`

भेरी करिडोरः नलगाड–तल्लु खण्डमा धमाधम काम हुँदै

काक्रेविहार (सुर्खेत), ५ मङ्सिर : भेरी करिडोर सुर्खेतबाट सुरु भई चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा टुङ्गिन्छ । एक सय १८ किलोमिटर लामो सडकअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको तल्लुसम्म कालोपत्र गर्ने योजनाअनुसार हाल ५६ किलोमिटर खण्डमा धमाधम काम भइरहेको छ ।

सुर्खेत, सल्ल्यान, जाजरकोट, रुकुमपश्चिम र डोल्पालाई जोड्ने यो सडक बाँकेको जमुनाहबाट सुरु भएर तिब्बतमा टुङ्गिन्छ । हाल तीन सय १० किलोमिटरमध्ये सुर्खेतबाट जाजरकोटको तल्लुसम्मको ठेक्का लागेर काम भइरहेको छ । डोल्पाको दुनैसम्म ६२ किलोमिटर सडक ठेक्का लाग्न बाँकी छ ।

करिडोरमा पुल निर्माण अलपत्र छ । नलगाड खोला, झिर्मेखोला क्याराभान हिराचन जेभीले कामको जिम्मेवारी २०७७ माघ २ गते लिएको थियो । उक्त पुल निर्माण गर्ने अन्तिम मिति सकिएर धैरै पटक म्याद थप्ने काम भइसकेको छ । त्यस्तै त्रातखोला, मैदेखोला, तासुखोलामा २०७७ माघ २ गते रायमाझी, क्याराभानले लिएको ठेक्काका पुल अलपत्र छन् ।

पुलको जग पनि खनिएको छैन । पुल निर्माणको जिम्मेवारी लिने तर काम नगरी लामो समयदेखि अलपत्र पार्ने तरिकाले समस्या हुँदै आएको छ । राज्यले पनि यस्ता खालका काम गर्नेलाई दण्ड दिने कुरामा ढिला गर्न नहुनेमा यस क्षेत्रका स्थानीयवासीको माग छ । निर्माण कम्पनी क्याराभानले नै जाजरकोट, रुकुमपश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीमा जगदुल्ला जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको रु १५ करोडको पुल अलपत्र पारेको छ । डोल्पा जाँदा वर्षायाममा पाँच ठाउँमा यातायात बदल्नुपर्ने अवस्था छ ।

भेरी करिडोरका अलपत्र पुलका बारेमा कार्यालयले निर्माण व्यवसायीसँग ताकेता गर्दा सुनुवाइ नभएको आयोजना प्रमुख सुनिल रन्जितकारले गुनासो गर्नुभयो ।

युनिसेफद्वारा नमोबुद्धका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग

काभ्रेपलाञ्चोक, ५ मङ्सिरः संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।

पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय मङ्गलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गर्नुभयो । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।

नगरमा चार सय ५३ प्रतिपरिवारलाई रु १५ हजार तथा तीन सय ९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताउनुभयो ।

सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा

दमौली (तनहुँ), ५ मङ्सिर : बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।

आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलकै झल्को दिने मूल भएको सानो आँधीमूलको संरक्षण भएमा धार्मिक पर्यटकीयस्थलका साथै वनभोजस्थलका रूपमा स्थापित गर्नसकिने स्थानीयवासी नारायण लामिछानेले बताउनुभयो ।

आँधीमूल धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा प्रख्यात रहेकाले यसलाई पनि सोहीस्थानलाई झै विकास गर्नुपर्ने उहाँले बताउनुभयो । यहाँ पानीको मूलमा तीन मिटर काठको धारा छ । वरपर विशाल वृक्ष छन् जसले उक्त क्षेत्रको सौन्दर्य बढाएको छ । सो क्षेत्रआसपासमा ४८ रोपनी सरकारी जग्गा रहेकाले यसलाई वनभोजस्थलका रूपमा विकास गर्न सकिने लामिछानेको तर्क छ ।

सो स्थानमा मन्दिर, पोखरी, पाटी, भवनलगायत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकालाई आग्रह गरिएको थानीयवासी तामप्रसाद भट्टले बताउनुभयो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उक्त ठाउँको प्रवर्द्धनका लागि पालिकाले सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो । आगामी बजेटमा उक्त स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न रकम विनियोजन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर पर्यटकीय स्थान हो । सानो आँधीमूलसम्म पुग्न कच्ची बाटो, विद्युतलगायत पूर्वाधारको व्यवस्था भएको छ । पृथ्वी राजमार्गको याम्पाफाँटबाट–थुम्का–भुजेल गाउँ हुँदै उक्त स्थानमा पुग्न सकिन्छ ।

बलात्कारको आशङ्कामा नर्वेकी युवराज्ञीका छोरा पक्राउ

नर्वेकी युवराज्ञी मेट्टे–मेरिटका २७ वर्षीय छोरालाई बलात्कारको आशङ्कामा पक्राउ गरिएको नर्वेली प्रहरीले मङ्गलबार जनाएको छ ।

मेट्टे–मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस बोर्ग होइबीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

“प्रहरीले बलात्कार बारेमा भन्नसक्ने कुरा के हो भने यो संभोग बिनाको यौन कार्यसँग सम्बन्धित छ, पीडितले उक्त कार्यको प्रतिरोध गर्न असमर्थ भएको बताइएको छ”, उनीहरूले भने । 

पछिल्लो बयानमा, प्रहरीले संदिग्धको घरको खोजी गरेको र ‘जफत’ गरेको बताएको छ ।
बोर्ग होइबीलाई शाही दम्पतीले आफ्ना सौतेनी भाइबहिनी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा (२०), राजकुमार सेभेरे म्याग्नस (१८) सँग हुर्काएको थियो तर उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।

अगस्ट ४ मा ओस्लो अपार्टमेन्टमा उनीसँग सम्बन्ध राखेको एक महिलाको रातको विवादपछि शारीरिक क्षतिको आरोप लागेको केही महिनापछि बलात्कारको गिरफ्तारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यतिबेला महिलाको शयनकक्षको एउटा भित्तामा चक्कु गाडिएको पाएको नर्वेका सञ्चारमाध्यमका रिपोर्टहरूले बताएका छन् । निषेधाज्ञा आदेश उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बरमा पनि उनलाई पक्राउ गरिएको थियो ।

सोमबार पक्राउ गरिएको बेला उनी अगस्टको घटनाको कथित पीडितसँग कारमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मङ्गलबार अगस्टको घटनासँग सम्बन्धित शङ्कामा अब घरेलु दुर्व्यवहार समावेश भएको बताएको छ ।

उनलाई हिरासतमा राख्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

होइबीको जन्म सन् १९९७ मा मेट्टे–मेरिटको सन् २००१ मा नर्वेको सिंहासनका उत्तराधिकारी युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट भएको थियो ।

नेपालमा खुला दिशामुक्त अभियानले सफलता पाएको छः मन्त्री यादव

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खुला दिसामुक्त अभियानले उल्लेखनीय सफलता पाएको बताउनुभएको छ ।

खानेपानी विभाग तथा अन्तर्राष्ट्रिय संस्था वाटर एडको सयुक्त आयोजनामा विश्व शौचालय दिवस, २०२४ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री यादवले नेपालले खुला दिसाको समस्यासँग लडेको र यस अभियानले उल्लेखनीय सफलता पाएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “खुला दिसाको अभ्यासले स्वास्थ्यमा प्रत्यक्ष जोखिम ल्याएको थियो, पानीजन्य सङ्क्रमणले बालबालिकाको जीवन जोखिममा परेको र अन्य स्वास्थ्य जटिलता निम्त्याएको थियो । खुला दिसामुक्त अभियानले सफलता पाएको छ, अधिकांशले शौचालयको प्रयोग गर्न थालेका छन् ।”

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले सुधारिएको शौचालय प्रयोग गर्ने बढेसँगै नेपालले प्रभावकारी रूपमा पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला रोगको सङ्क्रमण लाग्ने दर घटाउन सफल भएको देखाएको र देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको मन्त्री यादवको भनाइ थियो । 

उहाँले भन्नुभयो, “सरकारको दीर्घकालीन सरसफाइ गुरुयोजनाको एक भागका रूपमा सन् २०११ मा राष्ट्रव्यापी अभियान सुरु गरिएको थियो । शौचालयमा विशेष ध्यान केन्द्रित गरी थप स्वच्छ सरसफाइ अभ्यासमा पहुँच बढाएर देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो ।” 

‘एक घरः एक शौचालय’ भन्ने नाराले देशमा सन् २०१९ को सेप्टेम्बर खुला दिसामुक्त राष्ट्र बन्ने सपना साकार भएको तथा यसका लागि सबै जिल्ला र  स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्री यादवको भनाइ थियो । अभियानका क्रममा देशभर ५० लाखभन्दा बढी शौचालय निर्माण गरिएको मन्त्री यादवले बताउनुभयो ।

मन्त्री यादवले शौचालय मात्रै निर्माण गरेर नहुने उल्लेख गर्दै शौचालय प्रयोग गर्ने एवं प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनुपर्ने बानीको विकास गर्न आवश्यक रहेको बतानुभयो । 

विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत

कर्णाली-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतले विशिष्ट परिवेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको बताउनुभएको छ ।

प्रेस युनियन सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले विशिष्ट परिस्थिति सिर्जना भएकाले दुई शक्तिको समीकरणमा सरकार बनेको बताउनुभयो ।

 आसन्न उपनिर्वाचनमा कही कतै समीकरण भए पनि आगामी निर्वाचनमा अहिले गठनबन्धन गरिरहेका पार्टीहरु एक्लाएक्लै प्रतिस्पर्धामा जाने उहाँले प्रष्ट्याउनुभयो ।

कांग्रेसको एक सय दिनको अभियान र उपनिर्वाचनको प्रचारप्रसारका क्रममा कर्णाली पुग्नुभएका पूर्वअर्थमन्त्री महतले आफूले अर्थ मन्त्रालय सम्हाल्दा कर्णाली राजमार्गलगायत अपर कर्णालीका लागि ठूलो बजेट विनियोजन गरेको बताउनुभयो । यद्यपि बजेट विनियोजन गरे पश्चात् सरकारबाट बाहिरिनुपरेकाले कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको उहाँको भनाइ थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मात्रै नभएर पार्टी उपसभापति धनराज गुरुङविरुद्ध आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रवक्ता महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको हितका लागि हुने बताउनुभयो । 

बागलुङ हुँदै रुकुम, जाजरकोट, दैलेखलगायतका जिल्लामा घुम्ने क्रममा आफूले उपनिर्वाचनमा निकै उत्साह देखिएको प्रवक्ता महतको भनाइ थियो । 

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, ५ मङ्सिरः देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै

काठमाडौँ, ५ मङ्सिरः विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ  ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । आयात चार दशमलव दुई प्रतिशतले घटेको र निर्यात छ दशमलव एक प्रतिशतले घटेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ दशमलव पाँच प्रतिशतले बढेको छ ।

विवरणअनुसार, शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ ।  कूल विदेशी विनिमय सञ्चिति रु २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड छ । सरकारको खर्च रु तीन खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन रु दुई खर्ब ४८ अर्ब २६ करोड छ ।

विस्तृत मुद्राप्रदाय तीन दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव छ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव आठ  प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ प्रतिशत छ ।

चालु आवको  पहिलो तीन महिनामा कूल वस्तु आयात चार दशमलव दुई  प्रतिशतले घटी रु तीन खर्ब ९० अर्ब ७५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव सात प्रतिशतले वृद्घि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव नौ प्रतिशत, एक दशमलव पाँच प्रतिशत र सात दशमलव नौ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायत वस्तुको आयात बढेको छ । यस्तै, सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।

सो अवधिमा विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

तीन महिनामा कूल वस्तु व्यापार घाटामा चार प्रतिशतले कमी आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव एक प्रतिशतले वृद्घि भएको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ४५ अर्ब ५८ करोड बराबरको भएको थियो ।

सो अवधिमा खुद सेवा आय रु ३ अर्ब २९ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २९ अर्ब ३९ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव पाँच  प्रतिशतले वृद्धि भई रु १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब १३ करोड थियो ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय रु ३२ अर्ब ९२ करोड थियो ।

चार खर्बभन्दा बढी विप्रेषण आप्रवाह
गत असोज मसान्तसम्मको तुलनामा विप्रेषण आप्रवाह ११ पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई अर्ब ७६ करोड थियो ।

सो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब चार अर्ब सात करोड थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार  छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १३ हजार तीन सय ९७ र ४९ हजार  दुई सय ९७ रहेको थियो ।

चालु खाता र शोधनान्तर बचतमा
सो अवधिमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

त्यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) रु चार अर्ब ८१ करोड  छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) रु तीन अर्ब ३८ करोड रहेको थियो ।

यस्तै, शोधनान्तर स्थिति रु एक खर्र्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा सात दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १९ खर्ब ८८ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत असोज मसान्तमा २६ दशमलव नौ प्रतिशतले वद्धि भई रु दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत छ ।

 आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ  महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’

काठमाडौँ, ५ मङ्सिर : नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ ।

    साथै सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थल, पर्यटन राजधानी पोखरा, काठमाडौँ, चितवन र लुम्बिनीलाई पनि पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पनि यिनै क्षेत्र पर्छन । तर, पर्यटकीय सम्भावना भए पनि तराईका विभिन्न क्षेत्रमा पर्यटनको विकास अपेक्षाकृत रुपमा हुन नसकेको जानकार बताउँछन् । 

    यद्यपि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन थालेपछि त्यसक्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले धमाधम उडान सञ्चालन गर्न थालेपछि यस क्षेत्रमा विदेशी पर्यटक बढ्ने र यसले क्षेत्रीय पर्यटन प्रवद्र्धन हुने व्यवसायीको विश्वास छ । भैरहवामा उडान सञ्चालन हुँदा यसले तराई क्षेत्रमा पर्यटकीय सम्भावना उजागर गर्ने उहाँहरुको भनाइ छ । 

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का साथै थाई एयर एसिया, कतार एयरवेज, जजिरा र फ्लाई दुवईले पनि भैरहवामा उडान सञ्चालन सुरु गरिसकेका छन् । यसबाट लामो समयदेखि अन्यौलता चिर्दै भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल अझ बढेको छ ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भएसँगै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मध्यपूर्वी मुलुकबाट भैरहवामा सिधा हवाई उडान सञ्चालन भइरहेको छ, यसले विस्तारै केन्द्रिकृत पर्यटनलाई विकेन्द्रिकृत गर्न सहयोग गर्नेछ ।”

तराई पर्यटनका लागि समिति

    तत्कालीन पर्यटनमन्त्री शरत्सिंह भण्डारीले तराई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तराई क्षेत्रका पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका जिल्लालाई समेटेर विभिन्न पर्यटन समिति गठन गर्नुभएको थियो । 

    झापा, मोरङ र सुनसरीलाई समेटेर ‘विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति’ र सिरहा तथा  सप्तरीलाई समेट्ने गरी पर्यटन समिति बनाइएको थियो । त्यसैगरी बारा, पर्सा र रौतहट जिल्लालाई समेटेर ‘सिम्रौनगढ पर्यटन प्रवद्र्धन विकास समिति’ बनाइएको थियो । धनुषा, महोत्तरीलाई जोडेर ‘विजय मिथिला क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति’, ‘लुम्बिनी क्षेत्र पर्यटन विकास प्रवद्र्धन समिति’ र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई समेट्ने गरी ‘कर्णाली क्षेत्र पर्यटन विकास समिति’ गठन गरिएको थियो ।

तराई क्षेत्र घुम्नैपर्ने उत्कृष्ट १० मा

    चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले सन् २०२५ मा संसारका घुम्नैपर्ने उत्कृष्ट १० क्षेत्रमा नेपालको तराई क्षेत्रलाई सूचीकृत गरेको छ । लोन्ली प्लानेटले हालै लुम्बिनी, चितवन, बर्दियालगायत क्षेत्रलाई घुम्नुपर्ने गन्तव्यमा सुचीकृत गरेको हो । 

    “नेपालको तराई क्षेत्र हिमालय वा काठमाडौँ जति प्रख्यात नहुनसक्छ, तर यी दक्षिणी तराई क्षेत्रमा ठूलो पर्यटकीय सम्भावना छ । चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा पाइन्छ । लुम्बिनीको मायादेवी मन्दिर जहाँ इसापूर्व ५६३ मा भगवान बुद्धको जन्म भएकाले इतिहासिक छ”, लोल्नी प्लानेटले उल्लेख गरेको छ । 

    चितवनको लोकप्रियताले बर्दियालाई जहिले पनि नजिक बनाएको छ, तराईको दक्षिणपश्चिमी समतल क्षेत्रमा रहेको ‘वाइल्ड वाइल्ड वेस्ट’ पर्यटक र वन्यजन्तुप्रेमीका लागि महत्वपूर्ण छ, लुम्बिनी, बर्दिया, जनकपुरलगायत गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन सकिने उसको भनाइ छ । 

    “लोन्ली प्लानेटले तराई क्षेत्रलाई उत्कृष्ट गन्तव्यका रुपमा सूचीकृत गर्नु र संयोगले अहिले नै भैरहवाबाट धमाधम अन्तर्राष्ट्रिय हवाई उडान भइरहेकाले यसबाट पर्यटन विकास खासगरी क्षेत्रीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्छ”, बोर्डका निर्देशक लामिछाने भन्नुभयो, “यसले नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन र समग्र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।” बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को १० महिनामा नेपालमा नौ लाख ४१ हजार ३२ विदेशी पर्यटक भित्रिसकेका छन् । 

धमाधम अन्तर्राष्ट्रिय उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ । थाई एयर एसियाले गत कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको हो । कम्पनीले प्रत्येक सोमबार र बिहीबार बैंकक उडान गर्ने गरी उडान अनुमति लिएको छ । 

    कतार एयरवेजले पनि उडान सञ्चालन गरिसकेको छ । उसले प्रत्येक दिन उडान गरिरहेको छ । फ्लाई दुवईले पनि प्रत्येक दिन दुवई–भैरहवा–काठमाडौँ रुटमा उडान गरिरहेको छ । 

साथै जजिरा एयरले पनि भैरहवाबाट पुनः उडान सुरु गरेको छ । उसले गत २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै भैरहवामा उडान सुरु गरे पनि केही समयपछि प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । हाल जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । 

    दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम चुस्त बनाइएको विमानस्थलले जनाएको छ ।

बागलुङ कालिका कान्दिरमा कात्तिकमा ३५ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ), ५ मङ्सिरः गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी सङ्कलन भएको छ ।

बागलुङ कालिका मन्दिरमा बडा दसैँको असोजमा रु ४५ लाख २७ हजार भेटी सङ्कलन भएको थियो । कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ ।  जसअन्तर्गत कात्तिकमा रु ३५ लाख भेटी र अन्य आम्दानी भएको र रु १६ लाख खर्च भएको कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । 

“अघिल्लो महिना दसैँको समय भएकाले रु १० लाख भेटी बढी सङ्कलन भएको थियो, कात्तिकमा धार्मिक पर्यटकले मन्दिर भरिभराउ भएको थियो”, खड्काले भन्नुभयो, “मन्दिरको मुख्य आम्दानीको स्रोत भेटी हो, अन्य घरभाडालगायतको आम्दानी हुन्छ, आम्दानीबाट मन्दिरले तलब भत्तासहित पूर्वाधारमा लगानी गर्दै आएको छ ।”

कात्तिकमा रु ३५ लाख तीन हजार तीन सय ३२ आम्दानी भएको र रु १६ लाख १५ हजार खर्च भएको छ भने रु १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको खड्काले बताउनुभयो । आम्दानीमा भक्तजनले समर्पण गरेको भेटीबाट रु २२ लाख ३५ हजार पाँच सय ८५, चामल बिक्रीबाट रु ८० हजार पाँच सय, बोकाबाट रु ६१ हजार सात सय ५०, कुखुराबाट रु चार हजार आठ सय, राँगोबाट रु एक हजार आठ सय, सटर भाडा रु तीन लाख १४ हजार पाँच सय ४०, विवाहबाट रु एक हजार, आर्थिक सहयोग रु एक लाख २० हजार सात सय सात, परेवा बिक्रीबाट रु छ लाख ७० हजार सात सय ५० व्रतबन्धबाट रु छ सय, पण्डितबाट रु ११ हजार चार सय आम्दानी भएको अध्यक्ष खड्काले बताउनुभयो । 

मन्दिर व्यवस्थापन समितिअन्तर्गत कात्तिकमा रु १६ लाख १५ हजार खर्च भएको छ । खर्चअन्तर्गत कर्मचारीको तलबमा रु चार लाख आठ हजार पाँच सय, बिजुलीमा रु ५० हजार, अतिथि सत्कारमा रु एक  लाख ५५ हजार, उपहारमा रु एक लाख, पूर्वाधार विकासमा रु छ लाख १० हजार नौ सस, पोसाकमा रु २६ हजार, खाद्यान्नमा र आवासमा ८५ हजार पाँच सय, विज्ञापनतर्फ रु १८ हजार पाँच सय, सांस्कृतिक कार्यक्रममा रु एक लाख ६० हजार छ सय खर्च भएको कालिका गुठीका कुमार खड्काले बताउनुभयो । 

पछिल्लो समय मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढेको छ । दसैँयता मुक्तिनाथ जाने, ढोरपाटन जाने पर्यटक कालिका मन्दिर आउँदा मन्दिरमा दैनिकजसो भीड लाग्ने गरेको छ । 

अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौँ, ५ मङ्सिरः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएकामा आजका लागि बढेर एकको खरिददर एक सय ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार अघिल्लो दिन पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएकामा आजका लागि भने बढेर एकको खरिददर एक सय ७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा, बिक्रीदर ८७ रुपैयाँ ९० पैसा निर्धारण भएको जनाएको छ ।

साथै आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा,  तथा बिक्री दर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५६ पैसा तथा बिक्रीदर एक सय एक रुपैयाँ ०१ पैसा कायम भएको छ । 

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १५ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १० पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ, ५ मङ्सिरः द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।

सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।

लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए । दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन । राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ

विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भए । नेपालको विशेषतामा अगाडि बढेको शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको पीडितलाई राहत, क्षतिपूर्ति तथा परिपूरण गर्ने र द्वन्द्वका कारणहरुको खोजी गरेर आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल जरुरी छ ।

सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । जनताका प्रतिनिधिले लेखेको संविधान जारी भयो । नेपाली नागरिक खास अर्थमा सार्वभौम भए । यस्तै, हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसक्दा समाजमा असन्तुस्टि कायमै छ । आफन्त बेपत्ता भएका नागरिकको व्यग्र प्रतिक्षाले कहिले पूर्णता पाउने हो प्रश्नहरु कायम छ ।

बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्ने, घाइतेको उपचार र क्षतिपूर्ति, पीडित परिवारको जीविका, स्वास्थ्य, शिक्षालगायतका विषयमा अपेक्षित काम हुन नसकेको गुनासो व्याप्त छ । सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ । हाल आवेदनको प्रक्रिया चलीरहेको छ । द्वन्द्वपीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन भन्ने सरकार र सम्वद्ध राजनीतिक दलको समान मत भएपनि कानुन निर्माणमा नै एक दशक लाग्दा केही आशङ््का भने कायमै थियो । पछिल्लो पटक राजनीतिक सहमतिका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भएकाले अब भने पीडितले न्याय पाउने आधार तय भएको छ ।

शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि प्रविद्ध रहेको उल्लेख थियो । सोही उद्देश्यका साथ सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गरेपनि काम पूरा नभई आयोग पदाधिकारीविहिन हुन पुग्यो ।

दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म जिम्मेवारी पूरा गरे । पछिल्लो पटक २०७९ साउन १ गतेदेखि आयोग पदाधिकारीबिहीन छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ उजुरी दर्ता भएको छ । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ ।

लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ । ऐनमा दुई आयोगका सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था छ । ऐनले गरेको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तीव्रता दिन जरुरी छ । पीडितले न्याय पाएको अनुभूति हुने गरी आयोगले काम गर्नुपर्ने धेरैको मत छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे वर्गीय, जातीय, लिङ्गिय, सांस्कृतिक उत्पिडनविरुद्ध आफूहरुले ‘जनयुद्ध’ लडेको स्मरण गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको मूल विषयका आधारमा सबै सरोकारवाला पक्ष अगाडि बढ्न्पर्ने बताउनुहुन्छ ।

शान्ति प्रक्रिया टुङ्गो लगाउनका लागि सहमति अनुसार समयसीमा निर्धारण भइ छ महिनामा टुङ्गो लगाउने भनिएपनि विविध कारणका कारणले अगाडि बढन नसकेको उहाँको भनाइ छ । राजनीतिक परिवर्तन अनुरुप नेपाली जनताको आर्थिक विकास प्रक्रिया अगाडि बढ्न नसकेको तथा संविधान निर्माणमै लामो समय लाग्ने जस्ता कारण यसबीचमा देखा परेको उहाँले बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन बनेको सन्दर्भमा विगतका कमी कमजोरी तथा सकारात्मक दुवै पक्षलाई ध्यान दिएर अब प्रक्रिया अगाडि बढ्ने उहाँको कथन छ ।

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक हुन नसक्ने विषयले सबैभन्दा बढी पीडा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शहादत हुनेले त देशका लागि बलिदान गरे भनेर चित्त बुझाउन सक्छ । तर, बेपत्ता नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद् छ ।”

देशलाई अगाडि बढाउन कमी कमजोरी सुधार गरेर, नपुगेका काम पूूरा गर्दै जानुपर्ने छ । ऐनमा भएको व्यवस्थाअनुसार, अब शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने नेता पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मुलुकको हित हेरेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारको नियन्त्रण, उद्योग धन्दाको प्रवद्र्धन, राष्ट्रियताको प्रवद्र्धनलगायतका काम गरिएमात्रै वास्तविक अर्थमा शान्ति कायम हुन सक्ने उहाँको मत छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया शान्ति प्रक्रियाको बाँकी रहेको काम शीघ्र निष्कर्षका पु¥याउने गरी सरकारले काम गरिरहेको बताउनुहुन्छ । “विस्तृत शान्ति सम्झौताको धेरै काम सकिए पनि सत्य अन्वेषण गरी पीडितलाई न्याय दिने काम पूरा हुन सकेको छैन”, मन्त्री चौरसियाले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको काम अघि बढिसकेको छ, अब जतिसक्दो छिटो पीडितले न्याय पाउनेछन् ।”

पीडितले पूर्ण रुपमा न्याय पाएको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्वद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने साझा मत रहँदै आएको छ । राजनीतिक सहमतिका आधारमा ऐन निर्माण भएको, आयोगका पदाधिकारी छनौटको प्रक्रिया सुरु भएको सन्दर्भमा पछिल्ला दिनमा पीडितले न्याय पाउने आशा भने बढेर गएको अनुभव गर्न सकिन्छ ।

पर्वतीय क्षेत्रको मुद्दाको हामीले नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि सफलता हो : सचिव खराल (अन्तर्वार्ता)

बाकु (अजरबैजान) । अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) जारी छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कोपमा भाग लिन आएका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले सम्मेलनलाई सम्बोधन गरी स्वदेश फिर्ता भइसकेका छन् । सम्मेलनमा आएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी पनि स्वदेश फर्किसकेका छन् । सम्मेलनमा यतिबेला प्राविधिक सत्र चलिरहेको छ । नेपाललगायतका विकासोन्मुख मुलुकहरुले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने, तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियस कायम राख्नुपर्ने, जलवायु वित्त  बढाउनुपर्ने, पर्वत र पृथ्वीको सुरक्षा गर्नुपर्नेलगायतका मुद्दामा पैरिवी गरिरहका छन् । यद्यपि छलफलको निचोड भने आउन बाँकी छ । यी विषयमा केन्द्रित रहेर वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालसँग राष्ट्रिय समाचार समिति (रासस)का लागि संवाददाता प्रगति ढकालले गरेको कुराकानीको अंशः

अजरबैजानको बाकुमा जारी कोप–२९ मा सहभागिता जनाउनुअघि नेपालको तयारी कस्तो थियो ?

कोप–२९ मा सहभागिता जनाउनका लागि नेपालले राम्रोसँग पूर्वतयारी गरेको थियो । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको भ्रमण कसरी सफल बनाउने र नेपालका मुद्दालाई कसरी कोप–२९ मा समावेश गराउन सकिन्छ भन्ने विषयमा हामी तयारी साथ आएका थियौ । कोपमा आउनु अघि नै कोपमा प्रस्तुत गरिने विषयमा सरोकारवालासँग व्यापक छलफल गरी उहाँहरुको धारणा समावेश गरी  स्थितीपत्र तयार गरेका थियौ । यसका साथै वार्ताकारसँग समेत छलफल गरी सात वटा विषयगत कार्यसमूह बनाएर स्थितीपत्र तयार गरेर ल्याएका थियौ । सम्मेलन सुरु हुनुअघि राष्ट्रिय जलवायु सम्मेलन गरी स्थितीपत्रमा राष्ट्रिय सहमति कायम गरिएको थियो ।

 अहिलेसम्म नेपालको उपस्थिति कस्तो छ ? 

सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रप्रमुख रामचन्द्र पौडेलले गर्नुभएको थियो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, मन्त्रालयका अन्य प्रतिनिधिहरु, अन्तरसरकारी निकायका प्रतिनिधिहरु, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकारलगायतको उपस्थित थियो । केही प्रतिनिधिहरु नेपाल फर्किसक्नुभएको छ भने केही प्रतिनिधिहरु सम्मेलनको दोस्रो सातामा चलिरहेको प्राविधिक सत्रमा नेपालको हितका लागि जलवायुसम्बन्धी ‘एजेन्डा’ कार्यन्वयनमा जोड दिइरहनुभएको छ । मन्त्रालयले महासन्धी र पेरिस सम्झौताअन्तर्गतका सात वटा विषयगत क्षेत्रमा प्रत्येकमा सहसचिवको नेतृत्वमा वार्ता टाली गठन गरी सबै समानान्तर वार्ताहरुमा नेपालको सशक्त उपस्थिति र हस्तक्षेप भइरहेको छ । त्यसैगरी माननीय मन्त्रीज्यूको नेतृत्वमा विभिन्न दातृ राष्ट्र तथा निकायसँग नेपालको हितमा द्विपक्षीय वार्ता समेत भएका छन् ।

 नेपालले कस्ता मुद्दालाई प्रथामिकताका साथ प्रस्तुत गरिरहेको छ ? 

हामीले यस वर्षको कोपमा पनि हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाइरहेका छौँ । विश्वका ४० भन्दा बढी मुलुकका राष्ट्र प्रमुख तथा एक सय ९६ मुलुकका उच्चपदस्थ प्रतिनिधिहरु सामू नेपालका राष्ट्रपतिले हिमालको सुरक्षाको मुद्दालाई प्रथामिकताका साथ प्रस्तुत गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण समस्या  बढेको र यसले निम्ताएको जोखिमका उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो । जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्राविधिक र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, समावेशितालगायतका विषयगत कार्यपत्र पनि प्रस्तुत गरेका छौँ ।

 जलवायुजन्य सङ्कटका कारण हिमालमा परेको असरका विषयवस्तु कुन तरिकाले उठाइएको छ ? 

यसपटकको कोपमा पनि विगतमा झै पर्वतीय मुद्दाका विषयमा प्राथमिकताका साथ उठाइएको छ । जलवायु वित्त बढाउन विकासित पक्ष राष्ट्रलाई सहमतिमा ल्याउन प्रयास भइरहेको छ । विगतका सम्मेलनमा जस्तै कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गरिरहेको छ । पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाइरहेको छ । यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाइएको छ ।

 सम्मेलनबाट के अपेक्षा गर्न सकिन्छ ?

पेरिस सम्झौता कार्यान्वयनका लागि सकारात्मक निर्णय हुने, कार्बन व्यापारका लागि आधारहरु तय हुने, अनुकूलन तथा जलवायु न्यूनीकरण र जलवायुजन्य हानी नोक्सानीका लागि आवश्यकता पर्ने जलवायु वित्तको परिमाण उल्लेख्य रुपमा बढ्नेमा हाम्रो अपेक्षा छ ।

 कोपमा प्रतिनिधिको भूमिका कसरी बाँडफाँट गरिएको छ ?

सम्मेनलनमा २९ वटा बैठक कक्ष छन् । सबैमा समानान्तर छलफल भइरहेको छ । हामीसँग नेपालबाट आएका प्रतिनिधिलाई फरक भूमिका दिएर छलफलमा उपस्थित गराइएको छ । फरक–फरक विषयगत क्षेत्र भएको हुनाले सबैमा हाम्रा उपस्थिति पु¥याउनुपर्ने छ । सात जना सह–सचिवहरुको नेतृत्वमा सात वटा मुख्य विषयगत क्षेत्रमा सरकारका अधिकारीहरु, जलवायु विज्ञ, नागरिक समाजका प्रतिनिधिलाई  समेत सहभागी गराई सबै वार्ता बैठकमा नेपालको उपस्थिति हुने गरी प्रबन्ध मिलाइएको छ । यो वार्ता बैठकको सङ्ख्या र विषयवस्तुको गम्भीरताको तुलानामा हामीलाई विज्ञ प्राविधिक जनशक्तिको अझै कमी भएको महसुस भएको छ ।

कोपलाई अझै बढी फलदायी बनाउनका लागि विज्ञ र  प्राविधिकहरु पनि लिएर हामीले काम गरिरहेका छौँ । सबै प्रतिनिधिले तोकिएको जिम्मेवारीभित्र रहेर काम गरिरहनुभएको छ । रातिको समयमा पनि एकैपटक  धेरै वटा समानान्तर वार्ता चलिरहेका छन् । अघिल्लो बैठकको निरन्तरता पछिल्लो बैठकमा हुने हुँदा कुनै पनि बैठक छाड्न सकिने अवस्था छैन । तसर्थ विषयगत कार्यसमूहमा तोकिएका सबै प्रतिनिधि रात अबेरसम्मका बैठकमा सहभागी हुुनुभएकोे छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी पनि कोपमा सहभागी भइ सोमबार मात्रै नेपाल फर्कनुभएको छ । उहाँले पनि विभिन्न देशका प्रतिनिधि, विकास साझेदार निकायसँग भेट गरी नेपालको पक्षमा कुराहरु राख्नुभएको थियो ।

 कोपमा अनावश्यक रुपमा धेरै जनाको उपस्थित गराइयो भनेर आलोचना समेत भइरहेको विषयमा यहाँको के धारणा छ ?

बाहिरबाट धेरै जनाको उपस्थिति भयो भनेर आलोचना पनि भइरहेको छ । जसले नेपाली प्रतिनिधिलाई हत्तोसाहित बनाउने काम भएको छ । कोपको प्रक्रिया नबुझी सञ्चारमाध्यममा आएका टिप्पणीले विवाद निम्त्याएको हो भन्ने लाग्छ । सायद कोपमा हुने प्रक्रियाको विषयमा हामीले बुझाउन नसकेको पनि हुनसक्छ ।

कोपमा कोही ‘नेगोशिएसन’मा भाग लिन जानुहुन्छ । कति जाना आफ्नो विषयगत  छलफलमा सहभागी हुनुहुन्छ । यहाँ सबैलाई भूमिका बाँडफाँट गरिएको छ । भूमिका बाँडफाँट नगरी हामीले कसैलाई पनि कोपमा ल्याएका छैनौ । हामीले यहाँबाट अन्तर्राष्ट्रिय जगतमा देखिने र सुनिने गरी काम गरिरहेका छौँ । हाम्रो निरन्तरको प्रयास र सशक्त उपस्थितिका कारण प्रभावकारी बनाउन लागिरहेका छौँ । हामीले समूह बनाएर क्रमबद्ध तरिकाले जिम्मेवारी पनि तोकेर काम गरिरहेका छौ ।

अर्को कुरा कोपमा जाने वित्तिकै उपलब्धि आइहाल्छ भन्ने पनि होइन । यतिबेला वार्ता निरन्तर रुपमा अगाडि बढिरहेको छ । आज वार्ता गर्ने वित्तिकै नतिजा आउने होइन । यी वार्ताबाट भएका निर्णयका आधारमा जलवायु वित्तका परिमाण बढ्ने, कार्बन व्यापारको आधार तयार हुने र हाम्रो जस्तो अल्पविकसित मुलुकका लागि जलवायु वित्तमा सहज पहुँच हुँदा नेपालको जलवायु अनुकुलनको पक्षमा भावी दिनहरुमा परिमाण प्राप्त हुनेछ । कोपमा द्विपक्षीय नभइ बहुपक्षीय वार्ता हुने हुँदा नेपालको पर्याप्त र सशक्त उपस्थिति हुनु आवश्यक छ । साथै निरन्तर उपस्थिति पनि उत्तिकै महत्वपूर्ण छ ।

 अन्त्यमा केही भन्नु छ ? 

यो सम्मेलन एउटा प्रक्रियाको पाटो हो । आज सहभागिता भए पनि निरन्तरको वार्तापछि मात्रै निचोड निस्कन्छ । अहिलेसम्म वार्ताकै प्रक्रिया अगाडि बढिरहेको हो । नेपाल एक्लैको प्रयासले मात्रै हामीले उठाएका जलवायुका मुद्दा स्थापित हुँदैनन् । एलडिसी, जि–७७ र चीनलगायतका समूहबाट मुद्दा कोपमा प्रस्तुत गरिएको छ । हामी नतिजाको पर्खाइमा छौ ।

हामीले आमागी सम्मेलनमा समेत के गर्ने भनेर अगाडि नै योजना समेत बनाएका छौँ । नेपाली समाज र सञ्चारमाध्यमले दिएका सुझाव र पृष्ठपोषण ग्रहण गरी आगामी कोपमा अझ बढी सुधारसहित प्रभावकारी सहभागिता जनाउने छौँ । हामीले यहाँ उठाएका पर्वतीय मुद्दालाई अहिले अन्य देशले पनि समर्थन गरेका छन् । पर्वतीय क्षेत्रको मुद्दाको हामीले नेतृत्व गरिरहेका छौँ । यो पनि हाम्रा लागि सफलता हो ।

सभामुख घिमिरेद्वारा विकास आयोजनाको निरीक्षण

झापा, ४ मङ्सिर : प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले आज झापा निर्वाचन क्षेत्र नं २ का आधा दर्जन विकास आयोजनाको निरीक्षण गर्नुभएको छ । मदन भण्डारी राजमार्गलगायत ठूला आयोजनासमेतको निरीक्षण गरेपछि उहाँले बजेट अभावमा विकास आयोजना प्रभावित बताउनुभयो ।

“योजना धेरै परेका रहेछन्, तैपनि चित्तबुझ्दो अवस्था देखिएन,” झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सभामुख घिमिरेले विकास आयोजनाको निरीक्षणपछि भन्नुभयो, “संसद्को सभामुखको रूपमा विधि निर्माणमा सम्पूर्ण शक्ति लगाउँदै आएको छु । तथापि झापा क्षेत्र नं २ को विकासमा मेरो निरन्तर चासो र प्रयास हुनेछ ।” मुलुकको शिथिल अर्थतन्त्रको असर विकास निर्माणमा परेको जनाउँदै उहाँले काठमाडौँमा धेरै समय बिताउनुपर्ने बाध्यता रहे पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले पूर्वीसीमा मेचीदेखि महाकालीसम्म जोड्ने निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर र इलामको रोङ खण्डको निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा उहाँलाई प्रदेश सांसद् चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोमदेन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा र आयोजनाका अधिकारीले मदन भण्डारी राजमार्गको प्रगति र अवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।

सभामुख घिमिरेले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी राजमार्गको निर्माणको गति सुस्त भएकामा चिन्ता व्यक्त गर्दै बजेट निकासा र प्राविधिक समस्या समाधानका लागि मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।

अर्जुनधारा–११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने नौ किलोमिटर सडक, अर्जुनधारा–८ स्थित टोपीचोकलगायत सडक आयोजनाको निरीक्षण गर्दै उहाँले निर्माण पक्षलाई सडकको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । सभामुखले उत्तरी झापाको हात्ती प्रभावित बस्तीको निरीक्षण क्रममा स्थानीयबासीसँग अन्तरक्रिया गर्नुभएको थियो भने हात्ती नियन्त्रणका लागि सरकारले निर्माण गरेको विद्युतीय घेराबेरा परियोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

आइतबार गृह जिल्ला झापा आइपुग्नुभएका उहाँले पहिलो दिन बिर्तामोड र कनकाई क्षेत्रको विकास आयोजनाको निरीक्षण गर्नुभएको थियो । दोस्रो दिन सोमवार उहाँले सुपारी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको थियो भने चिया उद्योगीसँग चिया क्षेत्रका समस्या बारेमा निवासमै छलफल गर्नुभएको थियो ।

नेपाली कूटनीतिज्ञ तथा सरकारी अधिकारी अध्ययनका लागि भारत भ्रमणमा जाँदै

काठमाडौँ । नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६ जना कूटनीतिज्ञ तथा अधिकारी यही मंसीर ५ देखि १५ गतेसम्म अध्ययनका लागि भारत भ्रमणमा जाने भएका छन् ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू भोलिदेखि त्यहाँ जान लागेका भारतीय दूतावासले जनाएको छ ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधि रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युल राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण सहर र ठाउँको भ्रमण समावेश छन् ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले आज २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग उनीहरु भारत जानुअघि अन्तरक्रिया गरेका थिए । साथै उनले सबैलाई उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गरेका थिए।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीको भारत भ्रमणले संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई झल्काउँछ ।

मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको छ – महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकार मुलुकको बिकास र समृद्धिका लागि काम गरिरहेको र त्यस अनुसार नजिता देखिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बस्नेतले मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको र सकारात्मक संकेत देखिएको बताउनुभएको हो । उहाले पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको बताउनुभयो ।

त्यस्तै उहाले सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिनुभयो । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको बताउनुभयो । उहाले कुलमान घिसिङ पनि पपुलिष्ट हुन खोजेको भन्दै राजनीतिक दल खोलेर आउन सुझाव दिनुभयो ।

हमासका वार्ताकारहरू ‘दोहामा छैनन्’ तर राजनीतिक कार्यालय बन्द भएको छैन : कतार

कतारले मङ्गलबार हमासका वार्ताकारहरू दोहामा नरहेको तर उनीहरूको कार्यालय स्थायी रूपमा बन्द नगरिएको बताएको छ । हमासलाई कतारी राजधानीबाट बाध्यपूर्वक निष्कासित गरिएको अटकलपछि कतारको यस्तो भनाइ आएको हो ।

“वार्ता टोलीभित्र रहेका हमासका नेताहरू अहिले दोहामा छैनन्”, विदेश मन्त्रालय प्रवक्ता माजेद अल–अन्सारीले भन्नुभयो, “कार्यालय स्थायी रूपमा बन्द गर्ने निर्णय... तपाईंहरूले हामीबाट सिधै सुन्नुहुनेछ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले गाजा युद्धमा युद्धविरामका लागि महिनौँको निष्फल वार्ताको नेतृत्व गरेको थियो तर उसले यस महिनाको सुरुमा आफ्नो मध्यस्थता प्रयासहरू स्थगित गरेको घोषणा गरेको थियो ।

सन् २०१२ देखि कतारले संयुक्त राज्य अमेरिकाको आशीर्वादमा आतिथ्यता गर्दै आएको हमासलाई आफ्नो राजनीतिक ब्युरो अब स्वागतयोग्य छैन भनेर चेतावनी दिएको रिपोर्टपछि यो घोषणा गरिएको हो ।

“मध्यस्थता प्रक्रिया अहिले स्थगित छ... जबसम्म हामीले दुवै पक्षको स्थितिमा आधारित निर्णयलाई उल्टाउने निर्णय गर्दैनौँ”, कतारले हमासका अधिकारीहरूलाई छोड्न भनेको थियो कि भनेर पुष्टि गर्न अस्वीकार गर्दै अन्सारीले मङ्गलबार भन्नुभयो, “दोहामा हमासको कार्यालय मध्यस्थता प्रक्रियाका लागि बनाइएको थियो । स्पष्ट रूपमा, जब मध्यस्थता प्रक्रिया हुँदैन, कार्यालयमा नै कुनै काम हुँदैन ।”

हमासका एक वरिष्ठ नेताले सोमबार एएफपीलाई ‘कसैले पनि हामीलाई छोड्न आग्रह गरेको छैन’ र ‘हमासको राजनीतिक क्षेत्रका विभिन्न स्तरका नेताहरूले समय–समयमा टर्कीको समन्वित भ्रमण गर्ने’ भन्दै सदस्यहरू टर्कीमा बसाइँ सरेका रिपोर्टहरूलाई अस्वीकार गरेका थिए ।

गत वर्ष कतारले मध्यस्थता गरेको लडाइँमा एक हप्ताको विरामपछि सयौँ प्यालेस्टिनी कैदीको बदलामा धेरै बन्धकलाई रिहा गरियो तर वार्ताको लगातार चरणहरूमा कुनै प्रगति भएन ।

स्थायी युद्ध विराम प्रदान नगरेको भन्दै नोभेम्बरको सुरुमा हमासले इजिप्ट र कतारबाट थोरै समयको युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

इजरायलले युद्धको उद्देश्य (हमासलाई कुल्चने र बन्धकहरूलाई घर ल्याउने) हासिल नगरेसम्म लडाइँ नरोक्ने बारम्बार प्रतिज्ञा गरेको छ ।  अप्रिलमा कतारले वार्तामा गतिरोधका क्रममा आफ्नो मध्यस्थताको भूमिकाको पुनर्मूल्याङ्कन गरिरहेको बताएको थियो । यसबाट केही समूह सदस्यहरूलाई टर्कीका लागि जान बाध्य पा¥यो ।

युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी

रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।

“स्थानीय समयानुसार बिहान ०३ः२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेपणास्त्रहरू प्रयोग गरिएको थियो”, सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।

युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र ‘उचित र स्पष्ट जवाफ’ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो बयानमा रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाद्वारा पाँचवटा क्षेप्यास्त्र खसालिएको र छैटौँको टुक्रा अनिर्दिष्ट ‘सैन्य सुविधा’ मा खसेको भन्दै सानो आगलागी भएको बताएको छ । “कुनै हताहत वा क्षति भएको छैन”, मन्त्रालयले भन्यो ।

युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’ का रूपमा प्रशंसा गर्नुभयो ।

दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा

म्याग्दी, ४ मङ्सिर : दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएको बताउनुभयो ।

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२ र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका प्रहरी निरीषक अधिकारीले जानकारी दिनुभयो ।

कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ । दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ ।

होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु १५ हजार खर्च गर्छन् । असोज र कात्तिक यहाँ भित्रिएका पर्यटकले रु दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

मुस्ताङमा रहेका तीन सय २५ वटा होटलमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बस्न सक्ने क्षमता रहेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।

दसैँतिहारको समयमा मुस्ताङका सबैजसो होटल पर्यटकले भरिभराउ भएका थिए । मङ्सिर लागेसँग चिसो बढेपछि भने केही दिनयता पर्यटक आगमन घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा चार लाख २७ हजार र २०७९÷०८० मा तीन लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ पुगेका थिए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।

म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक यहाँ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जाँदा यहाँका व्यवसायी भने चिन्तित छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने घरपझोङका अध्यक्ष लालचनले बताउनुभयो ।

दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा श्रद्धाञ्जलीसभा

देउखुरी (दाङ), ४ मङ्सिर : नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज दाङको घोराहीमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो । “आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैँ स्मरणीय हुन्छ,” उहाँले भन्नुभयो ।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त सरल र सालिन व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमूना भएको बताउनुभयो । उहाँले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैँ सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्नुभयो । “कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,” ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं एमाले महासचिव शङ्कर पोखरेलले परिवारका लागि दाजुको त्याग र योगदानको स्मरण गर्नुभयो । उहाँले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुआत गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो । पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  

स्वर्गीय पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवं सभासद् बहिनी मेनका पोखरेलले उहाँको सङ्घर्षशील जीवनका केही प्रसङ्ग उजागर गर्नुभयो । उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो ।

श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले मन्तव्य व्यक्त गर्नुभयो । 

श्रद्धाञ्जली सभामा कविता वाचन गरेर तुलसीपुर–१९ हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो । 

देवी पोखरेलको जीवन र योगदान बहुआयामिक रहेको स्मरण गर्नुभयो । उहाँको जन्म २००७ साल मङ्सिर ७ गते साविक विजौरी गाविस–६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो । उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गर्नुभएको थियो ।  

सामाजिक सेवामा स्व. पोखरेलको योगदान

शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दाङको घोराहीमा रहेको दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीको उपचारमा सहयोग पुर्‍याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिनुभएको थियो ।  

आन्दोलन र सङ्घर्षका क्रममा उहाँले धेरै यातना भोग्नु परेपनि कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनुभएन । उहाँले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउनुभएको थियो । साथै, उहाँको नेतृत्वमा पार्टीको सङ्गठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुभएको थियो ।  

कार्यक्रममा सहभागी नेताले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गर्नुभएको थियो  ।

सुनसरीमा स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु

धरान (सुनसरी), ४ मङ्सिर : सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ ।

रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको युपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियोले सिटीलाई मङ्गलबार ठक्कर दिँदा सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे ।

स्करपियो गाडी ठक्करबाट गम्भीर घाइते सफारी चालकलाई उपचारका लागि स्थानीय हस्पिटल ओमसाई झुम्कामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलार्ई प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

जेलेन्स्की : सन् २०२५ ले युक्रेन युद्ध कसले जित्छ भन्ने निर्णय गर्नेछ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुने बताउनुभएको छ ।

युद्धको निर्णायक क्षणमा युक्रेनका लागि ‘लचिलोपन योजना’ प्रस्तुत गर्दै उहाँले वासिङ्टनले किएभलाई अमेरिकी मिसाइलहरू रूसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखि प्रतीक्षा गरिएको स्वीकृति दिएपछि सो कुरा बताउनुभएको हो ।

“निर्णायक क्षणहरूमा – र तिनीहरू अर्को वर्ष आउँदैछन् – हामीले संसारमा कसैलाई पनि हाम्रो सम्पूर्ण राज्यको लचिलोपनमा शङ्का गर्न दिनु हुँदैन । साथै यस चरणमा कसले जित्नेछ भन्ने निर्णय भइरहेको छ”, जेलेन्स्कीले युक्रेनी सांसदहरूलाई भन्नुभयो, “यो युद्ध पोक्रोभस्क, कुपियान्स्क वा अन्य कुनै सहर, नगर वा गाउँका बारेमा मात्र होइन, हाम्रो यो वा त्यो क्षेत्रको बारेमा मात्र होइन । यो युद्ध सम्पूर्ण युक्रेनका बारेमा हो, यो युद्ध सम्पूर्ण युरोपका बारेमा हो, सम्पूर्ण विश्वको व्यवस्था वा अराजकताको बारेमा हो ।”

मस्कोले जाडोअघि युक्रेनी सहरहरूमा हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको छ र उत्तर कोरियाबाट युद्धमा प्रयोग गर्न १० हजारभन्दा बढी लड़ाकू सैनिक प्राप्त गरेको छ ।कूटनीतिक मोर्चामा संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको निर्वाचनपछि युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताको चर्चा बढिरहेको छ ।

अमेरिकी सहायताको अनिश्चितताका बीच जेलेन्स्कीले किएभले अरू कसैलाई देशको भविष्य निर्णय गर्न दिनुहुँदैन भन्नुभयो । “यो एउटा यस्तो युद्ध हो जसले सम्पूर्ण राष्ट्रको भाग्य निर्धारण गर्छ र कसैले पनि हाम्रो लागि यो निर्णय गर्नु हुँदैन वा गर्न सक्दैन”, उहाँले भन्नुभयो ।

ट्रम्पका वक्तव्यहरूले युद्ध अन्त्य गर्न चाँडै सम्झौता गर्न लक्ष्य राखेको बताउँदै वासिङ्टनले किएभलाई क्षेत्रीय सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डर सिर्जना भएको छ ।जेलेन्स्कीका अनुसार किएभले आफ्नो पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रलाई पुनः प्राप्त गर्न रूसमा भ्लादिमिर पुटिनको शासनको अन्त्यसम्म पर्खनु पर्ने हुनसक्छ ।

“सम्भवतः युक्रेनले आफ्ना सबै लक्ष्यहरू हासिल गर्न मस्कोमा कसैलाई हराउनु पर्नेछ… सायद राज्यको पूर्ण अखण्डता पुनःस्थापना गर्न”, जेलेन्स्कीले युक्रेनको संसद्लाई सम्बोधन गर्दै भन्नुभयो ।

अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच

काठमाडौं । अनुकूलन कोषले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई आफ्नो नयाँ राष्ट्रिय कार्यान्वयन निकाय (एनआइई)को रूपमा छनोट गरेको छ । अजारबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को दौरानमा नेपालमा अनुकूलन कोषको रकम ल्याउन, जलवायु अनुकूलनसम्बन्धीका परियोजना निर्माणदेखि कार्यान्वयनका लागि सहज बनाउन अनुकूलन कोषले एनआइईको रूपमा एनटिएनसीलाई छनोट गरेको हो ।

यसअघि पनि एनटिएनसी हरित जलवायु कोषबाट राष्ट्रिय मान्यता प्राप्त निकाय (डिएइ) को रूपमा छनोट भई कार्यान्वयनको अवस्थामा छ । हरित जलवायु कोष (जिसिएफ)बाट नेपालमा हालसम्म तीनवटा संस्था डिएइको रूपमा छनोट भई कार्यरत छन् । ती निकायमध्ये एनटिएनसी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एनएमबिएल बैंक जिसिएफको डिएइको रूपमा रहेका छन् ।

अनुकूलन कोषले भने नेपालमा पहिलोपटक एनटिएनसीलाई एनआइईको रूपमा छनोट गरेको हो । अब एनटिएनसीमार्फत मुलुकले सोझै जिसिएफ र अनुकूलन कोषजस्ता जलवायुका ठूला अन्तर्राष्ट्रिय कोषमा सोझै पहुँच पुर्‍याउने अधिकार पाएको छ ।

एनटिएनसीका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोपमा एनटिएनसी अनुकूलन कोषको एनआइईको रूपमा छनोट भएको घोषणा हुनुले जलवायु अनुकूलनका राष्ट्रिय नीति कार्यान्वयन तथा प्राथमिकता सम्बोधन गर्न र आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहज हुने बताए ।

‘अनुकूलन कार्यक्रम छनोट र सञ्चालनका लागि एनटिएनसीको कार्यदक्षता र क्षमताका आधारमा अनुकूलन कोषबाट एनआइईको रूपमा छनोटमा परेको हो, यो मुलुककै हितमा रहेको छ, अब थप सहकार्य र समन्वयनबाट अनुकूलनका योजनाको छनोट गर्ने छौँ,’ उनले भने ।

कोपमा भाग लिन बाकुमा रहनुभएका वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायु अनुकूलन कोषबाट सोझै रकम ल्याउनका लागि र सरल पहुँच सुनिश्चिताका लागि बाटो खुलेको बताए ।

‘एनटिएनसी एनआइईका रूपमा छनोटमा पर्नु नेपालका लागि ठूलो उपलब्धि हो, अब अनुुकूलन कोषमा पनि नेपालको सोझै पहुँच स्थापित हुनु हाम्रा लागि गर्वको कुरा हो । तर यसो भन्दै अनुुकूलन कोषको रकम नेपालले पाइहाल्छ भन्ने होइन, हामीले अनुकूलनसम्बन्धी परियोजनाको खाका बनाएर प्रस्तुत गर्नुपर्छ, परियोजना छनोट भएको खण्डमा अनुकूलन कोषले वित्त प्रवाह गर्ने संयन्त्रको रूपमा छनोट गरेको एनटिएनसीमार्फत वित्त नेपालमा ल्याउन सकिने भयो,’ उनले भने ।

एनटिएनसीका सदस्य सचिव डा नरेश सुवेदीले अनुकूलन कोषको एनआइई हुुनु एनटिएनसीका लागि मात्रै नभएर मुलुककै लागि गौरव गर्न लायक उपलब्धि रहेको बताउए ।

‘आगामी दिनमा एनटिएनसीले राष्ट्रिय क्षमता विकाससहित जलवायु अनुकूलनसम्बन्धी कार्यहरू गर्नका लागि यस्ता वित्तीय संयन्त्रहरूबाट प्राप्त स्रोतहरूलाई जलवायुजन्य जोखिममा रहेका समुदायलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने छौँ,’ उनले भने ।

एनटिएनसीका जलवायु परिवर्तन विभागका प्रमुख तथा जिसिएफ र अनुुकूलन कोष दुवैका सम्पर्क व्यक्ति डा मनिषराज पाण्डेले एनआइईको रूपमा छनोट हुँदा जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय वित्तमा सहज रूपमा र सोझै पहुँच पुग्ने भएकाले जलवायु वित्तीय अभाव पूरा गर्न सहयोग गर्ने बताए ।

अनुकूलन कोषका अनुसार एनटिएनसीजस्ता एनआइईमा अहिलेसम्म विश्वभरका ३४ वटा राष्ट्रिय मान्यता प्राप्त निकाय सामेल छन् । जलवायु अनुकूलनका परियोजनाहरू पहिचान, विकास र कार्यान्वयन गर्नका लागि सक्षम रहेका विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय निकायलाई अनुकूलन कोषले एनआइईको रूपमा छनोट गर्दै आइरहेको छ ।

लामो र जटिल प्रक्रियापछि अनुकूलन कोषले एनटिएनसीलाई एनआइईको रूपमा छनोट गर्ने घोषणासँगै कोपमा उपस्थित प्रतिनिधि पनि थप उत्साहित भएका छन् । एनटिएनसीले एकीकृत संरक्षण र विकास कार्यक्रमबाट प्रकृति र जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्र्जा प्रवर्द्धन, जलवायु परिवर्तन, पर्यापर्यटन, जीविकोपार्जन, सांस्कृतिक सम्पदा संरक्षण, लैङ्गिक समावेशिता र दिगो विकासका क्षेत्रमा केन्द्रित रहेको पाण्डेको भनाइ छ ।

‘जसमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ । एनटिएनसीले संरक्षित क्षेत्र तथा सदर चिडिया खानाको व्यवस्थापनमा काम गर्दै आइरहेको छ,’ उनले भने ।

पाण्डेले आगामी दिनमा जलवायु अनुकूलनका योजना र प्रभावकारी कार्यान्वनमा जोड दिँदै जलवायुका मुद्दा सम्बोधनका लागि काम गरिने बताए ।

एनआइई के हो ?

राष्ट्रिय कार्यान्वयन एकाइ (एनआइई) जलवायु परिवर्तनसम्बन्धी अनुकलन कोषबाट वित्तीय सहयोग प्राप्त गर्ने, जलवायु अनुकूलनका विभिन्न योजना निर्माण गरी कार्यान्वयन गर्ने अधिकारप्राप्त निकाय हो । यसलाई कुनै पनि देशको सरकार, अर्धसरकारी निकाय वा गैरसरकारी सङ्गठनले प्रतिनिधित्व गर्नसक्ने प्रावधान रहेको छ ।

स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न प्रक्रियाहरू पूरा गरी एनआइई छनोट गरिन्छ । विदेशी मध्यस्थताबिना नै आफ्नो मुलुकका जलवायु परिवर्तनका कार्यक्रमको प्राथमिकता निर्धारण गर्न, क्षमताअनुसार योजना र परियोजनाहरू सञ्चालन गर्न सक्ने भन्दै एनआइई छनोट गरिन्छ ।

पाण्डेका अनुसार कोषको प्रभावकारी उपयोग गर्नुपर्ने, जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयनको अवस्थाबारे पारदर्शिता सुनिश्चित गर्दै सुशासन कायम गर्नुपर्ने र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेजस्ता छनोट भएका निकायहरूको दायित्व रहन्छ । तोकिएको लक्ष्य प्राप्तिका लागि आगामी दिनहरूमा अझै बढी एनटिएनसी सशक्त रूपमा लागि पर्ने उनको भनाइ छ ।

जलवायु अनुकूलनसम्बन्धी परियोजना तथा कार्यक्रमहरू राष्ट्रिय नीति र स्थानीय आवश्यकताअनुसार कार्यान्वयन गर्नका लागि सबै सरोकारवालाहरूसँग छलफल गरेर अगाडि बढ्ने पाण्डेले बताएका छन् ।

‘एनआइईको रूपमा छनोट भएका निकायले जलवायु अनुकूलनका परियोजनाहरूको कार्यान्वयनसँगै स्थानीय निकाय तथा समुदायको क्षमता अभिवृद्धिमा सहयोग बढाउने छ,’ उनले भने, ‘वन तथा वातावारण मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय प्राथमिकताका आधारमा जलवायु अनुकूलनका परियोजनाका योजनाहरू तयार गरी अनुकूलन कोषलाई प्रस्तुत गर्नु, परियोजनाहरूलाई सफलताका साथ कार्यान्वयन सुनिश्चित गर्दै निरन्तर अनुगमन र मूल्याङ्कन गर्नुजस्ता अब एनटिएनसीको दायित्व हुन आउँछ ।’

नेपालका लागि एकाइको महत्त्व

नेपालले पछिल्लो समय, बेमौसमी वर्षा, हिमपहिरो, बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाहरू सामना गरिरहेको सन्दर्भमा यस्ता घटनाहरू न्यूनीकरणका लागि अनुकूलन कार्यक्रमको आवश्यकता रहेको बताउँछन्, अनुकूलन कोषका बोर्ड सदस्य समेत रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्मा ।

‘नेपालका लागि जलवायु न्यूनीकरणका कार्यक्रमभन्दा जलवायु अनुकूलनका कार्यक्रम बढी आवश्यक छ, जलवायुजन्य विपद्ले सिर्जित गरेका घटनाहरू सम्बोधन गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन गर्न जलवायु अनुुकूलन कोषबाट बढीभन्दा बढी रकम ल्याउनु सक्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै एनटिएनसी अनुकूलन कोषबाट एनआइईमा छनोट हुनु नै नेपालका लागि राम्रो नतिजा हो । नेपालको पक्षमा अनुकूलन कोषबाट निकै महत्त्वपूर्ण निर्णय भएको छ ।’

बाढी, पहिरो, सुक्खा, हिमताल विस्फोटजस्ता जोखिम न्यूनीकरण गर्न प्रभावकारी परियोजना कार्यान्वयनका लागि अनुकूलन कोषमा सीधै पहुँच पुग्नु आवश्यक रहेको उनको भनाइ छ । स्थानीय तहमा जनशक्ति र स्रोत साधन परिचालन गर्दै समुदायलाई थप सक्षम बनाउने, अन्तर्राष्ट्रिय कोषको प्रभावकारी व्यवस्थापन गर्दै देशको विकासलाई जलवायु अनुकूल बनाउन सहयोग पुर्‍याउने भएकाले एनआइईको महत्त्व रहेको उनले बताए ।

अनुकूलन कोष र हरित जलवायु कोषमा नेपालको सोझै पहुँच पुग्नु नै महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन्छन्, जलवायुविद् मञ्जित ढकाल ।

‘अबदेखि अनुकूलन कोषमा पनि नेपालको सीधै पहुँच पुगेको छ । अनुकूलन कोषमा अहिले धेरै स्रोत छैन । तर कार्बन व्यापारबाट सङ्कलन भएको रकममध्ये पाँच प्रतिशत लेबीबाट यही अनुकूलन कोषमा जम्मा हुनेछ,’ उनले भने, ‘अब भविष्यमा अनुकूलन कोषको आकार बृहत् हुँदै जाने छ । कोप–२१ को पेरिस सम्झौताअन्तर्गत कार्बन व्यापारलाई कार्यान्वयनमा ल्याउनका बाँकी रहेका नियमहरू बनाएमा निरन्तर स्रोत आउने छ ।’

नेपालमा राष्ट्रिय कार्यान्वयन एकाइ स्थापना गरिँदा अनुुकूलनका योजना कार्यान्वयन गर्न जलवायु परिवर्तनका असरसँग लड्न, दिगो विकासका परियोजनाहरू अगाडि बढाउन र जनताको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान गर्न सकिने उनको भनाइ छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले यो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।

मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।

प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आसन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने बताए । उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बताए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए ।

चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ : मन्त्री यादव

काठमाडौँ, ४ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिर्वतन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीसँग सम्बन्धित जटिल समस्या उत्पन्न हुने बताउनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भए पनि वातावरणीय प्रभाव र चुरे दोहनका कारण पानीका मुहान सुक्न थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताउनुभयो । 

मन्त्री यादवले भन्नुभयो, “तराई मधेस क्षेत्रमा धमाधम चुरे दोहन गरिँदै छ, यसले गर्दा पानीका मुहान सुक्दै जान थालेका छन् । पानीको समस्या हुँदै आएको छ ।” उहाँले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचे वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गर्नुभयो । 

यसैगरी मन्त्री यादवले तराई मधेसमा पानीको सतह घट्दै जानु, चापाकलमा पानी सुक्नु र पहाडमा पानीका मुल सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागि रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।” 

मन्त्री यादवले गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण देशभर खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेकाले खानेपानीका ती योजनालाई पुनःनिर्माण गरी जनतालाई शुद्ध खानेपानी खुवाउन चुनौती रहेको बताउनुभयो । “मान्छेका लागि पानी नभइ नहुँने चिज हो, गत असोजमा विपद् आइलाग्यो, थुपै्र खानेपानीका योजना ध्वस्त भए हामीसँग पानी, बाढीले क्षति गरेका आयोजना पुनःनिर्माण गर्ने बजेट थिएन,” उहाँले भन्नुभयो, “जेनतेन गरी विपद्का बेला जनतालाई पानी त खुवायौँ, अब दीर्घकालिन रूपमा कसरी पानी खुवाउने त्यो चिन्ताको विषय बनेको छ ।”

हिमालको शुद्ध पानी, जडिबुटी मिसिएको मेलम्चीको पानी काठमाडौँका नागरिकका लागि ल्याइएको भए पनि विभिन्न ठाउँमा पाइप फुटेका कारण उक्त पानीमा धमिलो पानी मिसिने भएकाले तत्काल मर्मत गर्नका लागि मन्त्री यादवले आग्रह गर्नुभयो ।

कार्यक्रममा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यले बाढीका कारण खानेपानीको क्षेत्रमा ठूलो क्षति भएको र संरचना पुनःनिर्माणका लागि आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले ठूलो क्षति गरेको छ, पुनःनिर्माणका लागि आवश्यक पहल भइरहेको छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले नागरिकलाई शुद्ध खानेपानीको आपूर्तिकका लागि विभाग विगतदेखि नै लागि रहेको र जनशक्ति अभाबका कारण आफूहरु केही खुम्चिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई शुद्ध पानी खुवाउनका लागि विभाग पूर्णरूपमा लागि रहेको छ, आर्थिक र जनशक्ति अभावमा केही खुम्चिनुपर्ने अवस्था रहेको छ, यद्धपि विभागको तर्फबाट गर्नुपर्ने पहल कदमी गाडि बढाइरहेका छौँ ।”

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौँ, ४ मङ्सिर : गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत्, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको बताएको हो ।

समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे अध्ययन गरेको थियो ।

अध्ययनमा निर्माण सम्पन्न भएका विभिन्न २७ वटा जलविद्युत् आयोजना, निर्माणाधीन १९ आयोजनामा रु ६ अर्ब बराबरको क्षति भएको पाइएको छ । यस्तै, प्रसारण र वितरण लाइनतर्फ करिब १६ करोड बराबरको क्षति भएको अध्ययन समितिका सदस्य–सचिव एवं मन्त्रालयका सिडिई शालिग्राम भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी, सङ्घीय सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु चार अर्ब ९८ करोड र बागमती प्रदेशतर्फ रु दुई अर्ब ४३ करोड, ग्रामीण विद्युतीकरणतर्फ रु २० करोड ७१ लाख बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले क्षतिको विवरण तयार पारी भविश्यमा यस्तो प्रकोपबाट क्षति हुनबाट रोक्न अबलम्बन गर्नुपर्ने उपाय तथा क्षतिग्रस्त आयोजनालाई प्रदान गर्नुपर्ने÷गर्न सकिने राहतका विषयसमेतमा सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री खड्काले निकै मेहनतका साथ तयार गरिएको उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले बाढी, पहिरो र डुवानका कारण क्षति भएका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र निजी क्षेत्रका जलविद्युत् आयोजनालगायत समग्र विद्युत् क्षेत्र तथा नदी नियन्त्रण र सिँचाइ आयोजनामा भएको क्षतिको मूल्याङ्कन गरी नेपाल सरकारले प्रदान गर्नसक्ने राहतका बारेमा प्रतिवेदन पेश गर्न ऊर्जा मन्त्रालयका सहसचिव जीवछ मण्डलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो ।

उक्त समितिको सदस्यमा विद्युत् विकास विभागका उपमहानिर्देशक सुनिल पौडेल, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक डा सन्तोष कैनी, नेपाल विद्युत् प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र सदस्य–सचिवमा शालिग्राम भण्डारी हुनुुुहुन्थ्यो । 

डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा मंगलबार दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

सहकारीको समस्या समाधान गर्न अध्ययन भइरहेको छः मन्त्री अधिकारी

काठमाडौँ, ४ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले अध्ययन गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)मा आज अन्तर्वार्ताको क्रममा मन्त्री अधिकारीले सहकारीमा धेरै समस्या देखिएपछि ‘सहकारी समस्या समाधान समिति’ नै बनाएर अध्ययन सुरु गरिएको बताउनुभएको हो ।

“सहकारीमा समस्या देखिएको छ, ती समस्या समाधान गर्न समिति नै बनाएर अध्ययनको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ऋण लगेकाहरूलाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ ।”

मन्त्री अधिकारीले निम्न आय भएका व्यक्तिहरूले थोरै–थोरै बचत गर्ने ठाउँ सहकारी भएकाले यसमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “पछिल्लो समय सहकारीप्रति अलि बढी नकारात्मक भ्रम फैलाउने प्रवृत्ति देखिएको छ, सहकारी सबै खराब पनि छैनन्”, मन्त्री अधिकारीले भन्नुभयो, “सहकारीले राम्रो काम गरेका उदाहरण पनि धेरै छन्, प्रभावकारी नियन्त्रण र नियमनमा कमजोरी देखिएको छ, सरकारी ऐन संशोधन गर्न पनि जरुरी छ । यी काम सरकारले गर्छ ।”

उहाँले मन्त्रालयले सूचना केन्द्रलाई अगाडि बढाउने, कोष खडा गर्ने, न्यायाधीकरण बनाउने र नियमन निकाय बनाउन जरूरी भएको उल्लेख गर्नुभयो । अगाडि भन्नुभयो, “संसदीय समितिको प्रतिवेदन आएपछि त्यहीअनुसार छलफल र अध्ययन भइरहेको छ, सहकारी ऐन संशोधन गरेर नियमनकारी निकाय बनाउने तयारी भइरहेको छ ।”

मन्त्री अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम अघि बढाएको समेत बताउनुभयो । “स्थानीय तहमा कति सहकारी आवश्यक छन्, त्यो अध्ययन भइरहेको छ । कुन स्थानमा सहकारी खोल्ने हो, कुन स्थानमा कति सहकारी जरूरी छ, यस विषय अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारीमा भएको हिनामिनाबारे छानबिन गरेर अध्ययन गर्दा २२ वटा सहकारी समस्याग्रस्त घोषणा भएका र तिनका बारेमा पनि आवश्यक अध्ययन अगाडि बढेको जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्‍याएको झोलुङ्गेपुलबाट जोखिम मोलेर पुल तर्दै विद्यार्थी

गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी ।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी र पाकेको धानबाली भित्र्याउन किसान पनि यो पुलबाट दैनिक आवतजावत गर्न बाध्य छन् । तस्बिरः रमेश ढुंगेल /रासस

सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

गलकोट (बागलुङ), ४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताउनुभएको छ ।

हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उहाँले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताउनुभएको हो ।

मन्त्री पौडेलले जनशक्ति र उपकरणबिना भवनले सेवा दिन नसक्ने भन्नुहुँदै स्वास्थ्य सुविधा दिन सरकारले लगानी बढाउँदै लगेको बताउनुभयो । उहाँले तीन तहकै सरकारले स्वास्थ्य, शिक्षाजस्ता सेवामा लगानी गरेको र एउटा नागरिकले तीन तहबाटै सेवा पाउनु सङ्घीयताको सबल पक्ष रहेको धारणा राख्नुभयो । “हाल नागरिकले तीनै तहबाट स्वास्थ्य र शिक्षामा सुविधा पाउन थालेका छन् तर यो पर्याप्त छैन । स्रोत अभावले देखिएका समस्या पहिचान गर्दै अस्पताललाई वर्गीकरण गर्न सरकार लागेको छ । नेपालमा दुई हजार तीन सय चिकित्सक तत्कालै आवश्यक रहेका छन्, यस विषयमा पनि आवश्यक काम गर्दैछौँ”, मन्त्री पौडेलले भन्नुभयो ।

रु छ करोड १२ लाख लागतमा तिलक निर्माण सेवाले उक्त भवन निर्माण गरेको थियो । दुईतले भवनमा साना–ठूला गरी ५३ वटा कोठा रहेका छन् । बिहुँकोट स्वास्थ्यचौकी भवनलाई स्तरोन्नति गरी पाँच श्ययाको अस्पताल बनाइएको वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजु थापाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन आधारभूत अस्पताल बनाइएको र चिकित्सक राखेर सेवा दिने योजना रहेको बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजनाले उक्त भवन निर्माण गरेको हो ।