`

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौँ, ११ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छभने यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

गुणस्तरीय बीउको उत्पादन गरी प्रभावकारी वितरण गरिनुपर्छः कृषिमन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि यहाँ सुरु भएको पन्ध्रौँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले सबै कृषिजन्य बालीको उत्पादनको आधारभूत स्रोत बीउ भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायका साथै निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकाले आपसी सहकार्य र समन्वयबाट उत्पादन वृद्धिमा सबै केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेको बताउँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालै बीउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढिरहेको उल्लेख गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बीउ उत्पादकहरू र कृषकको सहभागिता छ ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

अवरुद्ध राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा

काठमाडौँ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो ।

सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मङ्गलबारदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ ।

“सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मङ्सिरः पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५ लाखको अदुवा, रु छ करोड ४८ लाखको बन्दाकोभी, रु एक करोड ५५ लाखको मसुरो दाल, रु ५१ लाख १९ हजारको जडीबुटी र रु ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा रु २२ करोड ३१ लाखको गेडागुडी, रु १५ करोड ३० लाखको आलु, रु १४ करोड १३ लाखको ताजा फलफूल, रु ११ करोड सात लाखको लसुन, रु छ करोड ४४ लाखको कोदो, रु पाँच करोड ३४ लाखको सागसाब्जी र रु पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ ।

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँ बताउनुहुन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।

पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।

चीनले खाद्यान्नलाई खेर जान नदिने

चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्य योजनाको घोषणा गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को सामान्य कार्यालयहरूले अगाडि सारेको योजनाअनुसार खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई नियन्त्रण गर्न लागिएको हो ।

सन् २०२७ को अन्त्यसम्ममा चीनको खाद्यान्नको उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका क्रममा हुने नोक्सानी दर औसत अन्तर्राष्ट्रिय स्तरभन्दा कम हुनेछ ।

सरकारले क्याटरिङ उद्योग, सरकारी कार्यालय र विद्यालयका क्यान्टिन र अन्य स्थानमा हरेक व्यक्तिले खेर फाल्ने खाद्यवस्तुलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न निर्देशन दिइसकेको छ ।

यस योजनाले खानाको बचतको राष्ट्रिय जागरूकता बढाउने, खानपान उद्योग र सरकारी क्यान्टिनहरूमा खेर जाने खाद्यान्नलाई नियन्त्रण खाद्यान्नको अनावश्यक नोक्सानी र खेर फाल्ने दरलाई नियन्त्रण गर्नेछ ।

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी गर्दै डाँगी

दाङ, ११ मङ्सिरः तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताउनुभयो ।

डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत र्गाुभएको थियो । उहाँले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ ।

सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले साना र ठूलागरी दुई दर्जनबढी बाख्रा छन् ।

दसँैको समयमा १० वटा खसी आठ वटा बोका बिक्री गरेको डाँगीले जानकारी दिनुभयो । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी रु आठ सय र बोका जिउँदो रु सात सय ६५ का दरले बिक्री गरेको उहाँले बताउनुभयो ।

डाँगीले फार्ममा अहिलेसम्म रु १५ लाखबढी लगानी भइसकेको बताउनुभयो । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक रु १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

घाँसको पर्याप्त उत्पादन नहुँदा, दाना तथा चरणलगायत अन्य सामग्री खरिद गर्नुपरेकाले लागत खर्च बढेको पनि डाँगीले बताउनुभयो । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाए पनि आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका डाँगीले बताउनुभयो । किसानद्वारा उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न कृषिमा अनुदान, आर्थिक सहयोग तथा सीप विकासमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि, कहाँ के कति क्षति भयो ?

काठमाडौँ, ११ मङ्सिरः हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।

प्राधिकरणका अनुसार मङ्सिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो । मङ्सिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए ।

झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए । मङ्सिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ । मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । यसैगरी मङ्सिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।

मङ्सिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ । त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् । मङ्सिर ६ गते १० वटा घटना घटेकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएका उल्लेख छ ।

मङ्सिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मङ्सिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए । मङ्सिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गँैडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए ।

मङ्सिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजङ्गलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ ।

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

वीरगञ्ज (पर्सा), ११ मङ्सिरः पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

“गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएका हुन्”, उहाँले भन्नुभयो, “अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।”

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगञ्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु, ११ मङ्सिरः विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।

पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ ।

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उहाँको भनाइ छ ।

दर्नालले भन्नुभयो, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ ।

लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो

“सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ”, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले रासससँग भन्नुभयो । उहाँका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् ।

लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार÷पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताउनुभयो । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई रू २९ हजार चार सय ८० र नेपालीलाई रू ११ हजार भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौँ फर्किने गरेका छन् ।

लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ ।

फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

“सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् ।

निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।

बङ्गलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।

लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ ।

हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ ।

ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो तर उहाँमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहनुभएन ।

गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल ¥यालीको नेतृत्व गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो । उहाँमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो।

बङ्गलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिए ।

उहाँले एएफपीसँग भन्नुभयो, “समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भन्नुभयो, “उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार ¥याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।”

धार्मिक अल्पसङ्ख्यकलाई समर्थन गर्ने बङ्गलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ ।

ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) का सदस्य हुनुहुन्थ्यो ।

बङ्गलादेशमा अल्पसङ्ख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् ।

बिडिसिए कप क्रिकेटकाे तयारी पूरा, आजदेखि दशरथचन्द क्रिकेट मैदानमा सञ्चालन हुने

बैतडी, ११ मङ्सिरः एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ ।

उद्घाटनपश्चात् पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब र महारूद्र क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताका रूपमा लिइएको छ ।

यही मङ्सिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा सञ्चालन हुने सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा मङ्सिर ११ देखि प्लेट र मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् ।

प्लेट च्याम्पियनसिपमा सहभागी हुने ११ टोली रहेका सचिव बोगटीले जानकारी दिनुभयो । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता समूह इलाइट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । निङ्लाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाइसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।

मङ्सिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ । प्रतियोगिताका शीर्ष दुई टोली मङ्सिर ३० गते उपाधिका लागि भिड्नेछन् । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । जिल्ला क्रिकेट सङ्घले गत वर्षदेखि ‘ओडिआइ फरम्याट’मा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई रु २५ हजार, म्यान अफ द सिरिजलाई रु १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्यास) रहेको छ । यस्तै प्रायोजकमा पेप्सी, सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी, पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन् ।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लबले जितेको थियो । खेलाडीहरू उत्पादन र क्षमता अभिवृद्धिका जिल्लास्तरबाट प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

श्रीलङ्काको विद्युत् पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले श्रीलङ्काको ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि २० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

एडीबीले भनेको छ, “पूर्वाधारको विस्तार, आधुनिकीकरण र डिजिटलाइजेशन समाधानसहित विद्युतीय प्रणाली सुदृढीकरण र नवीकरणीय ऊर्जा एकीकरण परियोजनाले श्रीलङ्काको विद्युत मिश्रणमा नवीकरणीय ऊर्जालाई एकिकृत गर्ने, बिजुली अवरोध कम गर्ने र प्रसारण तथा वितरण घाटा कम गर्ने लक्ष्यलाई समर्थन गर्नेछ।”

एडीबीका अनुसार श्रीलङ्काले सन् २०१६ मा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गरेको छ । सन् २०२३ मा यहाँको अधिकतम माग करिब दुई हजार ८०० मेगावाट (मेगावाट) पुगेको थियो । यसमा वितरित नवीकरणीय ऊर्जाको योगदान पनि समावेश गरिएको थियो । सन् २०३० सम्ममा मागमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। सन् २०२३ मा श्रीलङ्काको कूल स्थापित विद्युत् उत्पादन क्षमता पाँच हजार १९१ मेगावाट पुगेको थियो भने सन् २०२३ मा देशको विद्युत् उत्पादनको लगभग ५० प्रतिशत थर्मल पावर प्लान्टहरूबाट आएको थियो ।

यस परियोजनाले विद्युतको प्रसारण र वितरण सञ्जालको क्षमता विस्तार गर्दै नवीकरणीय ऊर्जाको बृहत्तर एकीकरणलाई सक्षम बनाउनेछ ।

परियोजना अन्तर्गत नयाँ प्रसारण लाइन र सबस्टेसनसहित २२० किलोभोल्ट र १३२ किलोभोल्ट प्रसारण पूर्वाधार विस्तार, मध्यम भोल्टेज वितरण सञ्जालको आधुनिकीकरण र ग्रिड संरषण प्रणालीको स्तरोन्नति गर्ने बैङ्कले जनाएको छ ।

सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेली टोलीको वर्चश्व

काठमाडौँ, ११ मङ्सिरः नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ ।

नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् । सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन् । सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन् ।

मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यस्तै बलर अविनाश बोहरा भने कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौँका खेलाडी छन् ।

ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन् । सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एकजना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स (युएई)का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् ।

त्यसैगरी इङ्ग्लयाण्डको सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आइपिएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरु नेपाली यु–१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएई जाँदैछन् ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका जगत् टमाटा हुनुहुन्छ । सुदूरपश्चिममा जन्मनुभएका ६० वर्षीया टमाटाले आफ्नो टोलीले जीतका लागि खेल्ने बताउनुभयो । नेपाली टोलीका सफल प्रशिक्षकका रुपमा परिचित उहाँले एनपिएलमा आफूले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो टोलीले सय प्रतिशत दिएर खेल्ने उल्लेख गर्नुभयो ।

प्रशिक्षक टमाटाले आफ्नो टोलीको तयारी उल्लेख्य रहेको भन्दै सुदूरपश्चिम र नेपाली क्रिकेटलाई माया गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । यही नोभेम्बर २७ देखि ३० तारिखसम्म सबै विदेशी खेलाडी नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

टमाटासँग राष्टिय क्रिकेट टिम पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहको टोलीमा प्रशिक्षको भूमिका निर्वाह गरिसक्नुभएको अनुभव छ । सुदूरपश्चिम रोयल्सको ओनर भने एम्पायर स्पोर्टस् रहेको छ । त्यस्तै मेन्टरमा अष्टेलियका ब्राड हज हुनुहुन्छ । उहाँ सोमबार नेपाल आइपुग्नुभएको छ । टोलीको ब्राण्ड एम्बासडरमा भने ओलम्पियन खेलाडी दीपक विष्ट हुनुहुन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँगै काठमाडौँ गोरर्खाज लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्सल र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुदूरपश्चिमले यही मङ्सिर १८ गते विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) एनपिएलको उद्घाटन खेलमा साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट दर तोकेको छ । त्यसबाहेक अन्य एनपिएलको खेलका लागि साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय दर निर्धारण गरिएको छ ।

क्यानले प्लेअफका दिन साधारणतर्फ रु पाँच सय तथा भिआइपीतर्फ रु सात टिकट दर तोकिएको जनाएको छ । क्यानले एनपिएलको फाइनलमा भने साधारणतर्फ पाँच सय र भिआइपीतर्फ रु एक हजार मुल्य तोकेको छ । सिजनल टिकटसमेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ । त्यसका लागि साधारणतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० निर्धारण गरिएको छ । एनपिएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ ।

यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौँ, ११ मङ्सिरः काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।

‘गँगटे–गोल्फुभञ्याङ सडक’ को कालेपत्र गर्न सुरू

त्रिशूली (नुवाकोट), १० मङ्सिर : नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो ।

गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहदाँ रू एक अर्ब २० करोडको श्रोत सुनिश्चित गरेर ठेक्का लगाएको उक्त योजना सरकार परिवर्तनपश्चात कटौती हुदाँ दबाब र खबरदारी मार्फत बजेट पुनःबहाली गराउन सफल भएको स्मरण गराउदै अब कार्यान्वयनको पक्षमा कुनै कमजोरी हुन नदिन पूर्वमन्त्री डा महतले सचेत गराउनुभयो ।

“जनताको माग र देशको विकासको लागी तर्जुमा भएका योजना कार्यान्वयनसम्म ल्याउन निकै सङ्घर्ष गरेका छौँ,” नेता महतले भन्नभुयो, “कार्यान्वयनमा सडक डिभिजन र निर्माण व्यवसायीले सोहीअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ । लाभग्राही जनताले बाधा अवरोध नगरी सचेत भएर सहयोग पु¥याउनुपर्दछ ।”

आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको उक्त योजनामा बहुबर्षीय ठेक्का लगाएर गत फागुनमा नै काम सुरू हुनुपर्ने भए पनि कांग्रेस सरकारबाट बाहिरिए पश्चात योजना खारेजीको प्रक्रियामा पुगेको थियो । निरन्तरको खबरदारी र दबाबले पुनःबहाली भएको उक्त योजनाको कार्यान्वयनले यहाँको जनतामा आउने जीवनस्तरको परिवर्तनले ठूलो महत्त्व राख्ने पूर्वअर्थमन्त्री महतको भनाइ छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्ने लिखु गाउँपालिकाको ढिकुरे बजारबाट सुरू हुने उक्त योजना सूर्यगढी, तादीको छ । सडक निर्माणले जिल्लाको दुर्गम तथा पिछडिएको क्षेत्रको आर्थिक, सामाजिक एवं शैक्षित्र क्षेत्रको विकासमा चमत्कारी परिवर्तन ल्याउन सकिने नेकपा (एमाले) का नुवाकोट अध्यक्ष बद्री मैनालीले बताउनुभयो ।

योजनाअन्तर्गत ढिकुरे–समुन्द्रटार २२ किमीमा हाल कायम रहेको कालोपत्रसहितको सडकको स्तरउन्नति गर्न र समुन्द्रटा र–गोल्फुभञ्याङ २३ किमीको धुले सडकलाई स्तरउन्नतिसहित कालोपत्र गर्ने काम एकैसाथ दुई प्याकेजमा अघि बढाउन अध्यक्ष मैनालीले सुझाव दिनुभयो ।

काठमाडौँ जोडिने हुँदा अहिले दुर्गममा रहेका भूगोललाई सिधैँ राजधानीसँग जोडेर विकासका विभिन्न आयामका परिवर्तन ल्याउन सकिने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख छ ।

सडक निर्माणको जिम्मेवारी महालक्ष्मी–अमृत–जलुकेनी–जेभीले तीन वर्षभित्र पूरा गर्न रू ६८ करोड ५६ लाखमा जिम्मेवारी पाएको छ । सडक स्तरउन्नति, चौडा विस्तार, ढल नाली तयार गरेर अस्फाल्ट प्रविधियुक्त कालोपत्र गर्न तोकिएको अवधिमा कुनै समस्या नभएको निर्माण व्यवसायी सुशील फुयाँलले प्रतिबद्धता जनाउनुभयो ।

निर्माण व्यवसायीलाई तोकिएको अवधिभित्र कार्य पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति र कार्य क्षेत्रमा सुरक्षा बन्दोवस्ती मिलाउन लाभान्वित हुने चारवटै पालिकाको अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।

कार्य सम्पन्नको लागी चालु आवमा रू १० करोड मात्र बजेट प्राप्त भएको सडक डिभिजन नुवाकोटका प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो । तीन वर्षभित्र सडकको कालेपत्र सम्पन्न गर्न चालु आवमा रू ४० करोडको काम हुनुपर्ने छ ।

आत्मानन्द गोल्डकप : भाङबारी सेमिफाइनलमा

फिक्कल (इलाम), १० मङ्सिर : झापाको भाङबारी स्पोर्टिङ क्लब जिल्लाको माङसेबुङमा जारी ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको खेलमा आयोजक आत्मा–पवित्र खेलकुद समिति विरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै भाङबारी सेमिफाइनल प्रवेश गरेको हो ।

जितका लागि भाङबारीका तर्फबाट पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका तर्फबाट भने एकमात्र सान्तवाना गोल आसाङ योङहाङले फर्काए । सुरुआती अग्रता लिएको भाङबारीले अन्त्यतिर चामत्कारिक खेल प्रदर्शन गर्दै सहज जित निकाल्यो । खेलको १२औँ मिनेटमा नै पेमा तामाङको गोलमा भाङबारीले अग्रता लियो । ४५औँ मिनेटमा आयोजकका आसाङले गोल गरी बराबरीमा ल्याए । ६४औँ मिनेटमा देवेन्द्र तामाङको गोलमा भाङबारीले २–१ को अग्रता बनायो । उत्तरार्धमा चम्किएको भाङबारीका रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले इन्जुरी समयमा लगातार दुई गोल गरी ४–१ को जित दिलाए ।

खेलमा विजेता भाङबारीका देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । मङ्गलबार झापाको दुधे युथ क्लब र चुलाचुली स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सरिता राईले जानकारी दिए । गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ ।

विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् । स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१औँ जन्मोत्सवको अवसरमा आयोजित आत्मा–पवित्र खेलकुद विकास समितिको आयोजनामा सुरु भएको गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ ।

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, पीडित प्रभावित

काठमाडौँ, १० मङ्सिर : तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिनुभयो, कलङ्की घर भएकी सीता कार्की (नाम परिवर्तन) । श्रीमानले गरेको मानसिक र शारीरिक यातनाको पीडा बोकेर न्याय पाउने आशामा आयोग आइपुग्नुभएकी उहाँको पीडा सुन्ने परामर्शदाता कोही थिएनन् ।

आयोगको गेटमा नाम दर्ता गर्ने र कोठा नम्बर ३०२ मा निवेदन दर्ता गर्नेबाहेक अरु परामर्शतादाता नहुँदा उहाँ निरासै घर फर्किनुभयो । आजबाट सुरु भएको १६ दिने लैङ्गिकहिंसा विरुद्धको अभियान मनाउन आयोगका सबै कर्मचारी र पदाधिकारी बिहानैदेखि -याली गर्न र होटलमा अन्तरक्रियामा व्यस्त भए । तर, आयोगको कार्यालय आएका पीडितहरु भने गुनासो सम्म नसुनाइ फर्किए ।

सुरुमा प्रहरी कार्यालयमा पुग्नुपर्ने भएपनि कार्कीले आयोगमा केही सुझाव लिन आउनुभएको थियो । बिहे गरेको २० वर्षदेखि सम्बन्ध विच्छेदको दबाब दिएको र घर छोडेर जा भन्दै धम्की दिने गरेको उहाँले बताउनुभयो । उहाँको छोराले नै महिला आयोगमा गएर कानुनी परामर्श लिन सझुाव दिएपछि आयोग आउँदा कोही आधिकारिक व्यक्ति नभेटिएको गुनासो गर्नुभयो । “लैङ्गिकहिंसा विरुद्धको अभियान चलेको छ भन्छन्, म आयोग आएँ सम्बन्धित व्यक्ति नभेट्दा दुःख लाग्यो”, उहाँले रासससँग भन्नुभयो ।

१६ दिने अभियान सुरु भएको दिन नै बेलुका ४ बजेसम्म पाँच जना पीडित आयोगमा आएका थिए । कानुनी परामर्शदाता पाँच जना नै तोकिएका छन् । कार्यालयमा सामान्य कर्मचारीबाहेक सबै होटल केन्द्रित कार्यक्रममा व्यस्त थिए ।

दोलखाका दानबहादुर तामाङले आफू विरुद्धको उजुरी थाहा पाएपछि बुझ्नका लागि आयोग आउनुभएको थियो । दोलखाबाट उजुरी बुझ्न आउनुभएका उहाँले आज आयोगमा नाम दर्ता गरेर मात्रै फर्किनुभयो । “उहाँदेखि आएँ आयोगमा सम्बन्धित व्यक्ति कोही भेटिएन”, उहाँले भन्नुभयो, “कार्यालय नै रित्तो बनाएर हिँड्नेहरु संस्थाप्रति गैरजिम्मेवार व्यक्ति रहेछन भन्ने बुझेँ ।”

गोठाटार घर भएकी अर्की पीडित झुमाकुमारी खत्री (नाम परिवर्तन) पनि श्रीमान्बाट पीडित भएको बताउँदै घरेलु हिंसाको निवेदन लिएर आयोगमा दर्ता गर्न आउनुभएको थियो । उहाँ न्यायका लागि आयोगमा परामर्श पाउने आशामा धाइरहनुभएको छ । मुद्दाका कागजातसहित उहाँ आयोगको कार्यालय आइपुग्नुभएको थियो । त्यहाँ आधिकारीक व्यक्ति नभएपछि कागज बोकेर घरै फर्किनुभयो । एक वर्षदेखि घरेलु हिंसा र दाइजोको पीडा लिएर श्रीमान र परिवार विरुद्ध उजुरी दिनुभएकी कोटेश्वरकी रिना दाहाल पनि आयोगमा महिनौँदेखि धाइरहनुभएको छ । पीडकले प्रहरी समक्ष उपस्थित हुन आनाकानी गरेपछि उहाँ आयोगको सहयोगको अपेक्षामा हुनुहुन्छ । हरेक दिन उहाँ आयोगमा हारगुहार गर्नुहुन्छ । लैंङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा दाहालले प्रहरी कार्यालय देखि आयोग सम्म सङ्घर्ष गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, “न्याय नपाएसम्म जुनसुकै अभियान चले पनि पीडितलाई केही अर्थ हुन्न ।”

आयोगकी सचिव पार्वती अर्यालले पीडितको सेवा प्रभावित गर्ने गरी कार्यक्रम नगरिएको दाबी गर्नुभयो । उहाँले कार्यालयमा पालैपालो गरेर उच्च अधिकारीका व्यक्ति आउने जाने भइरहेको र दुई जनामध्ये एक जना मनोपरामर्शदाता कार्यालयमै सेवारत रहेको बताउनुभयो । “हामीले कर्मचारीलाई आलोपालो गरेर राखेका छौँ”, उहाँले भन्नुभयो, “पीडित प्रभावित नहुन् भनेरै आलोपालो गरेका हौँ ।”

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

लुम्बिनीमा सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन गरिने

लुम्बिनी, १० मङ्सिर : लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशका तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । “उत्पादन र उत्पादकत्व वृद्धि गर्न, सुक्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने छ”, प्रवक्ता पन्थिले भन्नुभयो, “प्रदेशको आर्थिक विकासमा परियोजनाले योगदान पु-याउने छ ।”

परियोजनाले किसानलाई व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशिलतामा सुधार गर्ने, सिँचाइको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।

व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्ने र रम्भा गाउँपालिकाको वडा नं. १ मा बुटवलबाट पहाडी लिफ्ट सिँचाइ उपआयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

‘हिंसा नसहने समाज बनाउन जरूरी छ’ – मुख्यमन्त्री आचार्य

लुम्बिनी, १० मङ्सिर : मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको ब्चिमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गर्नुभएको छ । उहाँले सबै प्रकारका हिंसा विरूद्धका अभियान चलाउन सरकार प्रतिबद्ध रहेको र यसका लागि नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरेर सरकारअघि बढेको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा लैंगिकहिंसा विरूद्धको १६ दिने अभियानको आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित सुभारम्भ कार्यक्रममा हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउन जरूरी रहेको बताउँदै यसका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधार रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले लैङ्गिकहिंसा विरूद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नुभयो । अभियानमा जनप्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ताहरूले सचेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशमा बालविवाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताका कारणले हिंसा बढेको देखिए न्यूनीकरणका लागि साझा प्रयास थालिएको जनाइएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको औपचारीक समारोह आयोजना गरेर अभियान सञ्चालन भएको घोषणा गरेको हो । कार्यक्रममा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सुधारिएको समाज निर्माण नहुँदासम्म हिंसा विरूद्धको अभियान निरन्तर चलिरहने बताउनुभयो ।

सात सयभन्दा बढी लैङ्गिक हिंसाका मुद्दा

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार प्रदेशमा गत आर्थिक वर्ष २०८०/८१ मा सात सय १९ वटा विभिन्न खाले लैङ्गिक हिंसाका मुद्दा दर्ता भएका छन् । प्रदेशमा दर्ता भएका मुद्दामध्ये छ सय ६८ वटा मुद्दा फछ्र्यौट भएका छन् । एकासी वटा मुद्दा फछ्र्यौट हुन बाँकी देखिन्छ । जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योग, बहुविवाह, बालविवाह, बोक्सी आरोप, जातिय छुवाछूत, गर्भपतन, बालयौन दुरूपयोग, अप्राकृतिक मैथुन, मानव बेचविखन जस्ता मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

प्रदेशका सबै तह र क्षेत्रमा लैङ्गिक समानता कायम गरी प्रदेशको सामाजिक तथा आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने सङ्कल्प प्रदेश सरकारले लैङ्गिक समानता नीति २०८० मा गरेको छ । महिला तथा लैङ्गिक विभेदमा परेका सबै समुदायका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मनोव्यावहारिक तबरले सशक्तीकरण गर्दै लैङ्गिक समानताका आधारमा लैङ्गिक उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्य नीतिमा समावेश छ ।

प्रदेशमा स्वीकृत भएको नीतिको प्रभावकारी कार्यान्वयनबाट नै लैङ्गिक समानताको आधार तय गर्नेमा जोड दिइएको छ । लैङ्गिकताका आधारमा हुने सबैप्रकारका भेदभाव र हिंसाको अन्त्य गर्ने, महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने उद्देश्य सरकारले राखेको छ ।

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् ।

नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा महतले नेकपा (माओवादी केन्द्र)को बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासको लागि गरिएको प्राणले अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दाबी गरे ।

“ठूला दलहरू सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउँदो पक्ष होइन,” पूर्वमन्त्री डा महतले भने, “पाटी भन्दामाथि उठेर, जनताको पृष्ठ पोषणको लागी काम गर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ ।”

सरकार सञ्चालनमा ठूलो दल कांग्रेसले पार्टीभन्दा माथि देश र जनताको पक्षमा काम गर्न प्रतिनिधिहरू खटाएको उनले स्मरण गराए । सोहीअनुसार नेकपा (एमाले)ले देश विकासको लागि सत्ता गठबन्धनको लक्ष्यअनुसार साथ दिँदै आएकाले कांग्रेस–एमालेको गठबन्धन आगामी चुनावपछि कायम हुनसक्ने उनको भनाइ छ ।


डा महतले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा ऋणभन्दा अनुदान केन्द्रित कार्यक्रमलाई कांग्रेसले जोड दिने बताए।

“चीनसँग मात्र होइन जुनसुकै राष्ट्रसँग ऋण लिन सक्ने हैसियतमा मुलुक नभएकाले अनुदान र सहयोगका कार्यक्रमलाई मात्र कांग्रेसले स्वागत गर्दछ ।” उनले भने, “चीन सरकारसँग कोभिड यता भएका अनुदानका सहमति कार्यान्वयन गर्न, आगामी दिनमा अनुदान र सहयोगको दायरा बढाउन तथा लगानी भित्र्याउने किसिमका साझा कार्यक्रममा समझदारी गर्नुपर्दछ ।”

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुने सहमति तथा सम्झौताको लागि नेपाली पक्षले सरोकारवालाको सुझावअनुसार नै प्रस्ताव लैजाने उनले विश्वास व्यक्त गरे ।

बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी

मकवानपुर, १० मङ्सिर : बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राससलाई जानकारी दिनुभयो । उक्त बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

सो बैठकले बागमती प्रदेश खेलकुद विकास परिषद्मा चार जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त परिषद्को सदस्यमा क्रमशः ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापका कल्पना खड्का नियुक्त हुनुभएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन : मन्त्री सुडी

काठमाडाँै, १० मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले कानुन बनाएर मात्रै महिला हिंसा न्यूनीकरण नहुने बताउनुभएको छ । हिंसा न्यूनीकरणका लागि समाजमा समानताको भावना जागृत गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गर्दै मन्त्री सुडीले सकारात्मक सोच र समानताको मनोभाव जागृत गर्नुपर्ने धारणा राख्नुभयो । यो भावना निरन्तर अभियानबाटै सम्भव हुने उहाँको भनाइ छ । राष्ट्रिय महिला आयोगले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले अधिकार सम्पन्न महिला बनाउनु भनेको देशको विकास र समृद्धिको मार्ग खोल्नु हो भन्नुभयो । उहाँले भन्नुभयो, “महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकारदेखि जनतासम्मको सक्रिय सहभागिता हुनुपर्छ ।”

आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिकहिंसा विरुद्धको अभियानमार्फत समाजमा विभेद गर्न हुन्न भन्ने अप्रत्यक्ष जनचेतना फैलाउन मद्दत पुग्ने बताउनुभयो । विगतभन्दा महिलामाथिका हिंसाको प्रकृति र स्वरुपमा परिवर्तन भएको बताउँदै उहाँले महिला आफन्तबाटै असुरक्षित रहेको जानकारी दिनुभयो । कार्यक्रममा योग गुरु रमेश नेपालले हिंसात्मक कुनै पनि गतिविधि गर्नु भनेको विकृत मानसिकताको परिणाम भएको बताउँदै ध्यान र योगाबाट यस्तो खराब आचरण निर्मुल गर्न सकिने सुझाव दिनुभयो । लैङ्गिकहिंसाको अवस्थाबारे अधिकारकर्मीसँग छलफल गरिएको थियो ।

लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, १० मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो ।

“कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उहाँले भन्नुभयो, “सरकारी कामको यो रवैया हुनुभएन ।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताउनुभयो ।

मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्नुभयो । “यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ ?”, मन्त्री पौडेलले भन्नुभयो, “हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौँ । कामका लागि आएका हौँ भन्ने सोच्नुपर्छ ।”

मन्त्री पौडेलले योजनामा सीमित नभइ अब कार्ययोजना लिएर कर्मचारीलाई आउन आग्रह गर्नुभयो । उहाँले विदेश भ्रमण जाने समयलाई पाँच दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गर्नुभयो । “पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔँ ।”

मन्त्री पौडेलले आमनागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कम भार पर्ने गरी काम गरिएको बताउनुभयो ।

इजिप्टमा डुङ्गा दुर्घटनामा परी १७ पर्यटक बेपत्ता

इजिप्टको रेड सीको तटमा सोमबार एक पर्यटक लिएर यात्रा गरिरहेको डुङ्गा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएको र अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

उक्त डुङ्गामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेको र स्थानीय समयअनुसार बिहान ५ः३० बजे आपतकालीन सङ्केत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुङ्गा छुटेको थियो र शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा सहरमा पुग्ने कार्यक्रम रहेको थियो ।

गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुङ्गा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको र युद्धपोतमार्फत सुरक्षित स्थानमा पु¥याएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “नौसेना र सशस्त्र बलको समन्वयमा सघन खोजी कार्य जारी छ।

गम्भीर आर्थिक सङ्कटमा परेको १० करोड ५० लाख जनसङ्ख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो । यस क्षेत्रले २० लाख मानिसहरूलाई रोजगार दिन्छ र कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ ।

सन्जितलाई स्वर्णसहित दुई पदक

काठमाडौँ, १० मङ्सिरः ‘डब्लुुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन् ।

नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका हुन् ।सन्जितले ‘क्रिएटिभ फम्स’को ‘मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायल’मा स्वर्ण जिते । उनले २६.७ अङ्क जोडे ।

‘ट्रेडिसनल फम्स’को मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे । प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ ।

प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो ।

सन्जितको यो पाचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ‘ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिप’मा स्वर्ण जितेका थिए ।

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।

सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका छन् । सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष हुन् ।

तेलङ्गाना सरकारद्वारा अदानी समूहबाट प्राप्त एक अर्ब रूपैयाँको अनुदान अस्वीकार गर्ने

तेलङ्गना सरकारले अदानी समूहले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई दिँदै आएको एक अर्ब भारतीय रूपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री रेवन्त रेड्डीले यस निर्णयको घोषणा गर्दै भन्नुभयो, “‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई धेरै कम्पनीहरूले अनुदान रकम दिएका छन् । त्यसमध्ये अदानी समूहले पनि एक अर्ब भारतीय रूपैयाँ अनुदान दिएको छ । हिजो हामीले सरकारका तर्फबाट अदानी समूहलाई पत्र लेख्दै समूहले दिएको एक अर्ब रूपैयाँ स्वीकार गर्न राज्य सरकार तयार नभएको उल्लेख गरेका छौं ।”

“म अदानी समूहको एक अर्ब रूपैयाँ स्वीकार नगर्ने राज्य सरकारको निर्णयलाई दोहोर्‍याउन चाहन्छु ।” मुख्यमन्त्री रेड्डीले भन्नुभयो, “म कुनै पनि विवादमा फस्न चाहन्नँ । आधारभूत रूपमा, मैले यसको लागि एक पैसा पनि लिएको छैन।”

तेलङ्गाना राज्य सरकारले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’मार्फत युवाहरूका लागि योगदान पुर्‍याउने एक कदम चालेको छ किनभने आज लाखौं युवाहरू सीपविहीन छन् र रोजगारी पाइरहेका छैनन्।”

उहाँले भन्नुभयो, “कर्पोरेट सामाजिक दायित्व (सीएसआर) कोषअन्तर्गत हामीले अदानी समूहबाट सैद्धान्तिक रूपमा एक अर्ब रूपैयाँको प्रतिबद्धता प्राप्त गरेका छौं । तर, अहिलेसम्म तेलङ्गना सरकारको खातामा एक रुपैयाँ पनि जम्मा भएको छैन ।”

फाउन्डेसनको तर्फबाट ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई १०० करोड रूपैयाँ सहयोग गरेकोमा हामी तपाईंप्रति आभारी छौँ । यद्यपि, मलाई माननीय मुख्यमन्त्रीले वर्तमान परिस्थिति र उत्पन्न विवादलाई ध्यानमा राख्दै रकम स्थानान्तरणको माग नगर्न निर्देशन दिनुभएको छ,” पत्रमा भनिएको छ ।

‘खेल क्षेत्र राष्ट्रको इज्जत हो ’ – पद्मा अर्याल

काठमाडौँ, १० मङ्सिरः नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा आज आयोजना गरेको ‘खेलकुदमा लैङ्गिक न्याय’ विषयक अन्तरक्रियामा उहाँले खेल क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

“महिला खेलाडीहरु आज युरोपको मैदानमा खेलिरहेका छन्, राष्ट्रका लागि यो गौरवको विषय हो”, सचिव अर्यालले भन्नुभयो, “खेल क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गर्न सक्छ, खेलाडीको बीमा, पुरस्कार र सम्मान कार्यक्रम सरकारले सुरु गरिसकेको छ ।”

महिला खेलाडीलाई आर्थिक र घर व्यवहार मिलाएर खेल खेल्न कठिनाई हुँदाहुँदै पनि व्यवसायिक दक्षता हासिल गरी राम्रो खेल प्रदर्शन गर्नु महत्वपूर्ण भएको उहाँको भनाइ छ । मुलुकको व्यवस्था परिर्वतनमा महिलाको अतुलनीय भूमिका रहेको उहाँले स्मरण गराउनुभयो ।

कार्यक्रममा रेफ्री चन्द्रबन्दना राईले महिला खेलाडीले आफ्नो दक्षता ऊर्जागर गर्ने वातावरण एकदमै कम भएको र विवाह गरेपछि खेल क्षेत्रलाई निरन्तरता दिन नसकेको अनुभव सुनाउनुभयो । पहिलो महिला रेस्लर भगवती खड्का, सीता भण्डारी, रजनी श्रेष्ठ, सारदा धिताललगायतले खुलकुद क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘महिला हिंसाविरुद्ध सँगसँगै’ भन्ने नाराका साथ महिलाविरुद्ध हुने हिंसा निवारणमा समाजका हरेक तह र तप्काका व्यक्ति वा संस्थाहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा महिला खेलाडीलाई एमाले सचिव अर्यालले जर्सी प्रदान गरी सम्मान गर्नुभएको थियो ।

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी, १० मङ्सिर – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ ।

उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ । “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी पाल्ने किसान पनि थपिँदै जानुभएको छ, सरकारले तोकेको मूल्य नियमति रूपमा पाएपछि दूग्ध किसान सन्तुष्ट हुनुहुन्छ ।”

दूधमा हुने ‘ल्याक्टो’ र ‘फ्याट’ जाँचको आधारमा प्रतिलिटर रू ६८ देखि रू ७३ सम्म किसानले पाउने गरेको सचिव नेपालीले बताउनुभयो । डेरी उद्योगले प्रतिलिटर रू ७४/७५ सम्ममा सहकारीबाट दूध खरिद गर्ने गरेको उहाँको भनाइ छ ।

पोखराको सहकारी डेरी उद्योगलाई मासिक सात सय लिटर दूध उपलब्ध गराउने सम्झौता अनुसार कारोबार भइरहेको सचिव नेपालीले बताउनुभयो । उक्त उद्योगमा आठ वटा दूध्य उत्पादक सहकारीले दैनिक रूपमा दूध उपलब्ध गराउँदै आएका छन् । उद्योगका सुपरभाइजर कृष्ण अधिकारीले ती सहकारी संस्थाबाट दिनमा ३५ सयदेखि चार हजार लिटरसम्म दूध आउने गरेको जानकारी दिनुभयो । “उद्योगले महिनामा झण्डै एक करोड रूपैयाँ बराबरको दूध किसानबाट खरिद गर्छ”, उहाँले भन्नुभयो, “बिक्री पनि सरकारले तोकेको उपभोक्ता मूल्य अनुसार भइरहेको छ ।”

डेरी उद्योगले दिनमा झण्डै रू तीन लाख बराबरको दूध गाउँका किसानबाट ल्याउने गरेको छ । सरकारले तोकेको दरमा दूधको भुक्तानी हरेक १५÷१५ दिनमा किसानलाई उपलब्ध गराउने गरिएको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो । माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाभित्र पर्ने हेम्जा, सुइखेत, पुम्दीभुम्दी र कास्कीकोटबाट दूध उद्योगमा भित्रने गरेको छ । सहकारीले किसानबाट सङ्कलन गरेर ल्याएको दूधलाई प्रशोधन र गुणस्तर सुनिश्चित गरेर मात्र बजारमा बिक्री गर्ने गरेको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो ।

खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले तय गरेको मापदण्ड अनुसार नै उद्योगले विभिन्न दूग्धजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरेर दैनिक दुई हजार लिटरसम्म बजारमा बिक्री गर्दै आएको छ ।

दूधबाहेक पनिर, दही, नौनीलगायत वस्तु डेरीले उत्पादन गर्दै आएको छ । रू दुई करोड बराबरको अत्याधुनिक उपकरणजडित उद्योगबाट छिट्टै खुवा र आइसक्रिम पनि उत्पादनको लक्ष्य लिइएको छ । विसं २०५७ मा स्थापित उक्त डेरी उद्योगले दूग्धजन्य वस्तु बेचेर मासिक आठ देखि दशलाखसम्म मुनाफा आर्जन गर्ने गरेको छ । उद्योगमा दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

डेरी उद्योगका लागि दुई वर्षअघि नेपाल सरकारले ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’मार्फत रू एक करोड अनुदान उपलब्ध गराएको सङ्घका अध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । पाँच वर्षअघि कास्कीस्थित सहकारी रजिष्ट्रार कार्यालयले पनि उपकरण खरिदका लागि रू १४ लाख सहयोग गरेको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–७ स्थित सङ्घको आफ्नै कार्यालय भवन परिसरमा डेरी उद्योग सञ्चालित छ ।

सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ : सभापति देउवा

महेन्द्रनगर (धनुषा), १० मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ ।

आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्व अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले स्व ठाकुरको योगदान स्मरण गर्नुभयो । लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका प्रजातान्त्रिक योद्धा स्व ठाकुर जस्ता नेताकै कारण मुलुकमा सङ्घीय लोकतन्त्र प्राप्त भएको उहाँले बताउनुभयो ।

सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो । त्यसका लागि सङ्घीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरुले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व ठाकुरको सपना साकार पार्न सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले मन्तव्य राख्नुभएको थियो ।

रु २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली कांग्रेसका सभापति देउवाले स्व ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।