`

‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्ने’ – उपाध्यक्ष ज्ञवाली

देउखुरी (दाङ), ३ मङ्सिर : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद (जबज) को सार समाजको रुपान्तरण भएको उल्लेख गर्नुभयो ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताउनुभएको छ ।

उहाँले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।”

उहाँले वर्तमान सरकार विकास र समृद्विको मार्गतर्फ अगाडि बढिरहेको सन्र्दभमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पु-याउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’ – मुख्यमन्त्री कँडेल

कर्णाली, ३ मङ्सिर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताउनुभएको छ ।

कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । “भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।”

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उहाँको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।”

उहाँले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उहाँले बताउनुभयो ।

फिल्म ‘सत्या’ को ट्रेलरमा देखियो एक्शन, मंसिर १४ गते प्रदर्शन हुने

काठमाडौं- एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।

मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए ।

प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले फिल्मका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरे । यसै फिल्मबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन फिल्मप्रति दर्शकको रुचि बढेकाले आफ्नो फिल्म पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । बिकास थापा मगरको प्रस्तुति रहेको फिल्मको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत,रामजी लामीछाने,सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

https://www.youtube.com/watch?v=KwN-g5BnkPw

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

तनहुँ ३ मङसिरः मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ ।

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ ।

राती १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक खण्डमा ४१ द्यशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ ।

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,” उहाँले भन्नुभयो “यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । ”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री

काठमाडौं – फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी)ले खरिद गरेका छन्। जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन्।

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ। यस चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई नेपाली चलचित्र उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन्।

चलचित्रका मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ३-मंसिर-नक्कली फेसबुक आईडि प्रयोग गरी रकम ठगी गरेको अभियोगमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने रूद्र बहादुर गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

रूद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडिहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

चाडपर्व सकिएसँगै मलेखु–मुग्लिन सडकको काम तीव्र गतिमा

चितवन, ३ मङ्सिरः पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।

शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ । 

दैनिक १५० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो संख्या बढाइएको हो । बैद्यले भन्नुभयो, “आउँदो सातासम्म २०० जना पुग्छन् ।”

सडकका छ वटा पुलको काम भइरहेको छ । हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँचवटा पुलका पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदैछ । निर्माण कम्पनीले नक्साङ्कन लगायतका कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ । वैद्यले भन्नुभयो, “निरन्तर काम गर्न पाएको भए यतिबेला ४० प्रतिशत सकिन्थ्यो ।”

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यो खण्डमा विस्तारको काम भइरहेको छ । वैद्यका अनुसार विस्तार चार ढङ्गले गरिँदैछ । निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरुमा दुई लेन अर्थात् नौ मिटर फराकिला सडक बनाइँदैछ । उकालो ठाउँहरुमा तीन लेन अर्थात् १२ मिटरको हुनेछ । 

झण्डै एक दशमलव पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्र कुरिन्टार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटार लगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदैछ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदैछ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इ विजय दरैका अनुसार चाडपर्व सकिएसँगै कामलाई तिव्र बनाइएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा– मुग्लिन सडकलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएकाले प्रगति कम भएको दरैले जानकारी दिनुभयो ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआइ सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुत काम गर्नुपरेको उहाँको भनाइ छ । त्यसका कारण चाहेर पनि तीव्र गतिमा काम गर्न सकिएको छैन ।

जुवा खेलिरहेको अवस्थामा ५ लाखसहित २१ जना पक्राउ

काठमाडौं, ३ मंसिर-बुढानिलकण्ठ नगरपालिका-११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका-४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

काठमाडौँ, ३ मङ्सिर : निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थल/केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । 

सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । 

उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ । 

यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । 

आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ । 

निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्ने/नगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यकः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, ३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताउनुभयो ।

“चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गर्नुभएको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योगदान पुगेको उहाँले स्मरण गर्नुभयो । उहाँले मित्रताको साक्षी ईतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको पनि उल्लेख गर्नुभयो ।

हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालबीचको सम्वन्ध राम्रो र भविष्य उज्जवल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको बताउनुभयो । साथै हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गर्नुभयो ।

सो विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने विश्वास ब्यक्त गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी विदेश बिभागको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ, ३ मङ्सिरः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठक आज विहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ, ३ मङ्सिरः सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

“पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो, “राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।”

प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै पर्यटकहरु (तस्बिर)

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु। तस्बिर : सुरेश आचार्य

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु। तस्बिर : सुरेश आचार्य / रासस
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु। तस्बिर : सुरेश आचार्य / रासस
घोराही उपमहानगरपालिका -५ धर्ना धारापानी मन्दिरमा निर्माण गरिएको जलाशयमा डुङ्गामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रञ्जिता अधिकारी/ रासस

घोराही उपमहानगरपालिका -५ धर्ना धारापानी मन्दिरमा निर्माण गरिएको जलाशयमा डुङ्गा सयरमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रञ्जिता अधिकारी

१३औँ शताब्दीको ठानिएको ऐतिहासिक देवल (तस्बिर)

जुम्लाको सिंजा गाउँपालिका– २ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल ।

उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन् । तस्बिर ः विजय रावत

पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट

काठमाडौँ, ३ मङ्सिरः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

नेता खनालले जारी गर्नुभएको विज्ञप्तिमा ढुङ्गानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गर्नुभएका ढुङ्गानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभयो ।

उहाँले विसं २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गर्नुभएका ढुङ्गानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गर्नुभयो ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

विद्यार्थीको अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न आजपा अध्यक्ष साहको आग्रह

राजविराज (सप्तरी- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकार र सङ्घीय सरकारलाई विद्यार्थीको अनुपातमा तत्काल शिक्षक व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष साहले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, बैदेशिक रोजगारमा ठगीलगायत विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो । आफू माओवादी र एमालेमा रहँदा उच्च पद र ठूलो हैसियत पाए पनि ती पार्टीको कार्यशैलीका कारण देश र जनताका समस्या समाधान हुन नसक्ने ठानेर छुट्टै अभियानमा लागेको उहाँले जिकिर गर्नुभयो ।

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णाली, ३ मङ्सिरः कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात÷सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गर्नुभएको छ ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

त्यसैगरी, दुल्लु नगरपालिका–१३ दैलेखको वडाध्यक्ष पदका नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी छ जनाले उम्मेदवारी दिनुभएको छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा विसं २०७९ माघ २७ गते निधन भएको थियो । एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा विसं २०८० माघ २२ गते निधन भएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा विसं.२०८१ भदौ ४ गते मृत्यु भएको थियो । उहाँ माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका हुनुभएको थियो ।

नेपाली कांग्रेसका सविता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट सङ्गीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबा बाँचा बुढाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो पदका रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पाको रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको विसं २०८० माघमा मृत्यु भएको थियो ।

तिलागुफा नगरपालिका–४ कालीकोटको वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही विसं २०७९ असोज २३ गते राँचुलीमा आएको खोलाको बाढी परी बेपत्ता हुनुभएको थियो ।

त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ जाजरकोट मा हुने वडाध्यक्षको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको विसं २०७९ असार ४ गते निधन भएको थियो ।

रुकुमपश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको विसं २०८० माघ २० गते जण्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा कांग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उम्मेदवारी दिनुभएको छ । वीरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिनुभएको जनाइएको छ ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

काठमाडौँ, ३ मङ्सिरः पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुहुनेछ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

 सानोगौचरणमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिनुभयो । नेपाल सरकारले उहाँको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ ।

यसैबीच, सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइ सक्नुभएको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान र कानुनका ज्ञाता हुनुहुन्थ्यो । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख हुनुभयो ।

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित हुनुहुन्थ्यो ।

ब्राजिलकी प्रथम महिलाद्वारा जी–२० शिखर सम्मेलनअघि एलोन मस्कको अपमान

ब्राजिलकी प्रथम महिला रोजाङ्गेला ‘जान्जा’ दा सिल्भाले शनिबार एक्सका अर्बपति मालिक एलोन मस्कको अपमान गर्नुभएको छ । जी–२० शिखर सम्मेलनअघिको एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा वकालत गर्नुभयो ।

दुष्प्रचारबारे एक प्यानल छलफलमा बोल्दै गर्दा उहाँ चर्को आवाजले चकित भएको देखिनुभएको थियो । “मलाई लाग्छ यो एलोन मस्क हो”, उहाँले भन्नुभयो, “म तपाईंसँग डराउँदिन, तपाईंलाई धिक्कार छ, एलोन मस्क ।”

यस घटनाको भिडियो एक्समा छिटै फैलियो । यसबाट यसका बोल्ने स्वभावका मालिकबाट प्रतिक्रिया आयो । “उहाँहरूले अर्को चुनाव हार्नुहुनेछ”, दुईवटा हाँस्ने इमोजी थप्दै मस्कले लेख्नुभयो ।

टाइकुन तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनका भावी सदस्यको ब्राजिलसँग जटिल इतिहास छ । देशको सर्वोच्च अदालतले दुष्प्रचारसम्बन्धी कानूनी विवादको हिस्साका रूपमा यस वर्ष एक्सलाई ४० दिनका लागि निलम्बन गरेको थियो ।

वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दुष्प्रचारविरुद्धको वैध उपायका रूपमा निलम्बनलाई स्वागत गर्नुभयो ।

मस्क अति–दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका मित्र हुनुहुन्छ । बोल्सोनारोले देशको निर्वाचन प्रणालीलाई बदनाम गरेको अभियोगमा अयोग्य ठहरिएपछि पनि सन् २०२६ मा फेरि चुनाव लड्ने सङ्केत गर्नुभएको छ ।

बोल्सोनारोले शनिबार प्रथम महिलाको विवादास्पद टिप्पणीको स्क्रिन सट पोस्ट गर्नुभयो । “अब हामीसँग अर्को कूटनीतिक समस्या छ”, उहाँले लेख्नुभएको छ । शीर्ष अर्थतन्त्रहरूको जी–२० शिखर सम्मेलन सोमबार र मङ्गलबार रियो दि जेनेरियोमा हुनेछ ।

बाइडेनको ऐतिहासिक अमेजन भ्रमण, ट्रम्पको पुनरागमनपछि जलवायु चिन्तामा वृद्धि

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अमेजन वर्षावनमा ऐतिहासिक भ्रमण गर्दैहुनुहुन्छ । त्यहाँ उहाँले जलवायु परिवर्तन विरुद्धको आफ्नो कार्यको प्रचार गर्नुहुनेछ । यो भ्रमण डोनाल्ड ट्रम्पको हरित नीतिहरू उल्ट्याउने प्रतिज्ञाले छायाँमा पारेको जी२० शिखर सम्मेलनअघि हुँदैछ ।

बाइडेन जनवरीमा ह्वाइट हाउसको चाबी ट्रम्पलाई हस्तान्तरण गर्नुअघि आफ्नो राष्ट्रपतिको अन्तिम प्रमुख विदेश भ्रमणमा विश्वको सबैभन्दा ठूलो जङ्गलको मुटुमा रहेको ब्राजिलको मनाउस जाँदै हुनुहुन्छ ।

त्यसपछि उहाँ सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनका लागि रियो दी जेनेरियो जानुहुनेछ । जी–२० माथि ट्रम्पको आसन्न सत्ता फर्काइको छायाँ परेको छ ।

कार्यरत कुनै पनि अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो पटक बाइडेनको मनाउस भ्रमणअघि ह्वाइट हाउसले अमेरिकाले द्विपक्षीय जलवायु वित्तपोषणलाई वार्षिक ११ अर्ब डलर पुर्याउने लक्ष्य हासिल गरेको घोषणा गरेको छ । 

यो वर्ष पुगेको आँकडा सन् २०२१ मा बाइडेनको कार्यकालको सुरुमा अमेरिकाले प्रदान गरेको भन्दा छ गुणा थियो र ‘संयुक्त राज्य अमेरिकालाई विश्वको जलवायु वित्तको सबैभन्दा ठूलो द्विपक्षीय प्रदायक’ बनाएको छ ।

“जलवायु परिवर्तन विरुद्धको लडाइँ राष्ट्रपति बाइडेनको नेतृत्व र राष्ट्रपतिको कार्यकालको परिभाषित कारण भएको छ”, ह्वाइट हाउसले भन्यो ।

नेताका रूपमा दक्षिण अमेरिकाको आफ्नो अन्तिम भ्रमणमा बाइडेनको प्रभाव कम देखिएको छ ।

जी२० अघि एसिया–प्रशान्त सहयोगीहरूको शिखर सम्मेलनमा उहाँले भाग लिँदा लिमामा सबैको ध्यान चिनियाँ राष्ट्रपति सी जिनपिङमा थियो । उहाँलाई ठूलो धुमधामका साथ स्वागत गरिएको थियो ।

बाइडेनसँगको बैठकमा चिनियाँ नेताले भविष्यको ट्रम्प प्रशासनसँगको सम्बन्धमा ‘सहज परिवर्तन’ हुने आशा व्यक्त गर्नुभयो ।

रिपब्लिकन राष्ट्रपति–निर्वाचितले बाइडेनको नीतिहरू उल्टाउने वाचा गर्नुभएको छ । साथै उहाँले विश्वको दोस्रो सबैभन्दा ठूलो प्रदूषक संयुक्त राज्य अमेरिकालाई कार्बन उत्सर्जनको सामना गर्ने सन् २०१५ को ऐतिहासिक सम्झौताबाट बाहिर निकाल्न सक्नुहुनेछ । यस्तो काम उहाँले आफ्नो पहिलो कार्यकालमा गर्नुभएको थियो ।

उहाँले शनिबार फ्र्याकिङ व्यवसायी तथा जलवायु परिवर्तनका विख्यात आलोचक क्रिस राइटलाई आफ्नो ऊर्जामन्त्रीका रूपमा मनोनीत गर्नुभयो ।

– अमेजन आगलागी –

नौ देशमा फैलिएको अमेजन वातावरणबाट ग्रह–तताउने कार्बन डाइअक्साइड सोस्न सक्ने क्षमताका कारण जलवायु परिवर्तन विरुद्धको लडाइँमा महत्त्वपूर्ण छ । तर यो जलवायु परिवर्तन र वातावरणीय क्षयका लागि सबैभन्दा संवेदनशील क्षेत्रहरू मध्ये एक पनि हो ।

यस वर्ष यहाँ करिब दुई दशकयताकै सबैभन्दा खराब डढेलो देखियो । जलवायु विज्ञहरूले आंशिक रूपमा विश्वव्यापी तापमानले गर्दा भएको गम्भीर सुक्खाले डढेलो बढाएको मान्छन् ।

अमेजन वर्षावनले चार दशकमा जर्मनी र फ्रान्सले जोडेको क्षेत्रफल बराबरको वन वनफडानीमा गुमाएको हालैको एक अध्ययनले देखाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सन् २०३० सम्म गैरकानूनी अमेजन वनफडानी रोक्ने प्रतिज्ञा गर्नुभएको छ ।

ट्रम्पको दोस्रो राष्ट्रपतिले बाइडेनको नेतृत्वमा भएको हरित ऊर्जामा सङ्क्रमणको प्रगतिलाई पूर्ववत् गर्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । यसले चीन र भारत जस्ता भारी प्रदूषकहरूलाई आफ्नै प्रयासहरू कम गर्ने बहाना दिन सक्छ ।

चुनाव अभियानका क्रममा ट्रम्पले ‘ड्रिल, बेबी, ड्रिल’ र जीवाश्म इन्धन निकाल्ने काम बढाउने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले मतदानअघि केही दिन मात्र जलवायु परिवर्तनलाई बेवास्ता गर्नुभएको थियो ।

महिला मृत्युदर घटाउन निशुल्क ‘एचपीभी’ खोप,के हो एचपीभी खोप ?

काठमाडौँ, ३ मङ्सिर : आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत  कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।

उहाँले भन्नुभयो, “१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।”

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।

उहाँले भन्नुभयो, “यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।”

प्रत्येक दिन चार जनाको मृत्यु
पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ । 

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२/७३ र २०७३/७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ । 

खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताउनुभयो । उहाँका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । “अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ”, उहाँले भन्नुभयो । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै  आइपुग्ने उहाँको भनाइ छ । 

के हो एचपीभी खोप ?
चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । 

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौँ, ३ मङ्सिर : सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यविधि कार्यान्वयनमा ल्याउनु भएको हो । सो कार्यविधि यही मङ्सिर २ गते मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयका सहसचिव इन्दिरा दाहाल संयोजक रहनुभएको एक कार्यदलले सो कार्यविधि तयार पारेको थियो । 

कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव मुना शर्मा, जलस्रोत तथा सिँचाइ विभागका उपसचिव विष्णुदेव यादव, विद्युत् विकास विभागका उपसचिव सुवर्ण खनाल, जल तथा मौसम विज्ञान विभागका उपसचिव निराजन सापकोटा सदस्य हुनुहुन्थ्यो ।

यस्तै, ऊर्जा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव खिमानन्द ज्ञवाली सदस्य सचिव रहनुभएको थियो । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा कार्यविधि कार्यान्वयनमा ल्याइएको हो । कार्यविधिअनुसार विवाद समाधान, प्रोत्साहन, अध्ययन, अनुसन्धान तथा परामर्श, कार्यालयका लागि आवश्यक  जनशक्ति व्यवस्थापन, मानव संशाधन विकासलगायतमा हुने खर्चलाई सहज बनाइनेछ । 

निर्माणसँग सम्बन्धित बोलपत्रको प्रस्तावको तयारी, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, सवारी साधन, औजार तथा उपकरण खरिद वा भाडा, मर्मत सम्भारका लागि सहज हुनेछ । 

कन्टिन्जेन्सी रकम निर्माण, परामर्श, वस्तु खरिद र जडानको नियमित सुपरिवेक्षण तथा अनुगमन गर्ने प्रयोजनका लागि सवारी साधन, औजार तथा उपकरण खरिद गर्न कन्टिन्जेन्सी रकमको बढीमा २५ प्रतिशत रकम छुट्याई कार्यालयले विभागमा पठाउन सक्नेछ । सो रकमबाट सम्बन्धित विभाग वा कार्यालयले अर्थ मन्त्रालयको सहमति लिई सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । 

उपकरण तथा सवारी साधन खरिदका लागि कार्यालय तथा विभाग मार्फत कूल कन्टिजेन्सी रकमको अधिकतम ४० प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिले बढीमा रु २० लाखसम्म विनियोजित बजेट भएका धेरै योजनाहरु हुने बजेट उपशीर्षकहरुको हकमा कन्टिजेन्सी रकम खर्च गर्दा सम्बन्धित बजेट उपशीर्षकमा एकमुष्ट खर्च जनाउन सकिने प्रबन्ध गरेको छ । त्यस्तो एकमुष्ट खर्च रकमलाई समानुपातिक रुपमा बाँडफाँड गरी प्रत्येक ठेक्काको नापी किताबमा कन्टिजेन्सी खर्च प्रविष्ट गर्नुपर्नेछ । 

कार्यविधिअनुसार आयोजना सञ्चालन हुने क्षेत्रको भौगोलिक अवस्था, आयोजना क्षेत्र वरिपरि सोही आयोजनाले सञ्चालन गर्नुपर्ने अन्य आयोजनाहरु, कार्यको जटिलता तथा कार्यबोझ, सुपरिवेक्षकका लागि चाहिने योग्यता, प्राविधिक क्षमता, जनशक्तिको उपलब्धतालाई ध्यान दिएर लागत अनुमान तयार गर्नुपर्नेछ । कन्टिजेन्सी रकम खर्च गर्नेसम्बन्धी निर्देशिका, २०७७ बमोजिम भए गरेका काम कारवाहीलाई समेत कार्यविधि बमोजिम भएको मानिने छ । 

कन्जिेन्सी रकम खर्च गर्दा मितव्ययी बन्नुपर्ने, खर्च रकमको अभिलेख अद्यावधिक गरी राख्नुपर्ने, प्रचलित कानुनको परिपालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । विकास निर्माणलाई थप प्रभावकारी बनाउने र मन्त्रालय मातहतका आयोजनालाई थप गति दिने लक्ष्यका साथ सो कार्यविधि कार्यान्वयनमा ल्याइएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

दमौली (तनहुँ), ३ मङ्सिरः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताउनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङगाना’

काठमाडौँ- सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।

नेपालको  बहुदलीय व्यवस्था, लोकतन्त्र र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने उहाँले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

तत्कालीन उपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “जसको बहुमत हुन्छ, सरकार उसैकोे हुन्छ, प्रतिपक्षभएन भने उसले आफ्ना कुरा संसद्मा कसलाई सुनाउने ? विपक्षको पनि स्थान संसदीय व्यवस्थामा वैधानिक र निश्चित हुन्छ । प्रतिपक्षविना संसद् चल्न सक्दैन । त्यसै सन्दर्भमा ढुङ्गानाजीले सधैँजसो सत्ता पक्षको सरकार तथा प्रतिपक्षको सदन भन्नुहुन्थ्यो ।”

विसं २०४८ देखि ५१ सम्म ढुङ्गाना सभामुख र लोसपाका हालका अध्यक्ष ठाकुर उपसभामुख हुनुहुन्थ्यो । पूर्वसभामुख ढुङ्गानालाई सम्झँदै उहाँले भन्नुभयो, “उहाँ बडा असल व्यक्ति हुनुहुन्थ्यो । हामी दुवै एक अर्कामा पर्याप्त छलफल गरी सदन सञ्चालन गथ्र्यौँ ।” 

सरकार माओवादीबीचको शान्ति वार्तामा पूर्वसभामुख ढुङ्गानाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका संविधान र कानुनका ज्ञाता ढुङ्गाना २०४८ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसै बखत संसदीय व्यवस्था र मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो ।

विसं १९९८  माघ १७ गते पिता केदारनाथ ढुङ्गाना र मातालक्ष्मीदेवी ढुङ्गानाका ज्येष्ठ सुपुत्रका रुपमा काठमाडौँ ओमबहाल जन्मनुभएका दमननाथको बाल्यकालको पढाइ भक्तपुरमा भयो । प्रवेशिका परीक्षा भने उहाँले काठमाडौँ पद्मोदय माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका निर्वाचित उपाध्यक्ष, पछि अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका ढुङ्गानाले त्यसबेला उपत्यकाव्यापी विद्यार्थी सम्मेलन र राष्ट्रव्यापी विद्यार्थी सम्मेलन तयारी समितिका सदस्य वरिष्ठ अधिवक्ता ढुङ्गाना नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

विसं २०१४ को भद्र अवज्ञामा सहभागी ढुङ्गानाले २०१७ सालदेखि स्वतन्त्रता, बहुदल र मानवअधिकारका पक्षमा अविरल र अथक आवाज उठाइरहनुभयो । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागिरहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित हुनुभयो ।

नेपाल बार एसोसिएसन र सर्वाेच्च बार एसोसिएनको पटकपटक सचिव  हुनुभएका ढुङ्गाना सर्वाेच्च बार एसोसिएसनको अध्यक्षसमेत हुनुभयो । नेपाली कांग्रेस केन्द्रीय परामर्श समिति सदस्यका अतिरिक्त ढुङ्गानाको जीवनको अर्काे परिचय असल गद्य लेखक पनि हो । काठमाडाँै बत्तीसपुतली–गौशाला निवासी ढुङ्गानाले त्रिभुवन विश्वविद्यालयबाट एमए र बीएल गर्नुभएको थियो ।

यसैबीच, वरिष्ठ अधिवक्ता ढुङ्गानासँगै ३० देखि ४० को दशकमा करिब १४ वर्ष एउटै कार्यालयमा बसेर वकालत गर्नुभएका पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव भन्नुहुन्छ, “ढुङ्गानाजी बौद्धिक र अध्ययनशील पेसाप्रति इमान्दार निष्कलङ्क व्यक्ति हुनुहुन्थ्यो ।”

पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे निधन भएको हो । उहाँ कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलि सोमबार ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा दुई घण्टा राखिने र त्यसपछि भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।

गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए । बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल रु छ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् । 


केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, आव २०८०/८१ मा वाणिज्य बैंकको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रु पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ । 

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रु ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रु आठ खर्ब चार अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । 

आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिती रु २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आव २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रु एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रु १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रु १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो । सो आवमा सरकारको अन्य प्राप्ति समेत गरी रु १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । कूल सरकारी खर्च रु १४ खर्ब आठ अर्ब दुई करोड रहेको छ । 

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक भित्रिए

गण्डकी, ३ मङ्सिर : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् ।
जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ । 

गत असोजयता पर्यटकको आवागमन बढेको उहाँको भनाइ छ । असोजमा ३० हजार सात सय ३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए । जसमा एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ । 

अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको छ । सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक एक्यापका विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन् ।

हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको उहाँको भनाइ छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ । यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन

काँक्रेविहार (सुर्खेत), ३ मङ्सिर : कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ ।

सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पु-याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । 

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरुमा प्रति पोका रु नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । 

ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उहाँले बताउनुभयो । डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच  क्वीन्टल कोटामध्ये हालसम्म एक हजार एक सय क्वीन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा पाँच सयमध्ये तीन सय क्वीन्टल, काइगाउँमा तीन सय कोटामध्ये हालसम्म नुन पु-याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ । 

त्रिपरासुन्दरीको लिकुमा तीन सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिनुभयो । मुडकेचुलाको सर्मीमा तीन सय क्वीन्टलमा सबै नुन पुगेको उहाँको भनाइ  छ । तिन्जेमा एक हजार आठ क्वीन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पु-याउन सकेको छैन । 

हुम्ला सदरमुकाम सिमीबोटमा एक हजार छ सय क्वीन्टल कोटा  निर्धारण गरिएकामा हालसम्म एक हजार एक सय ५० क्वीन्टल ढुवानी भइसकेको छ । याल्वाङ डिपोमा पाँच सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा नौ सय क्वीन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिनुभयो । श्रीकोट डिपोमा नौ सय क्वीन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन् । 

मुगु सदरमुकामका डिपोमा दुई हजार पाँच सय क्वीन्टलको कोटा रहेकामा हालसम्म एक हजार एक सय क्वीन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा नौ सय क्वीन्टलमध्ये पाँच सय क्वीन्टल ढुवानी भएको छ । श्रीकोटमा नौ सय क्वीन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा एक हजार क्वीन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ । 

जुम्लाका सबै स्थानीय तहमा नुन पु-याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोही अनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाममा चार हजार क्वीन्टलमध्ये दुई हजार एक सय ५० क्वीन्टल ढुवानी भएको छ । नराकोटमा एक हजारमा हालसम्म चार सय ५० क्वीन्टल पठाएको छ । गोरुचौरमा एक हजारमध्ये पाँच सय क्वीन्टल नुन पु-याएको छ । 

जाजरकोटका सात पालिकामध्ये सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा दुई हजार पाँच सयमा एक हजार दुई सय मात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा एक हजार पाँचमा छ सय क्वीन्टल ढुवानी भएको छ । 

पश्चिम जाजरकोटको थलहमा एक हजार दुई सय क्वीन्टलमध्ये चार सय ५० क्वीन्टल ढुवानी भएको छ । तागामा तीन सय क्वीन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार पाँच सय क्वीन्टल कोटा मध्य हाल सम्म आठ सय ५० क्वीन्टल ढुवानी भएको छ । चौरजहारीमा आठ सय क्वीन्टल मध्य तीन सय ४० क्वीन्टल मात्र ढुवानी भएको छ । 

कालिकोटमा तीन हजार पाँच सय क्वीन्टल मध्ये सात सय ५० क्वीन्टल ढुवानी भएको छ । रासकोट डिपोमा एक हजार दुई सय क्वीन्टलमध्ये दुई सय ४० क्वीन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ । ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ । 

उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ । हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसङ्ख्यलाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन । कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पु-याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ । 

आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनी कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ, ३ मङ्सिर : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । 

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ । 

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ । 

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ । 

विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा रु तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । 

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३ मङ्सिरः देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।