`

इटहरीको बालग्राम चोकमा सवारीसाधन दुर्घटनामा दम्पतीको मृत्यु

इनरुवा (सुनसरी), ९ मङ्सिर- सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ । 

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् ।

फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ ।

आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताउनुभयो । उहाँका अनुसार, साँघुरो सडकका कारण आगो नियन्त्रणमा थियो ।

आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो ।

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको घोषणा गरेको हो । अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

काठमाडौँ, ९ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत् भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुक बीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो । उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो ।

प्रेस काउन्सिील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय साउथ एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताउनुभयो । “यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधान सहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा नटराज रेले साउथ एसियाभरिका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताउनुभयो । भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको सङ्गठनलाई अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको जानकारी दिनुहुँदै उहाँले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौँ, ९ मङ्सिरः निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

उपनिर्वाचन प्रचारप्रसार लगायतका कार्यमा निर्वाचन आचारसंहिताको पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई आयोगबाट निर्देशनसमेत भइसकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच, सवारीसाधनमा ‘लाउड स्पिकर’ को प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकाले आचारसंहिताविपरीत हुने कार्य नगर्न सम्बन्धित सबैमा आयोगले पुनः स्मरण गराएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएका बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान छ ।

“यसविपरीत कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको हुँदा निर्वाचन कानुनविपरीत सवारीसाधन प्रयोग नगर्नु हुन वा प्रयोग गर्न नदिनु हुन सम्बन्धित सवारी धनी, चालक तथा सरोकारवाला सबैमा जानकारी गराइएको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने

इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि सारेका तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने आइतबार जनाएको छ ।

इरान, फ्रान्स, जर्मनी र बेलायतका उपविदेशमन्त्री स्तरीय बैठक शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले जानकारी दिनुभयो ।

“प्यालेस्टिनी र लेबनानका मुद्दाका साथै आणविक मुद्दालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा र विषयमा छलफल हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बागाईले आगामी बैठकलाई सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको वार्षिक अधिवेशनका क्रममा दुई देशसँग भएको वार्ताको निरन्तरताका रुपमा व्याख्या गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सले बिहीबार एक प्रस्ताव पारित गर्दै इरानबाट सहयोगको अभाव भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढेपछि वार्ताको पहल थालिएको हो । यसलाई आलोचकहरूले आणविक हतियार विकास गर्ने उद्देश्यले गरिएको आशङ्का गरेका छन् ।आईएईएका प्रमुख राफेल ग्रोसी तेहरानको भ्रमणबाट फर्केपछि यो उपविदेशमन्त्री स्तरीय बैठक कदम चालिएको हो ।

भ्रमणका क्रममा इरानले आईएईएको मागमा सहमति जनाएको थियो, जसमा ६० प्रतिशत शुद्धतासम्म संवर्धित हतियारयुक्त युरेनियमको संवेदनशील भण्डार सीमित गर्न भनिएको थियो ।

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गर्दै देशकै ढुकुटीमा रकम अभावका कारण कुनै आयोजना सञ्चालन हुन नसक्ने स्थितिमा पनि के गर्ने भन्ने निर्णयमा पुग्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले कुनै आयोजना सुुरु भएपछि त्यसको उत्पादन र उपयोगसम्बन्धी निर्माण कार्य पनि एकैसाथ गर्न आग्रह गर्दै एकीकृत आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । 

“समस्या छन् भने समाधान गर्नुपर्छ । आयोजनाहरुलाई लट्किन दिनु हुँदैन । फाइल अघि बढाएपछि त्यसका पछिपछि मान्छे पनि कुदाउने अवस्था हुनु हुँदैन । बाजेका पालामा सुरु भएका योजना नातिनातिनाका पालामा सञ्चालन हुने स्थिति हुनु हुँदैन । यो आयोजनाको ‘ब्रेक थ्रू’ भयो भनेर त्यहाँ जनताले हेर्न गएर मात्रै पुग्दैन । खेतमा पानी पुग्नुप¥यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले सपना बाँड्ने होइन, परिवर्तन र प्रतिफलको अनुभूति दिने हो । त्यसअनुसार काम गर्न सक्नुपर्छ ।” 

, प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीले ठीक ढङ्गले समयमा काम गर्नुपर्ने र सरकारी पक्षले ठेकेदारलाई अनावश्यक दुःख दिने नभई सहजीकरण गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । आयोजना सञ्चालनका क्रममा स्थानीयवासीका जायज माग भए पूरा हुनुपर्ने र नाजायज माग वा अवरोध आएमा स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायहरुको प्रस्तुतीकरण गरिएको थियो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको छ । 

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौँ, ९ मङ्सिरः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले आज सिंहदरबारमा मन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहलका लागि आग्रह गरिएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले पत्रकारितामा तस्बिरको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नोतर्फबाट सहयोगका लागि सक्दो पहल गर्ने बताउनुभयो । 

‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’

काठमाडौँ, ९ मङ्सिर : निर्वाचन आयोगले यही मङ्सिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाउने भएको छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न÷गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउने भएको छ ।

आयोगको आजको बैठकबाट उपनिर्वाचनका लागि यही मङ्सिर १३ गतेदेखि मङ्सिर १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिकस्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडाअध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको उहाँले बताउनुभयो ।

उपनिर्वाचन हुने स्थानीय तहका मतदातालाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई आह्वान गर्ने आयोगले निर्णय गरेको छ ।

ओमानका अनुभवी खेलाडी मक्सूद कर्णाली याक्समा अनुबन्ध

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो ।

बाँया हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ खेलाडी हुन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् ।ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।प्रशिक्षक मल्लले अलराउन्डर मक्सूदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए । ‘मक्सुद अनभुवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ ।’

मक्सूदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताएका छन् । उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी २० खेलमा १३६९ रन बनाएका छन् । त्यस्तै, बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन् ।

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए ।

उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ ।आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील मुलुकका लागि धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अजरबैजानको बाकुमा आज सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) को नतिजा जलवायुजन्य संकटको सामना गरिरहेका मुलुकका हितमा नरहेको उनीहरूको टिप्पणी छ ।

शुक्रबार सम्पन्न हुने पूर्वनिर्धारित तालिका रहे पनि सहमति जुट्न नसक्दा दुई दिनपछि आज बिहान कोप सम्पन्न भएको छ । कोप सकिए पनि बाकु सम्झौताप्रति अहिले आलोचना बढिरहेको छ । धनी तथा कार्बन उत्सर्जन मुलुकहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि ठोस निर्णय लिन आनाकानी गरिरहेको भन्दै एलडिसी समूहले आपत्ति जनाएको हो ।

जलवायु संकटमा मुख्य जिम्मेवार रहेका देशहरूले फेरि एक-पटक अतिकम विकसित देशहरूको अभियानलाई असफल बनाएको एलडिसीको टिप्पणी छ ।

“हामीले बाकु छाड्दै गर्दा न त महत्वाकांक्षी जलवायुवित्त लक्ष्य तोकिएको छ, न त तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने ठोस योजना । न त अनुकूलनका उपाय, क्षति तथा नोक्सानीको क्षतिपूर्तिका लागि आवश्यक व्यापक सहयोगको विषयमा स्पष्ट नतिजा दिन सकेको देखियो”, एलडिसीका अध्यक्ष इभान्स न्जेवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो असफलता मात्र होइन, विश्वासघात हो ।”

पछिल्ला तीन वर्षको अथक प्रयास, अतिकम विकसित देशहरूले न्यायका लागि गरेको इमान्दार प्रयास र समस्या समाधानका लागि गरेको मिहिनेतलाई बेवास्ता गरिएको उनको भनाइ छ । अध्यक्ष न्जेवाले शक्तिशाली राष्ट्रहरूले नेतृत्व, महत्वाकांक्षा र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका अरबौँ मानिसको जीवनप्रति कुनै ध्यान नदिएको आरोप लगाए ।

“आज सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनले एक अर्बभन्दा बढी मानिसहरूको आवाजको उपेक्षा गरिएको छ”, उनले भनेका छन्, “महत्त्वपूर्ण ‘एजेन्डा’मा सहमति जुटाउन धेरै प्रयास गरेका थियौँ, त्यो प्रयासका बाबजुद हाम्रो अपिललाई बेवास्ता गरियो । यसले यस्ता वार्ताहरूको आधारभूत विश्वासलाई कमजोर बनाउँछ र विश्वव्यापी ऐक्यबद्धताको भावनाको मजाक बनाउँछ ।”

नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्युजी) पनि असफलताको स्पष्ट प्रतीक रहेको टिप्पणी गरिएको छ । “एनसिक्युजीमा हाम्रो महत्वाकांक्षा अनुसारको सहमति भएन, यो तत्कालिक आवश्यकतासँग मेल खाँदैन । सबैभन्दा संवेदनशील क्षेत्रलाई उपेक्षा गरिएको छ । राष्ट्रिय निर्धारित योगदान (एलडिसी) र साना द्वीप राष्ट्रहरूको आवश्यकतालाई बेवास्ता गरेको छ । क्षति र नोक्सानको बेवास्ताले एलडिसीमा पर्ने मुलुकहरूलाई जलवायुजन्य संकटको पीडामा नै छोड्ने छ”, अध्यक्ष न्जेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इभान्स न्जेवा अतिकम विकसित देशहरूको समूहका अध्यक्ष र मलावी सरकारको जलवायु परिवर्तन र युएनएफसिसिसीका सम्पर्कविन्दु प्रमुखसमेत हुन्। एलडिसी समूहमा अफ्रिका, एसिया-प्रशान्त र क्यारिबियनका ४५ देशहरूको प्रतिनिधित्व रहेको छ, जसको संयुक्त जनसङ्ख्या एक अर्बभन्दा बढी छ ।

कोपमा सोचेजस्तो प्रगति भएन: वन मन्त्रालय

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुंगानाले कोपका उपलब्धि सोचेजस्तो नभएको टिप्पणी गरेका छन् । “एलडिसीको धारणा नेपालको पनि धारणा हो, कोपमा आशातीत सफलता भएन”, उनले भने, “जलवायु वित्त सहयोग एक दशमलव तीन त्रिलियन हुनुपर्ने हाम्रो माग रहेकामा जम्मा तीन सय बिलियन सहयोग हुने भनिएको छ तर एक दशमलव ती त्रिलियन दस्तावेजीकरण भएको छ । अब निरन्तर यसमा लागिरहनुपर्छ ।”

पर्वतको विषय कोपमा दस्तावेजीकरण हुनु भनेको नेपालका लागि उपलब्धिमूलक भएको र आगामी कोपमा निर्णयका रूपमा आउन सक्ने उहाँले अपेक्षा व्यक्त गरे । “कोपको निर्णयमा एनसिक्युजी अगाडि बढेको छ । बहुपक्षीय कोषको आकार बढ्नुपर्छ भनेका थियौँ, द्विपक्षीय सहायता बढाउनुपर्छ भन्ने कुरा आएको छ, यसले दातृ निकायहरूसँग पनि जलवायु वित्तका लागि पैरवी गर्न पाइन्छ”, ढुंगानाले भने, “नेपाल कार्बन व्यापारमा जाने तयारी गरिरहेको छ, अर्को पक्षले कार्बन किन्छु भनेर पनि नकिनेमा पनि अब पेरिस सम्झौतामा टेकेर अगाडि बढ्न पाइन्छ, यी नेपालको हितमा गरिएका महत्त्वपूर्ण निर्णय हुन् ।”

ठूला अर्थतन्त्र र धेरै कार्बन उत्सर्जन गर्नेहरूको जित भयो: जलवायुविद्

कोपमा उपस्थित नेपाली प्रतिनिधिहरू भने कोपका निचोडका केही एजेन्डाले उत्साहित छन् भने सहमति नजुटेका एजेन्डाले निराश बनाएको छ ।

“बहुपक्षीय वार्ता प्रक्रियाहरूमा जित्ने र हार्ने नहुनुपर्ने हो तर बाकुमा सम्पन्न कोप-२९ मा सबैभन्दा ठूला अर्थतन्त्र र सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्नेहरूको जित भयो भने जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका देशहरूलाई पछाडि पारेर जलवायु वित्त र उत्सर्जन कटौती गर्ने बारेमा न्यून उपलब्धि भएका छन्”, जलवायुविद् मञ्जित ढकालले भने, “बाकु सम्मेलनमा भएका उपलब्धिहरूलाई फर्केर हेर्दा नेपाललगायत जलवायुजन्य प्रकोपका हिसाबले संवेदनशील देशहरूलाई आवश्यक स्रोतको सुनिश्चित गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।”

कोप-२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन र लैंगीक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णयहरू लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।

ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य एनसिक्युजीका बारेमा विकसित देशहरूले विकासोन्मुख देशलाई वार्षिक तीन सय बिलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए । “विकासोन्मुख राष्ट्रहरूको माग वार्षिक एक दशमलव तीन ट्रिलियन डलर भएको समेत उल्लेख गरिएको छ, साथै जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ । क्षति र नोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका रूपमा समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ”, उनले भने ।

कार्बन उत्सर्जन घटाउनुपर्ने एजेन्डामा भने धनी मुलुकहरू सकारात्मक नदेखिएको उनको भनाइ छ । यस विशेष गरी पेट्रोलियम उत्पादन र बिक्रीमा आश्रित देशहरूको भूमिका असहयोगी रहेको जलवायु विज्ञ ढकालको टिप्पणी छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि कोप-२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्नका लागि कार्बन उत्सर्जन न्यूनीकरणमा भएका सहमति अपेक्षा गरिएअनुसार नभएको टिप्पणी गरेका छन्।

सल्लाको रूख काट्ने क्रममा रूखले च्यापिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते

बाजुरा, ९ मङ्सिर : बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहदाुर बोहराले जानकारी दिनुभयो । युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । 

रूखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका  लागि नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको छ । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

काठमाडौँ, ९ मङ्सिर : सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ ।

कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गर्नुभयो । 

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गर्नुभयो । 

“शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ,” उहाँले भन्नुभयो । जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याउनुभयो ।

सभामुख घिमिरेले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्नेमा जोड दिनुभयो । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उहाँले विश्वसामु प्रस्तुत गर्नुभयो ।

सहिष्णुता, शान्ति र मेलमिलाप प्रवद्र्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहो¥याउँदै सबै राष्ट्रलाई सहकार्य र समझदारीबाट अघि बढ्न सभामुख घिमिरले आह्वान गर्नुभयो । “शान्ति उपहार होइन; यो एउटा लक्ष्य हो,” उहाँले भन्नुभयो, “शान्तिको प्रवद्र्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ ।”

हिजबुल्लाह–इजरायलबीच तत्काल युद्धविराम गर्न इयूका उच्च कूटनीतिज्ञको आग्रह

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले लेबनानको राजधानी बेरूतको भ्रमणका क्रममा इजरायल–हिजबुल्लाह युद्धमा ‘तत्काल युद्धविराम’ गर्ने वार्ता शुरू गर्न आह्वान गर्नुभएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा आफ्नो हवाई अभियानलाई तीव्र बनाएको छ । हिजबुल्लाहले आफ्नो सहयोगी हमासको समर्थनमा लगभग एक वर्षको सीमित हवाई आक्रमणपछि इजरायलले हिजबुल्लाहविरूद्धको आक्रमणलाई तीब्र बनाएको हो ।

लेबनानी संसदका सभामुख नाबिह बेरीलाई भेटेपछि बोरेलले भन्नुभयो, “हामी तत्काल युद्धविराम र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनको एउटा मात्र सम्भावित बाटो देख्छौं।”

प्रस्ताव १७०१ ले सन् २००६ को हिजबुल्लाह–इजरायल युद्धको अन्त्य गरेको थियो र लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरू देशको दक्षिणमा एक मात्र सशस्त्र बल हुनुपर्ने उल्लेख गरेको थियो। प्रस्ताव १७०१ ले इजरायललाई लेबनानबाट सेना फिर्ता गर्न पनि आह्वान गरेको छ ।

बोरेलले आइतबार भन्नुभयो, “सेप्टेम्बरमा म आएको थिएँ । हामी लेबनानमा आक्रमण गर्ने इजरायलको पूर्ण युद्ध रोक्न सक्छौँ भन्ने लागेको थियो । त्यसो हुन सकेन ।” उहाँले भन्नुभयो, “दुई महिनापछि लेबनानमा मानवीय तथा आर्थिक सङ्कट व्यापक भएको छ ।”

फ्रान्स र वासिङ्टनले युद्धविराम प्रयासको नेतृत्व गरिरहेका छन् । अमेरिकी दूत अमोस होचस्टीनले यसै साता लेबनान र इजरायलको भ्रमण गरी प्रस्ताव १७०१ को कार्यान्वयनका आधारमा युद्धविराम योजनाबारे छलफल गर्नुभएको छ ।

“हामीले इजरायली सरकारलाई दबाब दिनुपर्छ र युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गर्न हिजबुल्लाहमाथि दबाब कायम राख्नुपर्छ,” बोरेलले भन्नुभयो ।

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

काठमाडौँ, ९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् ।

हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषलगायत छन् । अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिन के के गर्न सकिन्छ ? वर्तमान सरकार आएपछि नयाँपनका साथ कामलाई गति दिन के के नयाँपन गरियो ?  भन्ने विषयमा आयोजना प्रमुखहरुबाट स्पष्टता लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सधैँ झैँ काम गरेर नपुग्ने भएकाले नयाँ र परिवर्तित सोचका साथ उत्पादन र रोजगारी वृद्धि गर्नेगरी आयोजना अघि बढाउन आवश्यक रहेकाले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गराउन किन नसक्ने भन्ने प्रश्नलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरु र आयोजना प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ ।


गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको हो ।


प्रहरी ऐन–२०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैङ्गिक संवेदनशील, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधयेक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले जानकारी दिए ।


सार्वजनिक शान्ति प्रवद्र्धन, अपराध रोकथाम तथा नियन्त्रण गरी शान्तिसुरक्षा एवं सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरी सेवाको गठन, सञ्चालन तथा सेवाको सर्तसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न आवश्यक रहेकाले विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको कानुन महाशाखाका प्रमुख रिजालले बताए ।


त्यसैगरी, सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ सशस्त्र प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट सशस्त्र प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा फैसला कार्यान्वयन गर्नुका साथै सशस्त्र प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानुन तथा मानव अधिकारप्रति प्रतिबद्ध, व्यावसायिक र प्रभावकारी बनाउँदै शान्तिसुरक्षा एवं सुव्यवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न आवश्यक रहेकाले विधेयक अघि बढाइएको कानुन महाशाखाका प्रमुख रिजालले बताए ।


गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । त्यही अनुरुप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो ।


‘मन्त्रिपरिषद्को कार्यालयमा विधेयक पेस भयो, अब मन्त्रिपरिषद्ले विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिनेछ’, सहसचिव रिजालले भने, ‘नेपाल प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ संशोधन भए सङ्गठनलाई थप सुदृढ र कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।’


गृहमन्त्री लेखकले आफ्नो प्राथमिकतामा राखेको प्रहरी विधेयक आगामी सङ्घीय संसद्बाट पारित गराउने लक्ष्य राखेका छन् ।


‘मन्त्रीज्यूले राख्नुभएको लक्ष्यअनुरुप सबै निकायबाट सहमति लिएर विधेयक मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको छ”, उनले भने, “विधेयक पारित भएमा प्रहरीमा ३० वर्षे सेवा अवधि हट्नाका साथै प्रहरीको तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने र प्रहरी सङ्गठन समावेशी र राष्ट्रिय स्वरुपको हुनेछ ।’


गृह मन्त्रालयले दुवै प्रहरी ऐनलाई प्रतिस्थापन गरी प्रहरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको जनाएको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि दुवै प्रहरी सङ्गठनको बृहत्तर हित हुने विश्वास गरिएको मन्त्रालयले जनाएको छ ।

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तीव्रगतिमा सुरु

जनकपुर, ९ मङ्सिरः यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्रगतिमा सुरु भएको छ ।

विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्ययोजनाबद्ध रुपमा सुरु भइरहेको छ । मङ्सिर २१ गते मार्गशुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिविधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालुभक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा विभिन्न पाँच ठाउँबाट ‘डिस्पले’का माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका सिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी एवं सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि शय्या व्यवस्था तथा ट्रमासेन्टर सञ्चालन गरिने भएको छ ।

औषधिसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडक बत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्नेलगायत अन्य कार्यको तयारी भइरहेको जनाइएको छ । महोत्सव तयारी गर्ने कार्यको बाँडफाँट सकिएको छ ।

सोका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकमा विवाहपञ्चमी महोत्सवलाई भव्य एवं व्यवस्थित बनाउन तीनै तहका सरकारले गर्नुपर्ने कार्यका बारेमा निर्णायक छलफल भएको थियोे । 

गत बिहीबारको बैठकमा तीनै तहका सरकारले दोहोरो नहुने गरी मितव्ययी ढङ्गले महोत्सवको व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले बताउनुभयो । उहाँले सो बैठकका आधारमा महोत्सवको तयारी भइरहेको बताउनुभयो ।

विवाहपञ्चमी महोत्सव वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटोमा भीड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइलगायत कार्यमा बढी जोड दिइने बताइएको छ ।

महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन् । वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनलाई कुनै प्रकारको असुविधा नहुन दिन जानकी मन्दिर व्यवस्थापनले जोड दिएको छ । सो मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताउनुभयो ।

यसैबीच जनकपुर सडक डिभिजन कार्यालयले जनकपुर नगरभित्रका सडक मर्मतसम्भार कार्य अगाडि बढाएको कार्यालयका इ दीपक झाले जानकारी दिनुभयो । त्रेतायुगमा भएको रामजानकी विवाहलाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ ।

त्यसैगरी विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्ध गर्न तयारी थालेको छ । मङ्सिर शुक्लपक्ष्मीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मध्य विवाहको विधि भने यसपाली मङ्सिर २१ गते शुक्रबार परेको छ । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौँ, ९ मङ्सिरः ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।

ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनुभयो ।

अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ ।

यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ ।

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा,हालसम्म ३२ प्रतिशत भौतिक प्रगति

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।

आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो ।

तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए ।

‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ’, उनले भने ।

चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ ।

निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए ।

पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमीमा दुई लेन सडक कालोपत्र भइसकेको बताए ।

एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा छ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ ।

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग आग्रह

जुम्ला, ९ मङ्सिर : यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् ।

कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए ।

प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो । वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ ।

मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा रु ६१ करोड ४१ लाख स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो लगाएको छ ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए ।

उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले संगठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए ।

नेकपा एसले विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इञ्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन, प्रतिकिलो पाँच सयमा बिक्री

चौतारा (सिन्धुपाल्चोक), ९ मङ्सिर – साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।

छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ ।

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चार लाखसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौँ, ९ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क माग गरेको छ । विभिन्न १० स्थानीय तहमार्फत जम्मा ५६ सडक बालबालिकाको तथ्याङ्क आएकामा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाएको छ ।

पछिल्लो पाँच महिनाको अवधिमा एक हजार ६ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारी पारिवारिक पुनर्मिलन गरिएको मन्त्री सुडीले बताउनुभयो । सङ्घीयस्तरको एक निकाय प्रादेशिक इकाई तथा बाल सुधारगृहको व्यवस्थापनका लागि तयारी गर्नुका साथै बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने पनि तयारी गरेको छ ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालवालिकामुक्त बनाउने सम्बन्धमा सरोकारवाला र स्थानीय तहसँग समन्वय तथा सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ । बालबालिकामा भएको लगानीको लेखाजोखा गर्न ‘बजेट कोड’ तयार गर्ने सम्बन्धमा तयारी भइरहेको र बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधनको लागि सरोकारवालासँग सुझाव सङ्कलनको कार्य भइरहेको तथा मस्यौदा तयारी गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित

जलेश्वर (महोत्तरी), ९ मङ्सिरः चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।

उक्त अस्पतालमा दैनिक द्ुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएकोे जलेश्वर–२ का अनिलकुमार साहले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताउनुभयो ।

उहाँले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । साथै उहाँले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको राससलाई बताउनुभयो ।

पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना गरिने,एक करोड विनियोजन

गण्डकी, ९ मङ्सिरः पोखरा महानगरपालिका–२८चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट रु एक करोड विनियोजन भएको छ ।

मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि रु ३८ करोड लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्र्ने योजना सुनाउँदै उहाँले त्यसका लागि रु ७४ करोड खर्च हुने बताउनुभयो ।

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने

ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ।

अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा मनाउने भएको छ। उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वति पूजा परेकोले हरेक बर्ष संघको बार्षिक अधिवेशन सरस्वति पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ।

नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिनुका साथै केहि नयाँ कृतिहरुको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभएको छ।

संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको कुरा संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले हामीलाई जानकारी गराउनु भयो।उक्त समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने भएको छ। उक्त सभाबाट आफ्नो भावि योजना एवं कार्यदिसा तय गर्ने जानकारी समेत संघबाट प्राप्त भएको छ।

चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन?

काठमाडौं – दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ ।

गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।

चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने जानकारी दिए । उनले भने, “रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ ।”

एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । सामले ‘हाथी मेरे साथी’ र चियान विक्रम अभिनीत ‘थङ्गलम’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन् ।

‘बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को चलचित्रको छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि ‘१२ गाउँ’ चलचित्र छायाङ्कन गरेका थिए ।

कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

‘बलिदान’ नेपाली समाजको यथार्थ चित्रणसँगै भव्य दृश्य र प्रविधिमाथिको उच्च प्रयोगले सिनेप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जीत’: प्रधानमन्त्री मोदी

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताउनुभएको छ ।

महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल गरेको छ वा अग्रता लिएको छ ।

त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जित्ने अनुमान गरिएको छ ।

झारखण्डमा विपक्षी भाजपाले २२ सिट जित्ने देखिएको छ भने उसको सहयोगी अल झारखण्ड स्टुडेन्ट्स पार्टी (आजसू), लोक जनशक्ति पार्टी (रामविलास) र जनता दल (युनाइटेड) ले एक–एक सिट जित्ने अनुमान गरिएको छ । यहाँका धेरै सीटमा अझै मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार हेमन्त सोरेनले भाजपाका गामलियाल हेम्ब्रोमलाई ३९ हजार ७९१ मतको अन्तरले पराजित गर्दै बरहैतमा निर्वाचित हुनुभएको छ । सोरेनलाई ९५ हजार ६१२ मत प्राप्त भएको छ भने हेमब्रोमले ५५ हजार ८२१ म्त प्राप्त गर्नुभएको छ ।

सोरेन अब जेएमएम नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा देखिनुभएको छ ।

–प्रधानमन्त्री मोदीद्वारा आभार प्रकट–

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिनुभएको छ ।

सन्देशमा उहाँले लेख्नुभएको छ, “विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौं । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेष गरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

उहाँले थप्नुभयो, “यो स्नेह र न्यानोपन अतुलनीय छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ। जय महाराष्ट्र!”

प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिनुभएको छ ।

–काङ्ग्रेस सामाजिक न्यायका लागि लड्ने अध्यक्ष खड़गेको भनाइ–

काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले पनि झारखण्ड र महाराष्ट्रको चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गर्दै एक्समा गरिएको पोष्टमा खड़गेले झारखण्डका लागि लेख्नुभएको छ, “झारखण्डका जनताले आफ्नो सार्वजनिक अधिकार, पानी, जङ्गल, भूमिको मुद्दालाई प्राथमिकताका साथ रोजेका छन् । उहाँले ‘विभाजनकारी र झूटको राजनीतिलाई अस्वीकार गर्दै’ भन्नुभयो, “हामीले संवैधानिक संस्थाहरूको दुरुपयोगको खेललाई परास्त गरेका छौं ।” उहाँले हेमन्त सोरेन र गठबन्धनका सबै नेतालाई धन्यवाद दिनुभएको छ भने सबै काङ्ग्रेस कार्यकर्तालाई हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले सामाजिक न्यायका लागि लड्नुपर्छ, जनताको आवाजलाई उच्च राख्नुपर्छ, जवाफदेही सरकार बनाउनुपर्छ । विश्वास अक्षुण्ण छ ।”

महाराष्ट्रको चुनावी परिणामबारे कांग्रेस अध्यक्ष खड्गेले लेख्नुभएको छ, “महाराष्ट्रको परिणाम अनपेक्षित छ । पार्टीले यी परिणामहरूको तहसम्म पुग्न र वास्तविक कारणहरू बुझ्न प्रयास गरिरहेको छ। हामी हाम्रा नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिन्छौं। हामी छत्रपति शिवाजी, शाहूजी, फुले र बाबासाहेब अम्बेडकरको विचारधाराका सच्चा प्रतीक हौं।”

भोट माग्न घरघर पुगेका राजनीतिक दलका नेतासँग कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

महोत्तरी, ९ मङ्सिर : स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।

भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् ।उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि उनीहरूका लागि मत माग्न अहिले विभिन्न दलका केन्द्रीय तहका नेताहरू आएपछि आफ्ना सुविधा र सहुलियतबारे उपल्लो तहका नेतासँग मतदाताले गुनासो गरेका हुन् ।

“यहाँका बासिन्दा ९० प्रतिशत बढी खेतीपातीमा छौँ, तर हाम्रो खेतमा सिँचाइ सुविधा छैन, समयमा बीउबिजन र मलखाद पनि पाइँदैन”, सो वडाका अगुवा किसान मोहम्मद कादिर हुसैन भन्नुहुन्छ, “मत माग्न आउने सबैजसो दलका नेतासँग यहाँका हामीले यही गुनासो गरेका छौँ ।”

रामगोपालपुर–२ मा अहिलेसम्म नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्युटब्यूरो र केन्द्रीय सदस्य एबं मधेश प्रदेश कमिटीका पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केन्द्रीय पदाधिकारीले आफ्ना दलका उम्मेदवारलाई भोट हाल्न मतदातासँग आग्रह गर्दै किसानका समस्याप्रति आफूहरू गम्भीर रहेको बताउनुभएको छ ।

यही मङ्सिर १६ गते रामगोपालपुर–२ मा हुने चुनावमा दलका सात जना र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । यो वडामा दुई हजार एक सय ४१ मतदाता छन् । वडाध्यक्ष मुकेशकुमार यादवकोे निधन भएकाले रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

रामेछापमा यस वर्ष जुनार उत्पादन बढ्यो,तीन लाख ५० हजारको जुनार बिक्री गर्ने योजना

मन्थली (रामेछाप), ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उहाँले राससलाई बताउनुभयो । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताउनुभयो । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उहाँले बताउनुभयो । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उहाँले भन्नुभयो ।

सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताउनुभयो ।

यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।

मन्थली (रामेछाप), ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उहाँले राससलाई बताउनुभयो । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताउनुभयो । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गर्नुभएको छ । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उहाँले बताउनुभयो । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उहाँले भन्नुभयो ।

सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताउनुभयो ।

यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।