरूमा कर लगाउन उत्प्रेरित गरेको थियो ।

जर्मनीको निर्यातमुखी अर्थतन्त्र नयाँ अमेरिकी शुल्कहरूबाट विशेष रूपमा प्रभावित हुनेछ । त्यसले एक प्रतिशत विकासदर घटाउन सक्ने केन्द्रीय बैंकले हालै चेतावनी दिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै

लुम्बिनी, ११ मङ्सिरः लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २०औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोह र १७औँ सभाको बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने गरी तय भएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहलाई बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पु¥याउनुभएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने उहाँले बताउनुभयो । विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागेको रजिष्ट्रार डा आचार्यले जानकारी दिनुभयो । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि गरेका सात जना, स्नातकोत्तर एक सय ८६ जना, स्नातक तहका ८८ र पिजीटी आठ जना गरी दुई सय ८९ जना विद्यार्थी दीक्षित हुनेछ ।

दीक्षान्तमा प्रत्येक सङ्कायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।

समारोहमा विशेष अतिथिका रूपमा म्यानमारका भिक्षु सितगो सायडोकोलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने विश्वविद्यालय उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले जानकारी दिनुभयो ।

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ११ मङ्सिर : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ ।

निर्वाचन आयोगको आजको बैठकले स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचनसम्बन्धित स्थानीय तहका सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन लेखी पठाउने निर्णय गरेको हो । स्थानीय तहको रिक्त प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्ष पदको लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

यसैगरी आयोगको मतदान हुने दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने

काठमाडौँ, ११ मङ्सिरः नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ ।

एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताउनुभयो । उहाँले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपिएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताउनुभयो ।

यसैगरी एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने

काठमाडौँ ११ मङ्सिरः दुर्गम गाउँलाई उज्यालो बनाउने उद्देश्यले ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सञ्चालन गरिएको छ । नेपालस्थित चिनियाँ दूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा परियोजना सुरु गरिएको हो । दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ । परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपालाञ्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरिएको छ । यसबाट गाउँलेको रात्रीकालीन जीवनलाई सहज बनाउनाका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ । सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नाका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले समस्या बढाएको छ, जसले प्रकाशको आवश्यकतालाई झनै महत्वपूर्ण बनाएको छ । यसपटक प्रदान गरिएका सौर्य बत्तीले यी गाउँमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन्, जसले रातिको जीवनलाई सहज बनाउनाका साथै बालबालिकालाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ”, परियोजनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन र सङ्कटमा परेकालाई सहयोग गर्न निरन्तर काम गर्ने जनाइएको छ ।

‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ – मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), ११ मङ्सिर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्त्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको संयुक्त आयोजनामा आज जनकपुरधाममा प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालासँग कार्यशाला गोष्ठीमा मुख्यमन्त्री सिंहले वर्षौंसम्म योजना पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले मधेसलाई सङ्घीय राजधानीसँग जोड्ने द्रुतमार्ग र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा बर्सेनिरूपमा अर्बौंको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो । मधेसमा विकासको धेरै सम्भावना भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक रहेकोे बताउनुभयो ।

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले मधेस प्रदेशको समृद्धि र विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरूरी भएको बताउनुभयो ।

मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरू डा शिला मिश्र, डा राजकुमार सिंह, डा रिना यादवलगायतले मधेस प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रूपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेललगायतका वक्ताहरूले कानुनी जटिलतामा सुधार गरेर अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

अब सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य

काठमाडौँ, ११ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ ।

कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई भनेका थिए ।

त्यसलगत्तै मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात् समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो । “हामीले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।”

मन्त्रालयले केही दिनअघि औषधिको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

काठमाडौँ, ११ मङ्सिर : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाँडै देखिने सुनाउनुभयो । विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने, यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारीको भनाइ थियो । यो समयमा डिडिसीले दूध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भए पनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

“सरकारले अण्डा र मासुमा आत्मनिर्भर भएजस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन”, उहाँले भन्नुभयो । केही सञ्चारमाध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसानमार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि उहाँको प्रतिबद्धता थियो । ज्ञापनपत्र बुझाउँदै सञ्जालले दूध, उखु, सुपारीलगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।