`

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक

काठमाडौं – अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।

टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ ।

बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई उजागर गर्दछ । यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।

चलचित्रका निर्देशक जोन राईले यो चलचित्र, भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न बनाएको बताए । बम बहादुर मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको र यसले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सोसल ड्रामाको अनुभव गराउने राईले बताए । उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गर्ने जनाए । निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो चलचित्र बनाएको जनाए ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् । चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, १२ मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरुलाई क्रमशः लैजाने जानकारी गराउनुभएको थियो । उहाँले नेपाली कामदारहरुलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताउनुभयो । मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताउनुभयो ।

हतियारबारे छलफल गर्न युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

सोल, १२ मङ्सिर (रासस/एएफपी): युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगका बारेमा अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुग्नुभएको र द्विपक्षीय बैठकहरू गरिरहनुभएको किएभले बुधबार जनाएको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्ध रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सेना तैनाथ गरेको खुलासा भएपछि दक्षिण कोरियाले द्वन्द्वमा रहेका देशहरूलाई हतियार उपलब्ध नगर्ने लामो समयदेखि रहेको नीतिलाई उल्टाउन सक्ने सङ्केत गरेपछि यो भ्रमण भएको हो ।

युक्रेनी रक्षा मन्त्रालयले रक्षा प्रमुख रुस्तम उमरोभ पहिले नै दक्षिण कोरियामा रहनुभएको र उहाँका त्यहाँका बैठकहरू जारी रहेको एएफपीलाई पुष्टि गरेको छ ।

दक्षिण कोरियाली मिडियाले उमरोभ र राष्ट्रपति युन सुक येओलबीचको योजनाबद्ध बैठक भएको रिपोर्ट गरेको थियो । यद्यपि राष्ट्रपति कार्यालयले पुष्टि गर्न अस्वीकार गरेको थियो ।

युक्रेनी प्रतिनिधिमण्डलले ‘रुसमा उत्तर कोरियाको सेनाको तैनाथीबारे खुफिया जानकारी साझा गर्ने’ र किएभको युद्ध प्रयासका लागि सोलको समर्थन खोज्ने अपेक्षा गरिएको दक्षिण कोरियाली योन्हाप समाचार एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत महिना दक्षिण कोरियाली मिडियालाई दिनुभएको अन्तर्वार्तामा आफ्नो देशले आवश्यक सैन्य सहयोगको सूची पेस गर्ने तयारी गरिरहेको बताउनुभएको थियो ।

“यो हाम्रो दूतसँग एकैसाथ गरिनेछ, जो चाँडै दक्षिण कोरियाको भ्रमण गर्नेछन् र हतियार समर्थनमा छलफल हुनेछ”, जेलेन्स्कीले केबिएसको प्रतिलिपिअनुसार भन्नुभयो । उहाँले सूचीमा तोपखाना र वायु रक्षा प्रणालीहरू समावेश हुने बताउनुभयो ।

यसअघि यही महिना राष्ट्रपति युनले दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष सहयोग गर्ने कि नगर्ने र कसरी गर्ने भन्ने निर्णय ‘उत्तर कोरियाको संलग्नताको स्तर’ मा निर्भर हुने र सोलले ‘हतियार प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरिरहेको छैन’ भन्नुभएको थियो ।

युनका अनुसार यदि दक्षिण कोरियाले हतियार आपूर्ति गर्छ भने सुरुको खेप प्रकृतिजन्य (रक्षात्मक) हुनेछ ।

युक्रेन रूसी मिसाइल बरबरताबाट आफूलाई बचाउन पश्चिमी वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियोट्समा निर्भर छ र थप आपूर्तिका लागि आह्वान गरिरहेको छ ।

आणविक हतियार भएको उत्तर कोरियासँग प्राविधिक रूपमा युद्धमा रहेको र पश्चिमी हतियार उद्योगले लामो समयदेखि बेवास्ता गरेको हतियारको उत्पादन कायम राखेको दक्षिण कोरियाले हतियार आपूर्ति गर्ने निर्णय गरेमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छ : मन्त्री पौडेल

नारायणगढ (चितवन), १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ ।

मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तक्र्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानुनी ठहर्दछ ।” 

अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुनेहुँदा सेवाग्राहीलाई पनि सजिलो हुने धारणा व्यक्त गर्नुभयो  । 

अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको मन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिनेगरी टाँस गर्नुपर्ने भन्दै सेवाग्राहीले औषधि किन्दा मूल्य हेरेर किन्ने अवस्था हुनुपर्ने बताउनुभयो । देशका सबै  सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउनेगरी काम गर्दै आएको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएका सन्दर्भमा तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको भन्दै र यसका लागि जनशक्तिको व्यवस्थापनमा आफूहरू लागेको उल्लेख गर्नुभयो । उहाँले भएका जनशक्तिको परिचालन गरेर धेरै सेवा दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्रै हुनपर्ने भन्दै उहाँले अस्पतालले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि उपकरण बिग्रिएको छ भनेर सेवा बन्द गर्न पाइँदैन यसको वैकल्पिक व्यवस्था अस्पतालले गर्नुपर्दछ ।”

सिङ्गो पार्टी एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत

काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।

प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । “निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

नेता डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।” पार्टीभित्र विपक्षी खोज्ने प्रवृत्ति पार्टीको प्रमुख समस्या भएको उहाँको भनाई थियो । 

“हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एकअर्काबीचमा कुरा काट्ने र वैमनस्य उत्पन्न गर्न समय खर्चने हो । आफ्नै भित्र विपक्षी खोज्छौँ र विपक्षीसँगको प्रतिस्पर्धालाई बिर्सन्छौँ । अब, एक भएर अघि बढ्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो”, नेता डा महतले भन्नुभयो ।

सङ्घका अध्यक्ष दीपक महतले उम्मेदवार पाठकको प्रचार अभियानमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै विगतमा वडामा भएको कामको प्रभावले जीत निश्चित हुने दाबी गर्नुभयो । “पर्यटन व्यवसायीकोतर्फबाट  देवेन्द्र पाठकलाई विजयी गराउन प्रतिवद्धताका साथ मत मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमा सहयोग पु¥याउनु दायित्व पनि हो । उम्मेदवारलाई आट भरोसा दिन पनि यो कार्यक्रम गरिएको हो । त्यसैले निर्धक्क भएर उच्च मनोवलका साथ निर्वाचनमा लाग्न आग्रह गर्दछु ।”

उम्मेदवार देवेन्द्र पाठकले आफू नेतृत्वमा रहँदा पर्यटन क्षेत्रलाई सहजीकरण गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वडामा कांग्रेसको वर्चस्व कायम रहेको छ, तर एकदमै प्रतिस्पर्धामा छौँ । हालसम्मको प्रयास उत्साहजनक छ, बाँकी दिनमा अझ मेहनत गर्न सकेको खण्डमा अत्याधिक मतसहित विजय हासिल गर्न सक्छौँ ।”

सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ

गण्डकी, १२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा उहाँले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने बताउनुुभयो ।

प्रविधिको प्रयोगमार्फत सबै स्थानीय तह, प्रदेश सरकार एवं सरकारका सबै मन्त्रालयलाई एकै किसिमको प्रणालीमा लैजाने कुरामा जोड दिइएको उहाँले बताउनुुभयो । “हामीले सरकारी क्षेत्रमा तथ्याङ्क व्यवस्थित गर्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “हाम्रो सरकारी निकाय धेरै खर्चालु भयो, ढिलो भयो भन्ने गुनासालाई ई–गभरनेन्सका माध्यमबाट समाधान गर्न सकिन्छ ।”

उहाँले व्यवस्था परिवर्तनसँगै कार्यशैलीमा पनि परिवर्तन  जरुरी रहेको बताउनुुभयो । अधिकारको बाँडफाँट गरे पनि काम बाँड्न नसकेको बताउँदै उहाँले भन्नुुभयो, “हामीले अधिकार बाँड्यौँ, काम बाँड्न जानेनौँ, समस्या त्यहाँनेर छ”, उहाँले भन्नुुभयो, “अधिकार बाँडेपछि काम दिनुुपर्छ, काममा बजेट छ, कार्यक्रम छ, यसको व्यवस्थापनमा हामी लागेका छौँ ।”

विश्वका विकसित देशको विकासमा सूचना प्रविधि क्षेत्रको ठूलो योगदान रहेको बताउँदै उहाँले त्यस क्षेत्रमा मुलुक धेरैपछि परिसकेको बताउनुुभयो । खुला समाज, प्रजातान्त्रिक मुलुक, आदिका कारण सूचना प्रविधिका क्षेत्रमा नेपालमा सम्भावना रहेको उहाँको भनाइ छ ।

विद्यमान ऐन कानुन समयसापेक्ष रुपमा परिवर्तन गर्न जरुरी भएको बताउँदै मन्त्री गुरुङले सुशासन एवं जनताले अनुुभूति गर्ने किसिमको प्रणाली व्यवस्थापन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले विद्युतीय सुशासनको प्रयासमा मन्त्रालय लागेको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुुभयो ।

कार्यक्रममा प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक अनिलकुुमार दत्त, गण्डकी प्रदेशका प्रमुख सचिव रघुुराम विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेशका स्वास्थ्य सचिव विनोदविन्दु शर्मा, प्रमाणिकरण कार्यालयका कम्प्युटर इन्जिनियर सतीशकुुमार सुवेदी लगायतले सेवा प्रवाहमा प्रविधिको प्रयोग, विद्युतीय सुशासनलगायतका विषयमा धारणा राख्नुुभएको थियो । 

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : सभापति देउवा

काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ ।

काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभयो । 

सभापति देउवाले भन्नुभयो, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।” उहाँले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताउनुभयो ।

सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताउनुभयो ।

विश्वमा भइरहेको तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका मुद्दाले पहिल्यै कायम रहेका समस्याहरूलाई थप बढावा दिइरहेको उल्लेख गर्दै उहाँले यस सम्मेलनले ती चुनौतीलाई पार गर्न प्रभावकारी मार्गनिर्देशनहरू दिन्छ भन्ने आशा राखेको बताउनुभयो । यस सम्मेलनले एसिया क्षेत्रमा देखिएको जनसाङ्ख्यिक सङ्क्रमणलाई व्यवस्थापन गर्न पनि आवश्यक पहल लिने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा एसियाली जनसङ्ख्या एशोसिएसनका अध्यक्ष रेइको हायाशीलले नेपालमा पहिलोपल्ट यो सम्मेलन भएको जानकारी दिँदै यसरी भेला भएर छलफल गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएका हुन् ।

स्रोतको सुनिश्चितताबिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्ने शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसंगतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीयखालका योजनामा यस वर्ष  २० लाख मात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गरे ।

‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झौँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरू के गर्ने हो ? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?’

उनले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा उनले धारणा राखे ।

प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने भएकाले उत्पादन र परिवर्तनमा केन्द्रित हुन आग्रह गरे ।

बुद्धि अधिकारी र शान्तिश्रीको ‘जेजे माग्छौं माग’ गीत युट्युव ट्रेन्डिङमा

काठमाडौँ ।बिगत लामो समयदेखी क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत जेजे माग्छौं माग सार्वजनिक गरेको केहि समयमै युट्युवको संगीत तर्फको ट्रेन्डिङको १८ औं स्थानमा आउन सफल भएको छ । गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ । गीतमा लय, शब्द राजकुमार बगरको रहेको छ भने संगीत संयोजक केशब बडुले गरेका छन् ।

गीतको भिडिओ गायक बुद्धिले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडिओमा मोडल सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभिनय छ । रेशम धर्नालीले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडिओमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ ।

गायक बुद्धिले यस गीतको रेकर्ड क्यानडामै गरिएको जानकारी दिए । ‘यो गीतको मेरो पार्ट मैले यतै क्यानडामै गरेको हुँ । अन्य अडियो र भिडिओको काम नेपालमै भएको हो ।’ बुद्धिले भने । ‘परदेशमा रहेपनि आफ्नो इच्छा छ र आफूमा प्रतिभा छ भने गीत रेकर्ड बाहिरपनि गर्न सकिन्छ भन्ने सन्देश पनि दिन चाहान्छु ।’ गायक बुद्धिले अहिलेको पुस्ता बिशेषगरी धेरै देश बाहिर रहेको र नेपाली गीतसंगीत त्यो पनि मौलिक गीतप्रतिको रुचि घट्दै गएकोले युवापुस्ताको ध्यान यस किसिमका गीतमा जावस् भन्ने सन्देश दिन खोजेको बताएका छन् ।

बुद्धि नेपाली गीतसंगीतमा लामो समयदेखी सक्रिए छन् । सिडी, क्यासेटको समयमा पशुपति क्यासेट सेन्टर सन्चालन गरेका बुद्धिले पछिल्लो समय गीत गायनमा सक्रिएता देखाएका छन् । उनले लोकपप् गीत हुँदै दर्पण छायाँ, घाम पानी, दाउरीसँगै अहिलेसम्म ५ वटा गीतमा स्वर दिइसकेका छन् ।

जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

काठमाडौँ, १२ मङ्सिर : संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाका मध्यामबाट जोड्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिका सन्दर्भमा) अन्तर विषयक अन्तराष्ट्रिय सङ्गोष्ठीमा उहाँले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सम्पर्क सञ्जालका माध्यमबाट अघि बढाउनुपर्ने बताउनुभयो । उक्त प्रयोजनका लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

पर्यटनमन्त्री पाण्डेले रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनःजागरणमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सङ्गोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ । सङ्गोष्ठीमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउन सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरिँदै

काठमाडौँ, १२ मङ्सिर : काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले केही दिन अघि पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण गर्न निर्देशन दिनुभएको थियो । 

केयुकेएलको टोलीले उपत्यकाका अनामनगर, पुरानोबानेश्वर, नक्साल क्षेत्र, पानीपोखरी, कालीमाटी, त्रिपुरेश्वर, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, जाउलाखेल, मानभवन, लगनखेललगायत क्षेत्रमा फुटेका पाइपलाइन मर्मत गरी पानी सञ्चालन गरेको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो ।

दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

दार्चुला, १२ मङ्सिरः राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुग्नुभएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुला आइपुग्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसहितको टोली जिल्ला आइपुगेको  प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुग्नुभएको छ । 

सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय गौरवका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडक निरीक्षणमा मन्त्रीद्वयसहितको टोली यहाँ आउनुभएको जनाइएको छ । छाङ्गरुबाट उहाँहरु सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम तय भएको प्रजिअ जोशीले बताउनुभयो । 

त्रिदेशीय सडकका रुपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक हो । तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा  लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् । 

विसं ०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले रु नौ करोड बजेट विनियोजन गरेको छ । उक्त रकमले १.८ किमी नयाँ ट्र्याक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ  । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमी छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।

यो सडक नबन्दा सर्वसाधारण सदरमुकाम दार्चुलाबाट छाङ्गरु, तिङ्कर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हालैमात्र तिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् । नेपालतर्फको घोरेटो बाटो हिँड्नलाई जोखिमपूर्ण छ । पशुचौपाय ल्याउन र मान्छे हिँड्न नेपालबाट सम्भव नभएपछि भारतीय बाटो हुँदै खलङ्गा झर्नुपर्ने बाध्यता रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुका स्थानीयले मन्त्रीहरुसँग नेपालतर्फ पहिले गोरटो बाटो निर्माण गर्न माग गरेका छन् । 

परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ, १२ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नुहुनेछ । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ ।

बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी

कर्णाली, १२ मङ्सिरः ‘बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेशमा बाढीपहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले संविधानको अनुसूचीमा व्यवस्था गरिएको र ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन, २०७४’ लागु भइसकेकाले त्यसैका आधारमा विपद् जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई स्रोतसाधनसम्पन्न बनाउनुपर्ने बताउनुभयो । बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बस्तीहरू नदी तथा खोलाकिनार र भिरोलो ठाउँमा भएकाले ती सबै बस्तीको व्यवस्थापन र विकासमा दीर्घकालीन सकरात्मक प्रभाव पार्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रशासनले सूचना प्रणालीलाई प्रभावकारी बनाएको भन्दै उहाँले विपद्बाट बच्न प्रत्येक बस्तीमा साइरन जडान गर्न सुझाउनुभयो । गोष्ठीका सहभागीले विपद् जोखिम न्यूनीकरण गर्न नदी तथा खोला किनारमा बस्दै आएका र छरिएका बस्ती व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र जथाभावी डोजर लगाउने काम रोक्नुपर्ने सुझाव दिएका थिए । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनसँगको सहकार्यका गोष्ठी आयोजना भएको हो ।

बेलायतको सर्वोच्च अदालतद्वारा ‘महिला’ को परिभाषामा मुद्दाको सुनुवाइ

बेलायतको सर्वोच्च अदालतले मङ्गलबार कानूनमा ‘महिला’ को परिभाषामा अभियानकर्ताहरू र स्कटिस सरकारबीचको लामो समयदेखि चलेको विवादमाथि विचार गर्न थालेको छ ।

यौन जैविक रूपमा अपरिवर्तनीय छ भन्ने विश्वास गर्ने ‘फर वुमेन स्कटल्यान्ड’ अभियान समूहले ल्याएको मुद्दाले ट्रान्स अधिकार वरपरका अत्यधिक आरोपित मुद्दाहरूमा र बेलायतले लैङ्गिक र लैङ्गिकतालाई कसरी परिभाषित गर्छ भन्ने कुरामा व्यापक प्रभाव पार्न सक्छ ।

यसले देशको लैङ्गिक मान्यता प्रक्रिया र ट्रान्स मानिसहरूका लागि एकल–लैङ्गिक स्थानहरूमा पहुँचका लागि पनि परिणामहरू निम्त्याउन सक्छ ।अभियानकर्ताहरूले बेलायतको सन् २०१० को समानता ऐन र लैङ्गिक मान्यता ऐन २००४ मा ‘महिला’ को परिभाषा असङ्गत रहेको बताउँछन् ।

सन् २०१० को समानता ऐनले लैङ्गिक भेदभाव विरुद्ध लिङ्ग, लैङ्गिकता र लिङ्ग पुनर्निर्धारणलगायतका विशेषताहरू संरक्षण गर्छ र महिलालाई ‘कुनै पनि उमेरकी महिला’ का रूपमा परिभाषित गर्दछ ।सन् २००४ को ऐनअनुसार लिङ्ग पहिचान प्रमाणपत्र (जिआरसी) ले ट्रान्स व्यक्तिहरूलाई कानूनी रूपमा आफ्नो लिङ्ग पुरुष वा महिलामा परिवर्तन गर्न अनुमति दिन्छ ।

बेलायतको सर्वोच्च अदालतलाई महिलामा परिणत भएको व्यक्तिलाई समानता ऐनअन्तर्गत महिलाका रूपमा मानिन्छ र सुरक्षित गरिएको छ कि छैन भनेर विचार गर्न आग्रह गरिएको छ ।

– ध्रुवीकृत –

यो ऐतिहासिक मुद्दा फर वुमेन स्कटल्यान्डले सार्वजनिक क्षेत्रका निकायहरूमा थप महिलाहरू ल्याउन निर्देशित गरिएको सन् २०१८ को स्कटिस कानूनलाई चुनौती दिएपछि लन्डनको बेलायत सर्वोच्च अदालतमा पुगेको हो ।

कानूनका लागि जारी गरिएको मार्गदर्शनमा एडिनबर्गमा रहेको स्वायत्त स्कटिस संसद्ले महिलामा रूपान्तरण गरेकी र जिआरसी प्राप्त गरेकी व्यक्तिलाई समानता ऐनअन्तर्गत महिला मानिने बताएको थियो ।

फर वुमेन स्कटल्यान्डले मार्गदर्शनलाई असफलतापूर्वक चुनौती दिएको थियो । एक स्कटिस न्यायिक पुनरावलोकनले लिङ्गलाई ‘जैविक वा जन्म लिङ्गमा सीमित छैन’ भन्ने निष्कर्ष निकालेको थियो ।

लिङ्ग रूपान्तरणको विषय हालका वर्षहरूमा बेलायतमा अत्यधिक ध्रुवीकृत र राजनीतिकरण भएको छ र यसले एडिनबर्ग र लन्डनबीच तनाव निम्त्याएको छ ।

स्कटल्यान्डको स्वायत्त सरकारले सन् २०२२ मा मानिसहरूलाई आधिकारिक रूपमा आफ्नो लिङ्ग परिवर्तन गर्न सजिलो बनाउने विधेयक पारित गरेको थियो । तर बेलायत सरकारले स्कटिस प्रशासन विरुद्ध आफ्नो भिटो शक्तिको दुर्लभ प्रयोग गर्दै त्यो विधेयकलाई रोक्यो ।

तत्कालीन सत्तारूढ बेलायतका कन्जर्भेटिभहरूले ‘स्पष्टीकरण’ गर्ने वाचा गरेका थिए ताकि ‘लिङ्ग’ शब्दले जैविक लिङ्ग र लैङ्गिकता होइन र ट्रान्स महिलाहरूलाई एकल–लिङ्ग स्थानहरूबाट बाहिर राख्ने कुरालाई यस वर्षको प्रारम्भिक चुनावमा केन्द्रीय बुँदा बनाएका थिए ।

रुसद्वारा युक्रेनको एटिएसिएमएस आक्रमणको जवाफ दिने प्रतिज्ञा

मस्कोको सेनाले मङ्गलबार अमेरिकाले आपूर्ति गरेको एटिएसिएमएस (एट्याकम्स) मिसाइल प्रयोग गरेर रुसभित्र युक्रेनी हवाई आक्रमणको जवाफ दिने वाचा गरेको छ ।

युक्रेनले गत साता रूसमा पहिलोपटक लामो दूरीका मिसाइलहरू प्रहार गर्दा मस्कोबाट तीव्र प्रतिक्रिया देखा परेको थियो ।

रूसको रक्षा मन्त्रालयले मङ्गलबार युक्रेनले नोभेम्बर २३ र २५ मा एट्याकम्स प्रयोग गरी ताजा आक्रमण गरेको बताएको छ ।

“प्रतिशोधात्मक कार्यहरू तयार भइरहेका छन्”, मन्त्रालयले टेलिग्राममा एक पोस्टमा विस्तृत जानकारी नदिई भन्यो ।

किएभको महिनौँको अनुरोधपछि अमेरिकाले युक्रेनलाई यस महिनाको सुरुमा रुसी भूभागमा आक्रमण गर्न हतियार प्रयोग गर्ने अनुमति दिएको थियो ।

एउटा दुर्लभ स्वीकारोक्तिमा रूसले ताजा आक्रमणले सैन्य उपकरणहरूमा क्षति पु¥याएको र भूमिमा केही कर्मचारीहरूलाई घाइते बनाएको बताएको छ ।

रक्षा मन्त्रालयले कुर्स्क भोस्तोच्नी एयर बेसमा गरिएको आक्रमणले दुई सैनिकलाई घाइते बनाएको, हवाई रक्षा ब्याट्रीमा गरिएको आक्रमणले राडार प्रणाली क्षतिग्रस्त गरेको र ‘क्षतिहरू’ निम्त्याएको बताएको छ ।

पहिलो आक्रमणमा प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्रमध्ये तीनवटा खसालिएको र दोस्रो आक्रमणमा प्रयोग गरिएका आठमध्ये सातवटा नष्ट भएको बताइएको छ ।

मस्कोले युक्रेनी हवाई आक्रमणहरूमा यस्तो विशिष्ट विवरणहरू विरलै प्रदान गर्दछ र मिसाइलहरू आफ्नो लक्षित लक्ष्यमा पुगेको लगभग कहिल्यै स्वीकार गर्दैन ।

रक्षा मन्त्रालयले आफूले भनेका मिसाइल टुक्राहरूका तस्वीरहरू पोष्ट गरेको छ, जसमा ठूला बक्सहरूमा अंग्रेजी भाषाका अभिलेखहरू देखिन्छन् ।

एएफपीले तुरुन्तै तस्वीरहरू प्रमाणित गर्न सकेन । यी आक्रमणहरू करिब तीन वर्षको द्वन्द्वमा हालका हप्ताहरूमा तनाव नाटकीय रूपमा बढेको समयमा आएका छन् ।

युक्रेनमाथि आणविक क्षमतासहितको हाइपरसोनिक ओरेश्निक मिसाइल प्रहार गर्नुभन्दा केही दिनअघि पुटिनले गत साता आणविक हतियार प्रयोगको सीमा घटाउने एक आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

बाँसझ्याङमा तीन लाख पचास हजार मूल्यको लसुन बरामद

भद्रपुर (झापा) १२, मङ्सिरः मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

सवारी दुर्घटनामा मृत्यु

पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने

काठमाडौं – विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।

पोस्टर सार्वजनिकसँगै यस चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ । यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई – तीनपाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरूका निर्देशक समेत रहेका चौहानको यो नै पहिलो फिचर चलचित्र हो । चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

यसअघि यस चलचित्रको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ । छायाङ्कन जानुअघि लिरिकल स्टाइलमा सार्वजनिक गरिएको गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र डिप गुरुङले गरेका छन् । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।

चलचित्रको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस चलचित्रको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन् । मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन् ।

हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त,मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

बागमती, १२ मङ्सिरः हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुने छ । माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छभने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।

गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार तीन सय ७१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार तीन सय ४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार तीन सय २५ मत ल्याउनुभएको थियो ।

माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यहाँ चुनावलाई रोचक बनाएको छ ।

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

ढोरपाटन (बागलुङ), १२ मङ्सिरः बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।

शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पु¥याउने मान्छे नपाइने अवस्था आउको उहाँको भनाइ छ । बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएको उहाँले सुनाउनुभयो । 

पुनले भन्नुभयो, “यो गाउँ कस्तो थियो, अहिले कस्तो बन्यो, सक्नेहरु सबै सहर छिरे, गाउँमा गरिब वर्ग मात्रै छन्, युवाहरु विदेश छन्, हामी बुढाबुढी भइयो, गाउँमै जन्मियौँ, हुर्कियौँ र यही दुःख गरियो, अब गाउँमै मर्ने, यो उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने ? हामीलाई त अब गाउँ रित्तिने चिन्ता लाग्न थाल्यो ।”

गलकोट नगरपालिका–५ की मायादेवी श्रीसले नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आउनु बताउनुहुन्छ । दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने नपाइने उहाँको भनाइ छ । 

“पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो, खानेपानी ल्याउनका लागि घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ”, उहाँले भन्नुभयो, “गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भयो ।” 

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो । गाउँबाट धेरैजसो शिक्षा र स्वास्थ्यका लागि बसाइँसराइ गर्ने गरेको हुँदा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ रहेको र स्वास्थ्य क्षेत्र सुधार गरी रहेको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा काठमाडौँमा हुने

काठमाडौँ, १२ मङ्सिरः कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुनेभएको छ । मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।

“नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भन्नुभयो । 

उहाँले माघ पहिलोसाताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताउनुभयो । यस अगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।

आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । 

पाठेघर खस्ने समस्या भएका केपिलासगढी गाउँपालिकाका १९ जनाको निःशुल्क शल्यक्रिया

खोटाङ, १२ मङ्सिरः केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसितको निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाका तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्क रुपमा गरेको छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरिएकाहरुका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको व्यवस्था गरिएको छ ।”

यही मङ्सिर ७ गते बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये सात जनामा पाठेघरसम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे थियो । दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको उपचारमा सङ््लग्न स्वास्थ्यकर्मीहरुको सुझाव रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका विभिन्न वडाबाट उपचारका पठाइएका अन्य महिलामा मुटु, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न प्रकारका समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्न नमिल्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ । 

“शल्यक्रियाका लागि पठाइएका ३२ जना महिलामध्ये मङ्सिर ११ गते मङ्गलबारसम्ममा १९ जनाको शल्यक्रिया सफल भएको छ । सात जनामा दोस्रो चरणको मात्र समस्या देखिएकाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा समस्या सुधार हुने स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “बाँकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनःपठाउने गरी फर्काइएको छ । स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराएर फर्काइएका उनीहरुलाई दोस्रो चरणमा पठाइने महिलासँगै शल्यक्रियाका लागि पुनःपठाउने तयारी गरेका छौँ ।”

नागरिकको स्वास्थ्यवस्थाबारे गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्दा गाउँपालिकाभित्र बसोबास गर्ने ५६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोग भएका नागरिकका लागि निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ । 

पाठेघर खस्ने समस्या भएका महिलालाई यसअघि जिल्लाका अन्य स्थानीय तहले पनि बनेपास्थित सोही अस्पताल लगेर निःशुल्क शल्यक्रिया गराएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पाठेघर खस्ने समस्याका महिलालाई सुविधा सम्पन्न अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलालाई राहत मिलेको छ । 

उपनिर्वाचनको पर्यवेक्षणका लागि आयोगले दियो नौ संस्थालाई अनुमति

काठमाडौँ-निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।

आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो ।

उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ÷संस्था र व्यक्तिहरुसँग आज अन्तरक्रिया सम्पन्न गरेको थियो । अन्तरक्रियामा कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्थाले निर्वाचन सम्पन्न भएको मितिले बढीमा ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्न आग्रह गर्नुभयो । प्रतिवेदन प्राप्त भएपछि निर्वाचन व्यवस्थापन सुधारका लागि दिइएका सुझाव क्रमशः कार्यान्वयन गर्दै लगिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा निर्वाचन आयुक्त सगुनशमशेर जबराले उपनिर्वाचनमा खटिइ जान लाग्नुभएका पर्यवेक्षकलाई विगतका निर्वाचनमा अनुभव गरिएका विषयलाई सुझावको रुपमा प्रस्तुत गर्दै पर्यवेक्षण प्रतिवेदनका सुझावलाई आयोगले सदैव गम्भीर रुपमा लिइ कार्यान्वयन गरिरहेको बताउनुभयो । 

आयोगका सचिव रविलाल पन्थले पर्यवेक्षकले निष्पक्षतापूर्वक तोकिएको मतदानस्थलमा गई आयोगले गरेका व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा  प्रतिवेदनमा उल्लेख गर्न पर्यवेक्षकलाई आग्रह गर्नुभएको आयोगका प्रवक्ता  नीता अर्याल पोखरेलले जानकारी दिनुभयो । 

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

केन्द्रीय बैंकले   एक सूचनामार्फत सो बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको हो ।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा उक्त कारवाही गरिएको हो । सो कारवाही आजैका मितिदेखि लागू हुनेछ । 

सो बैंकले थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

निर्वाह भत्तामा एकरुपता नल्याए आन्दोलनमा उत्रने आवासीय चिकित्सकको चेतावनी

काठमाडौँ- स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिलगायत आवासीय चिकित्सकका छ वटा सङ्घ संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरुपता नल्याए सडकमा उत्रिन बाध्य हुने बताएका छन् ।

  सामूहिक विज्ञप्ति जारी गर्दै उनीहरुले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई पनि आठौँ तहको सरकारी सरह मासिक रु ४८ हजार सुविधा कायम गर्ने प्रक्रियाअघि नबढाएमा सडकमा उत्रन बाध्य हुने बताएका हुन् । 

आठौँ तहको निर्वाह भत्ताको सुनिश्चितता गरेर मात्र निजी मेडिकल कलेजको निरीक्षण र सिट बाँडफाँटको प्रक्रिया अगाडि बढाउन उनीहरुले चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “विश्वभर लाखौँ निर्वाह भत्तासहित निःशुल्क हुने रेजिडेन्सी नेपालमा भने रु २३ लाख शुल्क तिरेपछि न्यायोचित निर्वाह भत्ताको सुनिश्चितता छैन । एउटा पूर्णकालीन दक्ष चिकित्सक भइसकेपछि आवासीय चिकित्सकका रुपमा काम गर्न पनि पैसा तिर्नुपर्ने र न्यायोचित पारिश्रमिक नपाउाँदा नेपालबाट बर्सेनि हजारौँ चिकित्सक विदेशिने गरेका छन् ।”

आवासीय चिकित्सकहरुको सङ्घर्ष समिति र सरकारबीच २०८० साल असोज १३ गते आवासीय र इन्टर्न चिकित्सकको निर्वाह भत्तामा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने निर्णय भएको थियो । उक्त निर्णय सहजीकरण गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको थियो ।

अहिलेको अवस्थामा एउटा पूर्णकालीन चिकित्सकलाई निजी कलेजले मासिक रु १८ हजार दिएर हप्ताको एक सय २६ घण्टासम्म काम लगाइ राखेको आवासीय चिकित्सकहरुको दाबी छ । 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा शेषराज घिमिरे, राष्ट्रिय आवासीय चिकित्सक एशोसिएशन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा उत्तम चौलागाईं, रेजिडेन्ट एशोसिएशन अफ न्याम्स वीर अस्पतालका अध्यक्ष डा सुनिल अर्याल, जुनियर रेजिडेन्ट व्यलफेयर सोसाइटी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा मनोज आचार्य, रेजिडेन्ट डाक्टर एशोसिएशन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा दीक्षान्त आचार्य र रेजिडेन्ट डा व्यलफेयर्स सोसाइटी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा भानुभक्त ढकालको समूहले आयोगको निर्णयप्रति आपत्ति जनाएको हो ।

आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन निर्देशन दिनुभएको थियो । बैठकमा निर्वाह भत्ताको सुनिश्चितता विनै सिट बाँडफाँटको प्रक्रियाअघि बढेको भन्दै चिकित्सकहरुले विरोध जनाएका हुन् ।

मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा

म्याग्दी, १२ मङ्सिर : घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।

“दुुई÷तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।”

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् । 

चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिनुभएको हो । “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भन्नुभयो, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।”

पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको रु दुुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको रु एक सय ५० र सँगै तस्बिर खिचाउँदा रु ५० शुल्क तिर्नुपर्छ । 

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताउनुभयो । “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”

मार्फाका गल्लीहरुको नामकारण

मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । 

पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उहाँले बताउनुभयो । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ । 

“विद्युत्को तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।”

संस्कृति र प्रकृतिमा धनी

मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ । 

मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ । “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।”

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीआँै अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ । 

वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा आएका रामशरण अधिकारीले बताउनुभयो । 

लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ । 

मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । 

मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ ।

जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिनुहुन्छ । 

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् । 

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानी विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो । 

मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् । 

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान (सुनसरी), १२ मङ्सिरः सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।”

तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।

मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।”

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।

साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो । उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

गलकोट (बागलुङ) १२ मङ्सिरः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।

“दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भन्नुभयो । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।

यसैगरी, बिहँुदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौँ, १२ मङ्सिरः देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

ऊर्जा मन्त्रालय मातहत आठ राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौँ, १२ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ ।

पुनःनिर्माणको काम भइरहेको सो आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भौतिक प्रगतिको दृष्टिमा भने सो आयोजना बाहेक अन्य आयोजनाको अवस्था भने अपेक्षित राम्रो छैन ।

सो मन्त्रालय मातहत रहेका सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपनि अन्य काममा उल्लेखनीय प्रगति हुन सकेको छैन । सो आयोजनाको भौतिक प्रगति ३४ दशमलव ९० प्रतिशत र वित्तीय प्रगति ३१ दशमलव ४९ प्रतिशत बराबर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही दिन पहिले पेस गरिएको विवरण अनुसार, सो आयोजनाको बाँधस्थल तथा विद्युत् गृहको ठेक्का व्यवस्थापनमा जटिलता देखिएको छ ।

बिपी राजमार्गबाट हेभी मालसामानको ढुवानी, बाँधस्थल तथा विद्युत्गृह निर्माण व्यवसायीले स्रोतसाधन तथा जनशक्तिको न्यून परिचालन गरेका कारण प्रगति हुन नसकेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

कूल एक लाख २२ हजार हेक्टरमा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने र ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो आयोजना आर्थिक वर्ष २०८५/८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आव २०६१/६२ देखि सुरु भएको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्रै भएको छ । आयोजना सुरु भएको २० वर्ष पूरा भए पनि अदालतमा विचाराधीन विषयहरुको फैसला समयमा नहुँदा कार्यान्वयनमा द्विविधा उत्पन्न भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया झन्झटिलो र विवादित हुन पुगेको छ । जग्गा प्राप्तिमा नै लामो समय लाग्दा आयोजनाको कार्यान्वयनमा समस्या पैदा भएको छ । सिञ्चित क्षेत्रमा बस्ती विकास र कृषि भूमिको खण्डीकरण भएको छ ।

यस्तै, डुडुंवा नहरमा अतिक्रमण भएको छ । कूल ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको सो आयोजनाको कूल लागत रु ५२ अर्ब ८९ करोड छ । सो आयोजनालाई अगाडि बढाउने उपायका रुपमा मुद्दाको फैसला, सरलीकृत जग्गा प्राप्ति र कृषि भूमिको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको छ ।

नदी पथान्तरण आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजनामा पनि निर्माण व्यवसायीको व्यवस्थापन तथा स्रोतसाधनको कमी रहेको छ । यस्तै, जनशक्ति परिचालनमा रहेको कमजोरीले आयोजनाको काम प्रभावित भएको छ । कार्यानुभव कमीले डिजाइन समीक्षामा समस्या, हरेक वर्षको बाढीको गेग्रान सफा गरी काम गर्नुपर्ने, परामर्श सेवाको अवधि सकिने अवस्थामा रहेको छ ।

उच्च कार्य समूह बनाइ प्राविधिक काममा सहजीकरण गर्ने र ठेक्का व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्था छ । आव २०७१/७२ मा सुरु भएको सो आयोजना आव २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल लागत रु ३६ अर्ब ८० करोड बराबर रहेको उक्त आयोजनाले ४६ दशमलव आठ मेगावाट बिजुली र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बबई सिँचाइ आयोजनामा पनि खरिद गुरुयोजनाअनुसार बजेट व्यवस्थापन हुन सकेको छैन । आव २०४५/४६ देखि सुरु भएको सो आयोजना आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विद्यमान समस्याका कारण पूरा हुनेमा आशंका रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । कूल ३६ हजार हेक्टर कृषियोग्य भूमिामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको संशोधत लागत रु १८ अर्ब ९६ करोड छ ।

आव २०६७/६८ मा सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजना आव २०८०/८१ मै सम्पन्न हुनुपर्ने कार्यतालिका थियो । पहिलो चरणमा १४ हजार तीन सय कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने र दोस्रो चरणमा थप २४ हजार हेक्टर कृषियोग्य भूमिलाई सिञ्चित गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति ७४ दशमलव ३६ प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३९ प्रतिशत पुगेको छ । सिञ्चित क्षेत्रको बचावट तथा कर्णाली नदी नियन्त्रणअन्तर्गत निर्माण भएका संरचना भत्काएर कर्णाली नदीले बगाएका कारण तत्काल पुनःनिर्माण गर्नुपर्ने अवस्था छ ।

आव २०६३/६४ मा सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २३ दशमलव ५० प्रतिशत र वित्तीय प्रगति २३ दशमलव ४९ प्रतिशत छ । कूल ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेर सुरु भएको आयोजनाको कूल लागत रु ३५ अर्बृ दुई करोड बराबर छ ।

मुआब्जा वितरणमा ढिलाइ भएको, स्वचालित ढङ्गले महाकाली सन्धिअनुसार पानी प्राप्त हुन नसकेको, दोधारा चाँदनी क्षेत्रमा प्राप्त गर्ने १० क्यूमेक्स पानी प्राप्त हुन भारतीय भूमिमा संरचना निर्माण हालसम्म सुरु नभएका विषयलाई आयोजनाले समस्याका रुपमा चित्रण गरेको छ ।

मुआब्जा वितरणमा मात्रै रु ४२ अर्ब ८७ करोड खर्च भएको बुढीगण्डकी आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको यकिन हुन सकेको छैन । कूल एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको भौतिक प्रगति १० प्रतिशत मात्रै छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित प्रगति नभएपछि केही समाधानका उपायसमेत अगाडि सारेको छ । त्यसमा राष्ट्रिय गौरवका आयोजना छनौटको निश्चित मापदण्ड लागू गर्ने, आयोजना कार्यान्वयनका लागि ‘सनसेट ल’ लागू गर्ने तयारी गरेको छ । आयोजना तयारी चरणको सबै कार्य सम्पन्न गरेर मात्रै कार्यान्वयनमा जाने, जिम्मेवार पदाधिकारीलाई आयोजनाको प्रगतिप्रति उत्तरदायी र जवाफदेही बनाउन गृहकार्य भइरहेको छ ।

सङ्घीय तथा प्रादेशिक निकाय र स्थानीय तहसँग नतिजामूलक समन्वय गर्ने,े दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन र कुशल विनियोजन आयोजनाको समग्र तथा आयोजना अन्तर्गतका ठेक्काहरुको चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने सरकारको बुझाइ छ ।