`

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ, ३ मङ्सिर : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । 

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ । 

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ । 

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ । 

विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा रु तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । 

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३ मङ्सिरः देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

काठमाडौँ, २ मङ्सिरः जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।

स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज उम्मेदवारी दर्ता गराउनुभएका उहाँ निर्विरोध निर्वाचित हुनुभएका नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्नुभएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।

अध्यक्ष नेपालद्वारा पूर्वसभामुख ढुङ्गगानाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

“विसं २०४७ को संविधान सुझाव आयोगका सदस्य तथा २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुङ्गानाको निधन भएको खबरले म अत्यन्त दुःखी छु”, अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

पूर्वसभामुख ढुङ्गानाले संविधान सुझाव आयोगको सदस्यका रूपमा संविधान निर्माणमा सँगै भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रजातन्त्र स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका तथा नेपालको संसदीय अभ्यासलाई सबल बनाउन दिएको योगदानको अध्यक्ष नेपालले स्मरण गर्नुभएको छ ।  

ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन् : अध्यक्ष दाहाल

काठमाडौँ, २ मङ्सिर ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिनुभएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताउनुभएको छ ।

अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको बताउनुभएको छ । उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको थियो ।

स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता

काठमाडौँ, २ मङ्सिरः आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोयनपत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिनुभयो । 

यही मङ्सिर ३ गते विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानामुख्य भूमिकामा छन् ।

फिल्म ५डिसेम्बर अर्थात् २० मंसिरमा प्रदर्शन गर्ने तयारी रहेको छ । एक्सन प्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा देखिएका छन् ।

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौँ, २ मङ्सिर : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुझाएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो । वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रू दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । यो अवधिमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा नेपाल सरकारको अन्य प्राप्तिसमेत गरी रू १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको र कूल सरकारी खर्च रू १४ खर्ब आठ अर्ब दुई करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय एक दशमलव तीन प्रतिशतले घटेको छ । त्यसैगरी, कूल आन्तरिक कर्जा ६ दशमलव एक प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रू ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रू आठ खर्ब आठ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रू एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन दशमलव ६२ प्रतिशत रहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एउटा विकास बैंक रहेका छन् । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ३० रहेको छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रू सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रू एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रू पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रू दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार सात सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या ९४ हजार चार सय ७७ रहेको छ ।

गत असार मसान्तमा नेप्से सूचकाङ्क दुई हजार दुई सय ४० को विन्दुमा रहेको छ भने बजार पुँजीकरण रू ३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कूल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ६२ दशमलव २९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रियस्तरका विकास बैंकले ‘क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५’ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकामा आर्थिक वर्ष २०८०/८१ देखि बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकसमेतलाई समेटी “वित्तीय क्षेत्र सर्वेक्षण” प्रकाशन गर्न सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्षमा रू ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कूल रू ६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।

गत आर्थिक वर्ष मा रू १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रू ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र सन् २०२५ मा तीन दशमलव दुई प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउटलुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत रहेकोमा सन् २०२३ मा तीन दशमलव तीन प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशमा उपभोक्ता मुद्रास्फीति दुई दशमलव ६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा सात दशमलव नौ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशमा चार दशमलव छ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशमा आठ दशमलव एक प्रतिशत रहेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन तीन दशमलव ०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन तीन दशमलव ७५ प्रतिशतले बढेको अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति छ दशमलव पाँच प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रू एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रू १५ खर्ब ९२ अर्ब ९९ करोड छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रू १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल गार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो ।

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

“विद्यार्थी जीवनदेखिकै मेरा एक पुराना साथी एवं पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान थियो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु”, कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा सभापति देउवाले भन्नुभएको छ ।

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको थियो । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो ।

त्यसैगरी, ढुङ्गाना २०५१ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताका रुपमा समेत ढुङ्गानाको सक्रिय भूमिका रहेको थियो ।

मानव अधिकार र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुङ्गानाले पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहने तथा उहाँको निधनबाट सिङ्गो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

बसले ठक्कर दिँदा साइकलमा सवार एक जनाको मृत्यु

इनरुवा (सुनसरी), २ मङ्सिरः सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिनुभयो ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नंको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन् । आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ ।

उपनिर्वाचन : कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार

कीर्तिपुर (काठमाडौँ), २ मङ्सिरः आसन्न उपनिर्वाचनका कीर्तिपुर नगरपालिका प्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरस्थित निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उम्मेदवारी दर्ता गर्न तोकिएको अन्तिम समय साँझ ५ बजेसम्ममा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदमा सत्तारूढ नेपाली कांग्रेसबाट पार्टीका कीर्तिपुर नगर सभापति कृष्णमान डङ्गोलले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रा डा शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्जिनियर ध्रुव महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेकपा (एकीकृत समाजवादी)का भानु रिजालले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

स्वतन्त्रतर्फ एकजना यौनिक अल्पसङ्ख्यकसहित १२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नवरथ बानियाँ, राजमान महर्जन, दिनेशकुमार अधिकारी, आनन्द महर्जन, कविकुमार महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, दीपक महर्जन, रामकृष्ण महर्जन, प्रेमकुमार महर्जन र धर्मराज मानन्धर हुनुहुन्छ ।

यहाँ गत स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।

अध्यक्ष रिक्त रहेका दुई वडामध्ये वडा नं १ मा नौ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट इच्छा महर्जन, एमालेबाट हर्षमान महर्जन, माओवादी केन्द्रका सरलगोपाल महर्जन, राप्रपाबाट सुरेन्द्रप्रसाद उप्रेती, नेमकिपाका कृष्णप्रसाद महर्जन र जनमत पार्टीका विकास प्रधानको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षका लागि विनोद महर्जन र अर्जुनकुमार महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । वडा नं ४ मा प्रमुख दलसहित १३ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेसका राजेन्द्र बानियाँ, एमालेका बद्री बुढाथोकी, माओवादीबाट नारायण विष्ट, राप्रपाका विजेश बस्नेत, एकीकृत समाजवादीबाट रिता खड्का, जनमत पार्टीका श्रीकृष्ण महर्जन र नेमकिपाका महेश्वर सुवेदी छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पबिता खड्का अधिकारी, कृष्णहरि खड्का, अभिलाष बुढाथोकी र मदनप्रसाद दाहाल हुनुहुन्छ ।

चलचित्र ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ ।यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् ।

चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा छ ।

निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘अगस्त्य: च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाईपहिलोपटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।

मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए । यो चलचिको छायांकन दाङ र रुकुममा गरिनेछ ।

यो चलचित्रको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ । चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।

इजरायलद्वारा राष्ट्रसङ्घीय समितिको गाजा नरसंहार दावीलाई ‘झुटो’ भन्दै निन्दा

संयुक्त राष्ट्रसङ्घको एक समितिले गाजामा यसको युद्ध नरसंहारको विशेषताहरूसँग मेल खाएको बताएपछि इजरायलले यसलाई ‘इजरायल विरोधी मनगढन्त’ भन्दै निन्दा गरेको छ । “संयुक्त राष्ट्रसङ्घले पक्षपातपूर्ण प्रतिवेदन, इजरायललाई एक्ल्याउने र इजरायल विरोधी मनगढन्तको मामिलामा आफ्नै रेकर्ड तोड्दैछ”, विदेश मन्त्रालयले शनिबार राति भन्यो ।

राष्ट्रसङ्घको विशेष समितिले एक प्रतिवेदनमा इजरायलले गाजा पट्टीमा ‘जानाजानी मृत्यु, भोकमरी र गम्भीर चोट पु¥याइरहेको’ भन्दै ‘भोकमरीलाई युद्धको विधिका रूपमा प्रयोग गरेको’ आरोप लगाएको छ । तर मन्त्रालयले ती आरोपहरूलाई ‘झुटो दाबी’ भन्दै अस्वीकार ग¥यो । “यो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घलाई एउटा सङ्गठनमा रूपान्तरण गरेको एउटा भयावह उदाहरण हो जसलाई लोकतान्त्रिक राज्यमा नागरिकहरूमाथि आक्रमण गर्ने आतङ्ककारीहरूले प्यादाको रूपमा प्रयोग गरिन्छ”, एक्समा प्रवक्ता ओरेन मार्मोरस्टेनले साझा गरेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घको समितिले भनेको थियो, “गाजामा आफ्नो घेराबन्दी, मानवीय सहायतामा अवरोध, लक्षित आक्रमण र नागरिक र सहायता कार्यकर्ताहरूको हत्या, संयुक्त राष्ट्रसङ्घको बारम्बार अपिल, अन्तर्राष्ट्रिय न्यायालयको बाध्यकारी आदेश र सुरक्षा परिषद्को प्रस्तावका बावजुद इजरायलले जानाजानी मृत्यु, भोकमरी र गम्भीर चोट पु¥याइरहेको छ ।” तथापि, इजरायलको विदेश मन्त्रालयले आफ्नो ‘गतिविधिहरू हमासको आतङ्कवादी क्षमताहरू नष्ट गर्न मात्र निर्देशित छन्’ भनी जोड दिएको छ । इजरायलको सबैभन्दा ठूलो समर्थक संयुक्त राज्य अमेरिकाले राष्ट्रसङ्घीय समितिको आरोपलाई अस्वीकार गर्दै यसलाई ‘निराधार’ भनेको छ । इजरायलले नरसंहारको आरोपको सामना गरेको यो पहिलो पटक होइन ।

डिसेम्बरमा अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) मा दायर गरिएको एक मुद्दामा गाजामा इजरायलको आचरणले संयुक्त राष्ट्रसङ्घको नरसंहार महासन्धिको उल्लङ्घन गरेको तर्क गरिएको थियो । इजरायलले उक्त आरोपलाई दृढतापूर्वक अस्वीकार गरेको छ । इजरायली मन्त्रालयले हमासले ‘नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गर्छ’ भन्दै इजरायलले गाजाका जनतालाई लक्षित गरिरहेको छैन भनेको छ । “गाजामा मानवीय सहायताको निरन्तर प्रवाहलाई सहज बनाउन इजरायल पूर्ण रूपमा प्रतिबद्ध छ”, मन्त्रालयले भन्यो ।

संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसहितका सहायता समूहहरूले मानवीय सङ्कटको चपेटामा परेको प्यालेस्टिनी क्षेत्रमा आफ्ना गतिविधिहरू सञ्चालन गर्नमा प्रमुख अवरोधहरू, विशेषगरी प्रशासनिक समस्याहरूको सामना गर्नुपरेको बारम्बार बताउँछन् । यो प्रतिवेदन सन् १९६८ मा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको विशेष समितिले तयार गरेको थियो र इजरायलले एक वर्षअघि पश्चिम किनार र गाजा पट्टीको नियन्त्रण लिएपछि कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली अभ्यासहरूको अनुसन्धान गर्ने जिम्मा दिइएको थियो । उक्त प्रतिवेदन सोमबार न्युयोर्कमा संयुक्त राष्ट्र महासभामा प्रस्तुत गरिने छ ।

सभापति देउवाद्वारा क्याम्पस भवन उद्घाटन

सुदूरपश्चिम, २ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गौरीगङ्गा नगरपालिका–१ स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।

सभापति देउवाले क्याम्पसलाई अध्ययन अध्यापनमा नमुना बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सो क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन आफूले पहल गर्ने बताउनुभयो ।

विसं २०७० मा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन विषयमा स्नातक तहको पठनपाठन भइरहेको छ ।

समारोहमा सभापति देउवासमक्ष नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले नगरमा औद्योगिक क्षेत्र र बहुउपयोगी सभा भवन निर्माण, खेलकुदको विकास, पर्यटन प्रवद्र्धनलगायतका योजनासम्बन्धी माग समेटिएको मागपत्र पेश गर्नुभएको थियो । सो अवसरमा सांसद वीरबहादुर बलायरले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

सभापति देउवाले आजै कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा मेडिकल कलेजको निरीक्षण गर्नुभयो । हाल मेडिकल कलेजका लागि निर्माण गरिएको भवनमा अस्पताल सञ्चालनमा छ ।
सरकारको झण्डै रु ६ अर्बभन्दा बढी लागतमा निर्मित उक्त भवनमा मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग स्थानीयवासीले उठाउँदै आएका छन् ।

उक्त कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिए पनि हालसम्म विश्वविद्यालय सञ्चालन हुनसकेको छैन । यससम्बन्धी विधेयक हाल संसद्मा विचाराधीन छ ।

सोह्रबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै ‘राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न

काठमाडौँ, २ मङ्सिरः सोह्रबुँदे घोषणापत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेसागत सङ्गठन तथा युवा अभियन्ताहरूको दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।

समापनका अवसरमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरू बाँकी रहेको र सरकार सो प्रक्रियामा अगाडि बढेको बताउनुभयो । उहाँले दुईदिने सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो नीति र कार्यक्रमसँग जोड्ने प्रतिबद्धता जनाउनुभयो ।

युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शनिबारदेखि काठमाडौँमा प्रारम्भ भएको सम्मेलनले दिगो पूर्वाधार निर्माण, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन र दिगो तथा वातावरणमैत्री यातायात लगायतका मागसहित घोषणापत्र जारी गरेको छ ।

सम्मेलनले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेसागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता माग पनि गरेको छ । देशभरिबाट सहभागी भएका करिब एक सयजना युवा, अतिथि तथा वक्तालाई युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई किरण धितालले स्वागत गर्दै सम्मेलनको निष्कर्ष आगामी फेब्रुअरीमा मोरोक्कोमा हुने गोबल युथ एसेम्ब्लीमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ, २ मङ्सिरः मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र सुरु गरिएकोे छ ।

आयोजनाका अनुसार चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक कालोपत्र गरी दोस्रो चरणको कालोपत्र गर्न थालिएको हो । पहिलोे चरणमा ६ सेन्टिमिटर मोेटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुने आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयोे ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उहाँले बताउनुभयो । “दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,” उहाँले भन्नुभयो, “यसअघि चाडपर्व र वर्षाका कारण सोचे अनुरुपको काम गर्न नसकिएकोे हुँदा अब निर्माण कार्यले गति लिनेगरी काम हुन्छ ।”

पूर्वी सडकमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । यस सडकमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ । पृथ्वी राजमार्गको पूर्वी खण्ड आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरे पनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

चितवन, २ मङ्सिरः भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन् । अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहनुभएको छ ।

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन् । महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ ।

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ । महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ । यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ । सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ ।

त्यस अवसरमा महानगर प्रमुख दाहालले भरतपुर मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चर्चा गर्नुहुँदै यहाँका अस्पतालको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालै अस्पतालको सहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।”

प्रमुख दाहालले सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको र यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरूको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा न्यौपानेले देशकै नमूना अस्पताल रहेको भरपुरका नागरिकले यसबाट लाभ पाउनुपर्ने र त्यसका लागि छुट सम्झौता गरेको बताउनुभयो । “नेपालमा सबैभन्दा धेरै बिरामी र स्पेसलिष्ट सेवा, शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज हो । सिएमसी क्यान्सर अस्पतालमा बिपी काइराला मेमोरियल क्यान्सर अस्पतालको भन्दा एक रुपैयाँ बढी शुल्क लिएका छैनौँ । क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौँ । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ”, उहाँले भन्नुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं, २ मंसिर- बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका-१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-११ बिष्णु चोकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६४ ट्याब्लेट र स्पास्पेन ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाइ उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ४० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-१ बस्ने १९ वर्षीय सौरब राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ सब्जी मण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ धरान बस्ने बरमजिया गाउँपालिका-१ घर भएका २९ वर्षीय महोमद अलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई नगरपालिका-७ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-७ भौराटार बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २१ मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ मदन आश्रित चोक नजिक डेरा गरी बस्ने भारत बहराइच रूपैडिहा घर भएका ३४ वर्षीय इरफान राइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दमारगाउँबाट खटिएको प्रहरीले लु.१ ख ४६०१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बैतडी, दोगडा केदार गाउँपालिका-६ पञ्जुनयाँ बस्ने ४० वर्षीय तारा सिंह कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने

काठमाडौं – मङ्सिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए ।

अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायत प्रवेश गरेका थिए । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् ।

‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल

भक्तपुर, २ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ ।”

मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज मानिस भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारीरहनुको कारण पनि यहि हो । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कदै गएको छ ।”

राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा उहाँले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गर्नुभयो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मनलाई शान्ति र आनन्द बनाउन आवश्यक रहेको उल्लेख गर्दै मानिसको चञ्चल मनलाई संयमित बनाउन योग तथा ध्यान आवश्यक रहेको बताउनुभयो । विश्व प्रतिस्पर्धात्मक होडबाजीमा लागिरहेको बेलामा शान्तिको सन्देश लिएर विश्वभर यस्ता अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । पिता गणेशमान र आमा मङ्गलादेवीका कारण आफू पनि ओम शान्तिमा जोडिने अवसर पाएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादीजीले विश्वव्यापिरुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा केन्द्रले अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

केन्द्रका वरिष्ठ राजयोगी ब्रह्मकुमार तिलकबहादुर शाहीले १७ रोपनी जमिनमा दुई भवन, तपस्या धाम, शिव लिङ्ग, चार धाम, शान्ति स्तम्भलगायतका संरचनासहित एक सय जनालाई आवासीय सेवा दिन सक्ने गरी एकेडेमीको उद्घाटन गरिएको बताउनुभयो । उहाँले डा नयनतारा उप्रेती परिवारले विद्यालय सञ्चालन गर्न जग्गासहित निर्माण गरेको भवन बह्म्रकुमारीमा साधक भएपछि यसतर्फ आकर्षित भएर एकेडेमी सञ्चालन गर्न करोडाँै रुपैयाँको सम्पत्ति संस्थालाई दान दिएको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रलाई ज्ञान एकेडेमी र मिनि बृन्दावनका रुपमा सञ्चालन गरिने बताउनुभयो ।

विष्णु ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमीले  आयोजना गरेको कार्यक्रममा संस्थाको अन्तर्राष्ट्रिय मुख्यालयबाट आउनुभएका भारतको राजस्थान मण्डपआबुका कार्यकारी सचिव राजयोगी डा ब्रह्मकुमार मृत्युञ्जयले नेपाल शान्तिदूत गौतम बुद्धको जन्मस्थल, माता सीता एवं देव भूमि, ऋषि भूमि भएकाले यहाँबाट शान्ति एवं प्रेमकोे तरङ्ग संसारभर फैलिरहेको बताउनुभयो । 

सूचना प्रविधि निर्यात क्षेत्रतर्फ कोडावतार’ ले तिर्‍यो सबैभन्दा धेरै कर, विभागद्वारा सम्मानित

काठमाडौं– नेपालबाट सूचना प्रविधि निर्यात गर्नेमध्ये कोडावतार टेक प्रालि सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई सम्मान गर्दै कोडावतार टेक प्रालिलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको हो ।

कम्पनीले सूचना प्रविधि निर्यात क्षेत्रका कम्पनीमध्ये गत आवमा सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरिएको हो । कोडावतार टेक प्रा।लि।का संस्थापक दिनेश सिलवालले उक्त सम्मान लिएका छन् । यस्तै गत आवमा सबैभन्दा बढी कर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० ले तिरेको छ ।

एकलौटी फर्ममध्ये सबैभन्दा बढी कर श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानीत भएका छन् ।

यस्तै वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ डाबर नेपाल, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ । ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

रुसद्वारा युक्रेनको पूर्वाधारमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण

रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको थियो भने नागरिकहरूको ज्यानसमेत लिएको थियो । आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् ।

जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा कूल एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ । उहाँले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिनुभयो ।

युक्रेनी रक्षाले एक सय ४० वटा हवाई लक्ष्य खसाएको जेलेन्स्कीले टेलिग्राम मेसेजिङ एपमा एक विज्ञप्तिमा बताउनुभयो । “शत्रुको लक्ष्य युक्रेनभरि हाम्रो ऊर्जा पूर्वाधार थियो । दुर्भाग्यवश, आक्रमण र खसेका भग्नावशेषबाट वस्तुहरूमा क्षति पुगेको छ । माइकोलाइभमा ड्रोन आक्रमणबाट दुई व्यक्तिको मृत्यु भयो र दुई बालबालिकासहित अन्य छ जना घाइते भएका छन्”, उहाँले भन्नुभयो ।

स्थानीय गभर्नर ओलेह किपरका अनुसार ओडेसा क्षेत्रमा अन्य दुई जनाको मृत्यु भएको छ । त्यहाँ आक्रमणले ऊर्जाको पूर्वाधारमा क्षति पु¥याएको छ र बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।

किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख सेरही पोप्कोका अनुसार संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण तीन महिनामा भएको सबैभन्दा शक्तिशाली थियो ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण गरेदेखि रुसी आक्रमणले युक्रेनको विद्युत् पूर्वाधारमा प्रहार गरिरहँदा बारम्बार आपत्कालीन विद्युत् बन्द र देशव्यापी रोलिङ ब्ल्याकआउट निम्त्याएको छ । युक्रेनी अधिकारीहरूले नियमित रूपमा पश्चिमी सहयोगीहरूलाई आक्रमणको सामना गर्न र मर्मतका लागि देशको हवाई सुरक्षा बलियो बनाउन आग्रह गरेका छन् ।

स्थानीय रिपोर्टका अनुसार आइतबार युक्रेनको राजधानी किएभ, ओडिसाको प्रमुख दक्षिणी बन्दरगाहका साथै देशको पश्चिम र मध्य क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको थियो ।

पोल्यान्डको सशस्त्र बलको परिचालन कमान्डले एक्समा लेखेको छ, “छिमेकी युक्रेनमा ‘विशाल’ रूसी आक्रमणका कारण लडाकू जेटहरूसहित पोल्यान्ड र सम्बद्ध विमानहरू पोल्यान्डको हवाई क्षेत्रमा परिचालन गरिएको छ ।” पोल्यान्डको सीमावर्ती क्षेत्रमा सुरक्षा प्रदान गर्ने उद्देश्यले यी कदमहरू चालिएको कमान्डले बताएको छ ।

पोप्कोका अनुसार किएभको ऐतिहासिक केन्द्रमा एउटा पाँच तले आवासीय भवनको छतमा आगलागी भएपछि एक जना घाइते भएका छन् ।

निजी ऊर्जा कम्पनी डिटिइकेद्वाराद्वारा सञ्चालित एक थर्मल पावर प्लान्ट ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको कम्पनीले जनाएको छ ।

परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित

गलकोट (बागलुङ), २ मङ्सिरः नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । बागलुङबजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चारजना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरूको सहभागिता रहेको थियो ।

निर्वाचनको मत परिणामअनुसार डा राजेन्द्रबहादुर श्रेष्ठ र निरन्जनप्रसाद श्रेष्ठले बराबर मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ गोलाप्रथाबाट चयन हुनुभएको हो । दुवै जनाले १०÷१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिनुभयो । अध्यक्षका अन्य प्रत्याशी मनोजप्रसाद उप्रेतीले पाँच र डा किरण रेग्मीले दुई मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी जनकराज जोशीलाई दुई मतले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गर्नुभएको थियो । 

यस्तै, महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । दुई पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचित सदस्यद्वयमध्ये  सापकोटाले २० र  गुरुङले १६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नितु बस्नेतले १४ मत प्राप्त गर्नुभयो । 

गौतमका अनुसार सङ्घको नेतृत्वका लागि विधानअनुसार अध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, युवा सदस्य र विशेषज्ञ सदस्य गरी नौ पदमा निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये युवा सदस्यमा प्रमिला खड्का र विशेषज्ञ सदस्य पदमा भागरथी भट्ट निर्विरोध निर्वाचित भएका थिए । यस्तै, विशेषज्ञतर्फ यौनिक अल्पसङ्ख्याक वा अपाङ्गता भएकाबाट सजिया श्रेष्ठ, कानुनबाट चन्द्रमाया श्रेष्ठ, अर्थबाट गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन विशेषज्ञबाट दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

फिक्कल (इलाम), २ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा आज उहाँले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताउनुभयो । 

मन्त्री पौडेलले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनेगरी काम गरिरहेको बताउनुभयो । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्नेगरी मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो । “अहिले स्वास्थ्य बिमाबाट रु एक लाखसम्मको उपचार भइरहेको छ, यसलाई बढाएर रु पाँच लाख बनाउने प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।”

मन्त्री पौडेलले आमनागरिकले स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन सरकार निरन्तर लागिपरेको बताउनुभयो । “पाँचवटा अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । २९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौँ”, उहाँले भन्नुभयो । 

मन्त्री पौडेलले भवन निर्माण भएका अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । “जहाँ भवन निर्माण भएका छन् तर उपकण छैनन्, पहिलो प्राथमिकतामा राखेर त्यस्ता अस्पताललाई सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “अहिले मन्त्रालयमा बजेटको शीर्षक छैन, भवन बनेका अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।”

मन्त्री पोडेलले सेवाका आधारमा अस्पतालको वर्गीकरण गरिनेसमेत बताउनुभयो । अस्पताल शय्याका आधारमा नभई सेवाको आधारमा वर्गीकरण गर्ने तयारी गरेको उहाँको भनाइ थियो । “सबै सेवा एउटै अस्पतालबाट सम्भव हुँदैन, त्यसैले आधारभूत अस्पतालबाट सम्भव विशिष्टीकृत उपचारका लागि व्यवस्थापनमा लागेका छौँ”, मन्त्री पौडेलले भन्नुभयो । 

चुलाचुलीमा १५ शय्याको अस्पताल उद्घाटन भएको हो । यो अस्पताल सङ्घीय सरकारको रु १२ करोड ९० लाख लागतमा निर्माण भएको छ । 

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

काठमाडौँ, २ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापन गर्न राय परामर्श गरिएको थियो । स्वदेशभित्रै सहज र गुणस्तरीय रूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त सबै संस्थामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिनुुभएको थियो  । उहाँले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन–नियममा सामयिक संशोधनको गृहकार्य गर्ने विषयमा परामर्श गर्नुभएको थियो ।

“हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ”, आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुुभयो, “कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नुु हुँदैन ।”

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ मा विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने भन्ने व्यवस्थाका कारण नर्सिङ शिक्षा सञ्चालनमा असहजता देखिँदै आएको छ । आयोग र परिषद्को वार्षिक क्यालेन्डरमा एकरुपतामा ल्याउन पनि कठिनाइ हुँदै आएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशयपत्र र २८ संस्थालाई विद्यार्थीको कोटा निर्धारणलगायत कार्यसूूची हुने अवगत गराउनुुभयो । आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्वउपलकुुलपतिहरु डा सुरेशराज शर्मा, डा रामकण्ठ मकाजुु श्रेष्ठलगायतसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त भएकाले एकापसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृहकार्य गरी समाधानको उपाय ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशन दिनुुभएको थियो । उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।

तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु

दमौली (तनहुँ), २ मङ्सिरः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडाँैबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठक्किएका थिए । दुर्घटामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बाँके बैजनाथका २४ वर्षीय किरण बुढा, बाँके कोहलपुर नगरपालिका–६ का १३ वर्षीया रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका–६ का १५ वर्षीया ज्ञानु थारू, सोही ठाउँका १६ वर्षीय ललित खत्री, सोही ठाउँकी मायास सिंजापती मगर, सोही ठाउँका ६ वर्षीया गुरास घर्ती मगर, १८ वर्षीय निखिलनाथ योगी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, भे१ख ३४८७ नंको बस चालक बाँके कोहलपुर नगरपालिका–१० का ३७ वर्षीय किशोरजङ्ग शाही, तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश रानाभाट, म्याग्देकै ५१ वर्षीया उजेली रानाभाट, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १४ वर्षीया विद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका–८ बस्ने २० वर्षीय विवेक कँडेल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ३५ वर्षीया बबिता थापा, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ४३ वर्षीय लक्षिन गुरुङ, पोखरा महानगरपालिका–१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते हुनुभएको प्रहरीले जनाएको छ । 

यसैगरी, पोखरा महानगरपालिका–१२ बस्ने ४४ वर्षीया बिजुली गुरुङ, सोही ठाउँकी २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गङ्गा गुरुङ, ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योति गुरुङ, पोखरा महनगरपालिका–१७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ बस्ने ५५ वर्षीया चन्द्रकुमारी गुरुङ, बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने, कोहलपुर नगरपालिका–६ बस्ने १६ वर्षीया निर्मला शाही, २१ वर्षीया विनिता विक, स्याङ्जा पुतलीबजार नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरज तिवारी, कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते हुनुभएको छ । 

ठेगाना नखुलेका १८ वर्षीय रियाद केसीलाई टाउकामा गम्भीर चोट लागेका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्गमबाट काठमाडौँ आएर बसेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

काठमाडौँ, २ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको हो । विद्युतीय चुल्हो वितरण कार्यक्रमको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो । 

कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्युतीय चुल्हो वितरणले दूरदराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नाका साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने उल्लेख गर्नुभयो । “खाना पकाउने स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुग्नाका साथै नेपाल सरकारको राष्ट्रिय लक्ष्य एवम् जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सघाउ पुग्नेछ”, मन्त्री खड्काले भन्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उहाँले केन्द्रलाई निर्देशन दिनुभयो ।

ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रमा निरन्तर रुपमा महत्वपूर्ण फड्को मारिरहेको र हाल अन्तर्राष्ट्रिय बजारमा समेत विद्युत् निर्यात गर्न सफल भएको भन्नुहुँदै आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा केन्द्रले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुहुँदै ऊर्जा सम्मिश्रण र ऊर्जा खपत वृद्धिका लागि विद्युतीय चुलोको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न चरणमा विद्यार्थीहरूका लागि विद्युतीय चुल्हो वितरण गरिएकामा खुसी व्यक्त गनुैहुँदै ऊर्जा खपत वृद्धिमा यस्ता अभियानले सघाउ पुग्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुल्हो प्रवर्द्धनको माध्यमबाट केन्द्रले नेपाल सरकारले लिएका नवीकरणीय ऊर्जा तथा जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलनसम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्न योगदान पु¥याइरहेको बताउनुभयो । उहाँले केन्द्रले विद्यार्थीहरुलाई विद्युतीय चुल्हो वितरणका माध्यमबाट विद्युतीय चुलो एवम् खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई देशव्यापी रूपमा विस्तार गर्न लागेको बताउनुभयो । 

कार्यकारी निर्देशक ढकालले सरकारले दोस्रो राष्ट्रिय निर्धारित योगदानमा ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरण गर्न सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्य लिएकाले सो लक्ष्य हासिल गर्नमा विद्युतीय चुल्होलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्न केन्द्र निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजारभन्दा बढी सङ्ख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छभने आगामी दिनमा विद्युतीय चुलो प्रवर्द्धन क्रियाकलापलाई बढाउँदै लैजाने लक्ष्य लिएको छ । आजदेखि सुरु भएको अभियान आगामी १० दिनसम्म चल्ने केन्द्रले जनाएको छ । 

राष्ट्रपति पौडेलसमक्ष चार देशका लागि नवनियुक्त राजदूतको शपथ

काठमाडौँ, २ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

यसैबीच राष्ट्रपति पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शैल रुपाखेतीलाई जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य, डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्नुभएको छ । यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, २ मङ्सिरः गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताउनुभयो । “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “लामो दूरीका सवारी साधनमा दुईवटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे÷नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”

मन्त्री लेखकले जोखिम रहेका सडक तथा राजमार्गहरू तत्काल मर्मतसम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरुलाई आग्रह गर्नुभएको थियो । “जोखमपूर्ण सडकको तत्काल मर्मत गर्न सम्बद्ध पक्ष र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।”

बैठकमा सहभागीहरूले प्रविधिमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापनमा पनि आधुनिक प्रविधिको प्रयोग गर्न जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

बैठकमा मन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, सडक विभागका सिडिई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतको सहभागिता रहेको थियो ।

नेपाल भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।

सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, त्यसनिम्ति सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, मानव बेचबिखन र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायत विषय नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत भएको छ । भोलि एउटा निष्कर्षका साथ बैठक समापन हुनेछ’, उनले भने ।

बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी छ ।

बैठकमा भारतीय पक्षबाट तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको र त्यसका लागि संयुक्त डेस्क स्थापना गर्न सुझाव आएको छ । भुटान, बङ्गलादेश म्यान्मा, अफगानिस्तानलगायत देशबाट भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने प्रवृत्ति बढेकाले भारतले त्यस्तो प्रस्ताव गरेको हो ।