`

राष्ट्रिय हितमा काम गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा असंलग्न परराष्ट्र नीतिलाई केन्द्रमा राखेर मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीले सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणका सन्दर्भमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँगको छलफल गर्नुभएको थियो । उक्त छलफल पछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हित हेरेर मात्रै निर्णय लिन सुझाव दिएको बताउनुभयो ।

“हाम्रो देशको हितलाई ध्यानमा राखेर, छिमेकीका मनमा कुनै शङ्का–आशङ्का छन् भने त्यसको संवेदनशीलतालाई हेरेर नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलिन रुपमा उभिन्छ र छिमेकी मुलुकका विरुद्धमा नेपालको भूमि प्रयोग गर्न दिइँदैन भन्ने स्पष्ट हुनुपर्दछ”, उहाँले भन्नुभयो, “कृषि, जलविद्युत् र पर्यटनको विकास, पर्याप्त विदेशी लगानी भित्र्याउन पहल, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि साझा अवधारणा र नवीनतम प्रविधिमा सहकार्यजस्ता विषयमा सरकारले ध्यान दिन उपयुक्त हुन्छ ।”

नेपालको बिजुली छिमेकी भारत र बङ्गलादेशमा निर्यात हुन थालिसकेको र चीनमा समेत निर्यातका लागि सम्भावना रहेकाले यस क्षेत्रमा जति सक्दो छिटो धेरैभन्दा धेरै लगानी ल्याउन पहल गर्न सुझाव दिनुभयो । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना नेपालको हितमा रहेको र यसबाट नेपालले लाभ लिनुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न सुझाव दिँदै नेपालले विकास र प्रविधिका क्षेत्रमा विश्व शक्तिका रुपमा उदाइरहेको चीनबाट लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

“नेपालले चीनसँग पारवहन सन्धिमा हस्ताक्षर गरेको छ । त्यसको सहज कार्यान्वयनका लागि चाहिने पूर्वाधार अझै बन्न सकेका छैनन् । निर्वाध पारवहन सुविधा सञ्चालनका लागि पहल गर्न जरुरी छ”, एकीकृत समाजवादी सम्मानित नेता खनालले भन्नुभयो । उहाँले बिआरआई चीनको मात्रै नभएर विश्वव्यापी अवधारणासहितको परियोजना बनिसकेकाले त्यसबाट नेपालले पनि फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालको राष्ट्रिय हित र स्वार्थअनुकुलका काम गर्न सुझाव दिएको जानकारी दिनुभयो । विभिन्न देशसँगको सम्बन्धमा नेपालले जहिले पनि आफ्नो विश्वसनीयता कायम गर्नुपर्ने तथा आफूले बोलेका कुरा कार्यान्वयन गर्न सक्ने र सम्झौताहरु मुलुकको हितमा हुनुपर्ने उहाँको भनाइ छ ।

“बिआरआईका सन्दर्भमा लगानी गर्ने विभिन्न परियोजना छन् । ती सहयोग लिने नलिने भन्ने नेपाल सरकारको कुरा हो । लिँदै लिन्न भनेर नीतिगत निर्णय सरकारले गर्नुहुँदैन”, लोहनीले भन्नुभयो, “आवश्यक परेको बेला त्यस्तो परियोजना लिइनुपर्छ । तर कसैको दबाब वा प्रभावमा नभई सहयोग लिने वा नलिने भन्ने नेपालको आफ्नो आवश्यकता हेरेर हुनुपर्छ ।”

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ १० मङ्सिर : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रममा उहाँले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनलगायत कार्यमा क्रियाशील हुन निर्देशन दिनुभयो ।

थाँती रहेका मुद्दा फछ्र्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाउन आग्रह गर्दै महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा समेत विशेष ध्यान पुर्‍याउन निर्देशन दिनुभयो । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँचवटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौताअन्तर्गत पूर्णसम्पन्न क्रियाकलाप र सङ्क्षिप्तकार्य प्रगति विवरणलगायत विषय समेटिएका थिए ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले गर्नुभएको प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणलगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासलगायत विषय समेटिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखको भर्चुअल उपस्थिति थियो ।

‘सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा’ : महासचिव पोखरेल

काठमाडौँ, १० मङ्सिर : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताउनुभएको छ । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । “जसले मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो ।

  महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि सङ्कटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताउनुभयो । 

 महासचिव पोखरेलले भन्नुभयो, “निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।” उहाँले अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने युग भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको बताउनुभयो ।

  एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसङ्गठनमा परेको समस्या समाधानमा पार्टीले पहल गर्ने बताउनुभयो । एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको उल्लेख गर्नुभयो । 

  नेपाल उद्योग तथा व्यवसायी महासङ्घका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमाले सरकारबाट बाहिरिएपछि निर्माण व्यवसायमा समस्या आउने गरेको बताउनुभयो ।

  लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष होमनाथ कोइरालाले सरकार र  निर्माण व्यवसायीको हितमा मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले व्यवसायीले भुक्तानी नपाएको कारण मर्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पु¥याउन आग्रह गर्नुभयो ।

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका छन् ।

“म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरूलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौं भनी सन्देशमा लेखेका छन् । साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उनले गरेका छन् ।

“आजका निम्ति लैङ्गिक हिंसाले आँसु बगाउनुपर्ने स्थिति रहनु हाम्रो चेतना, हाम्रो सभ्यता, हाम्रो व्यवहारप्रति एउटा ठूलो प्रश्न चिह्न हो, लैङ्गिक विभेद र हिंसा हाम्रा निम्ति कलङ्क हुन्”, सन्देशमा भनिएको छ, “हामीले चाहेको समाज एउटा न्यायपूर्ण समाज होस्, सभ्य समाज होस्, उन्नत समाज होस्, सुसंस्कृत समाज होस् । हाम्रा शास्त्राहरुमा पनि उल्लेख छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रिया:

तर बीचमा सामन्ती युगले हाम्रो त्यो उत्कृष्ट मान्यतालाई लत्यायो र महिलाहरूलाई प्रताडीत गर्ने, अपहेलित गर्ने, विभेद गर्ने र हिंसाको शिकार हुने अवस्था बन्यो, यी कुराहरुलाई हामीले हटाउँदै गएका छौँ । ”

प्रधानमन्त्री ओलीले कसैले पनि पीडा भोग्न नपरोस्, हिंसाको शिकार हुन नपरोस्, अपमानित, अपहेलित र विभेद गरिएको स्थिति महसुस गर्न नपरोस्, यस अभियानका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

“यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरूबाट, हाम्रा एकताबद्ध प्रयासहरूबाट अगाडि बढाउन जरुरी छ”सन्देशमा भनिएको छ, “एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।”

प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेखेका छन् ।

“न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिबिम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ”, सन्देशमा भनिएको छ, “सरकारका नीति कार्यक्रममा यी कुराहरू प्रतिबिम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।”

सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएका उल्लेख छ । “जसलाई शिक्षा, चेतना, कानुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो”, प्रधानमन्त्री सन्देशमा लेखेका छन्, “अपराध हिंसाको कुरा हो, यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ ।”

नेपाल प्रहरीका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ, १० मङ्सिरः नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

महिलाको शव सडक छेउमा फालेको देखिएपछि…

काठमाडौँ – मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सिसी टिभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् ।

प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौँको कालीमाटीमै भएको छ । यही मङ्सिर ७ गतेको घटना विवरण आइतबार सार्वजनिक भएपछि सबै चकित छन् । सिसी टिभीमा देखिएको उक्त दृश्यपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जिसीले जानकारी दिनुभयो ।

मल्लले सिसी टिभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ ।

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो, सङ्क्रमितको सङ्ख्या ५५ पुग्यो

पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ । यससँगै पाकिस्तानमा यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले डेरा इस्माइल खान, झोब र जाफराबादसहित तीन जिल्लामा वाइल्ड पोलियो भाइरस टाइप १ (डब्लूपीभी–१) पत्ता लागेको पुष्टि गरेको छ।

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा यस वर्ष पोलियोका छ जना बिरामी भेटिएका छन् ।

यसअघि, दक्षिणपश्चिमी जिल्ला झोब र जाफराबादमा क्रमशः तीन र दुई जनामा सङ्क्रमण देखिएको थियो ।

पाकिस्तानले पोलियो कार्यक्रम अन्तर्गत जनवरी २०२४ देखि धेरै सामूहिक खोप अभियानहरू सञ्चालन गरेको छ र बालबालिकाहरूलाई उनीहरूको घरदैलोमा सीधै खोप उपलब्ध गराएको छ।

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

भोजपुर, १० मङ्सिरः समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ ।

कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ ।
“टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो । संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकाले जीर्णद्धारको लागि सर्भे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथावत राख्दै हुनेछ ।”

यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विस्वासले मानिसहरु यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको टेम्केमैयुङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । मानिसहरु आफ्नो कुल, पित्रीको सम्झनामा सदबीज छर्नको लागिसमेत पुग्ने उहाँको भनाइ छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँससमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

यो क्षेत्र भएर सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ । यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमासमेत दर्शन गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।

मन्दिर रहेको स्थानबाट तराइँका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।

“यो एउटा ऐतिहासिक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो”, उहाँले भन्नुभयो, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचार÷प्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ । स्थानीय सरकारले यसको विकासमा ध्यान दिएको अवस्था छ ।”

संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिसहरु दैनिकजसो पुग्ने गरेका छन् । पर्यटनसँगै मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा ध्यान दिन आवश्यक रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । “टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “तर हामीले यसको सोचेजस्तो विकास गर्न सकेका छैनौँ । यसको विकाससँगै प्रचारप्रसार गरेर स्थापित पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।” यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृति प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट

बलेवा (बागलुङ), १० मङ्सिरः धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा गौतमले गण्डकी प्रदेशमा सर्वाेत्कृष्ट नतिजा ल्याएको जानकारी । गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् । हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो ।

गतवर्ष क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको थियो । यो प्रमाणपत्रले आवश्यकताका आधारमा सङ्काय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला सङ्कायमा विज्ञान र बिबिए तहमा नतिजा राम्रो निकालेको छ । क्याम्पसले पछिल्लो समय कूल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत सञ्चालन गर्दै आएको छ ।

यस्ता कामले गुणस्तर बढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो । पुस्तकालय, प्रयोगशाला र प्रविधिमैत्री पढाइको सूचक भएकाले क्यामपस अब्बल बन्दै गएको छ । पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायका विद्यार्थीले अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ ।

विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका एकसय आठ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ट परीक्षाफल पनि आइरहेको हो ।

हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा सङ्काय, मानविकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान सङ्कायमा स्नातक र बिबिएतर्फको पनि पढाइ सञ्चालन भइरहेको हो ।

युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए

लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् । सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आइतबार यहाँ आह्वान गर्नुभएको छ ।

सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भन्नुभयो, “सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ।”

उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक छ ।

सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भन्नुभयो, “हामीले राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको पुनस्र्थापनालाई सम्बोधन गर्न आवश्यक छ।”

सिरियामा सन् २०११ को मार्चदेखि गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन् । लेबनानजस्ता छिमेकी मुलुकबाट शरणार्थीहरूको स्वदेश फिर्तीले देशको पहिलेदेखि नै सङ्घर्षरत पूर्वाधारमा दबाब थपेको छ ।

बजार पठाउने तयारीमा रहेको सुन्तला बोटमै कुहिएर झर्न थालेपछि कृषक चिन्तित

म्याग्दी, १० मङ्सिरः टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।

“बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्”, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भन्नुभयो, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।”

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उहाँले भन्नुभयो, “सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हाँै । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।”

बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् ।

दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगँैचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो । जिल्लाको सुन्तला पोखरा, काठमाडाँै, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताउनुभयो ।

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर, १० मङ्सिरः जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् ।

 “हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीका श्रीमती पार्वतीले भन्नुभयो, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।”

घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उहाँले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकँुडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताउनुभयो । कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ ।

घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरुकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताउनुभयो । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पु¥याउने डर भएकाले खेतमै बाध्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

 “पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भन्नुभयो, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।” उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उहाँको भनाइ रहेको छ ।

हात्ती नियन्त्रण गरी घरमै सुरक्षितरुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पु¥याएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र (खर्रानाला) मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ ।

उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिई सकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पु¥याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् ।

लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताउनुभयो । “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उहाँले भन्नुभयो, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।”

 हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार छावासहितको हात्तीको सङ्ख्या  २४ रहेको छ । 

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मोरङ-खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताउनुभएको छ ।

निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै  समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सह–लगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “हामी निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार र स्थानीय विकासका योजनामा काम गरिरहेका छौँ ।”

मन्त्री यदावले स्थानीय बासिन्दाका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन् ।”

उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पु¥याउने मन्त्री यादवको भनाइ थियो ।

कांग्रेसको पक्षमा मतदान गर्न महामन्त्री शर्माको आग्रह

इनरुवा (सुनसरी)-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा यहाँ आइपुग्नुभएका उहाँ आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उहाँले दाबी गर्नुभयो । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उहाँको भनाइ थियो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’

काठमाडौँ, १० मङ्सिर : पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ ।

यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । 

“काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उहाँले भन्नुभयो । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्नेे विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ ।

अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।” 

प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो । “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भन्नुभयो ।

काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उहाँ  विश्वस्त हुनुहुन्छ ।

 काठमाडाँै गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको  मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी हुनुहुन्छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र  शाहब आलम हुनुहुन्छ । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ ।

त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ । 

इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गर्नुभएको छ । उहाँले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उहाँसँग  छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा हुनुहुन्छ ।

प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसक्नुभएको छ । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ । यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो ।  

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । 

चिसोले बागलुङ ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन (बागलुङ), १० मङ्सिर : चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ । 

पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ ।

“ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् । 

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।

एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै

नवलपरासी, १० मङ्सिर : पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।

काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उहाँले बताउनुभयो । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताउनुभयो ।

काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताउनुभयो ।  सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताउनुभयो । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।

त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा,साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा तय भएको छ ।

यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ७४ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह

काठमाडौँ, १० मङ्सिर : निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो । स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको स्मरण गराएको छ ।

“सवारी साधनमा लाउड स्पीकरको प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना प्राप्त हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइ सकिएकोले आचारसंहिता विपरित हुने यस प्रकारको कार्य नगर्नु हुन सम्बन्धित सबैमा पुनः स्मरण गराइन्छ”, आयोगको निर्णयमा भनिएको छ ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएकोबाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान रहेको छ ।

उक्त प्रावधान विपरित कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था रहेको सवारी धनी, चालक तथा सरोकारवाला सबैमा आयोगले जानकारी गराएको छ । यही मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौँ, १० मङ्सिर : निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।

आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ ।

उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । “आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन”, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ ।

यही मङ्सिर १६ गते आइतबार विहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।

लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो ।

“सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूका पूर्व सल्लाहकार ६५ वर्षीय लेइटर अमेरिकी मुलका इजरायली हुनुहुन्छ र हाल कब्जा गरिएको वेस्ट बैङ्कका बासिन्दा हुनुहुन्छ ।

अमेरिकी रिपब्लिकन पार्टीनिकट लेइटर सन् १९९० को दशकमा वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूको प्रतिनिधित्व गर्ने छाता समूह येशा काउन्सिलका नेतामध्ये एक हुनुहुन्थ्यो ।

उहाँ नेतन्याहूको लिकुड पार्टीका सदस्य पनि हनुहुन्छ र हाल इजरायली थिंक ट्यांकको रणनीतिक सल्लाहकारको रूपमा काम गर्नुहुन्छ ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजापट्टी आक्रमण सशक्त बनाएपछि भएको झडपका क्रममा लेइटरका छोरा मोशेको सन् २०२३ को नोभेम्बरमा गाजा पट्टीमा मृत्यु भएको थियो ।

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौँ, ९ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर, ९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताउनुभएको छ ।

भक्तपुरको गट्ठाघरमा कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन लुम्बिनीले संयुक्त रुपमा आज आयोजना गरेको ‘भगवान् बुद्धलाई कसरी चिन्ने ?’ विषयक ‘बुद्ध दर्शन सम्बन्धित एकदिवसीय अन्तर्राष्ट्रिय धम्म सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पाण्डेले बुद्धले छरेका ज्ञानको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्न र हामी एउटै भाइकुटुम्ब हौँ भन्ने बुझ्न सकिने उल्लेख गर्नुभयो । 

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई गहिराइमा बुझेर त्यसको ज्ञानलाई व्यावहारिकरुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने तर बुद्धको ज्ञानको अनुशरण नगर्ने हुँदा यसको अर्थ नरहने उल्लेख गर्दै उहाँले बुद्धको ज्ञानको अनुशरण गर्ने र शान्तिको सन्देश फैलाउने कार्य नेपालबाट हुनुपर्ने बताउनुभयो ।

नेपाल आध्यात्मिक क्षेत्र भएको र यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक धरातललाई अनुभूति गरेर फर्कन मन्त्री पाण्डेले सहभागीलाई आग्रह गर्नुभयो । “बुद्धत्वसँगै यहाँको सनातन धर्मका बारेमा बुझेर फर्कन आग्रह गर्छु”, उहाँले भन्नुभयो । 

मन्त्री पाण्डेले भन्नुभयो, “नेपालको संस्कृति र प्रकृति विविधतापूर्ण छ । यहाँ हिमालका नागरिक तराई र तराईका नागरिक हिमाल, पूर्वका नागरिक पश्चिम र पश्चिमका नागरिक  पूर्व जानसक्ने, रहनसहनमा भिज्न सक्ने र धर्म, कला, संस्कृतिलाई आत्मासात् गर्दै बन्धुत्व प्रकट गर्ने परम्परा तथा संस्कृति छ, यसलाई चिन्न जरुरी छ ।”

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष महेन्द्रबहादर पाण्डेले विश्वमा युद्ध र त्रास बढिरहेको वर्तमान समयमा बुद्धको विश्व शान्तिको सन्देश विश्वभर फैलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको संसार त्रासमा उभिएको छ । त्यसैले हामी बुद्ध जन्मेको देशका नागरिक र बुद्धको ज्ञान प्राप्त गरेका नागरिक मिलेर संयुक्तरुपमा बुद्धको विश्व शान्तिको सन्देश फैलाउन आवश्यक छ ।”

सम्मेलनमा थाइल्यान्डका प्राध्यापक, अनुसन्धानका अध्येता, बौद्ध दर्शनसँग सम्बन्धित अध्येता, बौद्धमार्गीलगायत विभिन्न देशका बौद्धमार्गी, क्याम्पसका कर्मचारी, विद्यार्थीलगायतको सहभागिता रहेको क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

इटहरीको बालग्राम चोकमा सवारीसाधन दुर्घटनामा दम्पतीको मृत्यु

इनरुवा (सुनसरी), ९ मङ्सिर- सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ । 

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् ।

फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ ।

आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताउनुभयो । उहाँका अनुसार, साँघुरो सडकका कारण आगो नियन्त्रणमा थियो ।

आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो ।

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको घोषणा गरेको हो । अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

काठमाडौँ, ९ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुक बीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो । उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो ।

प्रेस काउन्सिील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय साउथ एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताउनुभयो । “यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधान सहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा नटराज रेले साउथ एसियाभरिका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताउनुभयो । भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको सङ्गठनलाई अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको जानकारी दिनुहुँदै उहाँले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौँ, ९ मङ्सिरः निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

उपनिर्वाचन प्रचारप्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशनसमेत भइसकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच, सवारीसाधनमा ‘लाउड स्पिकर’ को प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकाले आचारसंहिताविपरीत हुने कार्य नगर्न सम्बन्धित सबैमा आयोगले पुनः स्मरण गराएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएका बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान छ ।

“यसविपरीत कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको हुँदा निर्वाचन कानुनविपरीत सवारीसाधन प्रयोग नगर्नु हुन वा प्रयोग गर्न नदिनु हुन सम्बन्धित सवारी धनी, चालक तथा सरोकारवाला सबैमा जानकारी गराइएको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि सारेका तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने आइतबार जनाएको छ ।

इरान, फ्रान्स, जर्मनी र बेलायतका उपविदेशमन्त्री स्तरीय बैठक शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले जानकारी दिनुभयो ।

“प्यालेस्टिनी र लेबनानका मुद्दाका साथै आणविक मुद्दालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा र विषयमा छलफल हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बागाईले आगामी बैठकलाई सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको वार्षिक अधिवेशनका क्रममा दुई देशसँग भएको वार्ताको निरन्तरताका रुपमा व्याख्या गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सले बिहीबार एक प्रस्ताव पारित गर्दै इरानबाट सहयोगको अभाव भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढेपछि वार्ताको पहल थालिएको हो । यसलाई आलोचकहरूले आणविक हतियार विकास गर्ने उद्देश्यले गरिएको आशङ्का गरेका छन् ।आईएईएका प्रमुख राफेल ग्रोसी तेहरानको भ्रमणबाट फर्केपछि यो उपविदेशमन्त्री स्तरीय बैठक कदम चालिएको हो ।

भ्रमणका क्रममा इरानले आईएईएको मागमा सहमति जनाएको थियो, जसमा ६० प्रतिशत शुद्धतासम्म संवर्धित हतियारयुक्त युरेनियमको संवेदनशील भण्डार सीमित गर्न भनिएको थियो ।

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले कुनै आयोजना सुुरु भएपछि त्यसको उत्पादन र उपयोगसम्बन्धी निर्माण कार्य पनि एकैसाथ गर्न आग्रह गर्दै एकीकृत आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । 

“समस्या छन् भने समाधान गर्नुपर्छ । आयोजनाहरुलाई लट्किन दिनु हुँदैन । फाइल अघि बढाएपछि त्यसका पछिपछि मान्छे पनि कुदाउने अवस्था हुनु हुँदैन । बाजेका पालामा सुरु भएका योजना नातिनातिनाका पालामा सञ्चालन हुने स्थिति हुनु हुँदैन । यो आयोजनाको ‘ब्रेक थ्रू’ भयो भनेर त्यहाँ जनताले हेर्न गएर मात्रै पुग्दैन । खेतमा पानी पुग्नुप¥यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले सपना बाँड्ने होइन, परिवर्तन र प्रतिफलको अनुभूति दिने हो । त्यसअनुसार काम गर्न सक्नुपर्छ ।” 

, प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीले ठीक ढङ्गले समयमा काम गर्नुपर्ने र सरकारी पक्षले ठेकेदारलाई अनावश्यक दुःख दिने नभई सहजीकरण गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । आयोजना सञ्चालनका क्रममा स्थानीयवासीका जायज माग भए पूरा हुनुपर्ने र नाजायज माग वा अवरोध आएमा स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायहरुको प्रस्तुतीकरण गरिएको थियो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको छ । 

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौँ, ९ मङ्सिरः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले आज सिंहदरबारमा मन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहलका लागि आग्रह गरिएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले पत्रकारितामा तस्बिरको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नोतर्फबाट सहयोगका लागि सक्दो पहल गर्ने बताउनुभयो ।