`

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह

बाकु (अजरबैजान)-वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ पग्लने र समुन्द्र सतह बढ्नेजस्ता जलवायुजन्य समस्याहरू निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विषेश सल्लाकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटवार्तामा उहाँले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सबै सदस्य मुलुकहरू एकजुट भएर जलवायु सङ्कट समधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानको यस मार्गमा लाग्न प्रेरित गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । गत वर्षको गुटेरेसले गर्नुभएको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोगी भएको भन्दै उहाँले त्यसका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएको जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्‍याएको बताउनुभयो । “हिमालय पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्रसम्म सीमित हुँदैन । त्यसका असरहरू त्यहाँबाट धेरै पर, विशेषगरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्‍याइरहेको छ ।” नेपालजस्ता मुलुकका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण उहाँले उल्लेख गर्नुभयो ।

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी

जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।

बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ ।

प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०/७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।

क्रिकेटर पूजा महतोको शोभायात्राः बाबुले भने- पूजा देशकी छोरी भइन्, माया र आशिर्वाद दिनुहोला

महोत्तरी- यु–१९ नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतोको सोमबार पैत्रिक नगरमा शोभायात्रा निकालिएको छ । हालै यु–१९ अन्तर्गत टी–२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको उक्त टोलीकी कप्तान पूजाको जिल्लाको गौशाला नगरपालिका तथा स्थानीयले शोभायात्रा गराएका हुन् ।

गौशाला–९ की कप्तान पूजा, उहाँका पिता रञ्जित महतो, बाजेबज्यै र परिवारका अन्यसदस्यलाई सजाइएको सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो । पूजाको शोभायात्रामा गौशाला–२ घर भएका प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो, नगरप्रमुख डा दीपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि, स्थानीयबासिन्दालगायत सहभागी हुनुहुन्थ्यो । 

पूजाले आफ्नो ठाउँ, सिङ्गो मधेस मात्र नभई देशको पहिचान बढाउनुभएकाले शोभायात्रा गरिएको प्रतिनिधिसभाका सांसद महतोले बताउनुभयो । सयौँ नगरवासीको सहभागिता रहेको उक्त शोभायात्रा गौशाला नगरपालिकाका १२ वटै वडाबस्तीमा घुमाएर गौशाला–११ इमलीबजारमा समापन गरिएको हो । 

युएईमा सम्पन्न छनोट प्रतियोगिता जितेर शुक्रबार घर आइपुग्नुभएकी पूजालाई बधाई दिन र हौसला प्रदान गर्नेहरुको जमघटले हिजोआज उहाँको घर भरिभराउ हुन्छ । पूजालाई कुशवाहा कल्याण समाज महोत्तरीका प्रतिनिधिले घरमा पुगेर रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरिसकेका छन् । 

यसैगरी प्रत्येक दिन राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पूजालाई उच्च मनोबलका साथ विश्वकप खेल्न हौसला दिने गरेका छन् । उहाँलाई   भेटेर पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले सफलताप्रति बधाई ज्ञापन गर्नुभयो । 

आफ्नो टिमको सफलताप्रति सबै क्षेत्रबाट प्राप्त हौसला र चासोले आगामी खेलमा उत्कृष्टता देखाउन प्रेरणा मिलेको पूजाले बताउनुभयो । “युएईमा छनोट प्रतिस्पर्धामा सहभागी भइरहँदा सम्पूर्ण नेपालीले हामीलाई हेर्दैहुनुहुन्छ भन्ने विश्वास थियो । यही विश्वास र हौसलाले हामीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न उत्साहित बनाएको हो”, उहाँले भन्नुभयो, “विश्वकपको उपाधि जित्नु अबको हाम्रो लक्ष्य हो ।” 

छनोट प्रतियोगिता जितेर गत बिहीबार टिमसहित स्वदेश फर्कनुभएकी पूजा आफ्नो घर नपुग्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना प्रतिनिधि पठाइ नेपालको विश्वकप प्रवेश सुनिश्चित भएको खुसी उहाँका परिवारजनमा पु¥याउनुभएको थियो । सो दिन नै उहाँको बस्ती डुमरवानामा साँझ दिपावली गरी खुसी मनाइएको थियो । 

शुक्रबार घर पुग्नुभएकी पूजालाई भेट्ने सबैले छनोट प्रतियोगिताको सफलताका लागि  बधाई ज्ञापन गर्दै आगामी खेलयात्रा अझ सशक्त बन्ने हौसला दिँदै आएका छन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गनैपर्ने दायित्वबोध भएको छ”, पूजा भन्नुहुन्छ,  “सबैको प्रेम र हौसलाले ऊर्जा थपेको छ, हाम्रो टिमले एशिया कप र विश्वकपमा राम्रो प्रदर्शन गर्नेछ ।”

युएईमा भएको यु–१९ अन्तर्गत टी–२० क्रिकेटको एसियाकप छनोट खेलमा कुवेत र युएईसँगको प्रतिस्पर्धामा नेपाली महिला टिमले उत्कृष्टता प्रदर्शन गर्दै छनोट खेलमा सफलता प्राप्त गरेको थियो । 

नेपाली क्रिकेट महिला टिमको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको उहाँका पिता रञ्जितले बताउनुभयो । “पूजा अब देशकी छोरी हुन्, यिनलाई तपाईंहरुको आर्शिवाद र माया सधैँ आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “यिनले देशको नाम विश्वसम्म परिचित गराउने विश्वास हामीले लिएका छौँ ।”

रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तानमा जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । माहिली छोरी पूजाको सफलताले कान्छी आरती र सबैभन्दा कान्छा छोरा कृष्ण पनि खेलप्रति थप उत्साहित र आशावादी भएका छन् ।

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति, स्थानीयलाई आवतजावतमा समस्या

रामेछाप (मन्थली), ४ मङ्सिरः गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।

सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पु¥याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताउनुभयो । 

बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उहाँको भनाइ छ । बाढीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्‍याफ्टिङ’ व्यवस्था गरेको छ ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । पुल बाढीले बगाएपछि तत्कालका लागि ¥याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रुपमा ¥याफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सुनकोसीमा आएको बाढीले झोलुङ्गे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन् । सोही पालिका–४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पु¥याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।  

खाँडादेवी गाउँपालिकाको कोथबे, पुछिघाट लुवु, डप्खालगायत स्थानका माझी समुदायले कोसी वारपार गर्न  र्‍याफ्टिङ बोर्डको माग गरेका छन् । गाउँपालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि र्‍याफ्टिङ बोर्ड उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

उहाँले तालिम प्राप्त र्‍याफ्टिङ चालको अनुमति लिएका चालकबाट ‘लाइफज्याकेट’ प्रयोग गरी स्थानीयलाई आवतजावतको सुविधा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । र्‍याफ्टिङले स्थानीयलाई स्वास्थ्योपचार सेवा लिन तथा कृषिकर्मका लागि कोसी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

मेची भन्सार कार्यालयबाट चिया निर्यात ६९ प्रतिशतले बढ्यो

भद्रपुर (झापा), ४ मङ्सिरः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ । 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो । 

प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी

काठमाडौँ, ४ मङ्सिरः गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार÷चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ । 

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ । 

मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ । 

पुशपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ । 

आजदेखि मङ्सिर ११ गतेसम्म मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द

पर्वत, ४ मङ्सिरः उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उहाँले बताउनुभयो । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताउनुभयो । 

उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३  नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । 

तेह्र किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो । 

तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । 

उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाट खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौँ, ४ मङ्सिर : नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । 

मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । 

यस्तो छ लिग चरणको खेल तालिका ?

मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ ।   यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । 

मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । 

मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । 

मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । 

त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । 

यस्तो छ, लिग चरणपछिको तालिका

लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । 

त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ ।  दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ ।   एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् । 

वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो

काठमाडौँ, ४ मङ्सिरः नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताउनुभयो ।

उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो

काठमाडौँ, ४ मङ्सिर : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।

विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ ।

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

काठमाडौँ, ४ मङ्सिरः गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।

सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।

विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो ।

विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन् ।

विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्कीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् ।

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको सोमबार बताउनुभएको छ ।

राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताउनुभएको थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गर्नुभएको छ । पोस्टमा भनिएको छ, “नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।”

पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गर्नुभएको छ ।

गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो ।

उहाँले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेटको घोषणा गर्नुभएको छ ।

गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उहाँले समर्थकहरूलाई भन्नुभएको थियो, “मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ ।”

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्। ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दाबी गर्नुभएको छ ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाउनुभएको थियो ।

ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिनुभएको छैन तर आफ्नो चुनावी अभियानको क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने वाचा गर्नुभएको थियो ।

मार्ग शीर्ष कृष्ण तृतीया : अबिर चढाएपछि सम्पन्न गरियो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

काठमाडौँ, ३ मङ्सिर : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा पशुपति क्षेत्र विकास कोष, अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा पनि गरिएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमाका चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा हर्षोल्लासपूर्वक चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो । 

मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगि पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्त्वकासाथ मनाइन्छ ।

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौँ, ३ मङ्सिर : नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब रु २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडिको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

निजलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

इयूले इरानमाथिको प्रतिबन्धलाई थप फराकिलो पार्ने

युरोपेली सङ्घ (इयू) ले युक्रेनविरुद्ध रूसको युद्धमा समर्थन गरेको भन्दै इरानमाथिको प्रतिबन्धलाई सोमबार थप फराकिलो बनाएको छ । तेहरानद्वारा जारी कदममा २७ राष्ट्रको समूह इयूले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (यूएभी) बनाउन प्रयोग हुने सामग्रीको इयूबाट इरानमा निर्यात, स्थानान्तरण, आपूर्ति वा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

उसले प्रतिबन्धित व्यक्ति र संस्थाहरूको ‘स्वामित्व, सञ्चालन वा नियन्त्रण’ र बन्दरगाहसँग कुनै पनि लेनदेनमा प्रतिबन्ध लगाएको छ । इरानले ड्रोन, मिसाइल, हतियार सम्बन्धित टेक्नोलोजीलाई सहयोगी समूहमार्फत् रूसलाई आपूर्ति गर्ने गरेको आरोप इयूको छ । “यो प्रतिबन्धले अमिराबाद र अन्जालीजस्ता बन्दरगाह तथा जल यातायात मार्ग र स्टेसनमा पहुँच र सेवाहरूको प्रावधानलाई अवरूद्ध गर्नेछ,” ब्रसेल्समा इयू समूह राष्ट्रका विदेश मन्त्रीहरूको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै इयूले जानकारी गराएको छ । क्यास्पियन सागरमा रहेका दुई इरानी बन्दरगाह अमिराबाद र अन्जाली हुन् । इयूले प्रतिबन्धलाई खुकुलो पार्न सकिने अवस्थाका बारेमा भनेको छ, “सामुद्रिक सुरक्षाको कारणले गर्दा केही निश्चित परिस्थितिमा आवश्यक पर्ने जहाजहरूलाई अझै पनि सहायता प्रदान गर्न सकिन्छ।” समूहले इरानको सरकारी सामुदिूक ढुवानी कम्पनी आइआरआईएसएलका निर्देशक मोहम्मद रेजा खियाबानी र क्यास्पियन सागरमा हतियार ओसारपसार गरेको आरोप लागेका तीन रूसी पानीजहाज कम्पनीविरुद्ध पनि प्रतिबन्धात्मक कदम चालेको छ ।

ब्रसेल्सले यसअघि नै रूसको युद्धमा सहयोग गरेको आरोप लागेका प्रमुख इरानी अधिकारी र एयरलाइन्सलगायत संस्थामाथि प्रतिबन्ध लगाएको थियो । तेहरानले भने किएभविरुद्ध प्रयोग गर्न मस्कोमा क्षेप्यास्त्र वा ड्रोन स्थानान्तरण गरेको भन्ने पश्चिमाहरूको आरोपलाई अस्वीकार गर्दै आएको छ। इयूले नयाँ प्रतिबन्धको घोषणा गर्नुअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले आफ्नो पानीजहाज मार्गलाई निशाना बनाउन इयूले ‘बहाना’ को प्रयोग गरिरहेको बताउनु भएको थियो । “यस्तो व्यवहारको कुनै कानुनी, तार्किक वा नैतिक आधार छैन।

यसले केवल इरानको जलमार्गलाई जसरी पनि रोक्न खोजेको कुरालाई प्रष्ट पार्छ,” अरागचीले एक्समा लेख्नुभएको छ । “आवागमनको स्वतन्त्रता समुद्री कानूनको आधारभूत सिद्धान्त हो । कसैले छानेर यस्तो प्रतिबन्ध लगाउनु अदूरदर्शिता हुनेछ।” सन् २०१८ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौताबाट वासिङ्टन एकतर्फी रुपमा पछि हटेपछि इरानमा व्यापक अमेरिकी प्रतिबन्धहरू लगाइएको छ । सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले तेहरानले कसरी जवाफ दिने भन्नेबारे छिट्टै निर्णय गर्ने बताउनुभएको थियो ।

जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने

जर्मनीले सोमबार युक्रेनलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्देशित चार हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ । रूसको आक्रमणविरुद्धको लडाइँमा युक्रेनलाई दोस्रो धेरै सैन्य सहायता प्रदान गर्ने मुलुक जर्मनी हो । रक्षामन्त्री बोरिस पिस्टोरियसले बाभेरियामा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उपलब्ध गराइएका ड्रोनहरू ‘एआईद्वारा निर्देशित र समर्थित’ भएको र यसले शत्रुको इलेक्ट्रोनिक ड्रोन प्रतिरक्षालाई बाहिर निकाल्न सक्ने बताउनु भएको छ । पिस्टोरियसले भन्नुभयो, “ड्रोनहरू ‘धेरै छिटो पठाउन सकिन्छ’ र करिब ३० देखि ४० किलोमिटर टाढाबाट लडाकू पोस्ट, रसद केन्द्र र अन्य लक्ष्यहरूमा प्रहार गर्न सकिन्छ । बर्लिनले गत जुनमा युक्रेनलाई ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो तर त्यसबारे विस्तृत जानकारी दिएको थिएन ।

जर्मनीका सञ्चारमाध्यमले मानवरहित हवाई वाहनहरूलाई ‘मिनी–टाउरस’ उपनाम दिएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता नताली जेनिङले सोमबार सरकारी पत्रकार सम्मेलनमा भन्नुभयो, “यी सीमित दायरामा मार हान्ने रणनीतिक ड्रोन हुन् ।” रूस र पश्चिमलाई थप प्रत्यक्ष द्वन्द्वमा तान्न सक्ने डरले ‘सोसल डेमोक्र्याट पार्टीबाट चान्सलर बन्नुभएका ओलाफ स्कोल्जको नेतृत्वमा रहेको वर्तमान सरकारले युक्रेनलाई ‘टाउरस’ प्रणाली प्रदान गर्न अस्वीकार गरेको थियो । रूससँगको लडाईँमा बल पु¥याउनका लागि ५०० किलोमिटर (३१० माइल) भन्दा बढी दूरीको क्षेप्यास्त्रका लागि किएभले पटक–पटक गरेको आग्रह निरर्थक भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार युक्रेनलाई रूसभित्रका लक्ष्यमा प्रहार गर्न लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेपनि सरकारले सोमबार आफ्नो अडानमा कुनै परिवर्तन नआएको बताएको छ । हालैका हप्ताहरूमा रूसी सेनाले तीव्र प्रगति हासिल गरेको र मस्कोले उत्तर कोरियाली सेनालाई आफ्नो युद्ध प्रयासमा सहयोग पुर्याउने निर्णयको बावजुद स्कोल्जले निरन्तर संयमताका लागि लामो दूरीको हतियार प्रयोगका लागि अनुमति दिन आनाकानी गरिरहनुभएको थियो । चान्सलरको आफ्नै सरकारका केही सदस्यले उहाँको अडानप्रति विरोधसमेत जनाएका छन् ।

आगामी फेब्रुअरीमा हुने मध्यावधि आमनिर्वाचनमा ग्रिन पार्टीको नेतृत्व गर्ने भाइस चान्सलर तथा अर्थतन्त्रमन्त्री रोबर्ट हेबेकले आफू चान्सलर भएको खण्डमा युक्रेनलाई ‘टाउरस’ प्रणाली हस्तान्तरण गर्ने बताउनुभएको छ । प्रमुख विपक्षी दल कन्जरभेटिभ क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले पनि किएभमा क्षेप्यास्त्र पठाउने पक्षमा रहेको बताएको छ ।

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष

काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक सोमबार सम्पन्न भएको छ।  बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म काठमाडौँमा चलेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो।

गत शनिबार सुरु भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेण्डामा छलफलपछि संयुक्त हस्ताक्षर गरेका छन्।

संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्यका गर्ने विषय समावेश छन्।

बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिए।

उनका अनुसार नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको बैठकले सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा पनि संयुक्त हस्ताक्षर भएको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्रका महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो। भारतका सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थियो।

बैठकमा भारतीय पक्षले तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको धारणा प्रस्तुत गरेका थिए। यस्तै भारतले तेस्रो मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी भइरहेकाले त्यसको नियन्त्रणमा सहकार्य जरुरी भएको औँल्याएको छ।

उक्त बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुँदै आएको थियो। अब भने हरेक छ, छ महिनामा पालैपालो बैठक बस्ने प्रस्तावसमेत पारित भएको छ। सीमा सुरक्षा अधिकारी र जिल्ला जिल्लाका अधिकारीको बैठक नियमितरुपमा बस्ने विषयमा पनि दुवै पक्ष सहमत भएको जनाइएको छ।

आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

बरहथवा (सर्लाही), ३ मङ्सिरः खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो । खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्कनु भएको छ । गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो ।

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पु-याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए । पुनः चितवनस्थित भरतपुर अस्पताल पु-याइ उपचार गर्ने क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

झापा, ३ मङ्सिर : प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीसहितको टोलीले उहाँको निजी निवासमा भेटघाट गरी पत्र बुझाएको हो ।

नेपालमा चिया रोपण भएको एक सय ६१ वर्ष पुग्दा चिया ऐन निर्माण नभएकोबारे सभामुख घिमिरेलाई अवगत गराएका थिए । उनीहरुले रु चार अर्ब विदेशी मुद्रासहित वार्षिक रु ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको बताएका थिए । ध्यानाकर्षण पत्रमा चिया ऐन निर्माणमा पहल गर्न सभामुख घिमिरेलाई आग्रह गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि संघ र प्रदेश सरकारबीच ‘एमओयू’ गर्नुपर्ने बताउनुभयो । एमओयूका लागि प्रदेश सरकारको कृषि मन्त्रालय तयार रहेकाले सङ्घीय कृषि मन्त्रालयमा समन्वय गरिदिन सभामुख घिमिरे समक्ष अनुरोध गर्नुभयो ।

ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको रु चार करोड १० लाख फ्रिज भएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले चिया क्षेत्रको समस्या समाधानमा पहल गर्ने आश्वासन दिनुभयो । “तपाईहरुको ध्यानाकर्षण पत्रले केही खुसी मिल्यो, केही कुराहरु अनौठो लाग्यो”, उहाँले भन्नुभयोे, “ऐन बनाउने कुरामा मेरो तर्फबाट पूरै पहल हुनेछ ।”

कार्यक्रममा चिया समन्वय समितिका सदस्य सचिव हर्कबहादुर तामाङ, सदस्य कृष्णप्रसाद पोखरेल, सीता सापकोटा, सन्त राई, नेकपा (एमाले) झापाका जिल्ला अध्यक्ष प्रेम गिरी, एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईलगायतको उपस्थिति थियो ।

काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने

काठमाडौँ, ३ मङ्सिरः काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदुषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

यसका लागि कामपाले उत्पादकलाई बढी जिम्मेवार बनाउने तयारी गरेको कामपा वातावरण विभागका प्रमुख सरीता राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गर्ने तयारी कामपाले गरेको हो ।

प्रमुख राईने भन्नुभयो, “एक स्थानमा उत्पादन भएको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन हुँदैन । यसको सही व्यवस्थापनका लागि स्रोतमै वर्गीकरण गरी मात्रा घटाउनुपर्छ ।” यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापन सेवा प्रदायकमार्फत कामपाले गर्ने तयारी गरेको छ ।

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिकटन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा

काठमाडौँ, ३ मङ्सिर : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका विधाका चलचित्र देखाइने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रलाई उच्च प्राथमिकतामा राखेका छौँ । सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौँ ।”

मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सङ्लग्न समितिले आवेदन परेकामध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने र महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला हुने आयोजकले जनाएको छ ।

जलवायु वित्त उपलब्ध गराउने भूमिकामा इयूले नेतृत्व लिने

युरोपेली सङ्घ (इयू) ले जलवायु परिवर्तनका कारण हुने विश्वव्यापी तापमान वृद्धिबाट प्रभावित गरिब देशहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन नेतृत्व लिने बताएको छ ।

सबै धनी प्रदूषक मुलुकहरूले गरिब तथा प्रभावित मुलुकहरूलाई ‘योगदान गर्ने जिम्मेवारी’ रहेको इयूका जलवायुमामिला प्रतिनिधि वोप्के होक्स्ट्राले सोमबार बताउनुभएको हो ।

युरोपेली सङ्घ विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्न पैसाको सबैभन्दा ठूलो योगदानकर्ता हो भने तर चीनजस्ता प्रमुख उदीयमान अर्थव्यवस्थाहरूले पनि यसमा सहयोग गर्न सहमत रहेका छन् । तर चीनलगायतका विश्वका प्रमुख अर्थव्यवस्थाहरूले योगदानको आफ्नै सीमा तोकेका कारण यो मुद्दाले अपेक्षा अनुसार गति लिन सकेको छैन ।

अजरबैजानमा नोभेम्बर ११ देखि २२ सम्म जारी कोप २९ जलवायु शिखर सम्मेलनमा गरिब देशहरूमा जलवायु कार्यका लागि आर्थिक सहयोग बढाउन राष्ट्रहरू नयाँ सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ ।

तर कसले तिर्ने, कति तिर्नेजस्ता नयाँ वित्तीय सम्झौताको संरचनाका विषयका कारण वार्ताले गति लिन सकेको छैन ।

इयूका जलवायु आयुक्त होक्स्ट्राले बाकुमा पत्रकारहरूसँग भन्नुभयो, “हामी जलवायु वित्त सहयोगका लागि नेतृत्व गर्ने कामलाई जारी राख्नेछौँ । हाम्रो हिस्सा सोभन्दा पनि बढी सहयोग हामीले सँधै गर्दै आएका छौँ ।

“सम्पन्नतासँगै जिम्मेवारी पनि आउँछ,” उहाँले क्षतिपूर्ति रकमका लागि आनाकानी गरिरहेका प्रमुख अर्थतन्त्रहरूलाई सङ्केत गर्दै भन्नुभयो ।

“उत्सर्जन र यसका कारण उनीहरूले लिएको आर्थिक लाभका आधारमा क्षतिपूर्तिका लागि योगदान गर्ने जिम्मेवारी छ ।

बेइजिङले विश्वका सबैभन्दा गरिब देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनहरू हटाउन मद्दत गर्न विश्वव्यापी हिस्सा अनुसार योगदान पुर्याउनु पर्ने सुझावहरूलाई अस्वीकार गरेको छ ।

चीनले सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस सम्झौता अन्तर्गत जलवायु वित्तको भुक्तानी आफ्नै शर्तमा गर्दछ ।

बाकु वार्ताले सम्मेलनको पहिलो हप्तामा यस मुद्दामा खासै सहमतिको आधार बनाउन नसके पनि सम्मेलनका बाँकी दिनमा राष्ट्रहरूलाई गति लिन आग्रह गरिएको छ ।

होक्स्ट्राले कोप २९ आयोजक अजरबैजानलाई जलवायु वित्तको ‘नेतृत्व गर्न र सम्पूर्ण चराचरलाई सुरक्षित अवतरणको दिशामा डोर्याउन’ आह्वान गर्नुभयो ।

कोप २९ सम्मेलनका पर्यवेक्षककहरूले वर्षौंको सबैभन्दा जटिल जलवायु वार्ताको रूपमा देखिएका बिषयहरूलाई अगाडि बढाउन महत्त्पूर्ण नेतृत्व आवश्यक रहेको तर अजरबैजानमा यसका लागि कूटनीतिक अनुभवको अभाव रहेको बताएका छन्।

चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’

चितवन, ३ मङ्सिर : सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् ।

यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि आज नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गर्नुभयो ।

उहाँले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताउनुभयो । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिनुभयो । हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् । होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उहाँले बताउनुभयो ।

दुई वर्षभित्र सम्पूर्ण निर्माण पूरा गरी नयाँ भवन सञ्चालनमा ल्याइने जनाइएको छ । दुई बिघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी रु एक अर्ब रहने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जीप सफारी गरेर चितवन निकुञ्जका जैविक विविधतासगैँ गैँडा, बाघलगायतका जङ्गली जनावर हेर्न मन पराउँछन् ।

‘अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि पर्याप्त तयारी आवश्यक’

काठमाडौँ, ३ मङ्सिर : नेपालले अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिका लागि पाएको सन् २०२६ सम्मको तयारी अवधिभित्र उद्योग क्षेत्रमा पर्याप्त लगानी तथा विकास र व्यापारमा विविधीकरणको आवश्यकता जानकारहरूले औंँल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र इनोभेसन हब काठमाडौँको सहकार्यमा आज यहाँ आयोजित परिसंवाद कार्यक्रमका वक्ताहरूले स्तरोन्नतिका लागि उत्पादन र व्यापारका क्षेत्रमा नेपालले पर्याप्त तयारी गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियालाई दिगो बनाउन नेपालले आफ्ना सूचकमा सुधारसँगै त्यसलाई दिगो पनि बनाउन आवश्यक रहेको बताउनुभयो । “अब हामी स्तरोन्नति हुन्छाँै भन्ने कुरामा दुईमत छैन । तर चुनौती के छ भने, यो स्तरोन्नतीलाई दिगो र फेरी फर्केर नआउने वा स्तर नघट्ने बनाउनुछ । त्यसका लागि आधार तयार पार्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रा व्यापारलाई तयार पार्ने भनेको त्यही आधार तयार पार्ने हो ।”

नेपालले ज्ञानमा आधारित अर्थतन्त्रमा बढी जोड दिनुपर्ने सचिव मरासिनीको भनाइ छ । त्यस्तै, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र र मानव संशोधनका क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो । व्यापारको विविधिकरणमार्फत् नेपालले लाभ लिनसक्ने भएकाले निजी क्षेत्रतर्फ बढी केन्द्रित हुनुपर्ने पनि सचिव मरासिनीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना तथा मझौला उद्योगमा लगानी र विकास गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

“साना तथा मझौला उद्योगमा लगानी अपरिहार्य छ । हाल सञ्चालित उद्योगलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता छ । यसरी व्यवसाय विकास गर्न सकियो भने अर्थतन्त्रको विकासमा नयाँ अवसर सिर्जना हुनेछन् र नवप्रवर्तनले लागत घटाई व्यवसाय विस्तार हुनुका साथै उद्यमीहरू पनि आत्मनिर्भर बन्ने महत्त्वपूर्ण माध्यम हो”, उहाँले भन्नुभयो । नवप्रवर्तनमा आधारित व्यवसायलाई राज्यले प्रवर्द्धन गर्ने र उद्योग क्षेत्रलाई संरक्षणका लागि नीतिगत स्थिरताको आवश्यकता उहाँले औँल्याउनुभयो ।

त्यस्तै, नेपालको कर प्रणाली व्यवसायमैत्री हुनुपर्नेमा ढकालले जोड दिनुभयो । अहिले नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नति पछि एलडिसीका रूपमा अहिले पाइरहेका विभिन्न सुविधाको कटौती हुने भएकाले त्यसका लागि नेपाल तयार हुनुपर्ने धारणा उहाँको छ । एलडिसी स्तरोन्नतिका लागि नेपालले सन् २०२६ सम्मको तयारी अवधि पाएको छ । यो अवधिभित्र क्षेत्रगत योजना र सुधारका काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । स्तरोन्नतिपछि नेपालले खासगरी अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालन, बौद्धिक सम्पत्तिको उपयोगलगायत क्षेत्रमा प्रभाव पर्ने ठानिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्तरोन्नतिपछिको प्रगतिलाई कायम राख्न नवप्रवर्तनशील र नयाँ दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । श्रेष्ठले नीतिगत स्थिरता र निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण तयार पार्न सरकारको भूमिका प्रमुख हुने बताउनुभयो । स्तरोन्नतिपछि विभिन्न क्षेत्रमा देखिने समस्या व्यवस्थापनका लागि नेपालले ‘स्मुथ ट्रान्जिसन स्ट्राजेजी’ बनाई लागू गरेको छ । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सबैभन्दा बढी प्रभावित हुने क्षेत्र अन्तर्राष्ट्रिय व्यापार हो । स्तरोन्नतिपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा ‘ड्युटी फ्री र कोटा फ्री’ का सुविधा गुमाउने देखिएको छ । विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को प्रावधानअनुसार एलडिसीका रूपमा नेपाली वस्तु तथा सेवाले अन्तर्राष्ट्रिय बजारमा पाउने प्राथमिकता र सुविधा गुमाउने छन् ।

डब्ल्युटिओअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटीसी)ले गरेको प्रक्षेपणअनुसार स्तरोन्नतिपछि नेपालको हालको निर्यातमा साँढे चार प्रतिशतसम्म गिरावट आउनसक्ने देखिएको छ । स्तरोन्नतिको सङ्क्रमणकालीन अवधिपछि डब्ल्युटिओले प्रदान गरेका अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्तिलगायत सहुलियत बन्द हुनेछन् । जसकारण नेपालको निर्यात घट्ने ठानिएको छ । तर, यस्ता सुविधा जोगाइराख्न नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ क्षेत्र तथा बजार पहिचान र व्यापारको विविधिकरण आवश्यक छ ।

नेपालले निर्यात गुमाउँदा त्यसको असर रोजगारी सिर्जना र मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पनि देखिने अनुमान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको एक तथ्याङ्कअनुसार अहिले कपडा, कार्पेट र पश्मिना क्षेत्रमा दुई लाई ६२ हजार भन्दा बढी कामदार कार्यरत रहेका छन् । निर्यातमा चार प्रतिशतले कमि आउँदा यी तीन क्षेत्रमा मात्र १० हजार पाँच सय श्रमिकले रोजगारी गुमाउने अनुमान गरिएको छ । यस्ता उद्योगमा महिला कामदार बढी हुन्छन् । जुन मानव पुँजी विकाससँग जोडिएको विषय हो । यसरी, निर्यात घट्दा त्यसले आर्थिक वृद्धिदरमा पनि केही असर गर्नेछ ।

नेपाल सन् १९७१ देखि संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित मुुलुकहरूका सूचीमा छ । पछिल्लो ५२ वर्ष अवधिमा नेपालले आफ्नो यो हैसियत उकास्न सकेको छैन । एलडिसीबाट स्तरोन्नतिका लागि नेपालले सन् २०१५ मै प्रक्रिया थालेको थियो । त्यसको तीन वर्षपछि २०१८ मा समीक्षा गर्दा भूकम्पपछिको पुनःनिर्माणको चरणमा भएकाले केही समय थप रोकियो ।

सन् २०२१ नोभेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (जेनेरल एसेम्ब्ली) ले तीन एसियाली मुलुक नेपाल, बङ्गलादेश र लाओसलाई पाँच वर्षको तयारी अवधि दिएर अतिकम विकसित देशको सूचीबाट स्तरोन्नती गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

लुम्बिनी, ३ मङ्सिर : लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् ।

नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षणहरु तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षणहरु देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको प्राविधिक सहयोगमा प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माणका क्रममा आज प्रदेश राजधानी दाङ–देउखुरीमा आयोजित सो मस्यौदामाथिको छलफल कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गइरहेकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवालाई जनस्तरमा पु¥याउन नीतिगत सुधार गरी अघि बढ्न सुझाव दिइएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मस्यौदामाथिको छलफलमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सहज र समान पहुँच बढाउन, मानसिक स्वास्थ्य सेवामा बहुक्षेत्रीय सहभागिता, सहकार्य र साझेदारी बढाउन, स्वास्थ्य सेवा प्रणालीअन्तर्गत एकीकृत मानसिक स्वास्थ्य सेवा पु¥याउन भनी रणनीतिक कार्ययोजना निर्माण गर्न थालिएको जनाइएको छ ।

आत्महत्या रोकथाम तथा न्यूनीकरणको मुद्दालाई सूचकको रुपमा उल्लेख गरिएको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी निकायले यसकिसिमको विकराल समस्यालाई समाधान गर्नेगरी प्राथमिकताका साथ कार्यक्रम बनाउन नसकेको भनी चिन्ता व्यक्त गरिएको छ ।

सो अवसरमा मस्यौदाको रुपमा रहेको कार्ययोजनालाई सरोकारवाला पक्षसँग छलफल गरेर टुङ्गोमा पु¥याइने र मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो । “भौतिक विकासले मात्रै सुख दिँदैन । सुखका लागि मानसिक रुपमा मानिस स्वस्थ हुनुपर्छ । यसका लागि हामीले रणनीतिक कार्ययोजना बनाएर कार्यान्वयनमा लैजादैछौँ”, उहाँले भन्नुभयो, “तथ्य र प्रमाणमा आधारित योजना निर्माण गरेर स्वस्थ समाज निर्माण गर्न मानसिक रोग न्यूनीकरण गर्ने अभियानमा जुटेका छौँ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा वासुदेव उपाध्यायले प्रदेश सरकारले मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्नेगरी भूमिका बढाएको बताउँदै मनोसामाजिक सेवालाई पनि जनस्तरमा पु¥याउने गरी कार्यक्रम बनाइएको स्पष्ट गर्नुभयो ।

प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले मानसिक स्वास्थ्य समस्या विकराल बन्दैजाँदा त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले समयै रोकथामका उपाय पत्ता लगाइ समस्या सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपालीले मानसिक रोगका बारेमा अनावश्यक भ्रम फैलाई व्यक्ति र समाजलाई आतङ्कित पार्ने काम भइरहेकाले त्यस्ता अफवाह र भ्रमहरु चिर्नेगरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो ।

छलफल कार्यक्रममा प्रदेशसभा सदस्य नवराज न्यौपाने, लोका विश्वकर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेललगायतले मानसिक स्वास्थ्य सेवालाई आधारभूत सेवाको रुपमा व्यावहारिक रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माणका लागि प्रदेश सरकारसँग सहयोग र सहकार्य गर्ने जानकारी दिनुभयो ।

मानसिक रोग विशेषज्ञ डा वासुदेव कार्कीले सरकार र समुदाय बीचको साझेदारीले मानसिक स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन सकिने उल्लेख गर्दै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकतामा राखेर लगानि गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

यसैगरी मनोसामाजिकविद् पशुपति महतले तीन तहका सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आधारभूत सेवा प्रवाहमामा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हकको रुपमा सम्बोधन गरे पनि सहज, सरल र सुलभ रुपमा सबैको पहुँचमा सेवा पुग्न नसकेको अवस्था छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य एक जटिल समस्याको रुपमा देखापरेको भन्दै समस्या समाधानका लागि सबै निकायको बीचमा साझेदारी जरुरी रहेको बताउनुभयो ।

‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्ने’ – उपाध्यक्ष ज्ञवाली

देउखुरी (दाङ), ३ मङ्सिर : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद (जबज) को सार समाजको रुपान्तरण भएको उल्लेख गर्नुभयो ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताउनुभएको छ ।

उहाँले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।”

उहाँले वर्तमान सरकार विकास र समृद्विको मार्गतर्फ अगाडि बढिरहेको सन्र्दभमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पु-याउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’ – मुख्यमन्त्री कँडेल

कर्णाली, ३ मङ्सिर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।

कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । “भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।”

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उहाँको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।”

उहाँले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उहाँले बताउनुभयो ।

फिल्म ‘सत्या’ को ट्रेलरमा देखियो एक्शन, मंसिर १४ गते प्रदर्शन हुने

काठमाडौं- एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।

मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए ।

प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले फिल्मका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरे । यसै फिल्मबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन फिल्मप्रति दर्शकको रुचि बढेकाले आफ्नो फिल्म पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्मको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत,रामजी लामीछाने,सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

https://www.youtube.com/watch?v=KwN-g5BnkPw

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

तनहुँ ३ मङसिरः मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ ।

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ ।

राती १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक खण्डमा ४१ द्यशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ ।

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,” उहाँले भन्नुभयो “यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । ”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री

काठमाडौं – फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी)ले खरिद गरेका छन्। जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन्।

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ। यस चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई नेपाली चलचित्र उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन्।

चलचित्रका मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।